मनमाेहक पशुपतिनाथकाे आरती साँझ (भिडियाे)

गत शनिबार अफिसमा काम गरिरहेको बेला दिउँसो करिब साढे ३ बजे मोबाइल बज्यो। कल थियो, बहिनीको। भन्दै थिइ, ‘घर कतिबेला आउने? दाई आउनु भएको छ। उसको कुरै सुनेर मन खुसीले फुरुङ भयाे। कति बेला घर फर्किने भनेर मनमा छटपटी भइरहेको बेला अफिसबाट पशुपति जाने कुरा भयाे।

शिवरात्रीको रौनक चलिरहेको बेला पशुपतिनाथ मन्दिर जान नचाहने को हुन्छ होला? म पनि लाेभिए। एकछिन घरको कुरा बिर्सेर साँझ ५ बजेतिर अफिसका दाैतरीसँगै गाैशालातर्फ लागे। 

पशुपतिनाथ जति सुन्दर दिउँसो देखिन्छ, त्यो भन्दा पनि सुन्दर बेलुका लाग्छ मलाई। हामीसँगै पशुपति जानेमा राजेन्द्र कुँवर सर पनि हुनुहुन्थ्यो। उहाँ केही फुटेज लिनुथियाे। त्याे पनि आरतीकाे। पशुपतिमा शिवरात्री मनाउन एक सातादेखि नै बाबाहरुको चहलपहल सुरु भइसकेकाे थियो। पशुपति विकाश कोषका पदाधिकारी पनि यसपालिको शिवरात्रीलाई यादगार बनाउन विभिन्न गतिविधिमा सलंग्न देखिन्थे। 

पशुपतिकाे काेलाहलपूर्ण वातावरणमा घुमिरहँदा समयले कतिबेला नेटाे काट्याे हामीलाई थाहा भएन। करिब सात बजे साँझ छिपिन थालेपछि हामीले राजेन्द्र सरसँग बिदा लिने निर्णय गर्याै। तर उहाँले भन्नुभयो, ‘कहाँ घर जाने अहिले। बल्ल त आरतीको टाइम हुँदैछ।’ उहाँकाे काम बल्ल सुरु हुन लागेकाे थियाे। त्यसैले उहाँले नै प्रस्ताव गर्नुभयो,‘आधा घण्टा बसौ न त?’

म पशुपतिनाथको दर्शन गर्न कैयौं पल्ट गौशाला पुगेको छु। तर, आरती पुजाको दर्शन गर्ने सौभाग्य जुरेको थिएन। राजेन्द्र सरको प्रस्तावपछि ममा पनि कौतुहलता जाग्यो। 

आरतीको समय हुनै लागेको थियो। जब हामी आरतीका लागि बाग्मती घाटतर्फ लम्कियौं, मैले खोला पारी दुईवटा लाश सद्गद् गर्न भूईंमा लम्पसार पारेर राखेको देखेँ। यसले मेरो मनमा अनेकौं प्रश्न उब्जियो। तर, यत्तिकैमा आरतीको भजन मेरो कानमा गुञ्जिएका कारण ध्यान अन्यत्र मोडियो। 

भक्तजनहरू आरतीको धुनमा मग्न थिए। कोही तालिपिटिरहेका थिए, कोही नृत्यमा मस्त थिए। मेरो मन फेरी जलाउन लागेको त्यही लाशमा गएर अडियो। आफन्तहरू रुदै थिए। आफन्त गुमाउँदाको पिडा कति ह्दयविदारक हुन्छ? यो कसैलाई भनिरहनु पर्ने कुरा होइन। तर, मेरो लागि त्यो दृश्य वास्तवमै गाह्रो थियो। सोच्दा सोच्दै कतिबेला मेरो आँखामा आशु छचल्किएछ। थाहा नै पाइन्। साेच्न थाले–‘जीवनमा जति नै लोभ गरेर धन कमाएपनि आखिर बोकेर लाने त केही होइन रहेछ? सबैले जल्नु नै पर्ने रहेछ?’ 

मेरो हालत साथी मन्दिरा अधिकारीले अनुभव गरिरहेकी रहेछिन्। भनिन्, ‘के बच्चा जस्तै रोएको?’ उनको कुरा सुनेपछि झन् पो भक्कानिन् पुगेछु। पछि उनले आमाजस्तै मलाई सम्झाइन्, ‘जन्मपछि सबैले मर्ने पर्छ।अजम्बरी को हुन्छ र!’ 

मन्दिराले केही समयअघि मात्र आमा गुमाएकी थिइन। उनले भनिन्, ‘मैले त यार सबैभन्दा बढी माया गर्ने मान्छे गुमाए।’

उनले पशुपतिको लाश पोल्ने ठाउँ देखाउँदै भनिन्, ‘उ त्यही हो। आमालाई अन्तिम पटक देखेको।’ उनको कुरा सुनेर मन केही सम्हालियो। फेरि आरतीकाे धुन र त्यहाँकाे वातावरणले सबैलाई मनमगन गराइरहेकाे थियाे। यति बेला साढे ७ बजिसकेको थियो। राजेन्द्र सरको फुटेज पनि लिने काम सकिएछ। त्यसपछि हामी पशुपतिनाथलाई बाहिरबाटै ढोग गरेर घरतर्फ लाग्यौं। घर पुग्दा सबै जना खानाका लागि मेराे प्रतिक्षा गरिरहेका  रहेछन्। मेराे आँखाकाे नानी भने पशुपतिकाे त्यही आरती र मानवहरुकाे महाप्रस्थानमै घुमिरहेकाे थियाे। 
 
 

प्रकाशित मिति: : 2020-02-21 06:50:00

प्रतिकृया दिनुहोस्