‘सेन्टी भाइरस’ले कमायाे दुई दिनमा २ करोड ४७ लाख, ५० प्रतिशत रंगशाला खर्चिने

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले रिलिजको दोस्रो दिन १ करोड ३५ लाखको व्यापार गरेको छ। रिलिजको पहिलो दिन नै १ करोड १२ लाखको व्यापार गरेको चलचित्रले दुई दिनमा २ करोड ४७ लाख कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ।

शनिबार पनि चलचित्रले राम्रो दर्शक पाएको थियो। पहिलो दिनको तुलानामा शनिबार हलमा चलचित्र हेर्ने दर्शकको अत्याधिक चाप देखिएको छ। शनिबार बिहानी शोका अधिकांश शोहरु हउसफुल रहेका थिए। दिउँसोको शोमा पनि चलचित्रको टिकट समेत अभाव भएको हल सञ्चालकले बताएका छन्। मल्टीप्लेक्सहरुमा उच्च शोज पाएको चलचित्र हेर्न हलमा युवा पुस्ताका दर्शक बढी देखिएका छन्। 

राजधानीसँगै मोफसलका प्रमुख स्टेशनहरु पोखरा, बुटवल, विर्तामोड, इटहरी, दमक र चितवनका पर्दाहरुमा पनि चलचित्र शुक्रवार र शनिवार हाउसफुल रहेको वितरकले जानकारी दिएका छन्।

धुर्मुस–सुन्तलीले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन्। कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रका गीतमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाले संगीत भरेका छन्। 

चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ।

चलचित्रको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खर्चिने धुर्मुस–सुन्तलीले घोषणा गरिसकेका छन्। यो घोषणाका कारण पनि चलचित्रले हलमा दर्शकको ठूलो भीड तान्न सफल भएको अनुमान गरिएको छ। ‘छ माया छपक्कै’ पछि सुस्ताएको नेपाली चलचित्रको व्यापार ‘सेन्टी भाइरस’ ले धेरै हदसम्म चलायनमान बनाएको छ। 

शुक्रबारबाट नै रिलिज भएको चलचित्र ‘आमा’ले पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ। दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यस चलचित्रले उत्कृष्ट भएको समिक्षा पाइरहेको छ।

आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गरेको चलचित्रलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ। दर्शकले चलचित्रको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतीको प्रशंसा गरेका छन्। चलचित्रले प्रदर्शनको दिनदेखि ६५ लाख ग्रस कलेक्सन गरेको छ।  

माउथ पब्लिसिटी बलियो भएका कारण यो चलचित्र हलमा लामो रेसको घोडा बन्ने देखिएको छ। चलचित्रको इनिसियल व्यापारमा भने ‘सेन्टी भाइरस’ ले ठूलो असर गरेको छ। 

चलचित्रमा सुरक्षाका पन्तका अलावा मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरुको अभिनय छ। यो चलचित्रको अधिकांश दृश्य दर्के झरीमा खिचिएको हो। 

प्रकाशित मिति: : 2020-02-23 12:31:41

प्रतिकृया दिनुहोस्