अमेरिकामा हराए- आयुश दाहाल : जारी भयो- 'मानिस हराएको सूचना'

आयुश दाहालको खोजीका लागि जारी गरिएको सूचना । तस्वीर सौजन्य: सामाजिक सञ्जाल

अमेरिकाको मेरिल्याण्ड राज्यबाट एक नेपाली युवा हराएका छन् । आयुश दाहाल नाम गरेका युवा विगत १५ दिनदेखि हराइरहेको बताइएको छ । 

मेरिल्याण्डको ग्वेन ओक्समा उनीसँगै बस्दै आएका सम्मान वैद्यले आयुश १५ दिनदेखि कोठमा नफर्केको बताएका छन् । उनले ४ ५ दिनअघि आयुशको फोनमा सम्पर्क गर्दा एकजना अपरिचित व्यक्तिले फोन उठाएर आफूले फोन बाल्टिमोर हार्बरको बेन्चमा सुतिरहेको एक व्यक्तिबाट मध्यरातमा चोरेको बताएको जानकारी दिए । सम्मानका अनुसार फोन उठाउने व्यक्तिले आफू कुनै समस्यामा नपर्ने भए फोन फिर्ता गर्न तयार भएको बताएका थिए । तर, त्यसपछि फोन गर्दा भने स्वीच अफ गरेको जानकारी पाइने उनले बताए । 

उनका रूममेट सम्मानले आयुश योर्क रोडको शेल ग्यास स्टेसनमा काम पाएर उतै बस्छु भनेर  हिडेको पनि बताए । तर, आयुशको खोजीमा लागेका अनुप खनालका अनुसार त्यताका ग्यास स्टेसनमा खोजी गर्दा आयुश नाम गरेको मान्छेले काम गरेको पुष्टि गर्न कोही तयार भएन ।

मेरिल्याण्ड डिस्ट्रिक्ट ८ का डेलिगेट ह्यारी भण्डारीले आयुशको खोजीका लागि आफूले प्रहरीसँग सम्पर्क गरेर खोजी कार्य अघि बढाइरहेको बताए । उनले अनुप खनाल सम्पर्क गरेर उनीमार्फत् खोजीलाई अघि बढाएको बताए । उनकै अगुवाईमा प्रहरीलाई जानकारी दिएर औपचारिक रूपमै आयुशको खोजी भैरहेको खोजीकार्यमा संलग्न अनुप खनालले बताए ।

खोटाङ पुर्खौली घर भएको आयुशको  परिवार भक्तपुरमा बस्दै आएको छ । छोरो हराएको समाचारले स्तब्ध भएका बाबु तेजबहादुर दाहाल र आमा मीना दाहालले अमेरिकाको नेपाली डायस्पोराका अगुवाहरूलाई छोरोको खोजी गरिदिन अनुरोध गरेका छन् ।

आयुश विद्यार्थी भिसामा टेक्सासमा आएको बताइएको छ । उनी केही समयअघि मेरिल्याण्ड सरेको उनलाई नजिकबाट चिन्ने जानेहरू बताउँछन् ।

यो समाचार तयार पारिरहेको बेला प्रहरीसँग सम्पर्क गर्दा बाल्टिमोर काउन्टीका एक प्रहरी  अधिकृतले उनको खोजी जारी रहेको बताए । उनले भने, तर अहिलेसम्म कुनै जानकारी हासिल भएको छैन 

प्रकाशित मिति: : 2019-07-11 06:30:27

प्रतिकृया दिनुहोस्