पाकिस्तानका पूर्वराष्ट्रपति नक्कली बैंक अकाउन्ट मुद्दामा पक्राउ

तस्बिरः एजेन्सी

नक्कली बैंक अकाउन्ट खोलेको आरोपमा पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी पक्राउ परेका छन्।

इस्लामाबादको उच्च न्यायालयले सोमबार यो मुद्दामा उनलाई जमानत दिन अस्वीकार गरेपछि उनी जेल चलान भएका हुन्। उनलाई घरमै गएर प्रहरीले पक्राउ गरेको थियो।

नक्कली बैंक अकाउन्ट मुद्दामा उनीसँगै बहिनी फरयार तालपुरलाई पनि अदालतले जमानत दिन अस्वीकार गरेको थियो। जर्दारी पाकिस्तान पिपल्स पार्टी (पिपिपि) का सह अध्यक्षसमेत हुन्।

उनी पाकिस्तानका पूर्व प्रधानमन्त्री स्वर्गीय बेनजिर भुट्टोका श्रीमानसमेत हुन्। बेनेजिरको हत्यापछि उनी राजनीतिमा सक्रिय भएका थिए।

न्यायाधीश अमिर फारूख र मोहसनी अख्तार कयानीको बेञ्चले उनलाई जमानत नदिने निर्णय सुनाएको थियो। यसपछि उनी प्रहरीबाट समातिएका थिए।

गत महिना इस्लामाबाद उच्च न्यायलयले यो मुद्दामा उनलाई जमानत दिएको थियो। उनलाई त्यतिबेला ६ वटा मुद्दामा न्यायलयले जमानत दिएको थियो।

जरदारीमाथि पाकिस्तानबाट पैसा ट्रान्सफर गर्दा नक्कली बैंक अकाउन्ट सञ्चालनमा ल्याएको आरोप लागेको थियो।

उनीमाथि नक्कली बैंक अकाउन्ट खोलेर करोडौं रुपैयाँको लेनदेन गरेको आरोप लागेको थियो।

अदालतबाट उनको जमानत अस्वीकार भएपछि पाकिस्तानको भ्रष्टाचार दुरूपयोग अनुसन्धान आयोग नैबले सोमबार नै उनलाई गिरफ्तार गर्न पूर्जी काटेको थियो। स्थानीय प्रहरीले एफ ८ सेक्टरस्थित उनको घरमा प्रवेश गरेर पक्राउ गरेको थियो।

बहिनी फरयालको गिरफ्तारीको विषयमा पाकिस्तानको अखबारले कुनै जानकारी दिएका छैनन्।

प्रकाशित मिति: : 2019-06-10 19:17:53

प्रतिकृया दिनुहोस्