आइतबार, ०७ सेप्टेम्बर २०२५

हामी को हौं र किन यहाँ छौं?

News Image
बीएल मिडिया इन्क.
• • •

हामी यतिबेला अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिक्रम सम्बत् २०७५ को अन्तिम घामलाई विदाइ गरिरहेका छौं। तर, नेपालमा भने बिक्रम सम्बत् २०७६ को पहिलो घाम उदाइसकेको छ।

शुभप्रभात नेपाल।
यो घाम सबै नेपालीका लागि बराबर न्यानो लिएर आओस् - बीएल मिडिया इन्क. का तर्फबाट नयाँ वर्ष २०७६ को मंगलमय शुभकामना।

'बीएल मिडिया इन्क' अमेरिकी मिडिया कम्पनी हो। यसको पहिलो डिजिटल प्लेटफर्म हो- www.breaknlinks.com । हामीले 'प्रिमियर'मा अंग्रेजी र नेपाली भाषामा सुरु गरेका छौं।हिन्दी, चिनिया, अरबी, रूसी, जापानी र स्पेनिस गरी ६ भाषाका संस्करण तयारीमा छन। हामी 'ट्वान्टी-ट्वान्टी मिशन' का साथ सन् २०२०को अन्तसम्ममा सबै संस्करणमा आइसक्ने छौं।

अहिले यहाँले हेरिरहनु भएको डिजिटल प्लेटफर्म बीएल मिडियाले प्रकाशन गर्ने ८ भाषामध्येको नेपाली संस्करण हो। नेपाली संस्करण भएकाले स्वभावत: यसको निकटता नेपाल र नेपालीसँग हुन्छ। तर, यो निकटता पत्रकारिताका आधारभूत मूल्य, मान्यता र सिद्धान्तलाई सम्मान गर्दै 'मिडिया प्रोक्सिमिटी'को अर्थमा मात्र हुने छ।

यो नेपालसँग भूगोल वा भावना या दुबैको नाता भएका व्यक्तिहरूबाट संस्थापित छ। यस अर्थमा बीएल मिडियाको कुनै न कुनै अर्थमा नेपाल र नेपालीसँग साइनो छ।

नेपाल कुनै बेला हाम्रा लागि भूगोल र भावनाको देश थियो। बढ्दो भूमण्डलीयकरणका कारण कतिपयका लागि भूगोल अर्कै देश बन्यो। र, नेपाल भावनाको देशमा मात्र सिमीत हुन पुग्यो।यसोभन्दा खिन्न लाग्छ तर, यो सत्य हो। हामीमध्ये कतिपयको हातमा अर्कै भूगोलको राहदानी छ। नेपाल जाँदा भिसा लगाउनु पर्छ।

भिसा लगाउन नपर्नेहरु जसले नेपालको अर्थतन्त्रलाई टेको दिइरहेका छन। उनीहरुको पसिना अर्कै भूगोलको माटोमा बगेको छ।अर्को मुलुकमा बगाएको पसिनाले भूगोलसँगको सम्बन्धलाई अझ कसिलो बनाएको छ।

भूगोलले टाढा बनाए पनि भावनाले नेपालसँग जोडिरहेकालाई गैरआवासीय नेपाली भन्ने गरिएको छ। तर, हामीलाई लाग्छ, यो आफैंमा पुग्दो वर्गीकरण हैन।हामी रहरले गैरआवासीय नेपाली बनिरहेका छौँ वा कहरले- त्यसको फरक-फरक ब्याख्या र विश्लेषण हुन सक्छ। हामी त्यतातिर नजाऔं।

रहर, कहर र समयले हामीलाई नेपालको भूगोलबाट 'ग्लोबल' बनाएको छ। भूगोलले अब हामी जोडिन सम्भव छैन। तर, बिज्ञानले यसको बिकल्प जन्माएको छ- त्यो हो (Virtual World), अर्थात डब्लु डब्लु डब्लु (World Wide Web) को संसार।अहिलेका लागि यसैमा सही, हामीले 'नेपाली प्रोक्सिमिटी' जोगाउँन जरुरी छ।'नेपाली प्रोक्सिमिटी'भित्र धेरै कुरा अटाउँछन्।

हामी आजको आमसञ्चारले अभ्यास गरिएका पत्रकारिताका उच्चतम् मूल्य, मान्यता र सिद्धान्तको अभ्यास गर्नेछौं। हाम्रो पत्रकारिता कुनै जात, जाति, वाद, दल, सम्प्रदायसापेक्ष हुने छैन।हामी त्योभन्दा माथि उठेर वसुधैव कुटूम्बकम् भन्ने छौं र त्यहीलाई मूलमन्त्र बनाएर आदर्श पत्रकारिताको अभ्यास गर्नेछौं ।

हामी बिटा-प्रिमियरमा थियौं, नयाँ वर्ष २०७६ को पहिलो झुल्केघामसँगै प्रिमियर भएका हौं।यहाँहरू सबैको साथ, सहयोग र सद्भावले हामी हाम्रो यात्राको गोरेटोलाई राजमार्ग बनाउँने अभियानमा छौं।

प्रकाशक: बीएल मिडिया इन्क.

आइतबार, बैशाख ०१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!