आइतबार, ०७ सेप्टेम्बर २०२५

अफगानिस्तान जितका लागि खेल्ने, गेलको कीर्तिमानमा सबैको आँखा

News Image
Agency
• • •

वेष्ट इन्डिजबाट एकदिवसीयमा कीर्तिमान बनाउने अभियानमा रहेका ‘युनिभर्स बोस’ को उपमा पाएका क्रिस गेलका लागि विहिबार अफगानिस्तानविरूद्ध खेल महत्वपूर्ण रहनेछ।

उनी हेडिङ्ले मैदानमा उत्रिँदा सबै दर्शकको ध्यान हार र जीतभन्दा पनि गेलको कीर्तिमान पछ्याउनुमा केन्द्रित रहने छ।

गेल आफ्नै देशका ब्याटिङ मास्टर ब्रायन लाराको कीर्तिमानभन्दा १९ रनले पछाडि छन्। लाराको कीर्तिमान भंग गरेको खण्डमा उनी वेष्ट इन्डिजबाट एकदिवसीयमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्ने छन्। लाराले वेष्ट इन्डिजबाट एकदिवसीयमा १० हजार ४ सय ५ रन बनाएका छन्।

दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा अफगानिस्तानका लागि विश्व कपको एउटा खेल जितेर खेलको अन्त्य गर्ने हुनेछ। अफगानिस्तानले ८ खेल खेल्दा एउटा पनि विजय निकाल्न सकेको छैन।

वेष्ट इन्डिजले भने एक खेल जितेको छ। दुवै टोली विश्व कपमा पहिलो पल्ट भिड्न लागेका हुन्।

अफगानिस्तान र वेष्ट इन्डिजबीच हालसम्म ५ एकदिवसीय भएको छ। जसमा अफगानले ३ जित निकालेको छ भने वेष्ट इन्डिज १ जितमा खुम्चिएको छ। विश्व कप छनोटका लागि खेलिएको दुई खेलमा लगातार अफगानिस्तान विजयी भएको थियो।

त्यसैले आज विन्डिज टोलीका लागि पराजयको बदला लिने मौका पनि छ। गेलले ७ इनिङमा २ सय ३५ रन बनाएका छन्। तर, उनी सतक पुरा गर्नबाट चुक्दै आइरहेका छन्। आज उनको लागि मौका पनि छ।

वेष्ट इन्डिजका लागि निकोलस पुरनले सर्वाधिक ३ सय ९ रन बनाएका छन्। उनले एउटा सतक पुरा गरेका छन्। युवा बलर शेल्डन कोटरेलको प्रदर्शन पनि राम्रो छ। उनले ८ खेलमा १२ विकेट लिएका छन्।

अफगानिस्तानका लागि कप्तान गुलबदीन नइबले अलराउन्ड प्रदर्शन गरेका छन्। उनले ८ खेलमा १ सय ८९ रन बनाउनुका साथै ९ विकेट पनि लिएका छन्। नजिबउल्लाह जादरानबाट आज अफगानिस्तानले ठूलो आशा राखेको छ। उनले १ सय ९९ रन बनाएका छन्।

टिमका स्टार स्पिनर राशिद खानले यो विश्व कपमा सबैलाई निरास पारेका छन्। तर, अन्तिम खेलमा उनी लयमा फर्किने कोशिशमा हुनेछन्। उनले कूल ५ विकेट मात्र लिएका छन्।

बिहिबार, असार १९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!