नेपालमा कोरोनाकाे त्रास, रोकथाम र नियन्त्रणकाे उपाय

चीनको उहान शहरबाट सुरु भएकाे कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन दुईगुणा र रात चौगुणाको दरले बढ्दै गएकाे छ। यो आलेख तयार पार्दासम्म कूल १ सय ९९ देशमा फैलिएर ७ लाख २४ हजार ४ सय ४३ जना संक्रमित भइसकेका छन् भने २४ हजार व्यक्ति संवेदनशील अवस्थामा र ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। हालसम्म उपचारपछि निको हुनेको संख्या १ लाख ५२ हजार माथि छ। 

हालको अवस्थामा निको हुनेको ८३  र मृत्यु हुनेको १७ प्रतिशत रहेको छ। सुरुवाती अवस्थामा कम रहेको मृत्युदर दुई तीनदिनको अवधिमा क्रमशः १ प्रतिशतले बढिरहेको तथ्यांकले देखाउँछ। मृतककाे कुरा गर्दा हालसम्म सबैभन्दा बढी इटालीमा १० हजार नाघिसकेकाे छ भने स्पेन दोस्रो नम्बरमा छ।

चीनमा कोरोना भाइरसको निदान हुन केही समय लागेकाले धेरै जनामा संक्रमण फैलिए पनि कोभिड–१९ को पहिचानपश्चात् उसले भाइरस नियन्त्रणकोे लागि लिएको होशियारीयुक्त रणनीति र सोको कडाईंका साथ कार्यान्वयन संभव हुँदा हाल चीनमा नयाँ संक्रमण एकदमै न्युन देखिएको छ।
 
एसियाली राष्ट्र थाइल्याण्ड, जापान, फिलिपिन्स, दक्षिण कोरिया हुँदै युरोपेली देश फ्रान्सपछि इटालीमा उक्त भाइरसकाे संक्रमण देखिएकाे थियाे। जहाँको अवस्था अहिले वर्णनयोग्य छैन । फेव्रुअरी १९ मा जम्मा २ जनामा देखिएको संक्रमण महिना दिन पुग्दानपुग्दै संक्रमण हुनेको संख्या बढेर ७० हजार पुग्योे।

युरोपकाे सबैभन्दा राम्रो स्वास्थ्य व्यवस्था भएको इटालीको सरकारले गरेको खुकुलो ‘लकडाउन’ र नागरिकको हेलचक्रयाइँ र असावधानीका कारण उच्च दरमा संक्रमण फैलिन गएको हो। हालसम्म उक्त देशमा जम्मा ९७,६८९ जनामा संक्रमण देखिएकोमा १०,७८९ को निधन हुन गई  १३,०३० जना उपचारपछि निको भएका छन् भने बाँकी उपचारकै क्रममा छन् । इटालीपश्चात् उच्च दरमा संक्रमण फैलिएकोे मुलुक बन्न पुगेको छ स्पेन । जहाँ जम्मा ६,८०३ जनाको निधन भैसकेको छ भने ४ हजार भन्दा बढी  दयनीय अवस्थामा छन्, ८० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

सबैभन्दा डरलाग्दो पक्ष के छ भने विश्वकै महाशक्ति राष्ट्र अमेरिकामा जनवरी २० मा पहिलोपल्ट कोरोना भाइरस देखिए पनि राष्ट्रपती डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत चिनियाँ भाइरसका कारण आफूलाई समस्या परे पनि काम रोक्न आवश्यक नरहेको टिप्पणी गरेका थिए। उनले बेलैमा ‘लकडाउन’तर्फ कुनै कदम नचाल्दा त्यहाँ सातादिनभित्र संक्रमण दर ह्वात्तै बढ्यो, विद्यमान अवस्था भयावह छ।

यतिखेर अमेरिका सबैभन्दा बढी कोरोना संक्रमित राष्ट्रमा पहिलो नम्बरमा छ । १ लाख बढी संक्रमित भएका छन् । अस्तिमात्रै ट्रम्पले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग राम्रो सम्वाद भएको, चीन यो अवस्थाबाट गुज्रिसकेको र यससम्बन्धमा राम्रो बुझाई रहेकोले हाल आफूहरु सँगसँगै काम गरिरहेको ट्विट गर्दै उक्त भाइरसको रोकथामको लागि सर्वपक्षीय प्रयास र ऐक्यवद्धता आवश्यक हुने तथ्यलाई स्वीकार गरेका छन्।

हालसम्म नेपालभित्र जम्मा पाँच जना कोरोना संक्रमित भेटिए पनि एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन्। दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, एक जनाको सुदुरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे छ र अस्ति मात्रै संक्रमण पुष्टि भएको वाग्लुङकी युवतीलाई काठमाडौँ ल्याउने तयारी गरिएको छ।

नेपालमा अहिलेसम्म संक्रमित पुष्टि भएकामध्ये सबै ‘इम्पोर्टेट’ देखिएकाे छन् अर्थात् विदेशबाट नेपाल आएकामा मात्र कोरोना पुष्टि भएको छ । निजहरु नेपाल आउँदा उनीहरुसँग सम्पर्कमा रहेका हवाई यात्रु, साथीभाई, आफन्तजन सबैले आफ्नो स्वास्थ्य परीक्षण गरी ढुक्क रहनुपर्नेमा उल्लेखित रुपमा सम्पर्कव्यक्ति परीक्षणको लागि नआउँदा भुसमा आगो सल्केझैँ भित्रभित्रै संक्रमण बढ्नसक्ने स्वास्थ्यविद्हरु बताउँछन् ।

अर्काेतिर भारतसँगको पश्चिमी सीमा नाका गड्डाचौकी,गाैरीफन्टा र दार्चुलाबाट भारतमा काम गर्न गएका सयौँ नेपाली मजदुर त्यहाँ ‘लकडाउन’ भएसँगै नेपाल फर्किने क्रम दिनहुँ बढ्दाे छ । ती सबैलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्न नसक्दा निजहरुमार्फत पश्चिमी भेगमा कोरोना फैलिने जोखिम विद्यमान छ ।

चैत्र ४ गते फ्रान्सबाट कतार एयरवेयज ‘क्युआर ६५२’ हुँदै नेपाल आएकी १९ वर्षीय किशोरीलाई ९ गते कोरोना संक्रमण भएको पुुष्टि भएसँगै नेपाल सरकारले चैत्र १० गते देशव्यापी लकडाउनको घोषणा गर्याे। उक्त घोषणा समयमै भएको भनी सर्वत्र प्रशंसा बटुलेको सरकारले यतिखेर स्वास्थ्यकर्मीको लागि चाहिने अत्यावश्यक सुरक्षण सामाग्रीहरु समयमा उपलब्ध नगराएको, संक्रमितको पहिचान र उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई वित्तीय प्रोत्साहन नगरेको, कोरोना परीक्षण प्रयोगशाला एक ठाउँमा मात्र सीमित गरेको, कोरोना संक्रमितको विवरण लुकाएको, दैनिक ज्याला मजदुरी गरेर पेट भर्ने विपन्न नागरिकका लागि कुनै राहत प्याकेज नल्याएकोजस्ता यावत् आलोचना खेपिरहेको छ ।

यतिमात्रै होइन, आवश्यक स्वास्थ्य उपकरण र औषधी खरिदमा अनियमितता हुन थालेको खबर समेत बाहिर आएको छ । यस सन्दर्भमा सरकार रोगको संक्रमण बढ्न नदिन राष्ट्रभित्रका नागरिक समाज र प्रबुद्ध वर्गका साथै कोभिड–१९ लाई नियन्त्रणमा लिन सफल विदेशी राष्ट्रबाट समेत पृष्ठपोषण र सुझाव लिई सोहीअनुसार आवश्यक रणनीतिको व्यवहारिक कार्यान्वयन शीघ्र गर्नुपर्ने देखिन्छ ।

प्रकृतिले हामीलाई तयारीको लागि पर्याप्त समय दिएको छ। किन्तु परन्तु भनेर समय वर्वाद गर्ने होइन, प्रत्येक प्रदेशमा परीक्षण प्रयोगशाला बनाऔँ, प्रत्येक स्थानीय तहमा ‘आइसोलेसन वार्ड’ र प्रत्येक वडामा कम्तीमा ५० शैयाको क्वारेन्टाइन स्थल बनाऔँ, स्वाब परीक्षण गर्ने चिकित्सकदेखि प्रत्येक वडाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीसम्मको लागि पीपीईको व्यवस्था गरौँ।दैनिक ज्यालामजदुरी गरेर जिविका चलाउने विपन्न असहायहरुको लागि प्रत्येक स्थानीय तहबाट नि:शुल्क खाद्यसामाग्री वितरण गरौँ।

बैंकमार्फत कर्जा लिएर उद्यम व्यवसाय गरेका सिमान्त किसानहरुको किस्ता अवधि थप गरौँ। यथाशक्य व्याज मिनाहा गरौँ। स्थानीय जनप्रतिनिधीले यस संगीन घडीमा आफ्ना क्षेत्रका नागरिकहरुलाई राहत दिऔँ। नागरिकहरुलाई अत्यावश्यक खाद्यवस्तु घरमै ढुवानी गरिदिने व्यवस्था मिलाऔँ। नागरिक समाज र सञ्चार माध्यमहरुले सचेतना र सावधानीका उपायहरुबारे जागरण फैलाऔँ। अफवाह र त्रास नफैलाऔँ, अन्ततः नागरिक स्वयमले यस संवेदनशील अवधिमा घरवाहिर ननिस्की एकान्तबास (क्वारेन्टाइन) मा बसी बाहिरी वस्तुसँगको सम्पर्क पश्चात् बारम्वार सावुनपानीले हात धोऔँ। रोग प्रतिरोध क्षमता बढाउने खाद्यवस्तुको सेवन गरौँ। आहारविहार र आचार विचारमा सावधानी अपनाऔँ। शंकास्पद विरामी देखिएको खण्डमा तुरुन्त सम्बन्धित ठाउँमा खवर गरौँ ।

यति गर्न सकिएको खण्डमा कोरोना भाइरसलाई हामी अवश्य जित्नेछौँ । यसको लागि सबै पक्षले आ–आफ्नो भुमिका इमान्दारीपूर्वक पालना गर्नैपर्छ । सामुहिक प्रयास र ऐक्यबद्धता , आपसी सहकार्य र समन्वयले नै यस महामारीको अन्त्य गर्न सकिन्छ। 

 

प्रकाशित मिति: : 2020-03-30 15:07:22

प्रतिकृया दिनुहोस्