दसैँका मुखमा राजमार्गका सडकहरू टालटुल पार्दै सरकार

फाइल तस्बिर: गाेरखापत्र
फाइल तस्बिर: गाेरखापत्र

लामो दूरीमा बस सञ्चालन गर्दै आएका व्यवसायीहरूको चर्को दबाबपछि दसैँको मुखमा सरकारले मुख्य राजमार्ग सडकका खाल्डाखुल्डीहरू टालटुल पार्ने भएको छ।

त्यसका लागि सडक विभागले सम्बन्धित सडक कार्यालयहरूलाई निर्देशन दिइसकेको छ। यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक मर्मत गर्न सडक विभागलाई निर्देशन दिएका थिए।

नियमति सडक मर्मत र पटक-पटक भत्काउँदै बनाउँदै गरिने राजमार्गका मुख्य सडकहरू अहिले बेहाल अवस्थामा छन्। आधा असोजसम्म पनि निरन्तर झरी परिरहेका कारण यसअघि खनिएका सडकहरूको पनि उस्तै बिजोक छ। तर, सरकारले दसैँ सुरु भइसकेपछि बल्ल सडक टालटुल पार्न थालेको हो।

यातायातमन्त्रीको ठाडो निर्देशन पाएपछि सडक विभाग बल्ल सडकहरूको मर्मतमा जुटेको छ।

केही दिन पहिले मन्त्री ज्वालाले भएका स्रोत साधनको प्रयोग गरेर सडक निर्माणलाई अघि बढाउन निर्देशन दिएका थिए। चाडवाडको समयमा सडकको अवस्थाका कारण घर पुग्ने यात्रु र सवारीलाई कुनै बाधा हुन नदिन पनि उनले निर्देशन दिएका थिए।

‘सडक मर्मतको विषयमा हामी गम्भिर छौं। बजेट अभाव छ। त्यसैले कतिपय कुराहरू भनेकोजस्तो नहुन पनि सक्छ। भएका स्रोत साधनलाई प्रयोग गरेर सडक मर्मत र खाल्डो पुर्ने, यातायात सहज सुचारुका लागि समन्वय र सहजीकरणका लागि गम्भिर छौं,’ मन्त्री ज्वालाले संसदीय समितिको बैठकमा भनेका थिए, ‘दसैँभन्दा पहिले नै मन्त्रालयअन्तर्गत पर्ने सडक मर्मत र यातायातमा समस्या हुँदैन। चाडवाडको समयमा विशेष व्यवस्थ हामी गर्छौ।’

यातायात व्यवसायीहरूले काठमाडौँसँग जोडिएका सबै राजमार्गको हालत उस्तै नाजुक रहेको भन्दै ती सडक मर्मत नभएसम्म दसैँका लागि बस टिकटको अग्रिम बुकिङ नखुलाउने अडान लिएका थिए।

सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेलले मन्त्री ज्वालाको निर्देशनपछि विभागले सबै कार्यालयहरूलाई त्यसबारे परिपत्र गरिसकेको र कतिपय ठाउँमा काम पनि सुरु भइसकेको बताए।

उनले सडक मर्मतमा सडक कार्यालयहरूको नियमित काम भएको भन्दै पर्वका बेलामा भने विशेष अभियान नै चलाएर सडकका खाल्डाखुल्डी पर्ने काम भइरहेको बताए। ‘सडक निमार्ण र मर्मत भनेको नियमित भइरहने काम हो। मुख्य गरेर वर्षमा दुई पटक अर्थात् वर्षाभन्दा अघि र वर्षापछि हामीले सडक नियमितरुपमा मर्मत गर्दै आएका छौं’, उनी भन्छन्, ‘अहिले सबैले सोचेजस्तो सबै सडक रातारात पिच गर्ने भन्ने होइन। एकदमै खराब भएका सडकहरूमा कम्तीमा दुईतर्फी सवारी पास हुनेखालको बनाउने र मुख्य राजमार्गमा भएका सडकका खाल्डाखुल्डीहरू पुर्ने काम हुनेछ।’

मन्त्रालयको निर्देशनपछि राजमार्गस्थित सबै सडक कार्यालयहरू सडकको खाल्डाखुल्डी पुर्ने काममा लागिपरहेको उनको भनाइ छ।

‘मन्त्रालयबाट निर्देशन आएपछि हामीले पनि मातहतका सबै कार्यालयहरूलाई निर्देशित गरिसकेका छौँ। एकदमै खराब भएका सडकहरूको अवरोध हटाउने र ठुला-ठुला खाडलहरू पुर्ने काम भइरहेको छ’, उनले भने, ‘दसैँका लागि कसैलाई पनि सडकका कारण गन्तव्यमा पुग्न गाह्रो पर्ने छैन।’

पहाडी क्षेत्रका सहायक राजमार्गका लागि भने अहिले विभागसँग मात्रै होइन, सरकारसँग पनि पैसा छैन। त्यसले गर्दा सरकारको मुख्य जोड भनेको कम्तीमा राजधानीबाट बाहिरिने सवारीलाई सजिलो पार्नेमात्रै हो। र, खास मर्मतको काम पनि मुख्य राजमार्गमामात्रै हुनेछ।

‘सबै कामका लागि अहिले पैसाले पुग्दैन भनेर मन्त्रीज्यूले नै भनिसक्नुभएको छ। वर्षाले भत्काएका सडकहरू हामीले मर्मत गरिरहेका छौं’, उनले भने, ‘अब साता/दिनभित्रमा राजमार्गका मुख्य सडकहरूमा कतै अवरोध नहुनेगरी सडक मर्मत गरिसक्छौँ।’

‘व्यवसायीले अहिले नै भाडा बढाउन भनेका होइनन्’

यातायात व्यवसायीले खेप्दै आएको एउटा आलोचना भनेको चाडपर्वका बेला सधैं भाडा बढाउन खोज्छन्। अहिले पनि भाडा बढाउनका लागि टिकट बुकिङमा बार्गेनिङ गरिरहेको आरोप व्यवसायीमाथि छ।

तर, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भने सरकारले आफैँले गरेको निर्णय लागु नगरेको र त्यसलाई कार्यान्वयन गर्न भन्दा अहिले भाडा बढाउन खोजियो भनेर भ्रम फैलिएको बताए।

‘भाडाको विषय सरकारले चैत मसान्तभित्र गर्दिनुपर्ने हो। सहमति लागु गरेको भए यस्तो हुँदैन थियो। सरकारलाई हामीले चाडवाडको समयमा बढाइदिनुपर्‍यो भनेका होइनौं। यो पहिला नै भइसकेको कुरा हो’, उनले भने, ‘भाडा वृद्धि गर्नका लागि यातायात व्यवसायीले बार्गेनिङ गरिरहेका छन् भन्ने भाष्य निर्माण गरिएको छ। यो भ्रम हो र गलत पनि हो।’

उनले अहिलेको भाडा दरले बस चलाएको खर्चसम्म धान्न नसकिने अवस्था रहेको भन्दै समयानूकुल भाडा समायोजन नहुँदासम्म दसैँंका लागि थप केही व्यवस्था गर्न नसकिने पनि बताए। ‘पेट्रोलियम पदार्थले ३५ प्रतिशतमात्रै भाडाको सम्बोधन गर्छ। बाँकी ६५ प्रतिशत भाडा गाडीमा प्रयोग हुने टायरदेखि अन्य वस्तुको आधारका निर्धारण हुनुपर्छ,’ उनले भने, ‘भाडामा बार्गेनिङ गरेको भन्नुहोला तर व्यवसायीसँग गरेको सहमति सरकारले लागू गर्न सरकार तयार छैन।’

असोज २२ गतेदेखि अग्रिम टिकट खुल्ने

दसैँं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुल्ला हुने भएको छ। शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको छ।

अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएपनि १७ बुँढे माग भने चाडवाडपछि गम्भिर रुपमा काम गर्ने सहमति भएको अध्यक्ष स्वाँरले बताए। भाडा भने तत्काल पुरानो नै कायम रहने उनको भनाइ छ।

‘आज बसेको बैठकले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ। सरकारलाई १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थियौँ, त्यसलाई चाडपर्वपछि सार्वजनिक यातायात व्यवसायीलाई सहज हुने गरी लागु गर्नकाे लागि सिरियस भएर काम गर्ने सम्झाैता भएको छ,’ स्वाँरले भने, ‘सरकार जिम्मेवारी हुन्छ वा हुँदैन भन्ने कुरा बुझ्न मात्र खोजेका हौँ। अरु केही छैन। कागजी रुपमा सहमति गर्न खोजेको सहमति भो। मन्त्रीज्यू, सचिवज्यू, विभागको डिजी, ट्राफिक प्रहरी प्रमुख सबै बसेर मन्त्रालयमा एउटा सहमति भयो। भाडाको विषय पुरानो नै छ।’

अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष ढिला गरी खुलेको छ। हिन्दू नेपालीको महान चाड दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन्।

समयमै टिकट बुकिङ खाेल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दसैँको मुखमा खोल्दा यात्रु समस्यामा पर्दै आएका छन्।

प्रकाशित मिति: : 2023-10-06 19:13:00

प्रतिकृया दिनुहोस्