
बिएल संवाददाता
त्रिभुवन आर्मी क्लबका स्टार स्ट्राइकर भरत खवासले शहिद स्मारक ए डिभिजन लिगमा ५० गोल पूरा गरेका छन्। मंगलबार बिहान ब्रिगेड क्लबलाई ३–० ले हराउने क्रममा भरतले पाँचौं मिनेटमा जर्ज प्रिन्स कार्कीको क्रसमा गोल गरेपछि ५० गाेलकाे कोशेढुंगा पूरा गरे। भरतले याे सिजन १२ खेल खेल्दा ४ गोल मात्र गरेका छन्।
लिगमा ५० गाेल पुरा गर्ने उनी साताैं खेलाडी हुन्। यसअघि बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ, गणेश लावती र सन्तोष तामाङले लिगमा ५० गोल पूरा गरेका थिए।
खवासले आफ्नाे अघिल्लाे लक्ष्य सन्तोष साहुखलको सय गोलको कीर्तिमान तोड्ने रहेकाे बताए। ‘लिगमा गोल गर्न एकदमै कठिन छ। तर म ५० गोलमा मात्र अड्किन्नँ। अझ अगाडि बढ्न चाहन्छु। सन्तोष दाइले जस्तै सय गोल गर्ने चाहना छ। उहाँलाई भेट्न कोशिश गर्छु,’ भरतले भने।
च्यासल युथ क्लबका सन्तोषले यसै सिजन ए डिभिजन लिगमा १०० गोल पुरा गर्ने कीर्तिमान रचेका थिए। ‘शुरुमा ५० गोल पुर्याउँछु भन्ने लक्ष्य थिएन। अहिले पूरा गर्दा एकदमै खुशी लागेको छ’ खेलपछि भरतले भने।
भरतले ५० औं गोल श्रीमती र छोरीलाई समर्पित गरे। भरतको खेल हेर्न प्राय: उनकी श्रीमती र छोरी मैदान पुगेका हुन्थे। तर आज भरतले कीर्तिमानी गोल गर्दा उनीहरु छुटे। त्यसमा भरत केही खिन्न बने। उनले सबैलाई धन्यवाद दिए।
२०६३ सालमा संकटा क्लबबाट ए डिभिजन लिग करियर शुरु गरेका भरतले सरस्वती क्लबविरुद्ध पहिलो गोल गरेका थिए। आर्मीको जागिरका लागि भारतीय क्लब पुनेको ट्रायलसमेत त्यागेका भरतले राष्ट्रिय टिमका लागि पनि १० गोल गरेका छन्।
एन्फा तेस्रो ब्याचका खेलाडी समेत रहेका भरतले राष्ट्रिय टिमबाट सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा डेब्यु गरेका थिए। उनले १६ वर्ष हुँदा डेब्यु खेलमै गोल गरेका थिए। राष्ट्रिय टिमबाट पनि उनको लक्ष्य हरि खड्का र निराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तिमान तोड्ने छ।
भरतले फ्रेण्ड्स, नेपाल पुलिस क्लबबाट पनि लिग खेलिसकेका छन्। उनले संकटा र फ्रेण्ड्सबाट १–१ सिजन लिग खेलेका थिए। प्रहरीकाे जागिरका लागि विभागीय टोली पुलिसमा आबद्ध भएका भरत त्यहाँ जागिर नभएपछि आर्मीतर्फ माेडिएका थिए। उनले पुलिसमा हुँदा ए डिभिजन लिग र राष्ट्रिय लिग जिताउन महत्वपूर्ण याेगदान गरेका थिए। आर्मी उनको चौथो क्लब हो।
अब उनको लक्ष्य यस सिजन आर्मीलाई लिग च्याम्पियन बनाउने छ। उपाधिकाे दावेदार मानिएपनि आर्मी क्लब अन्तिम अवस्थामा लक्ष्यबाट बिमुख बन्दै आइरहेकाे छ। यसपालि भने आर्मी उपाधिबाट एक कदम मात्र पछाडि छ। उसलाई च्याम्पियन बन्न १ अंककाे आवश्यकता छ।
‘यसपालिकाे लिग जित्ने लक्ष्य हाम्राे छ। त्यसकाे नजिक छाैं। हामीसँग इतिहास बनाउने मौका र चुनौति छ’,भरतले भने।
ब्रिगेड ब्वाइजलाई पराजित गर्दै १२ खेलबाट २९ अंक जोडेको आर्मी मछिन्द्रलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा छ। अब लिगको अन्तिम खेल आर्मीले मछिन्द्रसँग खेल्नेछ। उक्त खेलमा हार मात्र टारे आर्मी च्याम्पियन बन्नेछ।
भरतले भने ‘इतिहास बनाउने मौका पनि हो र च्यालेन्ज पनि छ। अन्तिम खेल फाइनल जस्तै हो। डु अर डाई। यहाँसम्म आउँदा पक्कै गाह्रो भयो तर सबै साथी, कोच, स्टाफ सबैले टिमलाई सहयोग गरिरहेका छन्।’
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया