शहीद स्मारक लिग–२०७६ चिरफार: खाली मैदानमा म्याच फिक्सिङदेखि र‌ंगभेद टिप्पणीसम्म

लिगको ९१ खेलमध्ये १४ खेल सकिदा कुनै पनि खेलमा उल्लेख्य दर्शक रंगशाला पुगेनन्। लिगका एकाध खेलबाहेक अन्यमा दर्शकको उपस्थिति असाध्यै फितलो देखिन्थ्याे।

शहीद स्मारक लिग–२०७६ चिरफार: खाली मैदानमा म्याच फिक्सिङदेखि र‌ंगभेद टिप्पणीसम्म

काठमाडौंको दशरथ रंगशाललामा शहीद स्मारक ए डिभिजन लिग हुन छाडेको ५ वर्ष भएको थियो। भूकम्पका कारण क्षतिग्रस्त मैदान पुनर्निर्माणमा समय लाग्दा रंगशालामा फुटबल खेल हुन सकेन। 

गत वर्षदेखि लिग सुरु भएपनि एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल खेल मैदानमा खेलाइएको थियो । तर, नाम मात्रको लिगले एन्फाको साख स्वात्तै घटायो। एन्फाले गत वर्ष लिगको प्रमुख शर्त ‘रेलिगेशन’ को प्रावधान नै हटाइदियो। एन्फाको यो निर्णयको सर्वत्र आलोचना भयो।

तर, एन्फाले त्यसको परवाह गरेन। जसले लिगको महत्वलाई घटायाे। सबैभन्दा धेरै त लिगबाट समर्थकको विश्वास उठ्याे। 

एन्फाले ए डिभिजनमा पुछारमा रहने दुई टिमको नयाँ सिजनमा क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेको थियो। एन्फाकाे उक्त निर्णयबाट सबैलाई लागेको थियो– यस वर्ष दुई टिम ‘रेलिगेशन’ मा पर्नेछन्। तर, त्यसो भएन। एक टिम मात्र रेलिगेशनमा पर्नेगरी एन्फाले लिग शुरू गर्‍याे। 

एन्फाले लिगअघि गरेको त्यही निर्णय विवादास्पद बन्यो। तर एन्फाले विरोधका बीच यही मंसिर १५ देखि २५ सम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लगत्तै ए डिभिजन लिग दशरथ रंगशालामा सुरु गर्‍याे। शनिबार काठमाडौंको त्रिपुरेश्वस्थित दशरथ रंगशालामा ए डिभिजन लिग २०७६ को उपाधिका लागि मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी भिडे। यो खेल जसले जित्दा पनि पहिलोपटक लिग  जित्ने इतिहास रच्ने अवसर बन्थ्यो। आर्मीका लागि खेल बराबरी गर्दा नै पर्याप्त थियाे।

तर आर्मीले यो मौका खेर फ्याल्यो। ३३औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए। उनको फ्रिकिक विकास तामाङबाट ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भयाे। उक्त गोल नै खेलको लागि निर्णायक बन्याे। बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाइते भए। उनी घाइते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो। खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो।

खेलमा आर्मीको तुलनामा मच्छिन्द्रका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। निकै रोचक भएको उपाधि भिडन्तमा दुई टिमका खेलाडीले आफ्नो सक्दो जोड लगाए। दुबै टिमको सशक्त प्रदर्शनले खेल ‘फाइनल’ कै रुपमा देखियाे।

दर्शक खेल हेर्न रंगशाला आएनन्

हरेक दिन १२ बजे र ३ बजे खेल राखेर एन्फाले प्रतियोगिता चाँडो सक्नेतिर मात्र ध्यान दिएको देखियो। दिउँसोको समयमा दर्शक चाहेर पनि आफ्नो मन परेको टिमको खेल हेर्न जान सकेनन्। कामकाजी दर्शक, स्कुल कलेजमा अध्ययन गर्ने विद्यार्थी मध्यान्हमा खेल हेर्न जाने कुरा भएन। 

लिगको ९१ खेलमध्ये १४ खेल सकिदा कुनै पनि खेलमा उल्लेख्य दर्शक रंगशाला पुगेनन्। लिगका एकाध खेलबाहेक अन्यमा दर्शकको उपस्थिति असाध्यै फितलो देखिन्थ्याे। लिगमा रंगशालाको प्यारापिट सँधै खालिरह्याे। दर्शकलाई आकर्षित गर्न एन्फाले आकर्षक उपहार प्रदान गर्ने निर्णय गरेपनि दर्शक आकर्षित भएनन्। 

झम्सिखेल युथ क्लबका अध्यक्ष सन्दन थापा मगरले व्यवस्थापनको कमजोरी कारण लिगमा दर्शकको क्रेज घटेको बताउँछन्। ‘नेतृत्व तहको कमजोरीले यस्ताे अवस्था आएकाे हाे,’ थापाले भने, ‘खासमा यो सबै काम गर्नुपर्ने व्यवस्थापनले हो।’ 

राम्रो टेलिभिजन च्यानलबाट उत्कृष्ट प्रत्यक्ष प्रसारण गर्ने काम पनि नभएको कारण लिग हेर्न नआएको मनाङका नियमित दर्शक विजय चाैहानले बिएल नेपाली सेवालाई बताए। ‘विदेशी च्यानलबाट युरोपियन लिग हेरेका दर्शकलाई नेपाल टेलिभिजनले दिने लाइभले आकर्षित गर्न नै सकेन’,उनी भन्छन्,‘राम्रो उपकरण नभएको टेलिभिजनलाई एन्फाले एकाधिकार बेच्दा लिगमा दर्शकको आकर्षण घटेको हो।’ 

उनी लिगमा तोकिएको टिकट दरमा समस्या रहेको मान्छन्। ‘यहाँ खेल हेर्नका लागि २ सय र ५ सयको टिकट तोकिएको छ। यो टिकट दर नै गलत छ,’त्रिभुवन आर्मीका समर्थक विवश आचार्य भन्छन्,‘ दर्शकलाई रंगशालासम्म तान्न टिकट फ्रि गरिदिए पनि हुन्छ ।’ 

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्का भन्छन्, ‘हाम्रा क्लबले फ्यान बेस बनाउन सकेका छैनन्, त्यसै कारण होला, दर्शकको खडेरी लाग्ने गरेको छ। पहिले थ्रिस्टार क्लब भनेपछि पूरै पाटनका मानिस खेल हेर्न आउँथे तर अहिले अवस्था फेरिएको छ। यो सब हाम्रा क्लबले आफ्नो छाप बनाउन नसकेकाले हो।’

मैदानको दुर्दशा 

लिगको अर्काे कमजोरी बन्यो मैदान। रंगशालाको पुनःनिमार्ण त भएको थियो तर साग लगतै अर्थात मंसिर २८ गतेदेखि सुरु हुन लागेको लिग अगाडि पानीले मैदानलाई साथ दिएन। आर्मी र सशस्त्र प्रहरीको आफ्नो मैदान थियो। यसका अतिरिक्त एन्फा कम्प्लेक्स। यो बाहेक कुनैपनि क्लबसँग अभ्यास गर्ने मैदान समेत छैन।

एन्फा कम्प्लेक्समा थोरै मात्र दर्शक अट्छन् भने सशस्त्र प्रहरीको मैदानमा प्रवेश नै कठिन हुने गर्छ। दर्शकबिनाको फुटबल अर्थ नहुने भएपछि लिग दशरथ रंगशाला र एन्फा मैदानमा सुरु गर्नु पर्‍याे। लिग त सुरु भयो तर केही दिनपछि नै दशरथ रंगशालाको मैदानमा सांसदहरुले बुट बजारे। एक त महंगो मूल्य चुकाएर बनाएको रंगशाला अर्काे त्यहीँ मैदानमा लिग सुरु हुँदैथियो तर खेलनै नबुझेका सांसदले बुट बजार्दा पानीले भिजाएको मैदान थप बिग्रियो।

सोही खेल लगत्तै उक्त मैदानमा नेपाल रातो र जापान निलोले दुई मैत्रीपूर्ण खेल खेले। पानी परेको समयमा मैदान जोगाउनु पर्ने ठाउँमा पानी परेकै बेलामा खेल खेलाइदा लिगको सुरुको दुई खेल नै एन्फाको मैदानमा सार्नुपर्यो। ४ खेल त स्थगित नै भयाे। यसले गर्दा खेल तालिका नै परिवर्तन भयो।

यति मै मैदानको हालतको बयान गरेर सकिदैन। अर्वाै रकम खर्च गरिएर बनाएको दशरथ रंगशालमा सरकारले लाखौं जनता उतारेर नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्यो। एक त नाजुक मैदान त्यसमाथि भिजेको मैदानमा स्टेज र ‘लाखे’ नाँचले गर्दा खेल खेलाउन नै समस्या पर्यो। 

मैदानको बीच भाग नै दविदा मैदानमा पानी जम्न थाल्यो। त्यपछि सामान्य वर्षामा समेत खेल खेलाउन समस्या पर्यो। एन्फा पनि मैदान व्यवस्थित गर्नेतिर लाग्नु भन्दा त्यहीँ मैदानमा खेल खेलाएपछि बल खुटासम्म ल्याउन गाह्रो परेको थिस्टारका खेलाडीहरुकाे गुनासाे थियाे। 

मैदानको अवस्था यति मै सकिँदैन। पाँच करोड खर्च गरेर चीनबाट खरिद गरिएर ल्याइएको फ्याब्रिकबाट एक महिनामै पानी चुइँन थाल्यो। फ्याब्रिकबाट पानी चुहिन थालेपछि भिआइपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट भिजेका कारण दर्शकले बस्ने ठाउँनै पाएनन्।

राष्ट्रिय खेलकुद परिषद्का प्रमुख इन्जिनियर अरुण उपाध्याय फ्याब्रिक राम्रोसँग नतन्किएका कारण जोर्नीबाट पानी चुहिने समस्या देखिएको भन्दै पन्छिए। ‘फ्याब्रिक राम्रोसँग नतन्किएका कारण जोर्नीबाट पानी चुहिएको हो। यता पानीको निकास पनि व्यवस्थित हुन सकेको छैन। सागका लागि हतारमा काम गर्नु परेकाले राम्रोसँग छाना छाउन सकिएन’, उनले भनेका थिए।

३ हजार दर्शक क्षमताको भिआइपी प्यारापिटको ‘सिमेन्टेड’ छानो २०७२ वैशाख १२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेको थियो।त्यसपछि सिमेन्टेड छानोको सट्टा खेलकुद परिषद्ले फ्याब्रिक प्रणाली प्रयोग गर्दै अत्याधुनिक प्रविधि भनेर दाबी गरेको थियो। तर राम्रोसँग जडान नहुँदा पानी चुहिने समस्या देखियो।

रंगभेदी टिप्पणीको आरोप

अन्तर्राष्ट्रिय फुटबलमा पनि रंगभेदी घटना हुनु सामान्य हो। तर नेपालको लागि भने यो घटना सम्भवत पहिलो हो। माघ १४ गते मंगलबार जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीचमा भएको खेलमा रंगभेदी टिप्पणी गरियो। उक्त खेलमा आर्मीका कप्तान भरत खवासले आफूलाई रंगभेदी टिप्पणी गरेको आरोप जावलाखेलका विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले लगाए। मंगलबार भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा भरतकै एक मात्र गोलमा आर्मी १–० ले विजयी भएको थियो । पहिलो हाफको अन्त्यतिर भरतले जावलाखेलका डिफेन्डर एडमा डोम्बियालाई फउल गर्न पुगेका थिए ।

लगत्तै विवादको अवस्था सिर्जना हुँदा भरतले वाम्बालाई मङ्की (बादर) भनेको दाबी गरे । त्यसपछि खेल केही बेर बिथोलिएको थियो । त्यसपछि वाम्बाले खेल बहिस्कार गर्न खोज्दा जावलाखेलका पदाधिकारीले सम्झाउँदै थपिएको समयमा उनी खेल्न राजी भएका थिए। ए डिभिजन लिग डाइरेक्टर सन्जिव मिश्रले यो रंगभेदी दुर्ब्यवहार अन्तर्रा्ष्ट्रिय फुटबलमा पनि रहेको र यो घटनाको छानबिन गर्दै दोषी ठहरिए कारवाही गरिने बताए।  ‘कुन खेलाडीले कसलाई यस्तो भनेको हो । हामी भिडियो फुटेज हेरेर छानबिन गर्नेछौं । दोषी ठहरिए कारवाही अवश्य हुनेछ। यस विषयमा हामीसँग कोर्ड अफ कन्डक्ट छैन । तर, पनि हामी फिफाको नियममा रहेर दोषीमाथि कारवाही गर्नेछौं । दोषी ठहरिए दोषी उम्कने छैन,’ मिश्रकाे भनाई थियाे।

मैदान बन्यो ‘रेस्लिङ रिङ’

यसपालिकाे लिगमा दर्शकले फुटबल मात्रै होइन, ‘रेस्लिङ’ पनि हेर्न पाए । ‘रेस्लिङ’ पनि चानचुने टिमको पक्कै थिएन, राष्ट्रिय टोलीमा धेरैभन्दा धेरै खेलाडी समावेश गरिएको दुई कल्ब मनाङ मर्स्याङ्दी र मच्छिन्द्रको थियो। 

पुस १८ गते सोमबारको दिन खेल रोमाञ्चक हुने अपेक्षा थियो। किनभने यो सिजन मच्छिन्द्रले मनाङका अघिकांश खेलाडी आफ्नो कल्बमा भित्राएको थियो। खेल पनि त्यस्तै भयो। दुवै टोली २–२ मा रोकियो। रेफ्रीले फाइनलकाे सिट बजाएसँगै दुबै टोलीका खेलाडी हात हालाहालमा उत्रिए। राष्ट्रिय टोलीबाट खेलिसकेका मनाङका जगजित श्रेष्ठले मच्छिन्द्रका फरवार्ड दीपक राईमाथि दुर्व्यवहार गरेपछि सुरु भएको झगडाले उग्ररुप लियो । 

केहि अफिसियलले खेलाडीलाई छुट्याउन थाले त केहिले उक्साउने प्रयास गरे। त्यसको चार दिनपछि अर्थात पुस २४ गते बिहीबार एन्फाको अनुशासन समितिले मनाङका तीन खेलाडी र किट व्यवस्थापक तथा मच्छिन्द्रका तीन खेलाडीलाई खेल प्रतिबन्ध तथा नगद जरिबाना गर्यो।  
समितिले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच खेलमा प्रतिबन्ध लगाउनका साथै १० हजार रुपैयाँ जरिबानाको निर्णय गर्यो।

यसैगरी मनाङकै रञ्जन बिष्टलाई दुई खेलको प्रतिबन्ध लगायो भने किट व्यवस्थापक शिव लामालाई जारी लिगका सबै खेलमा प्रतिबन्धका साथै १० हजार रुपैयाँ जरिबाना गर्यो। त्यस्तै मछिन्द्रका दीपक राई, विजय धिमाल र देवेन्द्र तामाङलाई दुई खेलको प्रतिबन्ध लाग्यो। दुवै क्लबलाई पनि ५० हजार रुपैयाँका दरले एन्फाले जरिबाना तिरायो। 

म्याच फिक्सिङ 

घरेलु लिगमा ४० को दशकदेखि नै मिलेमतो हुने गरेको फुटबलकर्मी स्वीकार गर्छन्। यद्दपि त्यतिबेलाको मिलेमतो व्यक्तिगत, केहि क्लबका पदाधिकारीको सम्बन्धका आधारमा सहयोग गर्ने तहमा हुने गरेको थियो। त्यतिबेला पैसाका लागि मिलेमतो नगरिने बताइन्छ। २०६० साल यताबाट भने घरेलु लिगमा पैसाकै लागि मिलेमतो हुन थालेको धेरैकाे दावी छ। कतिपय अवस्थामा क्लबका बीचमा र कतिपय अवस्थामा खेलाडीका बीचमा खेल मिलेमतो हुने गरेको थियो। 

एन्फाले खेल मिलेमतोलाई कडाभन्दा कडा कारवाही गरिने भन्दै पटकपटक समिति पनि गठन गरेको उदाहरण छन् । तर, कहिल्यै कुनै कारवाही भएको इतिहास थिएन।यसपटक भने खेलाडी र अफिसियलमाथि सोधपुछ भयो, त्यो पनि एन्फाका अध्यक्ष कर्मा्छिरिङ शेर्पाको क्लब हिमालयन शेर्पा माथि। 

एन्फा अध्यक्ष शेर्पाले साग खेलकूद प्रतियोगिता सकेलगतै मंसिर २४ गते बिएल नेपाली सेवासँग बिशेष कुराकानी गर्दै खेल मिलेमतो गर्ने र अनुशासनको पालन नगर्ने खेलाडीविरुद्द आफू कठोर हुने बताएका थिए। उनले आफ्नो कार्यकालमा खेल मिलेमतो शून्यमा झार्ने दाबी गरेका थिए। तर उनकै क्लब हिमालयन शेर्पा माथि खेल मिलेमतोको आरोप लाग्यो। 

१४ माघमा सम्पन्न नवौं चरणको खेलमा हिमालयन शेर्पालाई सरस्वती युथ क्लबले ४–३ गोलले हरायो। लिगमा पहिलो जितको खोजीमा रहेको सरस्वतीले आफूभन्दा बलियो टोली शेर्पामाथि फराकिलो जित हात पारेपछि सबै आश्चर्यमा परे। त्यसपछि क्लबका प्रशिक्षक नै एकअर्काप्रति खेल मिलेमतो जस्तो स‌गीन आरोप–प्रत्यारोपमा उत्रिए। त्यसको अग्रपंक्तिमा रहे, एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ। 

उनले एन्फा अध्यक्ष कर्मा्छिरिङको हिमालयन शेर्पा र उपाध्यक्ष क्षितिज पराजुलीको सरस्वती युथ क्लबले मिलेमतो गरेर एपीएफलाई रेलिगेशनमा पार्न खोजेको आरोप लगाए। तामाङले आफूले २६ वर्ष फुटबलमा बिताएको दाबी गर्दै नेपालमा म्याच फिक्सिङको ‘खतरा एजेन्ट’ भएको खुलासा गरेका थिए। 

‘यहाँ फुटबल खेलिँदैन, मैदानमा पस्ने काम मात्र हुन्छ’, एपीएफ प्रशिक्षक तामाङले भने, ‘अब सरस्वतीकै एक मेनेजरले हामी बराबरी खेल्छौं भनेर मलाई नै भनेका थिए। किन बराबरी खेल्ने भनेर सोध्दा त्यति नै खेल्ने भनेको छ भनेका थिए।’ 

त्यसपछि एन्फाले थप अनुसन्धानका लागि भन्दै लिगका इन्टिग्रिटी अफिसर सुदीप आचार्यसहितको छानबिन समिति गठन गर्यो।

समितिले सरस्वतीका कप्तान दीपेशले शेर्पा र हिमालयन शेर्पाका खेलाडी र अफिसियल गरि ५ जनालाई सोधपुछ गरेपछि मिलेमतोको बिषय छताछुल्ल भयो। दीपेशले शेर्पाका गोलकिपर किशोर गिरीलाई मिलेमतोका लागि प्रस्ताव गरेको देखिएपछि त्यसकै आधारमा उनीलाई ३ खेलमा निलम्बन गरियो।

छानबिन समिति यतिमै सिमित भएन शेर्पाका गोलकिपर किशोर, आशिष गुरुङ, एक विदेशी खेलाडी, गोलरक्षक प्रशिक्षक मिन बस्नेत र व्यवस्थापक विजेन्द्र पुडासैनीसँग पनि साेधपुछ गर्याे। 

साेधपुछको क्रममा गोलकिपर किशोरले दीपेशले गरेको फोन ‘ह्यान्डस्फ्री’ गरेर गोलकिपर प्रशिक्षक, व्यवस्थापक अन्य केहि खेलाडीलाई सुनाएको देखियो। शेर्पा गोलकिपरले दीपेशको प्रस्तावलाई अस्वीकार गरेको देखिएकोले उनीमाथि कुनै कारवाही भएन। ‘खेल मिलेमतो भएको देखिँदैन । तर जसले प्रस्ताव गरेको देखिन्छ त्यो मिलेमताको सुरुवात हो’, एक पदाधिकारीले भने। 

ती पदाधिकारीले भनेको केही दिनमै अर्थात २७ माघमा च्यासल युथ क्लबसँग सरस्वती २–१ गोल अन्तरले पराजित भयो। लिगमा अन्तिम चरणको खेल बाँकी छँदै सरस्वती बी डिभिजनमा घटुवा हुने पक्का भयो। सोही दिन सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले फेरी सशस्त्र प्रहरी बलको एपीएफमाथि म्याच फिक्सिङ गरेको आरोप लगाए। 

सरस्वती च्यासलसँग हारकै दिन अघिल्लो खेलमा एपीएफले फ्रेण्ड्स क्बलमाथि ५–२ को नतिजा निकाल्दै ‘रेलिगेशन’ टारेको थियो। चारवटै क्लबका प्रशिक्षकले एकअर्काको आरोपलाई नकारे पनि शंकाको बादल भने हट्न सकेन। 

जावलाखेलविरुद्धको खेलपछि फ्रेण्ड्स क्लबका एक अफिसियल अनुप कार्कीले त एन्फाले नै मिलेमतोमा खेल खेलाएको आरोप लगाए।  ‘पोष्ट म्याच कन्फ्रेन्स’मा कार्कीले भने,‘यो त शतप्रतिशत मिलेमतोको खेल हो। एन्फाले मिलेमतोको खेल खेलाउँछ। यस्तो एकपक्षीय खेल पनि हुन्छ? यो त अति भयो। मैले चार खेलमा यस्तो भएको भनेर एन्फालाई निवेदन पनि दिएँ, तर केही सुनुवाइ भएन।’

रेफ्रीमाथि खनिए क्लब 

लिगको शुरूवातबाटै रेफ्रीको निर्णय कमजोर भएका कारण खेल्ने पोजिसनमा फरक परेको क्लबहरुले आरोप लगाए। साविक विजेता मनाङ मर्स्याङ्दी, च्यासल युथ, मच्छिन्द्र, एपीएफ, हिमालयन शेर्पालगायत क्लबका प्रशिक्षकले उक्त आरोप लगाएका थिए। 

त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपानेले रेफ्री अपरिपक्क भएको बताए। ‘रेफ्रीको निर्णय एकतर्फी देखियो। यो स्तरको खेल अलि परिपक्क रेफ्रीले खेलाउनुपर्छ’, प्रशिक्षक न्यौपानले भने, ‘बी र सी डिभिजन खेलाउने रेफ्रीले यो स्तरको खेल खेलाउन सक्दैनन्।’ 

मनाङका प्रशिक्षक धनन्जय प्रजापतिले पनि लिग र खेलाडीको स्तर बढाउन रेफ्रीको स्तर सुधार गर्नुपर्ने सुझाव दिए। ‘रेफ्रीको स्तर घटेकाले खेलको गुणस्तर पनि घटेको छ’, उनले भने,‘ मैदानमा ११ जना होइन १५ जना खेलाडी हुनुपर्छ,तर लिगमा यस्तो देखिएन।’


 

प्रकाशित मिति: Feb 16, 2020 22:49:18

प्रतिक्रिया दिनुहोस

सबै