थाइल्याण्ड आएका नेपाली कहीँ कतै बस्न, खाना अप्ठेरो परे हामीलाई सम्पर्क गर्नुहोस्

कोरोना कहर-थाइल्याण्ड डायरीः छुटिएका परिवारसँगै बस्ने अवसर मिल्यो

राज पौड्याल

थाइल्याण्ड

विश्वभर फैलिएको कोरोनाले थाइल्याण्डमा चहल–पहल निकै कम छ। यद्यपी कोरोना त्रास म्यान्मार वा नेपालभन्दा बढि नै छ। अहिलेसम्म हामी सुरक्षित छौं।

अहिले होम क्वारेन्टाइनमा बसिरहेको छु। बसाँइ राम्रो छ। क्वारेन्टाइन बसेको अवसरमा पुस्तक पढेर समय बिताइरहेको छु। बेला–बेला नेपाली र हिन्दी सिनेमा पनि हेर्ने गरेको हुन्छु।

म्यान्मारका परिवार र आफन्तसँग सामाजिक सञ्जाल मार्फत कुराकानी हुन्छ। उहाँहरू पनि सुरक्षित हुनुहुन्छ। म बाहिर कमै मात्रामा निस्किने गरेको छु। कोरोनाले गज्जबको संयोग पनि जुराइदिएको छ – धेरै वर्षदेखि छुटिएर बसेका परिवारहरू भेट्ने अवसर मिलाइदिएको छ।

आजभोलि हामी मिलेका छौं। सायदै, यस्तो समय जुरेको थिएन।

थाइल्याण्डमा बसोबास गर्ने म्यान्माली नेपालीको दुःख, सुखमा यतिबेला पनि सामाजिक काम गरिरहेका छौं। लकडाउनको समयमा उहाँहरूको दैनिकीमा असर नपरोस् भन्ने हाम्रो मनसाय हो। घर–घरमा खाद्यान्नका सामाग्री वितरण गर्ने काम जारी राखेका छौं।

थाइ नेपाली संघ युवा विभागको हातेमालोमा, थाइ नेपाली संघ दुःख निवारण विभागले सहयोग गर्ने काम गरेको छ।

संघका बिभिन्न उपशाखालेसमेत आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने क्रम जारि राखेका छन्। हामी यतिबेला एकजुट हुने समय पनि हो।

समाजका हर कोही मानिसमा पर्ने दुःखमा सबैले साथ दिन जरूरी छ। जुनसुकै देशबाट थाइल्याण्ड आएका नेपालीलाई कहीँ कतै बस्न, खाना अप्ठेरो परेको भए थाइ नेपाली संघ र ब्यक्तिगत रूपमा हामी आफैं पनि सहयोग गर्नेछौं। यदि, कोरोनाको कहरमा हुनुहुन्छ भने – हामीलाई सम्पर्क गर्नुहोस्।

र, जो जहाँ भए पनि लकडाउनको नियम पूर्ण रूपमा पालना गरौं। सबै जना सुरक्षित रहौं। दुःख पर्दा थाइ नेपाली संघ तपाईँहरुको साथमा रहनेछ।

प्रकाशित मिति: : 2020-04-20 16:45:00

प्रतिकृया दिनुहोस्