सगरमाथा आरोही स्वीस महिला भन्छिन्– नेपालीकाे सामूहिक भावना संसारका लागि अनुकरणीय

नेपालको पर्वतारोहण सुरक्षित भएको स्विस महिला पर्वतारोही सोफी लाभाउले बताएकी छिन्। नेपालीको सामूहिक भावना संसारका लागि लोभलाग्दो र अनुकरणीय रहेको बताउँदै उनले नेपाल भ्रमण वर्षलाई सघाउन सबैसँग अपील गरिन्।

नेपालको पर्वतारोहण सुरक्षित भएको स्विस महिला पर्वतारोही सोफी लाभाउले बताएकी छिन्। नेपालीको सामूहिक भावना संसारका लागि लोभलाग्दो र अनुकरणीय रहेको बताउँदै उनले नेपाल भ्रमण वर्षलाई सघाउन सबैसँग अपील गरिन्।

विश्वको उच्च हिमाल सगरमाथाको सफल आरोहण गरिसकेकी सोफीले स्विट्जरल्याण्डको लौजानमा नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भमा आयोजित ‘दिगो पर्वतीय पर्यटन नेपाल स्विसको सहकार्य’ नामक प्रवर्धनात्मक कार्यक्रममा सबैलाई एकपल्ट नेपाल घुम्न आब्हान गरेकी हुन्। 

नेपालबाट उच्च शिक्षाका लागि आउने दक्ष विधार्थीले पढ्ने स्विस फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी (इपीएफएल) लौजानमा भएको कार्यक्रममा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले नेपालमा पर्यटकलाई देवताकै रुपमा ग्रहण गर्ने गरेको बताए। उनले स्विस नागरिकलाई खादासहित स्वागत गर्ने क्रममा नेपाल प्रकृति, संस्कृति तथा साहसिक अनुभवका लागि स्वर्ग भएको बताए। 

नेपाली दूतावासको आयोजना र गैरआवासीय नेपाली संघको सहयोगमा आयोजना भएको कार्यक्रममा सगरमाथा आरोही सोफीले पर्वतारोहण सामूहिक कार्य भएको बताइन्। उनले आफूसँगै पर्वतारोहणमा संलग्न दावासांगे शेर्पालाई देखाउँदै भनिन, ‘पर्वतारोहण एक्लै हुने काम होइन, समूहमा हुने काम हो। मलाई आरोहणमा सघाउने शेर्पाहरु, हरेक दिन खाना ख्वाउने भान्से, फ्रान्सको सामोनीमा बसेर मौसमको  बारेमा हरेक समय निर्देश गर्ने मौसमविद साथी सबैको सहयोगले मैले सगरमाथा चढ्न सफल भए।’ 

काठमाडैं विश्वविद्यालय स्थापनामा सहयोग पुर्‍याएका स्विस संघीय प्रविधि संस्थानका प्रोफेसर जोन बादुले आफू किसानको छोरो भएको बताउँदै नेपाल र स्विस नागरिकमा पुस्तैनी राम्रा चालचलन सर्दै गएको औंल्याए। उनले नेपालमा आफूले आत्मियता पाएको बताए। ‘धार्मिक रुपमा मिलेर बस्ने र पाहुनालाई माया गर्ने निर्दोष स्वाभावका  नेपालीले अवसर पाए धेरै प्रगति गर्न सक्छन्। नेपाली विद्यार्थी इमान्दार, अनुशाषित र प्रतिभाशाली छन्।’

उच्च शिक्षा हासिल गर्न आउने नेपालीलाई लाैजान शहरका सबैले चिन्ने गरेकाे उनले बताए। पेशाले इन्जिनियर प्रोफेसर जोन बादुले दुई देशको आत्मियता जोड्ने काम आफूले गरेको बताउँदै भने, ‘२० भन्दा बढी म नेपाल गएको छु।’ नेपालको दिगो विकासको निम्ति सञ्चालित स्विस परियोजनामा लामो समय काम गरेका दीपक एल्मर लामाले भिजिट नेपालको यो कार्यक्रममा नेपालीलाई फाइदा पुग्ने हिसाबले व्यवस्थित रुपमा कार्यक्रम गर्न सुझाव दिए। 

उनले पर्यटनको कारण स्थानीय उद्योग,व्यवसायमा सहयोग पुग्ने बताउँदै स्विस सरकारले सञ्चालन गरेका कार्यक्रमको बारेमा प्रकाश पारेका थिए।

झिल्के दाइको रुपमा चर्चित लोकगीतको खोज अनुसन्धानमा संलग्न क्लाउडियो पेरुसिनीले ४० वर्षअघि नेपालीको सोच र शैलीमा धेरै परिवर्तन आएको बताए। यो किन भएको छ भनेर खोजबिन गर्न मन लागेको बताउँदै उनले नेपाली गीतहरु लेखेको र गाएको अनुभव बाँडे।

रेडियो नेपालमा पुगेर पुगेर गीत गाएका क्लाउडियोले ‘माघ महिना २९ को, फागुन महिना तीसको’ र ‘बेनीको बजार’ गीत गाएर सुनाएका थिए। कार्यक्रममा मिसनका डेपुटी स्थायी प्रतिनिधि तीर्थराज वाग्ले, काउन्सिलर कुमार राई, विभिन्न पेशामा संलग्न नेपाल प्रेमी स्वीस नागरिक, विभिन्न नगरका जनप्रतिनिधि, उच्च शिक्षा हासिल गरिरहका विद्यार्थी र गैरआवासीय नेपालीको उपस्थिति थियो।

प्रकाशित मिति: : 2020-02-01 05:22:00

प्रतिकृया दिनुहोस्