हेमन्त विवश
                                जिन्दगी ने सवाल बदल डाले
वक्त ने हालात बदल डाले
हम तो आज भी वही है
बस लोगो ने आपने जजबात बदल डाले
प्रश्नकै भारी बोकिरहन जन्मे जस्तो। अजिवको लाग्छ मान्छेको जिन्दगी। प्रश्नहरूको गोदाम बनिदिन्छ यही जिन्दगी। त्यही गोदामबाट फुत्तफुत्त निस्किदिन्छन् प्रश्नहरू र तेर्सिन्छन् जिन्दगीकै अगाडि। कति प्रश्न अनुत्तरित हुन्छन् कतिको काम चलाउ उत्तर दिन खोज्छ मनले। अनवरत चलिरहन्छ यो प्रक्रिया। अनेक मोडहरू आइदिन्छन् यही जिन्दगीमा। रङ फेरिरहन्छ जिन्दगी। परिवेश बद्लिन्छ ।बद्लिदै जान्छन् कैयौंका भावना। कतै जिज्ञाशाले भरिएपूर्ण प्रश्नहरू, कतै उत्साहले लपेटिएका प्रश्नहरू। प्रश्नहरूको ढाँचा नै छुट्टै। यतिबेला मनमा खेलिरहने प्रश्नहरू छुट्टै छन्। पत्रे चट्टानझैं प्रश्नै प्रश्नका पत्रहरूले सजिएको हुँदोरहेछ मान्छेको जिन्दगी पनि।
मानव सभ्यताको प्रगतिको पथ निर्माण गर्नेदेखि बिभिन्न चमत्कारिक कार्य तर्फ अग्रसर तुल्याउने काम गर्छन् प्रश्नहरू। कलह र विनाशको पथ पनि खनिदिन्छन् यिनै प्रश्नले। झन्झनाइरहन्छ संवेदनशिल मनको भित्रि पाटो। प्रश्न त उब्जिन्छन् होला ती कठोर र संवेदनाशून्य मनुष्यको मनमा पनि। तर तिनीहरूको मनमा उब्जिने प्रश्नहरू कसरी अरुलाई ठग्ने र आफ्नो स्वार्थ पुरा गर्ने भन्ने मात्रै हुन्छन्। भगवान् गौतमबुद्धको मनमा तमामा प्रश्नहरू उब्जिएकै कारण निस्किए मध्यरातमा सम्पूर्ण राजपाट छोडेर। मान्छेको बुद्धि र विवेक र परिस्थितिमा भर पर्ने त हुन् प्रश्नहरू पनि।
केही महिना अघि सुदूरपश्चिमको यात्रामा यात्रारत रहदा बाटोमा देखापरेकि थिइन् देउसरा। गाउँमा पुस्तौनी हली बनेर बसेका देउसराका बुढाबुढी अचेल ऐलानी जग्गामा सानो झुप्रो बनाएर बसिरहेका रहेछन्। मसँग भेटहुँदा निकै नै खुसी भएर सोधेकी थिइन् हालखवर। सम्झेकी थिइन् घरका सदस्य सबैलाई। वर्षौ पछि उनीसँगको भेट। एकछिन रोकिएर भलाकुसारी गरेँ। कुराकानीकै सिलसिलामा उनले आफुभित्रको जिज्ञाशा प्रकट गरिन् – ‘गोसाइँ उइल चुनावका बखत सबैले संम्मिधान आउने हो भण्याथे ऐलानी जग्गा नम्मरी हुने हो भण्याथे। त्यो आयो कि आएइन ? आब गरिबका पन दिन आए भणन्थे। गोसाई काँ पुग्यो त्यो गरिबखिलाई आयाको तन्त्र भण्णु ?’ निकैबेर मनन् गरेको थिएँ, त्यो दिन उनका अभिव्यक्ति।
मेरो मौनता देखेर फेरि भनेकी थिइन उनले –‘आब कैलाई दोष दिउँ सबै उसाइ भएपछि।’द्वन्द्वकालमा छोरो गुमाएकी देउसरा चिन्तित देखिन्थिन् भविष्यप्रति। सराप्थिन् आफ्नै भाग्यलाई। ‘काइ यो समयको दोष त नइहो गोसाई म त घर न घाटको भइगे। सबैले घात मात्तर अरे। नानु केइ पाउने बित्तिकै गएका दिन सबै बिसरी जाने रैछन् मान्स। गरिब त सदाइ मर्या मरेइ। आफूइसित रातदिन परशन मात्तर सोधिरन्छ। परशन सोद्दासोद्दाई सकिन्या भइग्यो यो साला जिन्नगी’ – दलजितेले सुनाएको थियो जिन्दगीको दुखेसो। स्वार्थी अनि निर्गुनी मान्छेका छलकपट र धुर्तताको संकेत गरिरहेका थिए ती दुबैका प्रश्नले। तर आज म आफैले आफैलाई सोधिरहेछु कैयौं प्रश्न।
खाद्यान्नकै अभाव हुँदा त मानिसले बनका तरुल भ्याकुर कन्दमूल खाएर पनि चलाएकै थिए जिन्दगीका पटरा। जबजब इमान्दारी,नैतिकता न्याय र समानताको पक्षमा खडेरी पर्छ। धनी र गरिबका बीच देखा पर्न थाल्दछन् ठुल्ठुला खाडलहरु। बन्द हुन्छन् बिकास निर्माणका कामहरु। चाहँदैन एकले अर्कोको अस्तिव स्वीकार्न। जब अन्याय र अत्याचार झागिंदै जान्छ,लुटतन्त्रको लहर चलिरहन्छ तब बाहिर निस्कन्छन् देउसराहरुका दविएका आवाज शालिन ढंगले र गर्न थाल्छन् प्रश्न। न्याय र अस्तित्वकै लागि चल्न थाल्छन् तेजपुरुषहरुका कलम पनि।
फलामले आकार पाउन मेरै घर आउनु पर्छ
दुलही सुनले सजाउन मेरै घर आउनु पर्छ
तरवार त तमी बजारमा पनि किन्न सक्छौ
तरवारमा धार लगाउन मेरै घर आउनु पर्छ
तेज पुरुषका पंक्तीले उब्जाए समाजमा विद्यमान जातिय असमानताका बिरुद्ध प्रश्न । कैयौं स्रष्टाहरूले आफ्ना रचना मार्फत उब्जाएकै छन् बिभिन्न प्रश्नहरू विगतदेखि वर्तमानसम्म । कहिले जिज्ञाषाले भरिएका प्रश्न । कहिले प्रेमको पछ्यौरी ओढेका प्रश्न, कहिले आक्रोसपूर्ण प्रश्न, थरिथरिका प्रश्नहरूको भारी बोकिरहेकै छ मान्छे जन्मदेखि मृत्युसम्म ।
आज एकान्तमा खोजिरहेछु आफैभित्र उत्तर। खेलाइरहेछु मनमा लोकले भन्ने गरेका तिनै शब्द –प्रतीक्षा, धैर्यधारण। सिद्धिप्राप्त मुक्तात्माको जस्तो मन बुझाउने शक्ति कहाँ हुन्छ र सर्वसाधारण मान्छेहरूमा। अभावै अभावको पोखरीमा पौडिनु नै त रहेछ जिन्दगी। तैपनि बोक्न सिक्नु पर्दोरहेछ झुल्किरहने आशाका किरणहरू। प्रतीक्षाका घडाहरू। हैन भने जिन्दगी सिद्धिन कति नै बेर लाग्छ र देउसरा।
अचेल मौनताभित्रै पनि उब्जिदिन्छन् प्रश्न। उसो त आशा र भरोशाका कर्पच बोकाउँदै दास तुल्याइरहने मान्छेले पनि सुनाइरहेकै त हुन्छन् प्रश्नहरू। देखाइरहेकै त हुन्छन् सपनाहरू। पाउन सक्दैन मान्छे सबै प्रशनको उत्तर। बुझाउन सक्दैन मान्छेले आफ्नै मन। ढोंग र दरिद्रताको पछ्यौरी पनि ओढीरहेकै हुन्छ मान्छे।
हामीले सधैं सुन्दरताको वर्णन गरेको, काव्यमा प्रतीकका रुपमा कैयौ सर्जकहरूले खेलाउँदै आएको त्यो चन्द्रमाले पनि हरेक रातमा गरिरहेको हुन्छ मान्छेलाई प्रश्न। आफ्नै स्वाभिमानमा रमाइरहेका ताराहरू पनि टिलपिलाउँदै तेस्र्याइ रहेकै छन् निरिह मान्छेका अगाडि प्रश्न। हामी जिन्दगीका समतल फाँटहरू खोज्दैनौ तर यो धर्तीमा समतल ठाउँको खोजि गर्छौं। नाती पनातीका दिनसम्मलाई सम्पत्ति जोड्ने दलदलमै भाषिन्छौं। अन्तमा जानु पर्ने हुन्छ जसरी आएका थियौं उसरी नै खाली हात।
शिरानीमा उद्घृत गरिएका कुनै हिन्दी कविका पंत्तीले सम्झाइरहे देउसरा र दलजितेले गरेका प्रश्न। सम्झिरहेँ वाल्यकालका पलहरू। मनन् गरिरहेँ यो देशका सम्राटहरूले देखाइरहेका गतिविधिहरू। कैयौंले बेलाबखत बोकाइरहने आश्वासनका कर्पचहरू। उनीहरूको छद्मभेषी अभिनय। मान्छेसँग सपनाको तलाउ छ। कल्पनाको तलाउछ। नोष्टाल्जियाको छ। सबैभन्दा ठूलो त भ्रमको तलाउछ।
बेलाबखत सम्झिरहन्छन् देउसरा र दलजितेहरू २०४६ सालको आन्दोलन। २०६३ सालको आन्दोलन। आन्दोलनमा बीरगति पाएका शहीदहरुलाई। जनआन्दोलनका घाइते, अनि शहीदका तस्बिरलाई। प्रश्न त गरिवकै सुन्दर र मनन्योग्य हुन्छन्। जति नै दुख कष्ट झेल्नु परे तापनि जिन्दगीको पाटो त तिनीहरूकै सुन्दर र अर्थपूर्ण बनिदिन्छ। घरबाट केही नपाएर ठगिदा समेत दलजितेले कसैलाई दोष नदिएर केवल समयप्रति गुनासो तेस्र्याएको थियो र सुनाएको थियो– ‘परिस्थितिकै दास बनिरहेको अपजसे भाग्य छ गोसाइ मसँग।’ कयौंका जिन्दगीका सुन्दर बिहानी ल्याउन आफ्ना हड्डि सुकाएकी अरूकै निमित्त जिन्दगी समर्पण गरेकी देउसरा र दलजितेले आफ्नै भाग्यलाई दोष दिए पनि छोडेका छैनन् जिन्दगीका सुन्दर अनि निर्दोष प्रश्नहरू उब्जाउन। देशमा धेरै कुरा परिवर्तन गर्छौं, सिमान्तकृतका मुद्दा अगाडि ल्याउँछौं, देशलाई स्मृद्धिशाली बनाउँछौ भनी उर्लेका आवाजहरू खै कहाँ छन् ? ठेकादारी प्रथामा चलिरहेछ राज्य। सिंहदरवारमा स्यालको रजाइ चलेकै छ। जनता हेरेका हेरेइ छन्।् र भनिरहेका छन् –‘आखिर प्रश्नहरू मनमा खेलाएर कल्पनाको दुनिया सजाउँदै सपना देख्नु नै त रहेछ गरिब अशहाय र निर्धाहरूको जिन्दगी।’ समयले मान्छेको प्रश्न गर्ने स्थितिमा केही न केही मात्रामा फरकपन ल्याएकै छ। बाँचुन्जेल जिन्दगीले फरकफरक प्रश्नहरू उब्जाइरहेकै छ। निर्माण गरिरहेकै छ। मान्छे उही नै हो तर आफ्नो भावना बद्लिरहेको छ। समय समयमा रङ फेरिरहेको छ।
त्यसैले आज देउसरासँग भेटेर भन्न मन लागिरहेको छ –‘देउसरा बाँच्न सिक्नु पर्छ यी आँखाले देख्न सकिने मान्छेका हुलहरू यतै छन्। मान्छेभित्रै कसैसँग सवेदनाका घडा छन् कसैसँग रुग्णताका घडा। हामी जस्ता अरू तमाम जिन्दगीका प्रश्नहरू पनि अनवरत रुपले उब्जिरहेकै छन्। मात्र यत्ति फरक हो कसैले व्यक्त गर्छन् कसैले गर्दैनन्। कसैले प्रश्नहरू सुन्छन् र मनन् गर्छन्। कसैले सुन्नै चाहदैनन्। कोही भने सुने पनि नसुनेझैं गरिदिन्छन्। कसैका प्रश्नहरू अरूको हितका लागि उब्जिन्छन् कसैका नितान्त स्वार्थका लागि। आखिर प्रश्न त सबैले उब्जाएकै हुन्छन्। अनि जिन्दगी भन्नु पनि आफैंमा एउटा प्रश्न नै त हो।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया