सस्तोमा बेच्न दुईहजार खसी-बोका र एकहजार च्याङ्ग्रा काठमाडौं ल्याइँदै (भिडियोसहित)

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडाैँमा तीन हजार खसी-बाेका र च्याङग्रा ल्याउने भएकाे छ। चाडपर्वलाई लक्षित गर्दै संस्थाले दुई हजार खसी-बाेका र एक हजार च्याङग्रा ल्याउन लागेकाे हाे।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी सर्मिला न्यौपानेका अनुसार खसी-बोका र च्याङग्रामा प्रतिकेजी १० रुपैयाँले छुट दिइनेछ।

दुई हजार खसी-बोका धादिङ, दाङ, हेटौँडा र १ हजार च्याङग्रा रसुवाबाट ल्याइने तयारी भइरहेको बताउँदै उनले भनिन्, ‘त्यसकाे बिक्री वितरण घटस्थापनादेखि हुनेछ।’

विगतका दिनहरुमा दाङ, मुस्ताङ र वीरगञ्जबाट खसी-बाेका र च्याङग्रा ल्याएकाे भए पनि यसपटक भने काठमाडाैँ आसपासका जिल्लाहरूबाट पनि ल्याइने उनले बताइन्।

राजधानी नजिकका जिल्लाहरूबाट खसी-बाेका र च्याङ्ग्रा किन्दा मूल्य घटाउन सकिने भन्दै उनले बिएल नेपाली सेवासँग भनिन्, ‘हामीले टाढाबाट ल्यायाैं भने त्यही अनुसारकाे खर्च पनि हुन्छ, यसले उपभाेक्ताहरूलाई पनि प्रभाव पार्छ। त्यसैले हामीले ग्राहकहरूलाई मूल्यमा सहज गर्नका लागि नजिकबाट ल्याउन लागेका हाैँ।’

विगतदेखि चाडपर्वको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सरकारले हरेक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आइरहेकाे छ। साेहीअन्तर्गत खसी-बाेका र च्याङ्ग्राकाे मूल्य पनि बजारमा भन्दा कम हुने उनले सुनाइन्।

‘हामीले सञ्चालन गरेको सहुलियत पसलको उद्देश्य भनेकै उपभोक्ताहरूलाई सहज र बजारी मूल्य कन्ट्रोल गर्नु हो’, उपभोक्ताहरूकाे सहजीकरण्नका लागि सहुलियत पसल सञ्चालन गरेको बताउँदै उनी भन्छिन्, ‘खुद्रा पसलहरूमा भन्दा धेरै कम मूल्य हाेइन तर बजारमा भन्दा केही सहज चाहिँ छ।’

के–के सहुलियतमा पाइन्छ? 

आइतबारदेखि सुरु भएको सहुलियत पसल ४२ जिल्लाका ४८ स्थानमा सञ्चालन भइरहेको छ।

काठमाडाैं, ललितपुर र भक्तपुरलगायत मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खाेटाङ, भोजपुर, ओखलढुङ्गा, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व, रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र महेन्द्रनगरले सस्तो मूल्यमा खाद्यान्न बेचिरहेको छ।

खुद्रा दोकानहरूमा भन्दा ७ रुपैयाँदेखि २० रुपैयाँसम्म छुट दिइरहेको सहुलियत पसलले मूल्य सहज बनाइरहेको उनी भन्छिन्, ‘सहुलियत पसलकाे उद्देश्य देशभरका ग्राहकहरूकाे माग धान्ने भन्दा पनि बजारकाे मूल्य स्थिरकरण गर्ने हाे।’

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको सहुलियत पसलमा सामान खरिद गर्न आग्रह गर्दै उनी ग्राहकहरूसँग भन्न चाहन्छिन्, ‘हामीले यो सहुलियत उपभोक्ताहरूकाे लागि सञ्चालन गरेका हाैँ। त्यसैले उहाँहरूले सामानहरू किनेर हामीलाई सहयाेग गर्दिनुहुन्छ भनेर आशा गरेका छौँ।’

हेर्नुहाेस्, सहुलियत पसलकाे मूल्य सूची:

प्रकाशित मिति: : 2023-10-12 21:28:00

प्रतिकृया दिनुहोस्