प्रदीप भट्टराई
०७७ मंसिर ३० गते, प्रधानमन्त्री थिए केपी शर्मा ओली । उनले दिउँसो संवैधानिक परिषद्को बैठकमा तीनजना उपस्थित भए पनि कोरम पुग्ने अध्यादेश ल्याए । साँझ तत्कालीन प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणालाई उपस्थित गराएर संवैधानिक परिषद्को बैठक राखे ।
अख्तियारमा प्रमुख आयुक्त र दुई आयुक्तको पद खाली थियो । बैठकमा सहभागी तीनजनाले एकएकजना भाग लगाए । ओलीको भागमा प्रमुख आयुक्त परे, देउवा र राणाको भागमा आयुक्त । ओलीले प्रेमकुमार राईको नाम अगाडि सारे, देउवाले जयबहादुर चन्द र चोलेन्द्रले किशोरकुमार सिलवालको । यसरी सिफारिस भएका उनीहरूले माघ २१ गते अख्तियारमा पदबहाली गरे ।
२०७८ वैशाख २६ गते । यतिबेला पनि ओली नै प्रधानमन्त्री थिए । अख्तियारमा फेरि दुई आयुक्तको पद खाली भयो । ओलीले फेरि पुरानै अध्यादेशको आधारमा डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ अमात्यलाई भर्ना गरे । यसपटक डा. पौडेल देउवा र डा. अमात्य ओलीको कोटामा सदस्य भए ।
लगत्तै अख्तियारमा भर्ना भएका यी सबै आयुक्तलगायत ५२ संवैधानिक पदाधिकारीको नियुक्ति असंवैधानिक भयो भन्दै सर्वोच्च अदालतमा मुद्दा प¥यो । विडम्बना, यता अख्तियारमा भर्ना भएका आयुक्तहरू र उता सर्वोच्चमा भर्ती भएका श्रीमानहरू सबै ओली–देउवाकै कोटाका थिए । दुवैको हिमचिममा यति महत्त्वपूर्ण मुद्दा चार वर्ष स्लिपिङ ट्याबेट खुवाएर सर्वोच्च अदालतमा सुताइयो । पाँचौँ वर्षमा बल्ल बल्ल ब्युझेको त्यो मुद्दाको फैसला यही जेठ २८ मा हुने मिति भनिएको छ ।
ओलीले ल्याएको अध्यादेश नै असंवैधानिक छ । त्यसैले दुवैतिर एउटै कोटाका भए पनि अख्तियार आयुक्तहरूको नियुक्ति बदर हुने सम्भावना धेरै छ । यो मुद्दालाई नजिकबाट नियालिरहेका संवैधानिक कानूनका जानकारहरू नै यसै भनिरहेका छन् ।
तर, यिनै आफ्नै नियुक्ति बदरभागी हुने संघारमा उभिएका आयुक्तहरूले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेर ‘चक्मा’ दिए । नेपालविरूद्ध प्रधानमन्त्री भएको बेला मन्त्रिपरिषदले पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा किन्ने सुविधा दिएको र त्यसको दुई महिनाभित्रै बेच्न अनुमति दिएको अभियोग छ ।
अख्तियारले नेपालविरूद्ध मुद्दा चलाउनुका पाँचवटा आधार दिएको छ,
–नेपालको प्रत्यक्ष निर्देशनमै आएको थियो हदबन्दीभन्दा बढी जग्गा किन्ने सुविधा
– नेपालले ठाडो प्रस्तावको रूपमा ल्याएका थिए जग्गा सट्टा प्रस्ताव
– सरकारीकरण हुनुपर्ने सम्पत्ति दिइयो बेच्न
–कम्पनीको प्रबन्धपत्रमै सम्पत्ति बिक्री गर्न नपाइने भनिएकोमा सरकारले गर्न पाउने निर्णय गरिदियो
– निर्णय गराउन नेपालले राजनीतिक दबाब दिएको अरूको बयान
अख्तियारका यी आधारहरू हेर्दा यो प्रकरणमा नेपालको पनि संलग्नता छैन भन्न सकिन्न । यसबाट उनले फाइदा लिएनन् होला तर अरूले फाइदा लिएनन् र राष्ट्रलाई नोक्सान भएन भन्न सकिने आधार पनि देखिदैन । सत्य–तथ्य के हो ?, अदालतमा प्रवेश गरिसकेको विषय प¥यो, निर्णय पनि अदालत नै गर्ने छ ।
तर, यतिबेला भने यो विषय नेपाली राजनीतिको तातो तावामा छ । एकातिर सरकार र सत्तारूढ दलहरू अख्तियारको विषय हो, यसमा ‘हाम्रो कुनै हात छैन’ भनेर पन्छिरहेका छन् । अर्कोतिर, नेपालको दल नेकपा एस र अधिकांश प्रतिपक्षी दलहरू भने सरकार प्रमुख ओलीले अख्तियारतिर आँखा सन्काएरै यस्तो भएको भनिरहेका छन् ।
यसैबीच, नेपालले आफू सुशासनको पक्षमा रहेको भन्दै आफू अनुसन्धान हुनुहुँदैन भन्ने पक्षमा नरहेको बताएका छन् । उनले आफू निर्दोष रहेको भन्दै अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । यति हुँदाहुँदै पनि उनले राज्यले खासगरी ओलीले बदलाको भावना राखेको भन्न छोडेको छैनन् । अझ नेपालको दल नेकपा ‘एस’का केही नेताले त अख्तियार प्रमुख राई नै ओलीको लाचार छाया भएको आरोप पनि लगाइरहेका छन् ।
यो आरोपप्रति धेरै नेपालीको विश्वास पनि रहेको देखिन्छ । यसको पछाडिको कारण ओली र अख्तियार प्रमुख राईबीचको प्रोक्सिमिटीदेखि उनलाई नियुक्ति गर्दाको पृष्ठभूमी मात्र छैन, नेपालप्रति ओलीको प्रष्टसँग देखिदै आएको वैरभाव पनि छ । अख्तियारको कार्यक्षेत्रमा नपर्ने भनेर २०६९ मंसिर २५ गतेको अख्तियारको बैठकले नै तामेलीमा पठाइएको मुद्दा ओली–राई गठजोठमा १२ वर्षपछि ब्युझाइनु र त्यसको निशानामा ओलीको तारोमा रहदैआएका नेपाल नै पर्नुलाई सामान्य संजोग मात्र भन्न सकिन्न ।
के हो नीतिगत निर्णय ?
नेपाली जनता भ्रष्टाचारको विरुद्धमा छन् । र, भ्रष्टाचारमा ठूला नेताहरूको प्रत्यक्ष संलग्नता रहेको भन्नेमा पनि सोह्रै आना निश्चिन्त छन् । खोजबिन गर्ने हो भने नेपालका कुनै पनि बहालवाला वा पूर्वप्रधानमन्त्रीले नीतिगत निर्णयको कवचमा मन्त्रिपरिषद्बाट यस्ता विवादास्पद निर्णय नगराएको भन्ने नै छैन । त्यस्ता निर्णयबाट भएका भ्रष्टाचारहरू कुनै पनि नेपालीको आँखाबाट लुकेका पनि छैनन् ।
तर, अहिलेको मूलप्रश्न भनेको नीतिगत निर्णयको व्याख्या हो । अहिलेसम्म पनि के नीतिगत निर्णय के हो र के हैन भन्ने निक्र्यौल नै भएको छैन । मिडिया, नागरिक समाज र आमजनतामाझ त नीतिगत निर्णयको ब्याख्याको जबरजस्त माग छ नै, अख्तियारले पनि लामो समयदेखि मन्त्रिपरिषदबाट हुने गरेका कतिपय गलत निर्णयमा मुद्दा चलाउन नपाएको भन्दै नीतिगत निर्णयको व्याख्या गरिदिन आग्रह गर्दै आएको छ ।
यही क्रममा राष्ट्रिय सभाले अख्तियार ऐनको संशोधन विधेयकमा तीन प्रकारका निर्णयहरू नीतिगत निर्णय नहुने व्याख्या नै गरिदिएको छ । राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको यो विधेयकमाथि राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले ‘मन्त्रिपरिषद्का निर्णयमाथि पनि कानुनी परीक्षण हुन सक्ने’ व्यवस्थासहितको प्रतिवेदन तयार पारेको छ । तर, प्रमुख राजनीतिक दलका शीर्ष नेताको दबाबमा त्यो विधेयक राज्य व्यवस्था समितिबाट सदनमा पठाइएको छैन ।
कारण, प्रस्ट छ अहिलेका ठूला तीन दलका सुप्रिपोको अरूचि । पटक पटक प्रधानमन्त्री भएका उनीहरू आफू प्रधानमन्त्री भएको बेला नीतिगत निर्णयका आधारमा अनेक भ्रष्टाचारजन्य निर्णय गराएका छन् । बाँचुञ्जेल प्रधानमन्त्री हुने सपना देखेका उनीहरू भविष्यमा पनि त्यस्तै गर्न चाहन्छन् । आफैं संसदीय दलको नेता भएको बेला नीतिगत निर्णयको व्याख्या गरेर आफ्नो गर्दनमाथि खतराको तरबार झुन्ड्याउन उनीहरूको चाहना हुने कुरै भएन ।
त्यसमा पनि वर्तमान संसदका ठूला दुई दल कांग्रेसका सभापति देउवा र एमालेका अध्यक्ष ओली त पटक्कै चाँहदैनन् । स्मरणीय रहोस्, आफू प्रधानमन्त्री भएको बेला नीतिगत निर्णयको कवचमा यी दुई वाइडबडीदेखि गिरीबन्धु टी स्टेटसम्मका अनेकौ भ्रष्टाचारजन्य काण्डमा सोझै संलग्न छन् ।
एकातिर, आफूलाई अप्ठ्यारो पर्छ भनेर नीतिगत निर्णयको व्याख्या गर्न नदिने अर्कोतिर नीतिगत निर्णय नै गराएको अभियोगमा माधव नेपालविरूद्ध भने मुद्दा चलाउन लगाउने यो आफैँमा ठूलो विरोधाभास हो । यसैले पनि नेपालविरूद्धको यो मुद्दा भ्रष्टाचारको विषयभन्दा पनि बढी राजनीतिक प्रतिशोधको विषय बनेको छ । परिणामतः राजनीतिक दलको तहमा मात्र हैन, मिडिया, नागरिक समाज र आमजनताको तहसम्मै यसको जबरजस्त राजनीतिकरण भएको छ ।
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको यो मुद्दा एक गम्भीर मुद्दा त हो नै, गणतन्त्र नेपालको इतिहासमै यस्तो पहिलो मुद्दा पनि हो । यसले नेपालमा भ्रष्टाचारको अनुसन्धान र अभियोजनको दिशामा नयाँ अध्याय सुरु गरेको छ । यो मुद्दा दर्ता भएसँगै मन्त्रिपरिषद्का निर्णयमा अख्तियारले अनुसन्धान गर्न नमिल्ने भनेर शीर्ष नेताहरूका लागि प्राप्त अतिरिक्त र आपरदर्शी रक्षा कबच निरस्त भएको छ ।
यो मुद्दालाई स्वाभाविक रूपमा अगाडि बढ्न दिएर सहज रूपमा अवतरण गराइयो भने यो आफैँमा नेपालको सुशासन र जवाफदेहितातर्फ एक जबरजस्त कोसेढुंगा साबित हुनेछ । तर, त्यसो नगरेर राजनीतिक प्रतिशोधको विषय मात्र बनाइयो भने यो एक फरक किसिमको राजनीतिक कोतपर्वको सुरुवात पनि हुन सक्छ ।
तर, अहिले जुन समय र परिस्थितिका बीच जसका विरुद्ध यो मुद्दा विशेष अदालतमा पुगेको छ, त्यो देख्दा यो आफैँमा विपक्षी नेतामाथिको बदलाको राजनीति हैन भन्न सकिने अवस्था छैन । यसलाई समयक्रममा संस्थागत गरियो भने यसले नेपालको राजनीतिलाई पनि बंगलादेश र पाकिस्तानकै जस्तो बदलाको बाटोमा लैजाने निश्चित छ ।
पतञ्जलि प्रकरणले उब्जाएको अर्को प्रश्न अख्तियारको निष्पक्षताको पनि हो । प्रमुख आयुक्त र आयुक्तहरूको नियुक्तिमा अति राजनीतिकरण भैसकेको अख्तियार यसै पनि विश्वासको संकटमा छ । त्यसमाथि पनि सत्ताधारी ओली–देउवाको कोटामा नियुक्त अख्तियारका वर्तमान प्रमुख आयुक्त र आयुक्तहरूको नियुक्ति नै प्रश्नको घेरामा छ ।
चार वर्षसम्म सर्वोच्च अदालतमा सुताइएको त्यो प्रश्नले यही जेठ २८ गते निर्णय पाउँदै छ । त्यसैको पूर्वसन्ध्यामा ओली–देउवाले असंवैधानिक रूपमा भर्ती गरेका प्रमुख आयुक्त र आयुक्तहरूले ओलीको तारोमा रहेका नेपालविरूद्ध मुद्दा चलाउनु सामान्य कुरा हैन ।
अख्तियारको नेतृत्वसामु तीनवटा यक्ष प्रश्नहरू
–पहिलो प्रश्न, पूर्वप्रधानमन्त्री माधव नेपालको मन्त्रिपरिषदले गरेको सामूहिक निर्णय मात्र किन नीतिगत भएन ?
–दोस्रो प्रश्न, पहिला किन त्यही निर्णय नीतिगत भनेर मुद्दा चलाइएन र अहिले किन चलाइयो ?
–तेस्रो प्रश्न, प्रमुख आयुक्त र आयुक्तहरूको नियुक्ति नै संवैधानिक कि असंवैधानिक भनेर निर्णय हुने पूर्वसन्ध्यामा लिइएको यो निर्णय आफैँमा कति नैतिक धरातलमा छ ?
अख्तियारले आफ्नो निष्पक्ष, स्वाधीन र स्वतन्त्र संवैधानिक हैसियत पुष्टि गर्नका लागि पनि यी तीन प्रश्नहरूको उत्तर दिनै पर्छ । तर, अख्तियारमा नियुक्ति पाउनका लागि सारा मूल्य, मान्यता र सिद्धान्त नै भर्ती गर्ने मालिकहरूका सामु चढाएका अख्तियार पदाधिकारीहरूबाट जिम्मेवार उत्तर आउला भनेर अपेक्षा गर्न सकिने अवस्था छैन ।
यति भन्दाभन्दै पनि सत्य के पनि हो भने प्रश्न अख्तियारसामु मात्र छैनन्, पूर्वप्रधानमन्त्री नेपालका सामु पनि ठडिएका छन् । जस्तो कि, मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगेर जग्गा किन्न दिने र त्यही जग्गा दुई महिनापछि नै बेच्न दिने निर्णय के स्वाभाविक निर्णय हो ? के यो निर्णयबाट कसैले पनि फाइदा लिएका छैनन् ? के यो निर्णयबाट देशलाई नोक्सान भएको छैन । के आफू सधैँ भ्रष्टाचारको विरुद्धमा छु वा सत्ताको दुरुपयोग गरेर आफूविरूद्ध मुद्दा चलाइयो भनेर मात्र आफूलाई निर्दोष साबित गर्न सकिन्छ ?
यो स्तम्भकार पाका वामपन्थी नेता नेपाललाई तुलनात्मक रूपमा एक सादगी नेता ठान्छ । तर, यति हुँदाहुँदै पनि पहिलो दृष्टिमै बिचौलियालाई फाइदा र देशलाई नोक्सान हुने यस्तो खराब निर्णय कसरी भयो होला भन्ने प्रश्नले चाहिँ छोड्दैन । एक मनले भन्छ, देश नै बिचौलियाले चलाएका छन् । नेपाल पनि बिचौलियाको फन्दामा परे होलान् । अर्को मनले भन्छ यति अनुभवी र पाका नेताले पनि कसरी मान्छे चिन्न नसकेका होलान् ? भनाइ नै छ नि, सङ्गत गुनाको फल । यो निर्णयको क्रममा सङ्गत चाहिँ खराब भएकै हो ।
जे होस्, नेता नेपालसामु यतिबेला सानो समस्या उभिएको छैन । यो समस्याले उनको राजनीतिक भविष्य नै दाउमा ठेलेको छ । अदालतमा पुगिसकेको यो विषयमा आफैं निर्णय गरेर न्यायाधीश बन्ने धृष्टता यो स्तम्भकार गर्न चाहँदैन । यति चाहिँ भन्छ, ओलीले अख्तियारतिर आँखा नसन्काई अख्तियार नेपालमाथि लागेको छैन । आखिर लागी त सक्यो, अब गर्ने भनेको कामना मात्रै हो, यो नेपाली राजनीतिको अर्को कोतपर्व नहोस्, बन्छ भने सुशासनको दिशामा कोशेढुंगा बनोस् ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया