बुधबार, ०४ नोभेम्बर २०२६

कांग्रेसले भन्योः भय र भ्रमको शासन बन्द गर

News Image
• • •

नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरूद्ध भइरहेको षड्यन्त्र, दुष्प्रचार तथा राज्य संयन्त्रको दुरूपयोगविरूद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

महामन्त्री प्रदीप पौडेलले मंगलबार ६ बुँदे धारणा सार्वजनिक गर्दै विशेष महाधिवेशन र राष्ट्रिय महाधिवेशनमार्फत निर्वाचित नेतृत्व र पार्टीको वैधानिकतामाथि उठाइएका प्रश्न, तथाकथित अडियो बयान तथा विभिन्न प्रचारहरू निराधार, कपोलकल्पित र नियोजित भएको दाबी गरेका हुन्।

कांग्रेसले भय र भ्रमको शासन बन्द गर्न सरकारसँग मागसमेत गरेको छ।

कांग्रेसले २०८२ पुसमा विधानअनुसार सम्पन्न विशेष केन्द्रीय महाधिवेशन निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको र सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भएको, २०८३ असोज १६ देखि २३ गतेसम्म पार्टीको १५औँ महाधिवेशनसमेत सम्पन्न भइसकेकाले पार्टीको वैधानिकतामाथि प्रश्न उठाउने प्रयास स्वीकार्य नहुने कांग्रेसले बताएको छ।

त्यस्तै, ‘इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम जोडिएर राज्यका निकाय दुरूपयोग भएको विषय सार्वजनिक भइरहेको भन्दै कांग्रेसले प्रश्न उठाएको छ।

प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित व्यक्तिहरूको संलग्नतामा अनुसन्धानमा रहेका व्यक्ति र प्रमाणमाथि अनधिकृत नियन्त्रण तथा छेडछाड भएको भनिएका विषयको निष्पक्ष अनुसन्धान हुनुपर्ने कांग्रेसको माग छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!