प्रदीप भट्टराई
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल 'ट्रम्प २.०' ले ठूलै रेक्टर स्केलको भूकम्पको रूपमा देखापरेको छ । यसले ल्याएको सुनामीको प्रभाव अमेरिकाभित्र त परेको छ नै, अमेरिकाभन्दा हजारौ माइल टाढा रहेका देशहरूसम्म पनि मज्जैसँग परेको छ । गजबको कुराचाहिँ के भएको छ भने यो सुनामीबाट अमेरिकाका परम्परागत विरोधी देशहरू त प्रभावित हुने नै भए, अमेरिकी पक्षधर सहयोगी देशहरू पनि प्रभावमुक्त छैनन् । अमेरिकाको इतिहासमै यो एक दुर्लभ परिघटना हो ।
ट्रम्प २.० को सुनामीबाट दक्षिण एसियामा रहेको नेपाल पनि अछुतो रहन सकेको छैन । चीन र भारतबीच विशिष्ट भूराजनीतिक अवस्थितिमा रहेको नेपाल अमेरिकाका लागि रणनीतिक महत्वको देश हो । नेपालले पनि टाढाको छिमेकीका रूपमा अमेरिकालाई परिभाषित गर्दै आएको हो।
यही विशिष्टताका कारण नेपाल अमेरिकी सहयोग पाउने राष्ट्रको सूचीमा १६औँ स्थानमा थियो । ट्रम्प २.० ले यी सबै कुरालाई पूर्णतः बेवास्ता गरेको छ । एक किसिमले भन्ने हो भने यो नेपालका लागि ८ रेक्टर स्केलको महाभूकम्पभन्दा पनि कम छैन । आर्थिक र मानसिक कोणबाट हेर्ने हो भने त यो प्रभाव १९९० साल, २०४५ साल र २०७२ सालमा आएको महाभूकम्पलाई नै बिर्साउने खालको छ । मानवीय क्षतिको कोणबाट भने यसलाई हेर्न सकिन्न र मिल्दैन पनि ।
ट्रम्प २.० को प्रभाव देशका रूपमा नेपाललाई त परेकै छ, घरदेश र अमेरिकी परदेशमा रहेका नेपालीलाई पनि मज्जैले परेको छ । लाखौंको संख्यामा नेपालीहरू अमेरिकामा कोही कागजी अवस्था र कोही कागजविहीन अवस्थामा छन् ।
कागजविहीन अवस्थामा रहेकाहरू त ढिलो चाँडो नेपाल फर्कनु नै पर्छ भनेर ढुक्कै छन् तर विभिन्न श्रेणीको कागजी अवस्थामा रहेका नेपालीहरूमा रहेको मानसिक डर अझ डरलाग्दो छ । उनीहरू आउँदो चार वर्ष कसरी कटाउने भनेर एक किसिमको छटपटीमा छन् । यो छटपटी ट्रम्पलाई मत नदिने नेपालीहरूमा त छ नै, ट्रम्पलाई मत दिने 'ट्रम्पकन नेपालीहरू'मा पनि कम छैन । यद्यपि, मत दिने आफ्नै समुदायका मानिसहरूले खिसीटिउरी गर्लान् भनेर उनीहरू देखाउन सकिरहेका छैनन् ।
ट्रम्प २.० बाट नेपालमा परेका प्रभावहरू बहुआयामिक छन् । केही प्रभावहरू जनस्तरमा परेका छन् भने धेरै प्रभावहरू सरकारी स्तरमै छन् । जनस्तरको कुरा गर्दा, पहिलो कुरा त अमेरिकाको दक्षिणी सीमा कडाइ हुनासाथ तल्लो बाटो हुँदै नेपालबाट अमेरिकामा भइरहेको मानव तस्करीको कुरा आउँछ ।
तत्कालका लागि यो मानव तस्करी रोकिएको छ । यसबाट मानव तस्करीको ढोक्सा थापिरहेका मानव तस्करहरूको ओठमुख सुकेको छ । त्यसको प्रत्यक्ष प्रभाव तल्लो बाटो हिँडेर अमेरिका पुग्न खप्पिस तन्नेरीहरू रहेको रूकुम पश्चिमलगायतका जिल्लाहरूमा परेको छ । तल्लो बाटोका लागि मानव तस्करहरूलाई बैना दिइसकेकाहरू अब कसरी फिर्ता गर्ने भन्ने चिन्तामा छन् ।
अमेरिका पुगेको सपना देखिरहेकाहरू बिचैमा ऐठनमा परेका छन् । बीच बाटोमा पुगेकाहरू अलपत्र परेका छन् । अमेरिकाको सीमामा पक्राउ परेर फर्काउन लागिएकाका आफन्तहरू कहिले आइपुग्छन् भनेर हातका औँला भाँच्दैछन् ।
यो त गाउँको प्रभाव भयो र यसको खासै ठूलो चर्चा पनि छैन र हुँदैन पनि । ठूलो प्रभाव त अमेरिकी डलरमा गिरी खेलिरहेका सहरी सुकिला-मुकिलाहरूमा परेको छ र यसको चर्चा खासै सुरू भएको छैन तर प्रकारान्तरमा ठूलै मात्रामा हुनेवाला छ ।
खासगरी, गैरसकारी अभियानको नाममा अमेरिकी एजेन्डाको डलर–खेती गरिरहेका खेतालाहरू चर्चाको केन्द्रमा तानिएकाछन् । त्यसमा पनि पहिलो चरणमा विगतमा अमेरिकी डलर लिएर खेतीपाती गर्नेहरू छन् । उनीहरूलाई डलर लिएर जे पनि गर्ने ‘ अमेरिकी खेताला’का रूपमा समाजमा दुत्कार्ने काम भइरहेको छ । सामाजिक सञ्जाल हेरिसक्नु छैन
यसको मात्रा यति बढी छ कि हिजो समाजमा वाहवाही कमाएका मदनकृष्ण र हरिवशं (मह)लाई समेत थेग्न हम्मे परिरहेको छ । अरूको त के कुरा भयो र ? यद्यपि सानो संख्यामा भए पनि केहीले अमेरिकी डलर खेतालाहरूको पक्षपोषण गर्न छोडेका छैनन् । तर, उनीहरूको स्वर सुनिने गरी खासै ठूलो हुनसकेको छैन ।
सरकारीस्तरमा परेको प्रभावचाहिँ मुलतः एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) र युएसएड (अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी संस्था)सँग सम्बन्धित छ । नेपालमा ठूलो राजनीतिक माथापिच्ची गरेर आएको झन्डै एक खर्बको एमसीसी परिरयोजना ९० दिनका लागि निलम्बनमा परेको छ ।
नेपालको जलविद्युत् र सडक विस्तारमा काम गरिरहेको यो परियोजनाका सारा काम बन्द भएका छन् । कार्यालय चलाउनका लागि पनि सरकारले तीन महिने खर्च जुटाइदिनुपरेको अवस्था छ । ९० दिनको समीक्षापछि अमेरिकी हितमा रहेछ भनेर पुनर्विचार गरिने त भनिएको छ । तर, यसको माउ संस्था नै खारेज हुने ट्रम्प–सूचीमा परेकोले यो सुचारु हुने सम्भावना लगभग सकियो भन्दा पनि हुन्छ ।
युएसएड नेपालको कुरा गर्दा यो संस्थाले नेपालमा बर्सेनि लगभग ९५ अर्ब सहयोग गर्दै आएको छ । त्यो सहयोग सरकारी र गैरसरकारीस्तरमा गरी दुई खालको हुन्छ। गजबको कुरा, यो संस्थाले गैरसरकारी संस्थाहरूलाई दिने सहयोग त सरकारको रातो किताबमा पनि समावेश हुँदैन । यसबाट नेपालमा एक किसिमको समानान्तर अर्थव्यवस्था नै चलिरहेको छ भन्दा पनि फरक पर्दैन ।
यो संस्थालाई त ट्रम्पले भ्रष्टाचारको अड्डा मात्र भनेनन्, यसको स्वतन्त्र अस्तित्वलाई समेत नामेट पारिदिए । अहिले अमेरिकी विदेश विभागको एक मामुली शाखामा खुम्चिएको यो संस्थाका हजारौँ कर्मचारीहरू फाजेलमा परिसकेका छन् ।
यो संस्था खारेजीमा पर्नेबित्तिकै नेपाल सरकारलाई सन्निपात भएको छ । ऋणमा डुबेको सरकार ऋणको साँवा–ब्याज तिर्न पनि ऋण लिनुपर्ने अवस्थामा छ । यस्तो अवस्थामा रहेको सरकारका लागि रातारात बर्सेनि ९५ अर्ब रुपैयाँ बराबरको अमेरिकी डलर बन्द हुनु चानचुने कुरा हुनै सक्दैन । यो भवितव्यको मात्रा र यसको प्रभाव यति गम्भीर छ कि यतिबेला सरकारको वाक्य नै बसेको छ ।
अमेरिकी सरकार दाहिना नहुनु भनेको नेपालका लागि विश्व वैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली बैंकलगायतका ठूला ऋणदाताहरू पनि बायाँ पर्नु नै हो । यी संस्थाहरूबाट नेपालले खर्बौँको ऋण लिएको छ । एकातिर भाकामा त्यो ऋणको साँवा ब्याज तिर्नुपर्ने बाध्यता छ भने अर्कोतिर त्यो ऋण तिर्नकै लागि पनि ऋण लिनर्पर्ने अवस्था छ । त्यसका लागि चाहिने ऋणको मुहान नै सुक्नेवाला छ ।
परिस्थिति यति पेचिलो बनेको छ कि सरकार के गर्ने ? कसो गर्ने ? केही नै सोच्न सक्ने अवस्थामा छैन । एक किसिमले भन्ने हो भने सरकार पूर्णतः उपायविहीन अवस्थामा पुगेको छ ।
युएसएडको डलर–मुहान सुकेपछि नेपालमा अमेरिकी डलरमा तर मारिरहेका हजारौँ विकासे खेतालाहरूको बिल्लिबाठ हुनेवाला छ । अब उनीहरूका पाँचतारे गोष्ठी, सेमिनार, ब्रेकफाष्टदेखि लञ्चसम्मका क्रियाकलापहरू फाजिलमा पर्नेछन् । पसिना बगाएर भन्दा पनि नेपालको गरिबी, अभाव र अशिक्षा देखाएर ‘थुक उफार्दै’ खाइरहेका यी डलर खेतालाहरूको रुवाबासी हुने दिन धेरै टाढा छैन। दुःखको कुरा, समयले उनीहरूलाई डाको छोडेर रुन पनि छुट दिने छैन ।
अमेरिकी सहयोग बन्द हुनेबित्तिकै नेपालमा आन्तरिक मात्र होइन, बाह्य प्रभावमा पनि अतिरिक्त प्रभाव पर्छ । पाराडाइम सिफ्ट नै हुने किसिमको त्यो प्रभावको रूप र सार कस्तो हुन्छ ? अहिले नै भन्न सकिने अवस्था छैन । तर, अमेरिकाले सहयोग झिकेर खाली भएको ठाउँ भर्न चिनियाँ सहयोगचाहिँ बढ्छ नै ।
चिनियाँ सहयोगबाट त्यो खाली ठाउँ पूरै भर्न सम्भव नभए पनि केही भरथेगचाहिँ अवश्य हुन्छ । यो परिस्थितिको सिर्जना नेपालको चाहनाभन्दा पनि एक किसिमको परिस्थितजन्य बाध्यता हो । यसबाट एकातिर कांग्रेसलगायतका दक्षिणपन्थी शक्तिहरूको नूर गिर्नेछ भने अर्कोतिर कम्युनिष्टहरूको फूर्ति स्वभावतः बढ्नेछ । त्यसलाई भारतले कसरी लिन्छ र सम्बोधन गर्छ ? सिक्काको अर्को पाटोको निर्धारण यसले पनि गर्छ । तर, ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीकै सामु गरेको जस्ताको तस्तै ट्यारिफ घोषणाले भारतको सातो उडेको छ ।
नेपालमा बढ्दो कुशासनका कारण जनतामा निराशा, कुण्ठा र हतासा बढेकै छ । देशमा भविष्य छैन भनेर बनाइएको जबरजस्त भाष्य यथार्थमा परिणत हुँदै छ । नेताहरूको नियत र ल्याकत अरू नांगेझार हुँदै छ । नेताहरू जनआकांक्षालाई सम्बोधन गर्नेभन्दा पनि कसरी सत्तामा पुग्ने र लुटतन्त्र मच्चाउने भनेर तानाबाना बुन्न ब्यस्त छन् ।
प्रस्तुत आन्तरिक तथा बाह्य पृष्ठभूमिलाई हेर्दा नेपालमा फरक खाले राजनीतिक परिस्थिति सिर्जना पनि हुन सक्छ। त्यो परिस्थिति कुन रूपमा सिर्जना हुन्छ ? अहिले नै यसै भन्न सकिने अवस्था छैन । यसै पनि नेपाल हरेक १० वर्षमा राजनीतिक परिवर्तन गर्ने धैर्यता नभएको देशका रूपमा बदनाम छ । २०७२ मा गणतन्त्र नेपालका लागि संविधान जारी गरेको नेपाल अबको दुई महिनापछि नै २०८२ मा प्रवेश गर्दैछ ।
अमेरिका अहिले ट्रम्पेरिका हुने क्रममा द्रुततर गतिमा अगाडि बढेको छ । अमेरिका यसअघि संसारका प्रजातन्त्रवादी र पुँजीवादी देशहरूको नेताका रूपमा रहेको थियो । तर, ट्रम्पेरिका अब त्यो अमेरिकी भूमिकाबाट पछि हट्दै छ । अमेरिकालाई फेरि महान् बनाउने 'अमेरिका पहिलो' नीति ट्रम्पेरिकाको नीति हो । यही नीति जनतामा प्रष्टसँग अगाडि सारेर ट्रम्प सत्तामा आएका हुन् । अहिलेको अमेरिकी जनादेश पनि यही नै हो । यतिबेला ट्रम्प अमेरिकी जनताको त्यही जनादेशलाई केन्द्रमा राखेर चुनावमा गरेका बाचा पूरा गरिरहेका छन् । यसलाई अन्यथा भन्न मिल्ने अवस्था छैन ।
ट्रम्पले गरेका निर्णयहरू स्वेच्छाचारी भए भनेर प्रक्रियामाथि प्रश्नहरू उठेका छन् तर उनले लिएको खर्च कटौतीको नीति गलत हो भन्न सक्ने अवस्था छैन । किनकि, अमेरिकी जनताले तिरेको करको पैसा अमेरिकी सहयोगको नाममा संसारभरि अराजकता तथा हस्तक्षेपकारी नीति सिर्जना गर्दै एक किसिमको तरमारा वर्ग विकास गर्न खर्च भएकै हो । यो तरमारा वर्गका नेतारू विभिन्न एजेन्सी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका नाइकेका स्थानमा अमेरिकामै छन् । अमेरिकी डलर हात थापेर नेपालजस्ता देशमा गैरसरकारी संस्था खोल्नेहरू त तिनै अमेरिकी नाइकेहरूले अराएको काम गर्ने भाइनाइके र खेतालाहरू मात्रा हुन् । यही यथार्थमाथिको निशाना नै ट्रम्पको अर्जुनदृष्टि हो ।
यो स्तम्भकार सुरूदेखि नै नेपालमा हुने गैसस खेतीको बिलोममा रहँदै आएको हो । समय समयमा बिलोममै गैससलाई ऐजेरू र यसमा काम गर्नहरूलाई विदेशी एजेण्डाका स्वदेशी खेतालाहरू भन्दै निर्मम टिप्पणी पनि गरिएकै हो ।
नेपालमा व्याप्त गरिबी, अशिक्षा र पछौटेपनलाई देखाएर त्यसको समाधानको नाममा विदेशी पैसाको खोलो बगे पनि त्यसबाट नेपाल र नेपाली जनताको कायापलट नभइरहेको सत्य नलुकेको यथार्थ हो । अर्को सपाट सत्य भनेको नेपालमा एक किसिमको समानान्तर अर्थतन्त्र र त्यसको आडमा तरमारा वर्गको जन्म भएकै हो ।
यो स्तम्भकार विदेशी एजेण्डामा काम गर्नेहरूबाट स्वदेशको पक्षमा काम हुन्छ भन्ने कुरामा कहिलै विश्वास नै गर्दैन । गैसस र खेतालाहरूका लागि समस्या हुनु भनेको मेलो रहिरहनु हो । मेलो सकिएपछि त उनीहरूको खेलो नै सकिन्छ । त्यसैले उनीहरू समस्याको समाधान गरेर आफ्नो खेलोको मलामी जानै सक्दैनन् ।
नेपाली अर्थतन्त्र अहिले प्रतिकूल स्थितिबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा एकाएक अमेरिकी सहयोग बन्द हुनु कुनै पनि अर्थमा सुखद् पक्ष हैन । तर, अमेरिकाबाट ट्रम्पेरिका भएको अमेरिकाबाट नेपालले तत्कालका लागि यो भन्दा भिन्न कुराको अपेक्षा गर्नु पनि वाञ्छनीय हुँदैन ।
अझ, नेपाल त राष्ट्रपति ट्रम्पको निशानामै छ जस्तो देखिएको छ । युएसएडको खारेजी र खर्च कटौतीसम्बन्धमा ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमै उनले नेपालमा सञ्चालित तीन अमेरिकी आयोजनाको नाम नै लिएर ‘ठगी' भनी दिए । यो कठोर अभिव्यक्तिले पनि ट्रम्प नेपालप्रति ‘दयावान’ हुने संकेत गर्दैन ।
ट्रम्प २.० नेपालका लागि ठूलो संकट बन्ने संकेत मिलेको छ । तत्कालका लागि त यो अभिशाप नै देखिएको छ तर प्रकारान्तरमा यो वरदान पनि हुनसक्छ । किनकि, संसारमा अनेकौँ समस्याका अजंग पहाडहरू सम्याएर समाधानका मैदानहरू बनाइएका अनेकौँ उदाहरण छन् । स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र र व्यवहारिक बजेट निर्माणको दिशामा काम गर्न नेपालका लागि यो एक सुनौलो अवसर पनि हुनसक्छ ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया