सेती किनारमा काव्य लेखिरहेका ड्यौडिय मानबहादुर

ढुङ्गा र माटोले बनाएको चिटिक्कको सानो घर थियो। घर छेउमै थियो, बरपीपलका चौतारी। चौतारीमा बसेर गफ गर्नेको कुनै दिन कमी हुँदैन थियो।

मानबहादुर बलायरका बुवा गंगाराम बलायरको सानो पसल थियो। पसल बाहिर चिया पकाउने भट्टी। केही परसम्म हेर्न खोज्दा उफ्रिँदै गरेका हुन्थे सेतीका छालहरू। एकतमासले बगिरहन्थिन् सेती नदी।

ती दिन झलझली आइदिन्छन् अचेल मानबहादुरको सम्झनामा। आज पनि सेती त उसैगरी बगिरहेकै छ अविरल। छँदैछ बरपीपलको चौतारो पनि। अब यादमात्रै छन् नामी ड्यौडिया बुवा गंगाराम अनि त्यो पसल, त्यो जमघट।

‘त्यो समयमा छुट्टै महत्व थियो, डेउडा गीत र ड्यौडियाहरूको। विशेष पर्वपर्वादिमा दिनभरि-रातभरि डेउडा चलिरहन्थे। निकै नै गहकिला सवालजवाफ भैरहन्थे। जीवन र जगतका बारेमा सवाल जवाफहरू हुन्थे।

पुष मसान्तका दिन सेती किनारमा मेला लाग्थ्यो। जसलाई गहनानको मेला भनिन्थ्यो। त्यो रातमा डेउडा खेल खेल्न निकै टाढा टाढादेखिका मान्छेहरू आउँथे। ती याद पनि उस्तै छन् मानबहादुरसँग।

जीवनका ६५ वसन्त पार गरिसकेका उनलाई अक्षर चिनाउने गुरु थिए महादेव रोस्यारा। कखरा सिकाएका हुन् तिनै गुरुले। जवानीमै धर्ती छोडेर गए ती गुरु पनि, जसले धुलौटोमा काठको टुक्राले अक्षरको आकार कोर्न सिकाएका थिए।

‘हामी तीनजना विद्यार्थी थियौँ। कहिले चौतारोमा त कहिले रुखमुनि बसेर गुरुले अक्षर लेख्न सिकाउनुहुन्थ्यो। वर्षदिनसम्म तिनै गुरुसँग सिकेपछि डोटी तिल्तालीस्थित विद्यालयमा भर्ना भयौँ। पछि त्यही विद्यालय सारेर गोपघाटमा ल्याई राधाकृष्ण निमावि बनाइयो। जुन कार्यमा डा. लक्ष्मीकान्त पन्तको ठुलो देन रहेको छ’, उनी भन्छन्।

उनका बुवा नाम चलेका ड्यौडिया भएकाले डेउडा खेल खेल्न टाढा-टाढासम्म पुग्थे। गंगारामलाई राम्रै चेतना थियो छोराछोरी पढाउनुपर्छ भन्ने। त्यही चेतनाले गर्दा नै मानबहादुर र उनका भाइलाई विद्यालय पठाएका हुन्।

पाँच कक्षामा अध्ययनरत उनीभन्दा ८ वर्ष कान्छो भाइको विस्तारै तल्लो शरीर नचल्ने भैदियो। इष्टमित्र घरका सदस्य सबैले तिनलाई गणना गर्न छोड्न थाले।

मानबहादुर बुवाको एक्लो छोराको रुपमा हेरिन थाले। पाँच कक्षा उत्तीर्ण गरेर उच्चाकोटस्थित सीताराम माविमा ६ कक्षामा भर्ना भएका उनी एकदिन बिरामी परे। भूत लागेको भनियो। विद्यालय भएको ठाउँ राम्रो हैन। त्यहाँ भुत लाग्छ भन्ने मान्यताअनुसार त्यसपछि उनलाई ३ वर्षसम्म विद्यालय जान दिइएन।

विद्यालय छुटाएर उनको बिहे गरिदिए। गाउँघरतिर विद्यालय खुल्न थालेको र सबै जना पढ्न थालेको देखेर मानबहादुरलाई पुनः पढ्ने रहर जाग्यो। उनी फेरि विद्यालय भर्ना भएर पढ्न थाले।

२०३४ सालमा प्रश्नपत्र लिएर परीक्षा हलमा बसेका के थिए, आमाको परलोक भएको खबर लिएर दुईजना आफन्त उनलाई बोलाउन आए। बिहान ‘स्कुल जाउँ आमा!’ भन्दा अनुमति दिँदै टाउको हल्लाउने आमाले केही क्षणमै प्राण त्याग गरेको खबर सुन्दा छातीमा भक्कानो फुटिरह्यो उनको।

आमा गएपछि बुवा गंगारामले पनि डेउडा खेल खेल्न चटक्कै छोडे। अब घरपरिवार साराको जिम्मेवारी उनकै काँधमा आइपुगेको थियो। तर पनि मानबहादुरले पढाइ छोडेनन्। उनले टेस्ट परीक्षा उत्तीर्ण गरेपछि २ महिनासम्म जिल्ला सदरमुकाम सिलगढीमा डेरा जमाए। अपशोच एसएलसीमा अर्थशास्त्र र अंग्रेजीमा थोरै नम्बरले गुल्टिनु पर्‍यो। दोश्रो वर्ष परीक्षा दिन पाएनन्।

‘खेत, पाखो सबै गरेर खान पुग्ने जमिन छँदै थियो। खेतीपाती कसरी छोड्नु र! छोडूँ भनेर छोड्न नसकिने। घरको जिम्मेवारी पूरै काँधमा आएपछि पढ्ने रहर पनि पूरा हुन पाएन’, सेतीका छालतिर नजर पुर्‍याउँदै मनको गाँठो फुकाए उनले।

आमा बितेपछि उनका बुवा एक्लोपनले थिचिन थाले। अनि मानबहादुरलाई लाग्यो, बुवालाई साथी खोजिदिनुपर्छ। उनले आफ्नै बाउको बिहे गराइदिए। ‘कुनै समयमा बुवाले मन पराएकी महिलासँग बुवाको दोश्रो बिहे गराइदिन धेरै संघर्ष गर्नुपर्‍यो’, उनी सम्झिन्छन्।

एकजना महिलालाई लमी बनाएर कुरा मिलाइदिन अनुरोध गरे। ती महिलाले दिएको जानकारी र सुझावअनुसार पाँच/सात जना केटाहरू लगेर गए। उनी भने नजिकमा गएनन्। टाढैबाट हेरिरहे।

ती केटाहरूले च्याप्प समातेर उनलाई घरमै ल्याइपुर्‍याए। ‘त्यतिबेलाको चलनै त्यस्तै थियो। यसरी बुवाको दोस्रो बिहे आफैँ गराइदिएँ। कान्छी आमाले पनि मलाई कहिल्यै ‘सौता’को छोरो ठानिनन्। सदा भगवानजस्तै बनिरहिन् म र मेरो परिवारका लागि’, त्यो पलको याद अझै छ।

दोस्रो बिहे गरेर घरबार चल्न त थाल्यो। तर त्यसपछि पनि उनका बुवा डेउडा खेल्न कतै निस्केनन्।

बरु यो बीचमा मानबहादुरलाई धेरैले हौसला दिए। ‘गीताङ्गेको छोरो भएर पनि किन पछि परेको?’ यी प्रश्नहरूले उनलाई हौसला मिल्थ्यो।

अनि उनले पहिलोपल्ट देहीजाँतको मेलामा डेउडा खेल सुरु गरे। गीतमा सवालजवाफ गर्न खेलमा सामेल भए उनी पनि। जहाँ रातभरिमा तीन जना गीताङ्गेलाई परास्त गरे। उनको जित भयो। स्यावासी कमाए। सबैले तारिफ गरे। यो खबर सुनेर घरमा बुवा गंगाराम पनि निकै खुसी भए।

त्यसपछिका दिनमा उनले थुप्रै ठाउँमा डेउडा खेलमा सहभागिता मात्र जनाएनन्, जित पनि हासिल गरिरहे।

तथापि लामो समय ड्यौडिया बनेर गाउँगाउँ घुम्न सकेनन्। घरमा छोराछोरी हुर्किँदै थिए। जिम्मेवारीले च्याप्दै थियो। बुवा बिमारले गल्न थालिसकेका थिए। यस्तैखाले घरायसी समस्यामा जकडिएर छुट्यो देउडा पनि।

२०४५ साल फाल्गुनमा भाइले संसार त्यागे। जेठमा बुवाले सदाका लागि छोडिगए। त्यसैवर्ष मंसिरमा ती आमा (सौतेनी) ले पनि सदाका लागि बिदा मागिन्। वर्षदिन नपुग्दै घरका तीनजनाले छोडेर गए।

एकान्तमा मानबहादुरका आँखा वर्षिरहे। तथापि, छोराछोरी पाल्नु, पढाउनु थियो। केही नगरी हुनेवाला थिएन। उतिबेला टेस्ट परीक्षा उत्तीर्णले पनि सरकारी जागिर पाउँथे। तर, उनी खेती किसानीमै लागिपरे।

अर्को एउटा विकल्प सोचे, व्यापार। पाट्नरसीपमा व्यापार सुरु गरे। सफल हुन सकेनन्। मनमा दिकदारी छाइरह्यो। त्यो दिक्दारीले रक्सी पिउने बनायो।

‘बेहिसाब रक्सी पिएँ। कहिले नदी किनारमा रात बित्यो। कतै भीरको बाटो हिँड्नबाट जोगिएँ। रक्सी पिएर कैयौँपल्ट मृत्युको मुखसम्म पुगेर फर्किएँ। कहिल्यै कसैसँग अपशब्द बोलिनँ। होहल्ला पनि गरिनँ। तथापि अहिले आएर ठुलै गल्ती गरेछुजस्तो लाग्छ,’ आत्म समीक्षा गर्न थाल्छन् उनी।

पछिल्ला दिनमा माछा मासुसमेत खान छोडेका मानबहादुरले रक्सी पिउन छोडेको एक दशक नाघिसक्यो। बरु मानव स्वास्थ्यका साथै घर समाजलाई समेत असर पार्ने खानपिनका बारेमा लेखिरहेका छन्।

बलायरहरूको इतिहासदेखि गाउँ समाजमा महिलाहरूले भोग्नु परेका दुःख र हाम्रो संस्कृतिका थुप्रै पाटाहरू झल्किने गरेर काव्य तयार पारिरहेका छन् उनी। गिती शैलीमै आफ्नो आत्मकथासमेत तयार पारेका छन् उनले।

डेउडा मध्य तथा सुदूरपश्चिमको महाकाव्य थियो। जीवन, जगत, मायाप्रिति, समाजमा देखिएका असमानतादेखि समसामयिक कुराहरू बोकिरहेकै हुन्छ डेउडाले। हाँसो-ठट्टा, प्रेम, रोदन, अभाव, गरिबी, समाजका विसङ्गति, विकृतिलगायत थुप्रै कुरा भनिरहेको हुन्छ डेउडा गीतले।

कथा भन्छ, एकपटक सहोदर दाजुभाइबीच सवालजवाफ हुने क्रममा भाइले ठट्टा गर्दै भनेछन्-

धन्ने हो तेडीका धामी हातभरी बाला 
कटाल आग लागेजसा दाइ त भउतै काला
जसको उत्तर यसरी फर्काएछन् दाइले-
हात कालै हतेडो कालई नेप्चे सुनारको 
म कालै मेरा बा कालई बा की अनारको 
(अर्थात् मेरा बुवा पनि कालै थिए, त्यसैले मेरो अनुहार पनि कालो नै छ। तिमी किन काला भएनौ शंका गर्नुपर्ने ठाउँ पो देखियो)

यस्ताखाले गहकिला र काव्यिक ठट्टासमेत हुन्थे डेउडा गीतमा। त्यस्तै एकपल्ट आफूलाई राँगाको उपमा दिइरहेका प्रतिस्पर्धीलाई मानबहादुरका बुवाले भनेका थिए रे-

एक मुठो पराल हाल बान्दिए ठोटाउनो 
माँ राउनो न बैनी राउनो यो जाँते लोटाउनो 
(अर्थात् आमा बैनी कसैलाई नचिन्ने, भीरबाट खसाल्नुपर्ने जस्तो यो राँगोलाई दाम्लोले बानेर एक मुठो पराल हालिदेऊ)

पछिल्ला दिनमा उनी पुनः डेउडा खेलमा सरिक भएर सवालजवाफ गर्न थालेका छन्। डोटेली लोकसाहित्यको अब्बल पाटोको रुपमा चिनिने डेउडा गीतकै मध्यमबाट सिर्जना क्षेत्रमा लागिपरेका उनी अब अरू किताब पनि लेख्दैछन्।

‘वर्ष दिनभित्रै दुईवटा पुस्तक प्रकाशित गर्ने सोच बनाएको छु। लेखेर भ्याइसकेँ। अब प्रकाशनको तयारीमा लाग्नुपर्छ। दुई/चार वटा पुस्तक प्रकाशन गरिसकेपछि विस्तारै आध्यात्मिक गोरेटोमा पाइला टेक्न प्रयत्नमा लाग्ने सोच छ। जीवनको सबैभन्दा महत्वपूर्ण भन्नु नै आध्यात्मिक गोरेटो हो।’

२ छोरा, १ छोरी पट्टीबाट नातीनातिनी छन्। एउटा छोराले दिपायलमा विद्यालय सञ्चालनको जिम्मवारी लिएका छन्। अर्कोको घर नजिकै हार्डवेयरको पसल छ। बुहारी जागिरे। यसो हेर्दा सबै कुरा पुगेकै छ।

तथापि उनको मन भने थामिएको छैन। थामिएका यसकारण छैनन् कि आफूले बाँचेको जीवन संग्रह गर्ने हुटहुटी छ। नत्र हराएर जाँदारहेछन् भन्ने बुझेका छन्।

‘बुवाले सिर्जना गरेका ती विभिन्न रसका गीतहरू हराएर गए। लोप भयो त्यो कालखण्ड। त्योबेलाका बुवाका समकक्षी पनि भेटिँदैनन्। मैले पनि वास्ता गरिनँ। त्यसैले लेख्नुपर्ने कुरा धेरै छ। सन्ततिलाई छोडेर जानुपर्ने कुराहरू धेरै छन्’, उनी भन्छन्।

विगतको चलनै गजबको थियो। समाजका चालचलन, रीतिरिवाज एकएक गरेर आइदिन्छन् सम्झनामा।

उनकी नातिनी छेउमा आउँदा आफ्ना विगतका दिन सम्झिँदै सुनाए, ‘अहिले छोराले सजिलैसँग सबैसामु बुहारीलाई नामबाटै बोलाउँछन्। छोराछोरी समात्छन्। मैले एकदिन कान्छो छोरो आँगनमा रोइरहेको देख्दा साह्रै माया लागेर काखमा लिएर दुई पाइला के सारेको थिएँ, गोठमा तमाखु काटिरहेका बुवालाई देखेपछि हतारिँदै फर्केर त्यही ठाउँमा छाडी भागेँ। समाजमा अरुका सामु छोराछोरी समात्नु, श्रीमतीसँग बोल्नु लाजको विषय बनिदिन्थ्यो।

कसैले प्याच्च भनिहाल्थे- हेर, यो लाज-शरम हराएको…!

प्रकाशित मिति: : 2023-08-31 21:00:00

प्रतिकृया दिनुहोस्

    अत्यन्तै राम्रो विश्लेषण एवम डेउडा गीतहरुका लागि धन्यवाद

    • 7 महिना अगाडि
    • देबेन्द्र दत्त भट्ट