मङ्गलबार, १६ सेप्टेम्बर २०२५

मेरो को छ, म कै की छु को लाउँछ बाडुली

हेमन्त विवश

हेमन्त विवश

काठमाडौं
Break n Links
• • •

अक्षरबाट शब्द बन्छ। शब्दबाट वाक्य। जुन कुरा सर्वविदितै छ। तिनै शब्द र वाक्यले कतै मुटु छेड्छन त कतै अँगालोमा बाँधिन लगाउँछन्। कतै सभ्यता र संस्कृतिको आभा बोकी रौनक बढाइरहेका हुन्छन्। कतै कतै खिसिटिउरी गरेझैं गरी झुल्किदिन्छन्। कतै समय र परिस्थिति अनुसार अनावश्यक विवाद पनि निम्त्याइ दिन्छन् भने कतै खबरदारी पनि गरिरहेकै हुन्छन्। यति हुँदाहुँदै पनि अन्तत्वगत्वा शब्दहरू मान्छेका खेलौना बनिदिन्छन्। शब्द खेलाउने मान्छेले ती कहाँ बोलिन्छन्, तिनको अर्थ के हो र अनुकरण कसरी गर्ने भन्ने कुरा बुझ्नु आवश्यक छ।

पछिल्लो समय नमस्ते, ढोगदिया बोलको गीतले टिकटकलगायतका समाजिक संजालका गोरेटामा हलचल पैदा गरिदिएको छ। थुप्रैले यसलाई अनुकरण गर्दै बोलिचालीका क्रममा दिया, खाया, गया जस्ता शब्दको प्रयोग गरी मजाक उडाइरहेका भेटिन्छन्। अबुझहरूले शुद्ध उच्चारणसम्म नगरी शब्दको अनि संस्कृति र सभ्यताको मजाग उडाउँछन्। बुज्रुकहरू अध्ययन अनुसन्धानमा तल्लीन हुन्छन् र त उचित स्थानमा शब्द चयन गर्ने गर्दछन्।

यतिखेर सम्झनामा आइदिन्छन् दाहाल यज्ञनिधि। जसले रेडियो नेपालमा लामो समयसम्म कार्यक्रम साहित्यसंसार चलाएका थिए। निकै लोकप्रिय थियो उनको कार्यक्रम। जहाँ मिठासपूर्ण र सम्मानित ढंगले प्रयोगमा ल्याइएको थियो जदौ शब्द। मध्य तथा सुदूरपश्चिममा बढी भन्दाबढी प्रयोगमा आएको जदौ शब्दको अर्थ पनि आफूभन्दा ठुलालाई गरिने अभिवादन नै थियो।

यतिखेर प्रयोगमा आइरहेका मध्य तथा सुदूरपश्चिमेली कतिपय शब्दहरू शद्ध ढंगले उच्चारित समेत हुन सकेका छैनन्। अनि सही अर्थ पनि आउने कुरा भएन।

सुदूरपश्चिमको लोकसंस्कृति र परम्पराभित्र नमस्ते र ढोगदिए शब्दको प्रयोग एउटै ठाउँमा सँगसँगै हुँदैन। डोटेली भाषाको ‘ढोगदिए’ शब्दलाई कतै गीतमा त कतै अभिनयका साथ ‘नमस्ते ढोगदिया’ भन्दै प्रयोगमा आइरहेको देखिन्छ। भाषाप्रति खिसिटिउरी गरिएको भन्दै व्यक्तिका साथै केही संघसंस्थाले समेत विज्ञप्ति निकाले। सामाजिक संजालमा यसका पक्ष र विपक्षमा टिप्पणी भैरहेकै छ।

जे होस् ती दुई शब्दले तिनले दिने अर्थ छुट्टाछुट्टै छन्। तथापि गीतमा सँगसँगै प्रयोगमा आए। यसरी आउनाको कारण नबुझेर हुनसक्छ वा गीतको मिटर मिलाउन जबरजस्ती सँगसँगै प्रयोगमा ल्याइएको पनि हुनसक्छ। जुन कुरा गीतकारलाई थाहा होला।

नमस्ते शब्द सुदूरपश्चिमतिर निकै पछि चलेको हो। सुरुमा आफ्ना नातागोतामा साइनो अनुसार नम्र भएर झुक्ने परम्परा नै थियो। यहाँ विगतमा मान्यजनहरूलाई ढोग्दा प्रयोग गरिने शब्द हो ‘पइँला’।

साहित्यकार तथा डोटेली भाषाका अध्येता गिरिराज जोशीका अनुसार आफ्नै जात वा वर्णका मान्यजनलाई ढोग्दा  ‘पइँला’ भनिन्छ। जुन प्रणाम शब्दको विकल्प हो। र, ‘पाउ लाग्छु’ वा ‘पाउ छुन्छु’ भन्ने यसको संकेत हो। यसरी अभिवादन गर्दा उच्चारण गरिने शब्दहरू थिएः पइँला, ढोगदिऐ, पाउलागी, दर्शन,जदौ,जद्दे आदि।
 
कतै टाढाका गाउँका नातागोता केही नपर्ने मानिससँग आवश्यकताअनुसार कुराकानी हुन्थ्यो तर, कुनै किसिमको अभिवादन गरिदैन थियो। बिस्तारै नमस्ते गर्ने चलन भित्रियो। समयानुसार संस्कृतिमा पनि परिवर्तन आइरहेकै हुन्छ।

तर, समयसापेक्ष बुझेर, अध्ययन अनुसन्धान गरेर केही कुरामा थोरै मात्रामा परिवर्तित हुनु वा परिवर्तन गर्न खोज्नु एक अर्थमा ठिकै पनि हो। तर, यहाँ त लहैलहैमा लागेर चर्चामा आउन जे पनि गर्ने चलनको सुरुवाती हुन थाल्यो। जसले भोलिका दिनमा थप बिक्रिति ननिम्त्याउला भन्न सकिदैन।

पछिल्लो समय नेपाली टेलिशृङ्खला देखि चलचित्रसम्ममा मध्य तथा सुदूरपश्चिममा बोलिने शब्दहरू निकै नै भित्रिए। त्यो एक प्रकारले सुखद पक्ष पनि हो। तर, त्यहाँ ती शब्दहरू कुन ढंगले प्रयोगमा आए। व्याकरणका हिसाबले, अर्थका हिसाबले सही थिए वा थिएनन् कसैलाई चासो भएन। यस विषयमा छलफल बहस हुनु जरुरी थियो। सरोकारवाला निकाय कानमा तेल हालेर बसे।

चलचित्र छक्कापञ्जामा प्रयोग भएका शब्दहरू बाङ्गिदा कसैको ध्यान गएन। बुझ्न चाहेनन् त्यसको अर्थ। तम्रा त हाम्रा बाहेक को छ र भन्दै हिँडे सरोकारवाला पनि। आमनागरिक पनि। ‘तिम्रो त म बाहेक को छ र’ वा ‘मेरो त तिमी बाहेक को छ र’ लाई मध्य तथा सुदूरपश्चिममा कसरी भनिन्छ भन्ने कुरा सही ढंगले आएजस्तो लागेन। 

गीतकारले कस्तो अर्थ दिन खोजेका हुन् थाहा छैन। व्याकरणका हिसाबले यो पंक्ति शुद्ध मानिदैन। यो भाषाप्रतिको मजाक जस्तै देखिन्छ। तथापि गीतको लयले सजिलैसँग छोयो श्रोता दर्शकहरूलाई।  यस्ताखाले अन्य उदाहरण पनि नभेटिने हैनन्। खोज्दै जादा थुप्रै भेटिन्छन्।

भीमदत्त पन्तको फिल्म बन्यो। जुन फिल्ममा प्रयोग गरिएका केही शब्द र त्यहाँ देखिएका केही दृश्य आपत्तिजनक नै देखिन्छन्। उदाहरणका लागि भीमदत्त धेरैदिन पछि घरमा फर्किदा जुता फुकाली आमाको खुट्टामा ढोग्छन्। त्यसपछि श्रीमतीको अगाडी भने जुता पहिरेका खुट्टा सोझ्याउछन ढोग माग्नका लागि।

भीमदत्त जस्तो क्रन्तिकारी देशभक्त नेताले श्रीमतीलाई खुट्टामा लगाएको जुत्तामा ढोग्न लगाए होलान् भन्ने कल्पना नै गर्न सकिदैन। दोश्रो कुरा सुदूरपश्चिमका अधिकांश महिलाहरू अहिले पनि श्रीमान कतैबाट आउँदा ढोग्दैनन्। ढोग्छन् त केवल निधारमा टीका लगाइदिँदा मात्र।

त्यो समयमा त मान्छेको सामु श्रीमानलाई ठाडो शिर लगाएर हेर्ने सम्म गरिदैन थियो। कुराकानी र अभिवादनको त कुरै छोडौं। यसरी संस्कृति माथि खिल्लि उडाउदा हामीले प्रश्न गर्न सकेनौं। अर्थात् हाम्रा कुरा तिनलाई बुझाउन सकेनौं।

हामी हाम्रा कुरालाई सही ढंगले अरुसामु पस्किन पनि चुकेका छौं। जस्तो कि ‘ढोगदिए’ शब्दको प्रयोग यो भन्दा अगाडी हाम्रा अग्रज कलाकारले पनि गरेका थिए र अहिले पनि केहीले गरिरहेकै छन्। वरिष्ठ डेउडा गायक नन्दकृष्ण जोशीले मञ्चबाट श्रोता दर्शकहरूलाई लामो समयदेखि भन्दै आएका छन्ः ‘तमी निका छौ त।  मैले तमी सब्बैखि ढोगदिएँ।’ 

ती अग्रजले नै शब्दलाई यसरी प्रयोगमा ल्याएपछि अरुले अनुकरण गर्दैनन् भन्ने प्रश्नै उठ्दैनन्। ढोग कसलाई दिइन्छ भन्ने कुरा जोशीलाई थाहा नहुने कुरै भएन।

टिकटकका माध्यमले चिनिएकी डडेल्धुराकी पवित्रा साँकी अर्थात मिस पविलाई पनि राम्रैसँग थाहा छ उमेर र नाताले आफूभन्दा जेठालाई ढोग दिइन्छ भन्ने कुरा। उनलाई छोटो समयमै भाइरल बन्नु थियो। मतलब गरिनन् त्यो कुराको। र त सबैलाई ढोग दिइ नै रहिन्।

पछिल्लो समय तिनै मिस पविको अनुकरण गरी नमस्ते ढोगदिया भन्दै टिकटकमा देखापर्न थालिन् अछामकी नानु सिंह पनि। टिकटकमा उनका आमा छोराको उपस्थितिले व्यापकता पाएपछि उनले अभिवादन गर्न प्रयोगमा ल्याएका दुई शब्द नमस्ते र ढोगदियालाई टपक्क टिपेर गीतको मुखडा नै बनाइ दिए रमेश परियारले।  

कविता खत्री र खेम सेन्चुरीको स्वरमा रेकर्ड गरिएको उक्त गीतले बजार पायो। यी कलाकारहरूले यत्ति सोचे- ढोगदिया शब्द मात्र टिप्दा पनि गीत चल्न सक्छ। त्यसैले त उक्त गीतमा मध्य तथा सुदूरमा बोलिने अन्य शब्दको प्रयोग नै भएको छैन।

जे होस् यतिखेर त्यही नमस्ते ढोगदिया बोलको गीतले हल्ला मच्चाइरहेको छ सहरदेखि गाउँसम्म। कुनै शब्दलाई कहाँ कसरी राख्ने र त्यसको अर्थ के हो बुझ्नु जरुरी पक्कै हो तर शब्द कुनै क्षेत्र वा कुनै वर्गकै मात्र पेवा चाही पक्कै हैनन्। जहाँ कपिराइटको मुद्दा लागोस्।

कसैले रहरै रहरमा प्रयोग गर्न थाले भने कसैले मजाकका रुपमा। कसैकसैले लय र शब्द मन पराएर पनि यसलाई प्रयोग गरिरहेका हुन्। जेहोस् सारसंक्षेपमा भन्ने हो भने यो गीतले टिकटकमा खुबै ठाउँ लिइरहेको देखिन्छ। त्यस्तै सामान्य बोलीचालीमा पनि प्रयोगमा आइरहेको देखिन्छ। 

भीडले के राम्रो के नराम्रो ख्याल गर्दैन। भीडसँग विवेक हुँदैन। विवेक नहुँदा लहर र लहैलहैले मान्छे उचालिन थाल्छ। त्यतिबेला न त त्यसले दिने अर्थको ख्याल गरिन्छ न त कसैको भावनाको बारे सोचिन्छ।

अहिलेको समय भनेको प्रविधि हावि भैरहेको समय हो। संचार जगतमा नयाँनयाँ प्रविधिले अधिपत्य जमाइरहेको परिप्रेक्षमा मान्छे त्यसबाट के फाइदा लिन सकिन्छ भनेर सोचिरहेको हुन्छ। यहाँ त फाइदा पनि अरु नभएर अर्थको छ। बजारमा के चिज बिक्ने हो भन्ने योजना बनाइन्छ। 

यसरी बनाइएको योजनाले यथार्थपरक ढंगले समाजलाई पच्ने खालको सक्कली पाटो छनौट गरिदिए त ठिकै हो। उल्टै त्यसमा अन्य कुराको मिसावट गरेर अहित हुने काम बढी हुन थाल्दछ। 

एकजना मित्रले यही क्रममा भनेका थिए, ‘हाइब्रिडको जमाना जो छ, हाम्रो सभ्यता, संस्कृति र यसभित्रका मौलिक शब्दलाई पनि बिगारेर हाइब्रिड बनाउन थाले अहिले त।’

नाम र दामको भोको मान्छे सदा त्यसकै पछि लागिरहन्छ। पछिल्लो समयमा दाम हुनु पर्‍यो नाम त दामले नै कमाउन सकिहालिन्छ भन्ने मान्यता बोक्नेहरू पनि नभेटिने हैनन्। मान्छेमा यस्तो मनसाय बढ्दै जादा उसले हरेक क्षेत्रमा प्रयोग गर्न खोज्छ। त्यो प्रयोग भनेको पैसा कमाउन गरिने प्रयोग नै हो।

त्यसैले पछिल्लो समयमा सामाजिक संजाल एक प्रकारले प्रयोगशाला बनेको छ। यही प्रसंगमा जोशी बताउँछन्, ‘अचेल मौलिकता रहेन्, यातायातको सुबिधाले सम्पर्क टुटेर गयो, शिष्टता हरायो। जसको परिणाम पछिल्ला दिनमा देखिदै आएको छ।’

गहिरिएर मनन गर्ने हो भने हरेक क्षेत्रमा हामी हाम्रो मौलिकता मात्र गुमाइ रहेका छैनौ एकप्रकारले निरिह बन्दै गइरहेका छौं। यही कुरालाई मनन् गर्दै गीतका पक्ति सुनाउछन् उनी,

‘सल्लाकी ठाङरी माथि भुजाकी डाडुली 
मेरो को छ, म कै की छु को लाउँछ बाडुली।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!