बुधबार, ०४ नोभेम्बर २०२६

प्रहरीलाई दलीय प्रभावबाट ‘मुक्त राख्न’ नवनियुक्त आईजीपीको आग्रह

News Image
• • •

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले प्रहरी संगठन एक्लैको प्रयासले मात्र पूर्ण शान्ति सुरक्षा कायम गर्न सम्भव नहुने बताएका छन्।

आधुनिक प्रहरीको सबैभन्दा ठूलो पुँजी नै जनतासँगको सम्बन्ध भएको बताउँदै उनले सरकार, राजनीतिक दल, मिडिया र नागरिकको सहयोगको अपेक्षा राखे। उनले प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्नसमेत आग्रह गरे।

गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह ग्रहण गर्दै उनले भने, ‘म नेपाल सरकारसँग आवश्यक स्रोत साधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता, अनि राजनीतिक दलहरूसँग प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न सहयोगको विनम्र आग्रह गर्दछु।’

सञ्चार जगतलाई उनले प्रहरीका कमजोरीसँगै राम्रा कामलाई पनि स्थान दिन आग्रह गरे।

केसीले प्रहरी संगठनभित्रका कर्मचारीका गुनासा सम्बोधन गर्न तत्काल संयन्त्र निर्माण गर्ने घोषणा पनि गरे। उनले विशेषगरी प्रहरी जवान र हवल्दार तहका कर्मचारीका गुनासा सुन्ने संयन्त्र तत्काल गृह मन्त्रालयमै प्राथमिकताका साथ सञ्चालन गरिने बताए।

उनले नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा नेपाल सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा गृह मन्त्रालयप्रति आभार व्यक्त गरे । प्राप्त दर्ज्यानी चिन्ह कुनै व्यक्तिको पदोन्नति मात्र नभई राज्य, नेपाली जनता र सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल प्रहरीप्रतिको विश्वासको प्रतीक भएको उनको भनाइ थियो।

उनले भने, ‘विशेषगरी आधारभूत तहका प्रहरी जवान र प्रहरी हवल्दारहरूका गुनासा सुन्ने एउटा संयन्त्र तत्काल सुरु गर्नेछौँ। गृह मन्त्रालयमै प्राथमिकताका साथ यो संयन्त्र सञ्चालन गर्नेछौँ। नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू तथा गृह मन्त्रालयप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु। यो दज्र्यानी चिह्न एक व्यक्तिको पदोन्नति मात्र होइन, नेपाल राज्य, नेपाली जनता र सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल प्रहरीप्रतिको भरोसा पनि हो।’

केसीले निवर्तमान प्रहरी महानिरीक्षकसहित पूर्वप्रहरी नेतृत्वले संगठनमा स्थापित गरेका मूल्य, मान्यता र अभ्यासलाई आफ्नो कार्ययात्राको आधार बनाउने बताए।

उनले अहिले अपराधको स्वरूप र समाजको अपेक्षा तीव्र गतिमा परिवर्तन भइरहेको उल्लेख गर्दै साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डीपफेक, भ्रामक सूचना, संगठित तथा अन्तरदेशीय अपराध, लागुऔषध, मानव बेचबिखन र सम्पत्ति शुद्धीकरणलाई प्रमुख चुनौतीका रूपमा औँल्याए।

खुला सीमानाको दुरुपयोग तथा वैदेशिक रोजगारसँग जोडिएका अपराध नियन्त्रण पनि प्रहरीका लागि चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

गत भदौको जेनजी आन्दोलनलगायत पछिल्ला घटनाक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध तथा बल प्रयोगको मर्यादाबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था सिर्जना गरेको उनले बताए। प्रहरीप्रतिको जनविश्वास पुनर्निर्माण गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको उनको भनाइ थियो।

त्यसैगरी, संघ, प्रदेश र स्थानीय तहबीच शान्ति सुरक्षाका विषयमा प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम, बाढी, पहिरो, भूकम्प र आगलागीजस्ता विपद्‍मा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रहरीको क्षमता सुदृढ गर्नुपर्नेमा पनि उनले जोड दिए।

आईजीपी केसीले प्रहरी संगठनभित्र स्रोतसाधन तथा भवनको अभाव, लामो कार्यघण्टा, सरुवा–बढुवामा निष्पक्षता र कर्मचारीको मानसिक स्वास्थ्यजस्ता विषयलाई संस्थागत चुनौतीका रूपमा प्रस्तुत गरे। यी चुनौतीलाई संगठन रूपान्तरणको अवसरका रूपमा लिनुपर्ने उनको धारणा थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!