‘गगन-शेखर’ समूह- जे गरे पनि देउवा हल्लिए पाे!

‘दलहरूमा फरक विचार र विचार समूह हुनु स्वभाविक होl काँग्रेसमा पनि छ/छन्l यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ’ मंगलबार लगातार सामाजिक सञ्जालमा छाइरहेका काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एउटै सन्दर्भमा लेखेका छन् ‘तर अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय होl यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी बिषयहरुप्रति सजग छु/ रहनेछुl’

काँग्रेसभित्र फतफताइरहेको ‘शेखर समूह’को बैठकमा निम्त्याइएका महामन्त्री शर्मा त्यो बैठकमा गएनन्। बरू उनी बाहिरै बसेर लगातार सामाजिक सञ्जालमा कोइराला समूहलाई घोचिरहे।

उनले लगातार ट्विट गरेर त्यो समूहलाई सन्देश पठाउने प्रयास पनि गरे। 

काँग्रेसमा सल्बलाएका यिनै गुट र समूहहरूलाई उनले पार्टी सुधारका ‘विमर्श केन्द्र’का रुपमा स्थापित गर्न पनि भनेका छन्। 

‘काँग्रेसमा विचार समूहहरू र सिङ्गो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमश खोज्नुछ…’ उनले भनेका छन्।

एकजना महामन्त्रीले यो कुरा भनिरहँदा अर्का महामन्त्री गगनकुमार थापा भने शेखर समूहको बैठकमा गफिइरहेका थिए।

असोज ४ गतेदेखि सुरु हुने नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कोइरालाले आफ्नो समूहका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र सरकारका मन्त्रीहरूलाई पनि बैठकमा बोलाएका थिए। 

उनले महामन्त्री शर्मा र अर्का केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि निम्तो त पठाएका थिए तर उनीहरू दुबैजना गएनन्। 

शर्माले बाहिरै बसेर सामाजिक सञ्जालमा लेखिरहेका भने पौडेल केही बोलेका छैनन्। यी दुवैजनालाई आफ्नो समूहमा तान्नका लागि गगन-शेखर समूहले यसअघि देखि नै प्रयास गर्दै आएका छन्। 

संसदीय दलको नेता छान्ने निर्वाचनदेखि मन्त्रीको भागबण्डासम्म पौडेललाई आफ्नो समूहमा राख्ने उनीहरूको प्रयास भने सफल हुन सकेको छैन। 
खासमा समूहगत बैठक भएपनि यो बैठकमा पार्टी र संगठनको कुराभन्दा पनि सरकारकै आलोचनामा नेताहरूले समय खर्चिए। बैठकमा सहभागी भएका यो समूहका पदाधिकारी र केन्द्रीय सदस्यहरूले ‘सरकारको काममा चित्त नबुझेको’ भनेर सरकारका बारेमा समीक्षा गरे।

यो समूहबाट सरकारमा गएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूलाई ‘अनावश्यक दबाव’ आएको र पार्टीबाट आफूलाई सहयोग नभएको गुनासो आफ्ना समूहका नेतालाई सुनाए। 

समूह नेता शेखर कोइरालाले त यसअघि नै धेरै पटक प्रधानमन्त्रीको विकल्प खोज्न ढिला भइसकेको भनेर सार्वजनिक रुपमै भन्दै आएका छन्। 

‘प्रधानमन्त्री धेरै अराजक भइसक्नुभयो। अब उहाँको विकल्प खोज्नुपर्ने भइसकेको छ’ उनले यसअघि नै भनेका थिए। 

अधिवेशनको वर्षदिनपछि गत साउन दोस्रो साता बसेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रशारण गरिएको थियो। त्यो बैठक ‘लाइभ’ गर्ने प्रस्ताव पार्टी सभापति शेरबहादुर देउवा आफैले गरेका थिए। त्यसैले त्यो बैठकमा धेरैले ‘मनपेट’ खोल्न नपाएको गुनासो पनि ‘लाइभ’ भयो। 

बैठकपछि शेखर समूहकै नेताले आफ्नो समूहको तयारी नपुगेको भन्दै उनको आलोचना गरेका थिए। अब नियमित बस्ने केन्द्रीय समितिको बैठकअघि कोइरालाले त्यही आलोचनाबाट बच्न र आगामी बैठकमा समूहलाई कुनरुपमा प्रस्तुत गर्ने भन्नेबारे छलफल गर्न बैठक बोलाएका हुन्। 

तर बैठक भने सरकार र सरकारका प्रवृत्तिको आलोचना गर्नमै केन्द्रित रह्यो। 

देउवा हल्लाउन नसकेको समूह

चौधौ महाधिवेशनमा अन्तिम समयसम्म अडिएर देउवालाई ‘टक्कर’ दिएका शेखर कोइराला काँग्रेसभित्र एउटा समूहको ठूलो आशाका केन्द्र बने। त्यसपछि पनि उनलाई पछ्याउने समूह उनिसँग रह्यो। केही छुटे। केही बचे। केही भित्रिए। केही बाहिरिए। 

अहिले यो समूहमा बचेखुचेकाहरूले नै भन्न थालेका छन् ‘समूहका लागिमात्रै समूह बनाइराखेका छौं कि जस्तो लाग्न थालेको छ…’

पार्टी संस्थापनतिर पनि नलागेका र कोइराला समूहको समर्थन गरेजस्तो गर्दै आफू ‘तथस्ट’जस्तो देखिन खोजेका विश्वप्रकाशले भनेजस्तो पार्टीको ‘विमर्श केन्द्र’का रुपमा आफ्नो समूहलाई उभ्याउन कोइरालाले सकिरहेका छैनन्। 

‘सरकारको बारेमा कुराकानी भएको हो। खासमा केन्द्रीय समितिको बैठकका लागि हामीले छलफल गर्ने भनेका थियौं तर धेरै कुरा त सरकारकै भयो’ बैठकमा सहभागी केन्द्रीय सदस्य दीपक गिरीले भने ‘खास त्यस्तो समूह वा गुटको बैठक भन्ने होइन। पार्टी र सरकारका एजेन्डामा छलफल गरेका हौं।’

कोइरालाले आफ्नो सम्पर्क कार्यालय बालुवाटारमा बैठक राखेका थिए। यो बैठकमा महामन्त्री गगन थापा, कानुनमन्त्री तथा पार्टीका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री दिनेश कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरू सहभागी थिए।

अधिवेशनपछि देउवाइतर समूहको ‘आशाका केन्द्र’ बनेका कोइराला भने अहिले आएर आफ्नो अडानमा टिक्न सकेका छैनन्। 

आफूपछि उनले गगनलाई अघि सारेका छन्। तर गगन पनि उनको समीपमा छैनन्। पार्टीका निर्णयदेखि सरकारसम्मका काम कुरामा गगन जथाभावी बोल्न थालेको भन्दै समूहका अरू सदस्यहरूले कोइरालासँग गुनासो गरेपछि उनले गगनलाई सम्झाएको पनि बताएका थिए। 

प्रधानमन्त्री बन्ने रहर बोकेर चुनावमा उत्रिएका महामन्त्री थापाले त्यसका लागि संसदीय दलको नेता हुने प्रयास पनि गरे। तर देउवाका अघि सकेनन्। 

त्यसको वर्षदिनपछि फेरि संसदीय दलको नेता ‘फेर्ने’ अभियान छेडेंका गगनलाई यिनै शेखरले सम्झाउने प्रयास गरेका थिए। तर थापा लगातार बोलिरहे। 

पछि एउटा सार्वजनिक कार्यक्रममै कोइरालाले भनेका थिए ‘पहिला आफ्नो पक्षमा बहुमत सांसद जुटाउनुपर्‍यो अनिमात्रै संसदीय दलको नेता हुने कुरा गर्नुपर्छ। अहिले हामीसँग बहुमत नभएका बेला यस्ता कुरा गर्नुहुन्न।’

त्यो बेला गगन-शेखरबीच सम्बन्ध बिग्रिएको चर्चा चल्न थालेपछि शेखरले फेरि स्पष्टिकरणमा भन्नुपर्‍यो ‘होइन हामी सँगै थियौं र सँगसँगै छौं।’

त्योभन्दा पनि माथि उठेर थापा त अझ पार्टीकै नेतृत्व फेर्ने अभियानमा पनि लागे। ‘नेतृत्व फेर्ने’ थापाको यो ‘अभीष्ट’लाई देउवाले एकै झट्कामा सकिदिए ‘दिन्छु भनेकै छु। यसपछि चलाउने तपाईंहरूले नै हो। म आउँदैन…।’

त्यसपछि थापा ‘नेतृत्व फेर्ने’बारे बोल्न छोडे। 

महामन्त्री जितेपछि ‘६०/४०को भागबण्डाबाट पार्टीलाई माथि उठाउने उद्घोष गरेका थापाले केन्द्रीय सदस्यहरूको मनोनयन र सरकारमा मन्त्रीहरूको भागबण्डाबारे पनि बोलेका थिए। तर देउवाले उनीहरूले भनेजति दिएनन्। थापाले भनेका त एकजना पनि मन्त्री भएनन्। बरू शेखरले नाम बुझाएका तीनजनै मन्त्री भए। 

शेखरले देउवाले दिएकै भागमा चित्त बुझाए। थापा त्यसपछि बोलेनन्। कोइराला समूहले बाहिर जति चर्का कुरा गरे पनि पार्टीभित्र, देउवाका अघि भने खुलेर बोल्न सक्दैनन्। 

‘काँग्रेस कस्तो बन्ने र काँग्रेसमा को बन्ने? भन्दा महत्त्वपूर्ण प्रश्न, समाजमा असन्तुष्टी किन छ? हामी त्यसमा कति दोषी छौं?’ मंगलबार यो समूहको बैठक चलिरहँदा शर्माले लेखेका छन् ‘वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ? ‘महासमिति’ मार्फत यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र काँग्रेसलाई पनि।’

यसको प्रष्ट सन्देश गगन र उनले थालेको अभियानलाई हो। शर्माले थापाले भनेजस्तै अब नेपाली काँग्रेसमा कस्तो नेतृत्व आउने र कस्ता मान्छे प्रधानमन्त्री बन्नुपर्छ पनि भनेका छन्।

‘०८२ मा महाधिवेशन सुनिश्चितताl  समय चेत बुझ्न र हाँक्नसक्ने सभापति र अबको प्रधानमन्त्री’ शर्माले भनेका छन्।

खासमा मंगलबार बसेको कोइराला समूहको यो बैठकले सरकार र पार्टीलाई कसरी चुस्तदुरुस्त बनाउने भन्नेबारे छलफल भएको केन्द्रीय सदस्य दिलेन्द्र बडूले बताए।  

आगामी निर्वाचनमा एक्लै चुनाव लडेर कसरी बहुमत ल्याउन सकिन्छ भन्नेबारेमा छलफल भएको उनले बताए। 

‘आगामी निर्वाचनामा एक्लै चुनाव लड्नुपर्छ र बहुमत पनि ल्याउनुपर्छ भनेर हामीले छलफल गरेका छौं’ उनले भनेका ‘त्यसका लागि पहिला त पार्टीभित्र छलफल हुनुपर्‍यो। कार्यदिशाहरू तय गर्नुपर्‍यो। । अनि सरकारको कामलाई जनमुखी बनाउनुपर्‍यो। हामीले त्यसमै छलफल गरेका हौं।’

यो अभियानमा त महामन्त्री थापा संसदीय दलको चुनावमा पराजित भएलगत्तै लागेका हुन्। उनले अहिले जसले जे जे गरे पनि जे जे भनेपनि आफ्नो एकमात्रै  अर्जुनदृष्टि भनेको ‘मिसन २०८४’ भएको बताउँदै आएका छन् र पार्टीले पनि त्यहीअनुसार अभियान चलाउनुपर्ने बताउँदै आएका छन्। 

प्रकाशित मिति: : 2023-09-20 20:50:00

प्रतिकृया दिनुहोस्