राष्ट्रपति विद्यादेवि भण्डारी न्यूयोर्कमा

तस्बिरः नेपाली राजदूतावास अमेरिका

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका आइपुगेकी छिन्।

उनलाई सोमबार बिहान न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्की र राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राईले औपचारिक रूपमा स्वागत गरेका छन्।

उनलाई स्वागत गर्न अमेरिकामा रहेका तीन वटै नेपाली नियोगका प्रमुखसहित अधिकारीरू विमानस्थल पुगेका थिए। अमेरिकाका लागि नेपालका अवैतनिक वाणिज्यदूत ऋषि ढकाल पनि स्वागतार्थीहरूको लहरमा थिए।

राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई बसोबासको व्यवस्था गरिएको म्यानहट्टनस्थित ग्राण्ड ह्याततर्फ प्रस्थान गरेकी छिन्।

लामो यात्रा गरेर आएकी राष्ट्रपतिका लागि आज दिउँसो आरामको समय हुनेछ। साँझ उनी राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले पाहुनाहरूका लागि दिने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औं अधिवेशनमा भाग लिने क्रममा अमेरिका आएकी हुन्। सम्मेलन राष्ट्र सङ्घको प्रधान कार्यालय न्युयोर्कमा मार्च १२ देखि २२ गतेसम्म आयोजना हुँदैछ।

तस्बिरः नेपाली दूतावास अमेरिका

अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले मार्च १२ मंगलबार आयोजना हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछिन्। नारी नेतृले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम छ। मंगलबार नै उनले राष्ट्रसङ्घीय महासभाका अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

बुधबार राष्ट्रसंघका लागि नेपाली नियोगको निरीक्षण भ्रमण, उनको सम्मानमा आयोजित भोजलगायतका कार्यक्रममा सहभागी राष्ट्रपति भण्डारी बिहीबार नेपाल प्रस्थान गर्नेछन्।

उनको भ्रमण दलमा प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारीलगायतका २२ सदस्य रहेका छन् ।

प्रकाशित मिति: : 2019-03-11 23:02:10

प्रतिकृया दिनुहोस्