भारतमा नेपाली कामदारको बेहाल, राजदूत आचार्य गुमनाम

राजदूताबास भन्छ– जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुस्

अनलाइनखबर

काठमाडाै‌ं

चिरञ्जीवी पौडेल

भारतमा देशव्यापी लकडाउन जारी रहँदा त्यहाँ रहेका नेपालीहरुको अवस्था नाजुक बन्दै गएको छ । ठूलो संख्यामा नेपाली कामदारले रोजगारी गुमाएका छन् भने कयौं भोकभोकै छन् ।

कोरोनाको महामारी फैलिन थालेपछि भारत सरकारले गत २४ मार्चदेखि देशव्यापी लकडाउन गर्‍यो । त्यसयता धेरै उद्योगधन्दा–कलकारखाना बन्द भए । त्यहाँ नेपालीहरुको सबैभन्दा ठूलो रोजगार क्षेत्रका रुपमा रहेको होटल–व्यवसाय ठप्पजस्तै छ । लकडाउन कहिलेसम्म जारी रहने भन्ने टुंगो नभएकाले प्रायः होटल–रेस्टुरेन्टले नेपालीहरुलाई धमाधम कामबाट निकालिरहेका छन् । ननिकालेकाहरुले पनि तनखा दिएका छैनन् ।

अखिल भारत नेपाली एकता मञ्चका युवा नेता आरबी खड्का अहिलेसम्म भारतमा २० प्रतिशतभन्दा बढी नेपाली कामदारले रोजगारी गुमाइसकेको र यो आँकडा अबका दिनमा तीव्ररुपमा बढ्ने आँकलन गर्छन् ।

‘होटल–रेस्टुरेन्टमा वेटर, कुकका रुपमा काम गर्ने तथा घर तथा कार्यालयमा चौकीदारको काम गर्ने धेरै नेपालीहरुको रोजगारी गुमेको छ र बेखर्ची बनेका छन्,’ उनले भने ।

आधिकारिक तथ्यांक नभए पनि भारतका विभिन्न स्थानमा १५ लाख नेपालीहरु रहेको अनुमान छ । उनीहरुमध्ये ३० प्रतिशत सुदुरपश्चिमका छन् । यसैगरि ५० हजार जति नेपाली विद्यार्थीहरु भारतमा अध्ययनरत छन् । भारतमा राम्रो जागिर वा व्यवसाय गरिरहेका नेपालीहरुको सानो हिस्सा पनि छ । अहिले लकडाउनले सबैभन्दा पिडित बनेका चाहिँ कामदार वर्ग नै हो । उनीहरु बेहालको अवस्थामा रहेको केही अगूवा नेपालीहरुको कुराकानीबाट बुझ्न सकिन्छ ।

कोरोनाको त्रास

भारतमा कोरोनाले ठूलो महामारीको रुप लिइसकेको त छैन, तर संक्रमण बढ्दो छ । त्यहाँ शुक्रबारसम्म १४ हजार संक्रमित भेटिएका छन् भने ४५२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कुनै नेपालीको कोरोनाबाट मृत्यु भएको छैन । केही नेपालीहरुमा संक्रमण भने देखिएको छ । दिल्लीस्थित नेपाली दूतावास स्रोतले एक दर्जन नेपालीलाई कोरोना पुष्टि भएको जानकारी दियो । केही दिनअघि मुम्बईकै गिरगाउँ चौपाटीमा बस्ने एक नेपाली परिवारका आठ सदस्यमा कोभिड–१९ पुष्टि भएको थियो ।

प्रकाशित मिति: : 2020-04-18 13:39:42

प्रतिकृया दिनुहोस्