घुमाै अर्घाखाँची

घुमाै अर्घाखाँची

नेपालका अनेकौं सुन्दरता र सम्पन्नतामा धार्मिक स्थल पनि एक हाे। संघीय संरचना भन्दा अगाडिकाे चौध अञ्चल ७५ जिल्लाको अलगै पहिचान थियाे। हालसम्म पनि मानसिकता उहीँ हाे। त्यसै मध्येको एक हाे अर्घाखाँची जिल्ला। यो जिल्लाको आफ्नै गरिमा छ। पाल्पा,  प्यूठान, दाङ, कपिलवस्तु र रुपन्देही गुल्मीसँग जोडिएको अर्घाखाँची धार्मिक, सांस्कृतिक  रुपले  सम्पन्न छ भने  पर्यटकीय दृष्टिकोणले अति नै आर्कषक छ। त्यहाँकाे इतिहासलाई केलाउने हो भने भुरे राजाका पालामा चौबिसे राज्य अन्तर्गत पर्ने अर्घा दरबारका राजा र खाँची दरबारका राजा बीच सन्धि भएपछि यो ठाँउको नाम अर्घाखाँची हुन् गएको पाइन्छ।

काठमाडौंबाट चितवन, बुटवल, कपिलवस्तुको गोरुसिङ्गे हुँदै जान सकिन्छ। अर्घाखाँची जिल्ला सांस्कृतिक, धार्मिक प्राकृतिक एवम् ऐतिहासिक रुपले भरिपूर्ण भएको जिल्ला हो। अर्घाखाँची जिल्लामा  संस्कृतिक सम्पदाहरु पनि असख्य रुपमा रहेका छन्। त्यस मध्येको हो एउटा  सुपा देउराली। जुन पश्चिम नेपालको अर्घाखाँची जिल्लामा पर्ने एक प्रसिद्ध धार्मिक स्थल हाे। 

बाईसे र चौबिसे राजाहरुको पालामा खाँचिकोट भन्ने ठाँउका एक जना राजाले खुम्चिकोटका राजाकी छोरीसँग विवाह गर्ने निदो भएपछि विवाह गर्न खुम्चिकोट गएका थिए। विवाह गरेर ल्याउदै गर्दा बाटोमा ढाक्रेहरुले भनेछन्, 'विवाह त गरे तर दुलाहको त्यति राम्रो बानी व्यहोरा छैन।' त्यो कुरा डोलीमा रहेको दुलाहीले सुन्छिन्। त्यसको केहि बेर पछि डोलिबाट रगत तप्प तप्प भूइमा चुहिन्छ। डोलेहरु डोली बिसाउँदा दुलाहीले डोलीमै आत्मा हत्या गरेको थाहा पाउँछन्। सबैजना अचम्म मान्छन्। त्यसपछि त्यो ठाँउ वरिपरिका मानिहरु बिरामी हुने, एकसुरे हुने, जनावरहरु पनि बिरामी हुने समस्या देखिने गरेकाे स्थानीय बुढापाका सुनाउँछन्। 

एक पटक त्यसबेलाका राजा पनि बिरामी परेछन्। उनी बिरामी भए पछि उपचारको लागि जहाँ लगे पनि निको नै भएन। त्यसपछि राजा झारफुकको लागि एक जना खनाल पण्डितकोमा गएछन्। पण्डितले भनेछन्, 'रानिले आत्मा हत्या गरेपछि देवी उत्तियकी छिन्। मन्दिर बनाई देवीको पुजा गर्नुपर्छ।' त्यसै अनुरुप मन्दिरको स्थापना गरि देविको फोटो राखेर पुजा गरेपछि त्यसबेला गाउँलेहरुले भगेकाे समस्या निको हुँदै गयो र राजालाई पनि सन्चाे भयाे भन्ने कथन पाईन्छ। त्यो दिन देखि खनाल पुजारीको रुपमा रहने परम्परा स्थापित भयाे। जुन हामीले अहिले पनि देखिरहेकाे छाैं। किम्बदन्ति अनुसार एकजना बाटोमा हिड्ने युवाले भनेछ। देवीलाई सम्झिएर सेनामा भर्ती हुन् पाउँ छुट्टिमा आउँदा सुनको ध्वजा चढाँउछु भनेर भाकल गरेछ। भाकल अनुसार युवा सेनामा भर्ती भएछ। 

केहि समयपछि लाहुरे छुट्टिमा घर फर्कियो। उस्ले देवीलाई सम्झेर भनेछ यस पटक सुनको ध्वजा ल्याउन बिर्सेछु अर्को पटक आउँदा  सुन ल्याएर चढाउँछु भनेर  लाहुरे आफ्नो जागिरमा फर्किएर गएछ। अर्को पटक घर आउँदा लाहुरे त्यो मन्दिरको बाटो नआएर अर्कै बाटो घर जान खाेजेछ। तर लाहुरेलाई हावाले उडाएर सुपादेउरालीको मन्दिरनेर ल्याई भित्तामा टासिदिएछ। जुन देवीकाे शक्ति भएकाे जनबाेली छ। अहिले उक्त भित्तामा लाहुरे टासेको जस्ताे अाकृति देखिन्छ। 

मन्दिर नजिकैको पहरामा लाहुरेको नक्सा र उसले बोकेको गुन्टा जस्तै देखिने आकृतिलाई लाहुरे टासिएको भिर भनेर मन्दिर संरक्षण समितिले बोर्ड नै बनाएर राखेको छ। सुपादेउरालीको दर्शन गर्न पश्चिम नेपालका कपिलल्वस्तु, दाङ, सल्यान, प्यूठान, गूल्मी  जिल्ला लगाएत भारतबाट समेत दर्शानार्थीहरु अाउँछन्। मन्दिरमा आउने भक्तजनबाट उठेको भेटी, दान लगायतका अाम्दानीबाट  खाँचीकाे अादर्श मावि र सितापुरकाे शान्ति माविलाई निजी स्रोतका एक एक जना शिक्षक राख्न पुगेकाे छ।

पर्यटनका लागि अर्घाखाँची जिल्ला धेरै संवभावना बोकेको क्षेत्र हो। माथि उल्लेख गरे जस्तै धार्मिक स्थल, प्राकृतिक  सौन्दर्य बोकेको मनोरम स्थलहरु थुप्रै छन्। मन्दिरसँग जाेडिए कयाैं कयाैं पक्ष थप अध्ययनकाे विषय हाे। अर्घाखाँचीमा जति पर्यटक भित्र्याउन सकियाे उति राम्राे अाम्दानी लिन सकिन्छ। जसका लागि नेपाल सरकार तथा सम्बधित निकायहरुले ध्यान दिन जरुरी  छ। विदेशी पर्यटक आकर्षण गर्नका लागि स्तरीय होटल, उनीहरुको सहजताका लागि गाईट पुस्तिका लगायत आवश्यक छ। जुन सबै तहका सरकारहरुले सिघ्र उपलब्ध गराउनुपर्ने देखिन्छ।

प्रकाशित मिति: Jan 19, 2020 07:36:10

प्रतिक्रिया दिनुहोस