रजश्वलाको पीडा पुरूषवादी समाजले कहिले बुझ्ने?

रजश्वलाको पीडा पुरूषवादी समाजले कहिले बुझ्ने?

म सानी थिएँ। धेरै कुरा बुझ्ने भइसकेकी थिइनँ। म रजश्वला भएको त्यो एकदिनले मेरो जीवनमा नयाँ मोड थपियो।

बाले मेरो नाम लक्ष्मी भनेर राखिदिए। यति भएपछि मलाई पूजापाठका सामानहरू चिटीक्क टल्कने गरि सफा गराउन, सामानहरू मिलाइदिने काम लगाउन र बाले नभ्याएका दिन काम चलाउन पूजा गराउन पनि सजिलो भयो।

उमेर न हो। किन टक्क अडिरहन्थ्यो र!

मलाइ बिस्तारै केटा मान्छेसँग लाज लाग्न थाल्यो। मनमा ‘यो राम्रो केटा/त्यो नराम्रो केटा’ भन्ने विचारहरू मेरो मनमा खेल्न थाले। कक्षामा सरले लेख्ने ब्याकबोर्डतिर ध्यान कम जान थाल्यो।

शरीर भित्र केही कुरा परिवर्तन हुँदै छ जस्तो लाग्ने।

मनभित्र उम्लिन खोजिरहेको यो परिवर्तन रजश्वलामा टुंगियो। मेरो कलेजी धर्के कुर्ता रक्ताम्य भएको दिन मेरा आँखाभरी खोलो बगिरह्यो। आमालाईसमेत भन्न सकिनँ।

योभन्दा बढी दुःख त्यो बेला भयो हिजोसम्म ‘छोरी बालाई पूजा गर्न सघाइदेउ...' भन्ने आमाले ‘भाडाँकुडा नछोउ है भन्न थाल्नुभयो। म रजश्वला भएको दिनदेखि मेरो हातले छोएको सामान पूजापाठमा अशुभ हुने भए।

अच्चम्मै।

कोपिला फूल्दाको पीडा फूलको बोटलाई थाहा भयो। महिलालाई रजश्वला पछि गरिने ब्यवहारले हाम्रो समाज कहाँ छ भन्ने कुराको महशुस गराउँछ। कोपिला फूल्दाको पीडा फूलको बोटलाई थाहा भयो।  नारीको पीडा कति रहेछ रजश्वलाको चोटले थाहा पाएँ।

हाम्रो समाजमा पुरूषले भन्दा पनि धेरै नारीले नारीलाई दवाएका रहेछन्। म जब पहिलो पटक रजश्वला भएँ। मेरो मनमा डर उत्पन्न भयो। मलाई बाहिर छाउ गोठमा बस्न डर र लाज लाग्यो।

मैले रजश्वला भएको कुरा कसैलाई पनि भन्न सकिनँ। जब राति भयो सँधैझै आमासँग सुत्न गएँ। मलाई रातभरी निन्र्दा लागेन मलिन, निरास र चिन्ता मेरो अनुहारमा प्रष्ट देखिएको थियो।

हाम्रो समाजले बनाएको अन्धविश्वासले त होला- देउताले के भन्ने हुन्’, भन्ने डर लागिरह्यो। बिहान उठेर चर्पि गएँ। म सुतेको ओछ्यानको रगत देखेर आमा तर्सिनुभयो। मलाई एक्लै छाउगोठमा बस्दा लाग्ने डरको आमालाई पर्वाह भएन। छाउ गोठमा बस्न लगाउनुभयो। बाहुन आए घर शुद्द पारे।

म बस्न भनिएको गोठमा झ्याल थिएन, उज्यालो थिएन। ५ दिनसम्म बाहिर आउन नपाइने चलन। सम्झिँदा नि जलन हुन्छ। ७ दिनसम्म पानी छुन नपाईने।

मेरी आमा रजश्वला हुँदा गाईगोठमा बस्दा किटाणुकै कारण पाठेघर क्यान्सर भएर पूरै पाठेघर नै चिरफार गरेर फालेर दिनरात कम्मर दुख्ने पिडा लिएर बाँचिराख्नु भएको छ।

पाठेघर फालेकै कारण बाबाले अर्कि आमा ल्याउनुभएको छ। त्यो पीडा मैले र दिदीले भोग्नु नपरोस् भनेरै आमाले छाउगोठ बनाउनुभएको हो। म त्यो छाउगोठमा राति डरले ७ दिनसम्म सुत्न सकिनँ।  तल्लो पेट र कम्मरको पछाडिको भाग बेस्सरि दुख्थ्यो, सुख्खा ७ दिनसम्म पढाइ पनि छुट्यो।

दिनभरी रोएर बसेँ। तर, मेरो आवाज सुन्ने कोही थिएनन्। ७ दिन बिताउन ७ वर्ष झैं लाग्यो। ५ दिनको दिनमा मैले प्रयोग गरेका सबै कपडा लिएर नदीमा नुहाउन गएँ।

खरानी पानीले सबै कपडा शुद्ध पारेँ अनि बाहुनकी छोरीले गहुँत खान दिइन् र घरमा आउँदा सबै आफन्तले टीका लगाइ दिनुभयो र ‘ठूली भइस् आजबाट इज्जत जोगाएर हिँडेस्’, भन्नुभयो।

बाबा झाँक्री भएको हुँदा घर आगनमा ५ दिनसम्म टेक्न नपाइने रहेछ। अर्को महिना म रजश्वला भइनँ र गाउँमा कुरा पनि काटे। तर, कसैले दोस्रो पटक समयमै नभएर लुक्छ पनि भने। रजश्वला हुँदा पनि पिर नहुँदा पनि पिर यो समाजले महिलाको लागि फलामको किला ओछ्याईदिएको छ।

तेस्रो महिना म फेरि रजश्वला भएँ र पेटको दुखाइ खप्न नसकेर बेहोस भएछु। स्कुलबाट नै मलाई अस्पताल लगिएछ। स्वास्थ्यकर्मीले राम्रोसँग मलाई शोधपुछ नगरेरै तिम्रो पेटले बच्चा मागेछ बिहे गर भन्नुभयो।

लाग्यो समाज यस्तै सोचले पछाडि छ। केही बोलिनँ म भोलिको दिन स्कुल जाँदा सबै साथीले नछोउ म झाक्री हुँ। खाजा किन छोएउ भन्दै जिस्काउन थाले।

बेन्चभरी रगत लागेको रहेछ पानी हालेर सफा गरेँ। मलाई स्कुल जान पनि गाह्रो लाग्न थाल्यो। सँधै झैं प्रथम हुने म यो परीक्षामा चौथो भएछु। घरमा पनि गाली पाएँ। अब म एक्लो महशुस गर्न थालेँ।

पछि बिस्तारै बिस्तारै रजश्वला भएको पूरै दिनहरूमा स्कुल जान छोडिदिएँ। स्कुल पनि छोडेँ। एक दिन बाटोमा रजश्वला हुँदा बाहुनको सानो छोरा छोइएछ आखाँमा पिलो आयो भनेर गाली पाएँ।

दिनमा पानी दिने पनि मान्छे हुन्थेनन्। रजश्वला हुँदा साने काकाले ठूलीको बलत्कार गरेछन्। गाउँमा छलफल भयो। दोष ठूलीलाई नै लगाए। पछि सहन नसकेर गाउँ नजिकैको सल्लाको रूखमा ठूलीले आत्महत्या गरि।

अर्की गाउँकी राजकली पेट दुखेर राति छाउगोठ मै मरिन्। काले दाईकी आमा गाई गोठमै बसेर पाठेघर क्यान्सर भएर दुध खाने सानि छोरी छोडेर तड्पी तड्पी मर्नुभयो।

रामेको आमालाई छाउ हुँदा छाउगोठमा नबसेको भनेर गाउँको झाँर्कीले तेल तताएर अनुहारमा फालेपछि समाजमा अनुहार छोपेर जीवन जिउनुभएको छ।

यी सबै पीडा देखेर मनमा डर उत्पन्न भएर म पनि छाउगोठ मै बस्न थालेँ। मानिसले आफ्नी आमा पनि नारी हुन् भन्ने कुरा चट्टकै बिर्सिदिए। गरिबकी छोरी ठूलीलाई अन्याय भयो।

पैसावाला समाजमा खुलम खुल्ला हिँडिरहेको छ। हामी जस्तो गरिबको लागि न्यायको ढोका बन्द रहेछ। घरमा मेरो ठूलीआमा  जान्ने र स्वयमसेवक हुनुहुन्थ्यो।

मेरो  पीरले ठूलीआमाले म रजश्वला हुँदा आफ्नो घरमा सुताउनुभयो। यो देखेर गाउँका सबै मानिसले ठूलीआमाले छोएको खाना, पानी खान छोडिदिए।

ठूली आमालाई गाउँको सबै विकास कार्यबाट अलग राखियो। छाउ घरमा ल्याएको दोषमा गाउँका सबै महिला पुरूषले नानाथरी गाली गर्न थाले।

मन्दिरमा जान नि रोक लगाईदिए। मलाई रजश्वला हुँदा घर मै राखेको कारण ठूली आमालाई धारामा पानी खान पनि रोक लगाइयो। गाउँमा स्वास्थ्य सम्बन्धी समस्या आएपछि ठूलीआमाकोमा आउने गाउँलेहरू सबै अर्कै वडाकी स्वयम्‌सेवककोमा जान थाले। तर, पनि ठूलि आमाले मेरो सेवा गर्न छोड्नुभएन।

मलाई ठूली आमाले नुन हालेको तातो पानी ३/४ लिटर दिनमा खान दिनु हुन्थ्यो। फलफूल, तातो खाना दिने गर्नुहुन्थ्यो। यसरी मेरो पेट दुखाई कम हुन लाग्यो।

ठूली आमाले पढाइ फेरि शुरू गर्न सुझाब दिएर भर्ना गरि दिनुभयो।

२ वर्ष पढाइ छोडेर मन पोलेको थियो, फेरि पढ्न पाउँदा खुसी भएँ। म चिन्तित हुँदा ठूली आमाले सम्झाएर अरूलाई पनि यसरी कपडाको प्याड राख्न सिकाउ भनेर सुझाब दिनुहुन्थ्यो।

एक दिन रजश्वला हुँदा छाउगोठ मूक्त गर्ने सामाजिक संस्था गाउँमा आयो। सबैलाई सम्मान गर्‍यो। सम्मानित महिला र पूरूष आधाले घरमै लागू पनि गरे। तर, फेरि देउता रिसाए भन्दै छाउ प्रथा कायमै राखे। लागू पनि गरिरहेका छन्। कतिले बाहिर एक र भित्र अर्का पनि गरिरहेका छन्।

प्रकाशित मिति: May 28, 2020 14:41:28

प्रतिक्रिया दिनुहोस