मङ्गलबार, २४ नोभेम्बर २०२६

सुनकोसी–मरिण डाइभर्सनको ठेक्का रद्द भए मधेस आन्दोलित हुने मनिष झाको चेतावनी

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गरेका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा भएको ढिलाइ र ठेक्का रद्द गरिएको विषयमा भएको छलफलका सन्दर्भमा सांसद झाले उक्त माग गरेका हुन्।

सांसद झाले सुनकोसी–मरिण डाइभर्सन मधेसका ५ जिल्लाको कृषि तथा सिँचाइसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण आयोजना भएको उल्लेख गर्दै यसको निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरे।

‘यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै विकल्प हुँदैन,’ उनले भने।

झाका अनुसार आयोजनाअन्तर्गत निर्माण गरिएको १३.३ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ सन् २०२४ मे महिनामै भइसकेको भए पनि बाँधलगायतका संरचना निर्माणको काम अघि बढ्न सकेको छैन।

उनले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण, यसबाट भएको आर्थिक तथा कृषि क्षेत्रको सम्भावित क्षति र आगामी दिनमा आयोजना अघि बढाउने सरकारको योजनाबारे स्पष्ट जवाफ माग गरे।

उनले भने, ‘यो प्रोजेक्ट रोकिँदा तराईका खेतमा पानी नपुगेर कति अवसर गुम्यो? कतिवटा सिजनमा खेतले पानी पाएनन्? कतिवटा खेती सिँचाइबिनै भए? त्यो क्षतिको हिसाब कसले गर्ने? एक लाख ८० हजार बिघामा पानी पुगेको भए कति खेती हुन्थ्यो? उत्पादन कति हुन्थ्यो? आयोजना रोकिएर अघि नबढ्नुको कारण के हो, के बदमासी देखियो र आगामी दिनमा यसलाई कसरी अघि बढाउने भन्ने तीनवटा कुरामा थप स्पष्टता चाहिएको छ। मधेससँग देखाउनलाई न हिमाल छ, न हामीसँग जलविद्युत् उत्पादन गर्ने स्रोत छ।’

झाले आयोजना समयमै सम्पन्न हुन नसक्दा सिँचाइको अभावमा किसानले गुमाएको अवसर र उत्पादनको हिसाब सरकारले गर्नुपर्ने बताए। एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुगेको भए हुने कृषि उत्पादन र त्यसबाट प्राप्त हुने आर्थिक लाभको समेत मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो।

यसैबीच, सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो।

आयोजनाको ठेक्का रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो। बोलपत्र प्रक्रियाका सबै चरण पूरा भई आर्थिक प्रस्ताव खोल्ने अवस्थामा पुगेपछि अन्तिम समयमा ठेक्का रद्द गरिएको उजुरीमा उल्लेख छ। ठेक्का रद्द गर्दा राज्यलाई आर्थिक क्षति पुग्नुका साथै आयोजना निर्माणमा थप ढिलाइ हुने दाबी उजुरीकर्ताले गरेका छन्।

बैठकमा नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि पनि छलफल भएको थियो। उजुरीबारे समितिले प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसँग समेत छलफल गरेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!