गलीगली

हेमन्त विवश

काठमाडौं

यो सहर जहाँ म वर्षौदेखि बसिरहेको छु निकै नै उदेक लाग्दो बनिदिन्छ कहिलेकाही। यो मुखुण्डो पहिरेका सम्राटहरुको सहरमा न चन्द्रमाको चादनी देख्छु न जीवनको गरिमा। यहाँ छ त केवल नवधनाढ्यहरुको फुर्ति,तस्कर र बिचौलियाहरुको जालझेल, घुस्याहाहरुको रवाफ अनि छद्मभेषी कृतघ्नहरुको दम्भ। बेलाबखत सोच पलाउछ मनमा केही दिनलाई भए पनि कतै टाढाको यात्रा गर्न। वतासिन्छन् दिनहरु। सुय्य सुस्केरा हाल्छन् मनका तरङ्गले।

मन उत्साहित भैदिन्छ यात्रा गर्नका लागि। आखिर एकै ठाउँमा लामो समय बसिरहदा, दिकदारी बढ्दा खोज्दोरहेछ मनले बाहिर निस्कने बाटो। आनन्दको सास फेर्ने उपाए। त्यही उपाय खोजेर यात्रारत हँुदा पाँच महिना अघि भेटिएकी थिइन जुम्लाकी निरमाया बुढा। केटाकेटीहरुसँग जिस्किने मेरो बानी पुरानै हो। परिचित अपरिचित जोसुकै हुन् बालबालिका देख्दा जिस्क्याइहाल्छु। निकै प्रिय लाग्छ तिनीहरुको बोली र क्रियाकलाप। त्यहाँ न जालझेल हुन्छ नत हुन्छ कुनै प्रकारको दम्भ, फुर्ति अनि आत्मश्लाघा। एक निर्दोष हेराइ मायालु लवज, निश्चल निष्कपट मुस्कानले छोइदिन्छ मनको कुनाकुनामा। 

यो धुलो धुँवा र कोलाहलबाट केही दिनलाई मात्र भए पनि छुट्करा पाइने सोचका साथ सुदूरपश्चिमतिर पाइला चाल्न तम्तयार भएको मन एकाएक मोडिन्छ कर्णालीतिर। यसरी यो मनलाई मोड्नेमा थिए बिएल मिडियाका संस्थापक ज्योती देबकोटा। उनकै सल्लाह र सुझावले पु¥याएको थियो मलाई कर्णाली। यात्रा सुरु गरेको केही घन्टामै चितवका लागि हिँडेकी लक्ष्मीले भनिदिइन् – ‘म पनि जान्छु।’ दुर्गमको यात्रा गाह्रो हुने ठानेर छोरीलाई छोड्यौं चितवनस्थित उनको मामाघरमा। रात्री बसमा नारायणघाटबाट आठ घन्टा यात्रा गरेपछि एकाबिहानै पुगिन्छ नेपालगञ्ज। राम्ररी उज्यालो हुन सकेको थिएन। बसपार्कमा चहलपहल बढिसकेको थियो। जुम्लाका स्याउ सजिएका थिए बजारमा। जम्मा एक सय बीस रुपैया किलोको दरले बेचिरहेका थिए व्यापारीहरुले ती अग्र्यानिक स्याउ। जतातै बजारमा देखा पर्ने चाइनिज र भारतीय स्याउको मूल्य दुई सय भएको बजारमा हाम्रो आफ्नै उत्पादन अग्र्यानिक स्याउले अझै बजार पाउन नसकेको अवस्थालाई मनन् गरिरह्यौं हामी।

बिहान चारैतिरका किनारहरु उज्यालिंदै आउन थाले। नजिकका रुखमा चराहरु कराउन थाले। आउन थाले जुम्ला कालिकोट मुगुका गाडीहरु। जुम्लाका लागि एउटा भ्यानमा चढ्यौं हामी। कोहलपुर बसपार्कबाट ८२ किमि बाटो पार गरेपछि आइपुग्छ सुर्खेत। बर्दिया राष्ट्रिय निकुञ्ज भेरीको किनार हुँदै पुग्छौ सुर्खेत बजार। सुन्दर अनि मनमोहक भ्याली सुर्खेतले ओढिरहेकै थियो हुस्सुको पछ्यौरी। सडक छेउमा जतातै देखिन्थे बिक्रीका लागि राखिएका जुम्ला,मुगु र कालिकोटबाट ल्याइएका स्याउका भरिभराउ डोकाहरु। ड्राइभर गाडीको चक्का फेर्न थाले। हामी दुई जना नजिकका पसलतिर खानेकुरा खोज्न थाल्यौं।

गाडीमा जुम्लाको यात्रा गर्दा मनमा एकातिर छुट्टै उत्सुकता पैदा भैरहेको थियो भने अर्कोतिर  बाटो अप्ठेरो छ भन्ने सुन्दा कताकता डर पनि लागिरहेको थियो। उताबाट छोरीले घन्टाघन्टामा फोन गरिरहेकी थिइन कहाँ पुग्नु भयो भनेर। ती अवोध बालिकाले हाम्रो यात्राको चिन्ता गरेर गरेकी थिइनन् फोन। उनलाई पहिलो पटक आमाबुवाबाट छुट्टिएर एक्लै बस्दाको न्यास्रोले सताइरहेछ भन्ने आभाष सजिलैसँग पाउन सकिन्थ्यो। सुर्खेत पुगेको आधि घन्टा पछि सुरु भयो हाम्रो यात्रा। सत्र अठार वर्षका नौ जवान प्रेम बहादुर थिए गाडी चालक। डेउडा गीत घन्काउँदै निकै नै फुर्तिलो पाराले चलाइरहेका थिए गाडी। समय समयमा उनको मोबाइलको घन्टी बजिरहन्थ्यो। मोबाइलमा गफ गर्दै एक हातले स्टेरिङ घुमाउँदै रप्तारमा गाडि चलाइरहेका थिए उनी।

त्यो दृश्य देख्दा मनमा चिसो परिरह्यो। सुर्खेतबाट हिँडेको करिव दुई घन्टा पछि भेटिएका थिए बिएल मिडियाका लागि जुम्लाका रिपोर्टर महेश नेपाली र उनकी जहान पुष्पा। दैलेख जिल्ला पार गर्न निकै समय लाग्छ। दैलेख कालिकोट हुँदै जानु पर्ने हुन्छ जुम्ला। घुमाउरा मोडबाट देखिने कर्णाली नदीका घुम्ती देख्दा याद आउथ्यो गाउँघरतिर वर्षौं अघिदेखि सुनिदै आएका गीतका पंक्ती ः 

कर्नाली घुमाउरो पर्‍यो लौरी बगाउँदैन 
बैरागीको बाँझो मन डुली अघाउँदैन् 

साच्चै लौरी नबगाउने जस्तै घुम्तीहरु देखिन्थे कर्णालीका मन हर्ने सुन्दर छालहरु। त्यो प्राकृतिक दृश्य हेरेर अघाउँदैन मन। किनारमा उभिएर हेरिरहुँझैं लाग्छ। जति डुल्दै गयो त्यति नयाँ कुरा भेटिने त्यो भूमि लोकसाहित्य र संस्कृतिका क्षेत्रमा निकै धनी छ। तर दुर्भाग्य बाँकी नै छन् लेख्नु पर्ने धेरै कुराहरु। गाडीमा रहेका यात्रुहरुले हामीलाई देखाइरहेका हुन्थे कर्णालीपारिको अछामको भूभाग। मनमनै सोच्थेँ त्यहाँबाट सदरमुकाम मङ्गलसेन पुग्न कति समय लाग्ला। कतिको समस्या झेलिरहेका होलान् त्यहाँका मान्छेहरु।

आफ्नै गतिमा बगिरहेकी कर्णालीका छाल हेर्दा सम्झनामा आइरहे कालीकोटका बिर्ख शाहीका गीतका पंक्ती। बिर्ख शाही दृष्टिबिहीन थिए। सामान्य भनाभन हुँदा आवेगमा आएर उनकी श्रमिती कालीले कर्णालीमा सात वर्षकी छोरीसहित हाम फालेर जीवनको इतिश्री गरेपछि दोषी ठानिएका उनले प्रशासनसामु यसरी व्यक्त गरेका थिए आफ्नो विरह। 

आफू बाइगै छोरी लैगइ आइ गंगा कालीगै
एक नेल दैवले दियो दोश्रो नेल हालीगै

(उर्लिदो भेलसँगै नदीमा छोरीलाई समेत लगेर काली गइहालिन्। दृष्टिबिहिन बनाएर एक नेल त दैवले दिएकै थियो आज उनले दोश्रो नेल हालेरगइन्।) कम मार्मिक छैनन् यी पंक्ती। यी पंक्तीहरु सम्झिदा याद आउछ पी बी शेलीको भनाइः यगच कधभभतभकत कयलनक बचभ तजयकभ तजबत तभििक या कबममभकत तजयगनजत (हाम्रा मधुरतम गीत ती हुन् जसले गहनतम नैराश्यको कथ्य बोकेका हुन्छन् )  असली डेउडा गीतले पनि हृदय हल्लाउने सामथ्र्य राख्छन्। तरलित तुल्याउछन्। 

एक सय तेह्र किमि दूरी पार गरिसकेपछि आइपुग्छ दैलेखस्थित कर्णाली किनारको चर्चित ठाउँ राकम। जहाँको फाँट निकै नै सुन्दर देखिन्छ। दसवटा सहरी योजना अन्तर्गतको एक हो राकमको विशाल फाँट। जहाँबाट कालीकोटको मान्मा पुग्न जम्मा उनान्तिस किमि मात्र छ। तर नागबेली परेको डरलाग्दो बाटोका कारण घन्टौ लाग्छ कालीकोट पुग्न। डाँडाको शिरानीमा देखिने मान्मा बजार तलबाट जति सुन्दर देखिन्छ सदरमुकाम पुगेपछि त्यति सुन्दर देखिदैन। उराठ लाग्दो डाँडाको टुप्पोमा अवस्थित मान्मा बजारमा पुगेर खाजा खान थाल्यौं।

चारैतिर देखन्थे विशाल डाँडाहरु। समतल फाँट भन्नु त सपनाकै कुरा छ कालीकोटमा। जुम्लीहरु कालीकोटलाई जुम्लाको बिकासको बाधकका रुपमा लिन्छन् रत एउटा भानाइ नै छ – कालीकोटले विकट बनाएको जुम्ला।  जुम्लामा समयमा गाडी पुग्न नसक्नुको कारण कालीकोटका डरलाग्ला भीरहरु नै थिए। बसमा आउदा नेपालगञ्जबाट एक दिनमा पुगिदैन जुम्ला। बास बस्नु पर्ने हुन्छ कालीकोटमा। ससाना भ्यानहरुले मात्र पु¥याउँछन्। कालीकोटबाट ८२ किमि पार गरेपछि पुगिन्छ जुम्ला सदरमुकाम। कठिन बाटोकै कारण उक्त दूरी पार गर्न ती भ्यानहरुलाई समेत तीन चार घन्टा समय लाग्छ। कालिकोटको पिली पुग्दासम्म घाम अस्ताइसकेको थियो। पिली द्वन्द्वकालको निकै चर्चित ठाउँ हो। जहाँ ४२ जना सैनिकले एकै पल्ट ज्यान गुमाएका थिए। त्यो भीर हेर्दैमा डरलाग्दो थियो। सडक निर्माणका क्रममा काम गरिरहेका सेनाका जवान भएको उक्त ठाउँमा माथिबाट माओबादीले गोला बारुद बर्षाउँदा ढुङ्गा लडेझैँ भीरबाट लडेर ज्यान गुमाएको कुरा सुनाउँदै थिए गाडीभित्रका यात्रुहरुले। पारिपट्टि खोचमा डाँडाको फेदमा देखिन्थे केही गाउँ। तीला नदीको किनारै किनार दौडिरहेको थियो गाडी। कानका जरासम्मै स्पर्स गरिरहेको थियो झ्यालबाट छिर्दै गरेको हावाले। जुम्लाको तातो पानी बजारमा पुग्दासम्म रातको आठ बजिसकेको थियो।

तातो पानी बग्ने ठाउँ भएकै कारण उक्त ठाउँको नाम तातो पानी रहेको रहेछ। टाढाटाढाबाट त्यहाँ नुहाउन आउदारहेछन् मान्छेहरु। तातो पानीमा नुहाउनाले छाला सम्बन्धी रोग निको हुने जनविश्वास छ। तातोपानीबाट तीला नदीको किनारै किनार जुम्ला सदरमुकाम पुग्दा देखिने सुन्दर फाँट आफ्नै गतिमा बगिरहेको नदी वरपर देखिने पहाडको दृश्यले लोभ्याउछ जोकोहीलाई। जुम्लाको मानसरोवर होटेलमा खाएको रातो मार्सीको भात र सिमीको दालको स्वाद सम्झिदा अहिले पनि रसाउछ मुख। लक्ष्मीलाई केही नभनी भोलिपल्ट एकाबिहानै निस्किन्छु होटलबाट। सदरमुकामको सिरानीको डाँडामा पुगेर नजरले भ्याएसम्म एकोहोरो हेरिरहन्छु टाढासम्म। निकै सुन्दर देखिन्थ्यो जुम्ला उपत्यका। नजिकै देखिने जुम्ल्याहा डाँडाले अझ बढी शोभा बढाइरहेका थिए सदरमुकामको। 

दिउँसो खाना खाएर निस्कियौं बजारतिर। खसभाषाको शब्दकोश लेखिरहेका रमानन्द, जुम्लाका लेखक खडानन्द चौलागाईदेखि म्याराथनमा चिनिएका चर्चित धावक हरिबहदुर रोकायासँगको भेट अविष्मरणीय थियो। हामी बसेको होटलबाट पाँच मिनेटको दूरीमा थियो जुम्लाको प्रशिद्ध चन्दननाथको मन्दिर। हरेक वर्ष दशैंको बेला फुलपातीका दिन नयाँ लिङ्गा हाल्ने चलन निकै अगाडीदेखि चल्दै आएको छ त्यहाँ। टाढैबाट फरफराई रहेका हुन्छन् लिङ्गाको टुप्पोमा बाधिएका धजाहरु। केही वर्ष अघिमात्रै चन्दननाथ मन्दिरमा चोरी भएको समाचार प्रकाशित भएको कुरा पत्रपत्रिकामा पढेको याद आइरह्यो। मन्दिरभित्र नछिरी बाहिरैबाट फोटो खिचेर सोध्न थाले त्यहाँका स्थानीयसँग मन्दिरको इतिहास। मान्छेको मात्र कहाँ हो र हरेक चिजवस्तुको आआफ्नै इतिहास हुन्छ। तर त्यो कुरा कतै बाहिर आएको हुन्छ कतै गर्भमै रहेको हुन्छ।

कथा भन्छ –सदियौं पहिले दुईजना बाबाहरु कस्मिरबाट जुम्ला आएका थिए। एउटाको नाम बाबा चन्दननाथ थियो भने अर्कोको नाम बाबा भैरवनाथ। बाबा चन्दननाथले एक ठाउँमा बसेर तपस्या गरी भगवान शिवलाई स्थापना गरे भने बाबा भैरवनाथले पनि नजिकै बसेर तपस्या गरी बटुक भैरवको स्थापना गरे। त्यसैले एउटै परिशरभित्र चन्दननाथ र भैरवनाथका छुट्टाछुट्टै दुइटा मन्दिर छन्। तिनै बाबाहरुले कस्मिरबाट काली मार्सी धानको बीऊ ल्याई तातोपानीको लाछु जीउलामा बेर्ना बनाई धान उत्पादन गरेको र पछि जुम्लावासीलाई बीउ दिएर धानखेती गर्न सिकाएछन्। त्यही कुरालाई मनन् गरेर जुम्लीहरुले विगतदेखि नै धान काटेपछि पहिलो बाला चन्दननाथ मन्दिरमा चढाउने गरेको कुरा सुनाउछन् त्यहाँका स्थानीयवासी।

चन्दननाथ मन्दिरभित्र भगवान बुद्धका मूर्तिहरु पनि राखिएका छन्। स्थानीयहरुका अनुसार भगवान गौतम बुद्ध विष्णुका दसौं अवतार हुन् त्यसैले गर्दा बुद्धका मूर्तिहरु राखेर तिनको पनि पूजा गर्ने गरिएको हो। धार्मिक पक्षबाट जेसुकै अर्थ लगाए पनि समाजमा मिलेर बसिरहेका हिन्दू र बौद्ध धर्मावलम्बीहरुको आपसी माया प्रेम भाइचारा र सद्भावलाई अझ गाढा र प्रेमिल बनाइरहेकै छ यसरी बुद्धका मूर्ति मन्दिरभित्र राखिनुले। 

जुम्ला सदरमुकाम बसाईका दुई दिन कतिखेर बिते पत्ते भएन। जुम्लाका गुठी चौर ठाकुरजी ताल, पात्रासी हिमाल जस्ता सुन्दर र मनमोहक पर्यटकीय क्षेत्रहरु घुम्न थाँती नै राखेर हामी निस्कियौं सिंजा हुँदै मुगुसम्मको यात्रामा। बीचबाटोमा बसभित्र प्रवेश गरिन् एउटी महिलाले। उनको साथमा थिए तीनवटी छोरी। हामीभन्दा पछाडीको सीटमा ठाउँ भेटाएर थचक्क बसिन् उनी। ठूली छोरी झ्याल छेउमा गएर बसिन्। कान्छी छोरी डेढ दुई वर्षकी जस्ती देखिन्थिन् काखमै बोकिन्। माइली निरमाया ग्यालरीमा झोलामाथि बसिन्। झोलामाथि बस्ने ती बालिका अन्दाजी छ सात वर्षकी हुदिहुन्।

जुम्ला गोरा गाउकीँ बलिका तिनै निरमाया बुढा र गोठीजीउलामा भेटिएका सांस्कृतिक अध्येता तुङ्गनाथ उपाध्यायसँग गफ्िफएको पल जीन्दगीको अहिलेसम्मकै सबैभन्दा सुन्दर  र अविष्मरणीय बन्न पुग्यो मेरा लागी। दुई कक्षामा पढ्ने ती नानी मामा घरबाट आएकी थिइन्। बज्यैलाई दूध लगिदिएको सिल्भरको ससानो रित्तो भाडो थियो उनको हातमा। त्यो भाडो समातेर म लग्छु भन्दै जिस्क्याइरहेँ मैले उनलाई। दुई हात जोडेर मायालु लवज निकालेर भनिरहिन् उनीले– ‘गलीगली।’ सोचिरहे कर्णालीले कर्णालीबासीले सिंहदरबारलाई निकै अघिदेखि भनिरह्यो गलीगली। सुनेन सिंहदरबारले। बेवास्था गरि नै रह्यो कर्णालीप्रति। देखाइरह्यो सौतेनो व्यवहार। मनमा भावनाका छाल उर्लिरहे। निरमायासँग वार्तालाप गरिरहेँ।  मायालु थिइन उनी परिपक्व मान्छेकाझै कुरा गरिदिन्थिन् बेलाबखत। के दिइन त बज्यैले भनी सोध्दा सरल ढंगले ढुक्कसाथ भनिदिइन–‘माया।’

मैले बाटोभरी प्रश्न तेर्स्याइ रहेँ। उनले निकै नै आत्मीयतापूर्वक उत्तर दिइरहिन्। ‘तिम्रा कति जना दिदीबैनी’ – जिज्ञाशापूर्वक सोधेँ। पछाडीपट्टि बसेकी दिदी र बहिनी समेतलाई देखाउँदै एकै सासमा भनिदिइन् –‘तीनटी। भाइ आमाको पेटमा छ। एक दिदी मरी।’ उनको उत्तर दिने शैली गजबको थियो। ‘के भएर मरेकी नि’ –मैले दोस्रो प्रश्न गर्दै गर्दा महेशले मलाई नसोध्न इशारा गरे। बिस्तारै मसँग कानेखुसी गर्दै भने –‘दाइ भयो नसोध्नू।’ उनकी आमालाई सम्झना आउला नरमाइलो लाग्ला भन्ने ठानेर होला महेशले मलाई सचेत तुल्याए। त्यसपछि मैले अर्कैतिर मोडेँ कुराकानी। 

हामीभन्दा एक पंक्ति पछाडी थियो उनीहरुको सिट। अवोध बालबालिका भेट्दा म निकै रमाउछु। लाग्छ यस्तै बालबालिकाहरुसँग रमाउन पाए हुन्थ्यो। लाष्टका सिट, धुलाम्मे खाल्डाखुल्डी भएको कच्चि सडकमा  उफारिरहेको थियो बसले। निरमाया चिन्तित भएर आमातिर हेर्थिन्। एक पंक्ती अगाडी आपूm बसेको सिटमा बस्न अनुरोध गर्थिन्। आमाको पेट मुसार्न खोज्थिन्। मायालु अनि आशाले भरिएको अनुहार देखाएर हामीसँग भनिदिन्थिन् – ‘आमाका पेटौदो मेरो भाइ छ।’ उनकी आमा लाजले शिर निहँुराउँदै उनलाई त्यस्तो नभन्न इशारा गर्थिन्। उनकी आमाको अप्ठेरो परिस्थितिलाई मनन् गरेर त्यो परिवेशलाई अर्कैतिर मोड्न पुनः म उनको दूधको रित्तो भाडो समातेर भनिदिन्थेँ–‘यो म लग्छु है।’ हातका औंलाले च्यूँडोमुनि सारङ्गी बजाएझैं गर्दै हात जोडेर भन्थिन् उनी –‘गलीगली नलगिदेउ।’ खसभाषामा गलीगली भनेको प्लिज अथवा बिन्ति भन्ने हुन्छ। एकातिर केटाकेटी देख्दा जिस्काउन मन लाग्छ अर्कोतिर निरमाया जस्ता अवोध बालबालिकाले यसरी मायालु पाराले गलीगली भनीदिंदा कुन्नि के भएर हो आँखाका डिलसम्म पुगिसक्छन् आँसु।

पहिलो पटक उनकै उमेरकी छोरी छोडेर यात्रारत लक्ष्मीको अनुहार भावपूर्ण देखिन्थ्यो। निरमायाको मुहारमा पाइरहेका थियौं हामी आफ्नै छोरीको झल्को। झोलामा खोतल्दा अलिकति छोकडा भेटिए। मैले उनलाई खान दिएँ। उनले आमातिर हेरिन। आमाको अनुहार पढिन् र मतिर फर्केर प्रश्न गरिन् –‘यो के हो ?’ मैले खाने कुरा हो खाऊ भनेपछि आमा दिदी बहिनी सबैलाई एकएक वटा बाडिन अनि मात्र आफू खाइन्। कुनै लोभ लालच र ममात्रै खाउँ भन्ने भावना थिएन उनमा। दुई तीन घन्टाको यात्रामा उनी भित्रको अन्तरनिहित क्षमता पूर्णरुपेण थाहा पाउन कहाँ सकिन्थ्यो र। मात्र उनका केही क्रियाकलापहरु नियाली रहेँ।  सोच्न थालेँ – यो विकटमा बसेर त यति टाठी छन्, सहरमा अरुजस्तो सुविधा र अवसर पाएको भए कस्ती ह्ँ दिहुन्? छुट्टिनु अघि उनले भनेकी थिइन –‘हाम्मा घर स्याउ छ। स्याउ दिउला हट हाम्मा घर जाऔं।’ 

मैले मनमा अनेक कुरा खेलाउँदै गर्दा निरमायाले बसको ढोकामा पुगेर पछाडी फर्किदै हात हल्लाइन म एकोहोरो टोलाइरहेँ। जानेबेला चकलेट खानु भनेर उनको हातमा सय पचास रुपैयाँ थमाइदिउला ठानेको थिएँ त्यो पनि बिर्से छु। उनी गइसकेपछि पछुतो लागिरह्यो मलाई। उनी तल पुगुन्जेल एकोहोरो हेरिरहेँ बसको झ्यालबाट। आखिर जिन्दगीले जिन्दगीका दिनहरुले नेटो काटिरहेझैं बिस्तारै नेटो काट्यो बस र समय दुबैले। मेरा आँखाबाट ओझेल परिन् निरमाया। तर उनको निर्दोषपन, मायालु बोली र तेजिलो दिमागबाट प्रभावित भएको मेरो मनबाट सकेकी छैनन् उनी ओझेल पर्न। बाटोमा ससाना केटाकेटी देख्दा हिजो आज पनि बेलाबखत सम्झनामा टुप्लुक्क आइपुग्छिन् उनी। कानमा गुञ्जिरहन्छन् उनले भनेका तिनै चार अक्षर ‘गलीगली’। 

प्रकाशित मिति: : 2020-03-06 03:42:06

प्रतिकृया दिनुहोस्