मुम्बईमा नेपालीको अवस्था र कोरोनाको त्रास

मुम्बईमा कोरोनाको त्रास

गंगाप्रसाद भट्टराई

(स्वास्थ्यकर्मी, मुम्बई)

पछिल्लो समय मुम्बईमा कोरोना भाइरस अर्थात् कोभिड–१९ को त्रास बढिरहेको छ। जताततै कोरोना भाइरसको चर्चा मात्रै सुनिन्छ। यहाँका विद्यालय, कजेल, निजी कम्पनी र व्यवसाय लगभग ठप्प जस्तै छन्। सरकारले कलकारखाना बन्द गर्न र भीडभाड नबनाउन निर्देशन दिएको छ।

केन्द्र सरकारको निर्देशनमा, महाराष्ट्र सरकारले सकभर घरमै बसेर काम गर्न अपिल गरिरहेको छ। यदि कोही–कसैले सरकारले जारी गरेको निर्णय पालना नगरे कडा कारवाही गर्ने चेतावनीसमेत दिएको छ।

लेख तयार पार्दासम्म सरकारी कार्यालय र मुम्बईको लाइफलाइन मानिने स्थानीय रेलमा कुनै असर नपर्ने सरकारले सूचना जारी गरेको अवस्था छ।

हामी आफैं पनि स्वास्थ्यकर्मी भएको नाताले दिनानुदिन प्रवासी नेपाली तथा मुम्बईबासीको स्वास्थ्य सेवामा नै रहेका छौं।

आजकाल सामान्य बिरामी पनि कोरोनाबाटै त्रसित भएको देखिन्छन्। अहिले मेडिकल पसलमा अत्यन्तै भीड देखिन्छ। मास्क र सेनेटाजर चर्को मूल्यमा बिक्री भइरहेका छन्।

मुम्बईमा नेपालीको अस्था

चीनको वुहानबाट फैलिएको कोभिड–१९ भाइरसले विश्व नै आक्रान्त बनेको अवस्थामा भारत अछुतो छैन। यहाँ पनि विस्तारै–विस्तारै कोरोना संक्रमितको संख्या बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतको सन्दर्भमा महाराष्ट्र राज्य सबैभन्दा धेरै कोरोना प्रभावित हुने राज्य हो। यस्तो समयमा पक्कै पनि मुम्बईमा बसोबास गर्ने प्रवासी नेपालीमा आफ्नो स्वास्थ्यप्रति चिन्ता स्वभाविक रूपमा देखिन्छ।

बिरानो भूमी, एक्लै बस्नुपर्ने अवस्था, परिवारसँग टाढा रहनुपर्ने बाध्यता, सामाजिक सञ्जालमा फैलिएका अफवाहरू यी कुराहरुले दुःखी र चिन्तित नबनाएको भन्न मिल्दैन। प्रदेसको ठाउँमा केही समस्या आइलाग्यो नै भने पनि हेरचाह गर्ने कोही छैनन्। कोरोनाबाट ग्रस्त भइहाल्यो भने, आफन्त र मित्रजनले साथ दिनसक्ने अवस्था हुँदैन – त्यसकारण पनि चिन्ता त हुन्छ नै।

अहिलेसम्म मुम्बईमा बसोबास गर्ने हामी नेपाली सुरक्षित छौं, तर यसमै ढुक्क हुने अवस्था भने छैन। नेपाल सरकार तथा भारतका लागि नेपाली दूतावास चुपचाप हुँदा, अलिक चिन्ता थपिएको छ।

कोरोनाबाट कसरी सुरक्षित बन्ने

प्रवासी नेपालीमा मेरो अनुरोध छ, भाइरसबाट बच्न हाइजीन बनाइराखौं। आफू बस्ने घर, कोठाका आसपासको सरसफाईमा ध्यान धेरै दिनुपर्छ। खोकी र हाच्छयूँ गर्दा रूमालको प्रयाग गरौं, अनि समय–समयमा साबुन पानीले राम्रोसँग हात धुने गरौं।

हामीले हात धोएपछि हात लगभग ३० सेकेण्डसम्म सुकाउ र सफा कपडा प्रयोग गरौं। काममा जाँदा, रेल वा बस जस्ता सवारी साधनको प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गरौं। घरमा मासु, तरकारी पकाउनु अघि राम्रोसँग सफा गरौं।

रेल स्टेसन तथा बसपार्कमा इन्फेक्टेड वा अन्जान मानिससँग सकेसम्म नबस्दा उत्तम हुन्छ। हात मिलाउने काम नगरौं, सकेसम्म हाम्रो आफ्नै संस्कृति नमस्कारमा जोड दिदाँ राम्रो। समूह बनाएर हिँड्ने काम नगरौं, यदपि महाराष्ट्र सरकारले यस्तो काममा प्रतिबन्ध समेत लगाएको छ। बेला–बेला अस्पताल पुगौं र डाक्टरले दिएका सल्लाह पालना गरौं।

कोरोनाको लक्षण कसरी थाहा पाउने

यस्ता कुराहरु जान्न निकै जरूरी छ। हामीलाई १०२ –१०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउने आयो भने निकै सचेत बनौं। सुख्खा तथा लहरे खोकी लाग्यो, सास फेर्न अप्ठेरो भयो, घाँटी दुख्न थाल्यो, काम गर्ने जाँगर चलेन थकाइ लाग्यो भने स्वास्थ्यको ख्याल गर्नुपर्छ।

नेपालीहरुमा सुझाव

मुम्बईमा कोरोना प्रभावितको संख्या थपिरहेका खबरहरू आएपछि, धेरै बिरामीलाई सन्चो पनि भइरहेको छ। त्यसैले यतिबेला हामी डराउनु हुँदैन। बरू निकै सचेत बनौं। आजभोलि निजी अस्पतालमा कोरोनाको त्रास देखाएर ठूलो रकम असुल्ने काम पनि भइरहेको हुनसक्छ, यसमा ध्यान दिन जरुरी छ।

सामान्य रूघाखोकीको समस्या हुदाँ पनि तपाईँ, हामीलाई भ्रममा पारेर, कोरोना भन्दै ठूलो रकम असुल्न सक्छन्। निजी अस्पतालमा सामान्य चेकजाच मात्रै गरौं, त्यहाँ उपचार हुँदैन। जानकारी पाए अनुसार–कुपर अस्पताल विर्लेपार्ले र ठहिल अस्पताल अधेरी मरोलमा–हालसम्म २ वटा अस्पतालमा मात्रै कोरोना भाइरस आइसुलेसन सेन्टर छ। अन्त्यमा प्रवासी नेपालीहरु सचेत बनौं, स्वस्थ बनौं।

भट्टराई – मुम्बईमा सामाजिक काम सक्रिय युवा हुन्। उनी साझा सद्भाव समूह भारतका केन्द्रीय संयोजक समेत हुन्।

प्रकाशित मिति: : 2020-03-19 08:27:57

प्रतिकृया दिनुहोस्