फिफा महिला विश्वकप सुरू हुनअघि आयोजक सहर अकल्याण्डमा गोलीप्रहार

डा. प्रदीप भट्टराई

ब्रिसबेन, अष्ट्रेलिया

फिफा महिला विश्वकप २०२३ सुरु हुन केही घन्टाअगाडि सह-आयोजक राष्ट्र न्युजिल्यान्डको अकल्यान्डमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ भने एक प्रहरीसहित छजना घाइते भएको बताइएको छ ।  

नेपालीहरूको बाक्लो उपस्थिति रहेको अकल्याण्डको यो अप्रिय घटनामा कोही पनि नेपाली नपरेको न्युजिल्याण्ड नेपाली समाजका सचिव डा. सुनिल ढकालले  बताए । अकल्याण्डमा ब्रेक एन लिंक्ससँग कुराकानी गर्दै उनले भने, 'विश्वकप आयोजक सहरमा उद्घाटनकै दिन यस्तो अप्रिय घटना हुनु दु:खद हो ।'

घटना सहरको मुख्य व्यवसायिक केन्द्रमा भएको बताउँदै सचिव डा. ढकालले प्रहरीका अनुसार घटनामा बन्दुकधारीको पनि मृत्यु भएको जानकारी दिए । 

विश्वकप आयोजक सहरमा उद्घाटनकै दिन यस्तो अप्रिय घटना हुनु दु:खद हो । तर, सन्तोषको विषय घटनामा कोही पनि नेपाली दाजुभाइ तथा दिदीबहिनी पर्नु भएको छैन । जो पर्नुभयो, उहाँहरूको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाइतहेरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
- डा. सुनिल ढकाल, सचिव, न्युजिल्याण्ड नेपाली समाज

उनले घटनालाई सरकारले गम्भीरताका साथ लिएको बताउँदै प्रधानमन्त्री त्रिस हिपकिन्सले घटनाक्रमको आतंकवादसँग सम्बन्ध नभएको बताएको पनि जनाए।  प्रधानमन्त्रीले न्युजिल्याण्डका जनता र संसारभरका फुटबलप्रेमीहरूलाई आश्वस्त पार्दै विश्वकप महिला फुटबल पूर्वनिर्धारित कार्यक्रअनुसार नै अगाडि बढ्ने बताए ।

फिफा महिला विश्वकप २०२३ जुलाइ २० देखि अगष्ट २०सम्म अष्ट्रेलिया र न्युजिल्याण्डले सहआयोजना गर्दैछन् । महिला फुटबलरहरूको एक महिनासम्म चल्ने यो यो महाकुम्भमा ३२ देशको सहभागिता रहेको छ । 

उद्घाटन खेल न्युजिल्यान्डको अकल्याण्डमा सह-आयोजक न्युजिल्यान्ड र नर्वेबीच र अस्ट्रेलियाको सिड्नीमा अर्को आयोजक अष्ट्रेलिया र गणतन्त्र आयरल्यान्डबीच हुँदैछ । दुई देशका विभिन्न नौ सहरमा आयोजना हुने प्रतियोगितामा अस्ट्रेलियाले ३५ र न्युजिल्यान्डले २९ खेल आयोजना गर्नेछन् ।

प्रकाशित मिति: : 2023-07-20 10:35:00

प्रतिकृया दिनुहोस्