मन्दिरा अधिकारी
कास्की पोखरामहानगर–४ का कृष्ण न्यौपानेले काठमाडौँमा व्यापार गर्दै थिए। कोरोनाको महामारीसँगै उनको व्यवसाय चाैपट हुन थाल्यो।
व्यापार टुट्यो। अरु जागिर केही थिएन। काम पनि केही पाइरहेका थिएनन्। त्यसपछि कृष्णले विदेश जाने सोच बनाउन थाले। त्यत्तिकैमा एकजना एजेन्टसँग उनको चिनजान भयो। उनको नाम भरत थियो।
सात महिनाअघि न्युजिल्याण्ड जाने भन्दै उनले सात लाख रुपैयाँ एजेन्टलाई बुझाएका थिए। तर, न्युजिल्याण्ड जाने अघिल्लो दिन एजेन्ट सम्पर्कविहीन भएपछि हाल उनी वैदेशिक रोजगार विभागको चक्कर लगाउन बाध्य भएका हुन्।
व्यापार थाल्नुभन्दा अघि कृष्ण सशस्त्र प्रहरी थिए। लकडाउनमा आफ्नो व्यावसाय डुबेपछि उनले केही गर्न पाएनन्।
थोरै पैसामा दिनभर काम गर्न उनले चाहेनन्। त्यसैले सात लाख एजेन्टलाई बुझाएरै भएपनि न्युजिल्याण्ड जान तयार भए।
उनले एजेन्टलाई सुरुमा डेढ लाख रुपैयाँ दिएर डकुमेन्टको काम गर्न लगाए। त्यसपछि पुनः तीन लाख दिएर भिसालगायतका अन्य कामहरु गरे।
उनको भिसा लागिसकेको थियो। टिकटसमेत तय भइसकेको थियो। भोलिपल्ट फ्लाइट थियो। तर, त्यही दिनदेखि एजेन्टको फोन बन्द भयो। त्यसपछि उनी न्यायकाे लागि विभागको धाइरहेका छन्।
यसैगरी सिन्धुपाल्चोककी रमा बस्नेतको दिनपनि उसैगरी विभाग धाएरै बित्छ। कोरोनाकालमा चलिरहेको लुगा पसल बन्द गर्नुपरेपछि रमा पनि वैदेशिक रोजागारीमा जान चाहिन्। त्यसको लागि रमाले पनि उही एजेन्टलाई न्युजिल्याण्ड जान गरगहना बेचेर तीन किस्तामा सबै पैसा बुझाइन्। तर, अन्तिम पटक पैसा बुझाएपछि एजेन्ट फोन बन्द गरेर सम्पर्कविहीन बने।
‘एजेन्टले महिनाको डेढ लाखसम्मको कमाई हुन्छ भनेपछि भएका गहना बेचेर विदेश जान तयार भएकी थिएँ। तीन पटक गरेर ६ लाखभन्दा बढी पैसा बुझाएँ,’ उनले भनिन्, ‘अन्तिम पटक पैसा बुझाएपछि फोन नै बन्द गरेर बसिदियो।’
कृष्ण र रमाकाे मात्रै होइन, न्युजिल्याण्ड पठाउने भन्दै ती एजेन्टले अन्य १३ जनाको एक करोडभन्दा बढी रकम लिएर फरार भएको कृष्ण बताउँछन्।
‘सुरुमा त यसले मलाई मात्रै ठगेको हो कि जस्तो लागेको थियो। एक्लै केही गर्नसमेत सकिरहेको थिइनँ,’ उनले भने, ‘दुई/तीनपछि त अरुहरु १२ जनालाई समेत ठगेर एक करोडभन्दा बढी रकम लिएर भागेको थाहा भयो।’
एजेन्टले शंका हुने कुनै क्लु नछोडी काम गरेका कारण आफूहरुले विश्वास गरेर पैसा दिएको सुनाउँछन्।
‘हामीलाई त सबै कुरा साच्चैँ हाेजस्तो लागेको थियो। भिसा, बोडिङ पास सबै सक्कली जस्तै थियो। टिकटसमेत कन्फर्म भइसकेको थियो, फसिएला भनेर कुनै तरिकाले पनि सोचिएन। तर, फ्लाइट भनेको अघिल्लो दिन फोन बन्द भएपछि मात्रै छाँगाबाट खसेजस्तो भइयाे’, उनले भने।
यसैगरी केही दिनअघि मात्रै नेपाल प्रहरीले अमेरिका लैजाने भन्दै काठमाडौँ ल्याएर बन्धक बनाई पैसा ठग्ने गिरोहलाई पक्राउ गरेर सार्वजनिक गर्यो।
भारतीय नागरिकलाई अमेरिका लैजाने बहानामा रातोपुलको एक घरबाट बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उनीहरुको उद्दार गरेको थियो।
उक्त गिरोहले उनीहरुबाट प्रतिव्यक्ति ४० देखि ४५ लाखसम्म असुली गरी वैदेशिक रोजगारीको नाममा विगत तीन महिनादेखि धन्दा गर्दै आइरहेका थिए।
गिरोहले उनीहरु मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाई टिकट र बोडिङ पास देखाएर भारतीय नागरिकबाट परिवारबाट पैसा असुली गर्ने गरका थिए।
०००
हाल वैदेशिक रोजगारीको नाममा हुने ठगी माैलाउँदै जान थालेको छ। दुई दशकअघिसम्म हजारमा सीमित हुनै ठगी हाल आएर लाखाैँको मात्रामा हुन थालेका छन्।
वैदेशिक रोजगार विभागको पछिल्लो तंथ्याकअनुसार एक वर्षमा मात्रै करिब साढे चार हजार ठगीका उजुरी तथा मुद्दा दर्ता भएका छन्। विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ठगीका चार हजार ४६४ उजुरी तथा मुद्दा परेका हुन्।
वर्षभरि परेका उजुरी तथा मुद्दामध्ये एक हजार ७५१ को पीडित र पीडकबीच भएको मेलमिलापमार्फत टुंग्याउँदै आर्थिक क्षतिपूर्तिसमेत उपलब्ध गराइएको विभागले जनाएको छ।
पीडितहरुलाई मेलमिलापमार्फत ठगी भएको झण्डै ५६ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिलाएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए। बाँकी थुप्रै मुद्दाको आवश्यक छानविन र अनुसन्धानको क्रममा रहेकाले यसको परिणाम छिट्टै आउने उनले जानकारी दिए।
‘वैदेशिक रोजगार विभागमा ठगीका उजुरी तथा मुद्दा हेर्नका लागि मुद्दा तथा अनुसन्धान शाखा, राहत उद्दार तथा समन्वय शाखा र प्रहरीको टोलीसमेत खटिएको छ,’ उप्रेतीले भने, ‘संस्थागतभन्दा पनि व्यक्तिगत ठगीका उजुरीहरु बढी रहेका कारण समयमै सम्बोधन गर्न कठिनाइ भए पनि विभागले तदारुकताका साथ काम गरिरहेको छ।’
यस्तै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा ठगी भएको १३ करोड ८४ लाख ४५ हजार रूपैयाँ श्रमिकहरूले पाएका छन्।
यो अवधिमा कुल तीन हजार ४९५ उजुरी परेका थिए। तीमध्ये करिब १ हजार ५६० मुद्दा फर्स्योट भएका छन्। उनीहरूको कुल मागदाबी कति थियो भन्ने तथ्यांक भने विभागले राखेको छैन। यस्तो तथ्यांक विभागले तयार गरिरहेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए।
गत साउनदेखि पुस मसान्तसम्म विभागको उद्धार राहत तथा समन्वय शाखामा ६९० उजुरी परेका थिए। यो अवधिमा विदेशमा समस्यामा परेका ४५ जनाको उद्धार गरिएको विभागले जनाएको छ। जसमध्ये १७२ जनाले क्षतिपूर्ति पाएका छन् भने ७९ उजुरी दुई पक्षबीच आपसी सहमतिमा फर्स्योट भएको विभागको भनाइ छ। र ६५ वटा उजुरी फिर्ता भएका छन्। एउटा उजुरी तामेलीमा गएको विभागको तथ्यांकमा उल्लेख छ।
यो शाखामा परेका कुल ६९० उजुरीमध्ये ३६२ फर्स्योट भएको विभागको भनाइ छ। उनीहरूलाई एक करोड ३९ लाख ४६ हजार क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ।
त्यस्तै विभागको मुद्दा तथा अनुसन्धान शाखामा एक हजार १३० उजुरी परेका छन्। जसमध्ये १९१ मुद्दा मिलापत्र भएका छन् भने ८४ मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर भएका छन्। यो शाखामा परेका उजुरीअन्तर्गत ११ करोड, दुई लाख ८९ हजार ६०० रूपैयाँ क्षतिपूर्ति पीडित पक्षलाई उपलब्ध गराइएको उल्लेख छ।
त्यस्तै प्रहरी शाखामा एक हजार ६७५ उजुरी परेका थिए। जसमध्ये ६५ मिलापत्र गरिएको र ८५८ फर्छ्यौट गरिएको उल्लेख छ। फर्छ्यौट हुन ७५२ उजुरी बाँकी छन्। यो शाखामार्फत् एक करोड ४२ लाख ९ हजार ४०० रूपैयाँ रकम असुलउपर गरिएको उल्लेख छ।
एजेन्टमार्फत् वैदेशिक रोजगारीमा
वैदेशिक रोजगारीका पठाउनका लागि म्यानपावर कम्पनीहरु श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत दर्ता हुनुपर्छ। उनीहरुले विदेश पठाउने कामदारसँग निश्चित रकम लिन पाउँछन्।
यसरी म्यानपावर कम्पनीहरुबाट वैदेशिक रोजगारीमा जाने मानिसहरुलाई म्यानपावरले ठगी गर्यो, भनेअनुसारका काम पाएनन् वा अन्य कुनै समस्या पर्यो भने म्यानपावरको धरौटीबाट पैसा काटी पीडितलाई क्षतिपूर्ति दिन पाउँछन्। तर एजेन्टहरु न कुनै दर्ता या ठेगाना हुँदा उनीहरुले पैसा लिएर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने उप्रेती बताउँछन्।
वैदेशिक रोजगारी ऐन २०६४ बमोजिम इजाजतपत्र नलिई कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउँदैनन्। तर, हाल आएर एजेन्टमार्फत विदेशिने क्रम बढेको हुँदा उजुरी संख्यासमेत बढेको उनी बताउँछन्।
‘दर्ता भएका संस्थाबाट गएका छन् भने कारबाहीको दायरामा ल्याउन सकिन्छ। तर, कुनै कुनै केश यस्ता पनि हुन्छन्, एजेन्टको नामसमेत थाहा नभई लाखाैँ रकम दिएका हुन्छन्। यस्तो अवस्थामा कसरी कारर्बाही गर्ने? यसरी नै वर्षैपिच्छे एजेन्टमार्फत ठगिनेको संख्या बढेको बढ्यै छ’, उनी भन्छन्।
पढेलेखेका नै धेरै ठगको फन्दामा
विदेश जानका लागि एजेन्टसम्म पुग्ने युवाहरुको मुख्य रोजाइ युरोप परेको देखिन्छ। विभागमा परेका मुद्दाको तथ्यांक हेर्दा ५ लाखदेखि १० लाख रुपैयाँसम्म उनीहरुले खर्च गर्ने गरेको पाइएको छ। पढेलेखेका युवाहरु नै वैदेशिक रोजगारी भन्दै एजेन्टको फन्दामा पर्ने गरेका छन्।
‘युरोप, अस्ट्रेलिया, अमेरिका, क्यानडा, माल्टा, क्रोएसिया, रोमानियाजस्ता देशमा जानका लागि युवाहरु एजेन्टसम्म पुग्ने गरेका छन्’ विभागका निर्देशक तथा सूचना अधिकारी उप्रेती भन्छन्, ‘जुन काम गर्नै पाउँदैनन्, त्यही काम उनीहरुले गर्ने भन्दै ठगी गरेका छन्। त्यसैले हामीले बेला–बेला यसरी रोजगारीका लागि एजेन्टकोमा नजानू भनेर सूचना पनि निकाल्ने गरेका छौँ। तर पढेलेखेका मानिस नै त्यहाँ पुगेर ठगिएका छन्।’
कानुनमा इजाजतबिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, वैदेशिक रोजगारमा पठाउँछु भनि झुठो आश्वासन दिएमा वा प्रलोभन देखाई रकम असुली गरेमा ३ देखि ७ वर्षसम्म कैद सजाय र ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ।
वैदेशिक रोजगारीमा गइ अलपत्र परेमा पीडितसँग लिएको रकमको ५० प्रतिशत हर्जनासहित विदेश जाँदाआउँदासम्मको खर्चसमेत सम्बन्धित व्यक्तिले दिनुपर्ने कानुनी व्यवस्था छ। तर अधिकांश पीडितहरुले उक्त कानुनी व्यवस्था अनुरुप न्याय पाउन सकेका छैनन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया