सरकार लम्पसार परेकै कारण भारतले लिपुलेकमा सडक निर्माण गर्‍याे: नेविसंघ

नेपाल विद्यार्थी संघ जिल्ला समिति, दैलेखले सरकार लम्पसार परेकै कारणले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको आरोप लगाएको छ। 

मंगलबार जिल्ला प्रशासन कार्यालय, दैलेखमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई  ज्ञापन पत्र बुझाउँदै विगत ६ महिना पहिले देखिनै कालापानी लगायतका भूभाग आफ्नो नक्सामा राखि भारतले प्रकाशित गर्दा सरकारले राष्ट्रियताको पक्षमा दृढ नलिई लम्पसार गरेको कारण आजको स्थिति सृजना भएको बताएको छ।

‘निर्वाचनको बेला राष्ट्रियताका ठूला र खोको नारा लगाउने अनि अहिले आएर आफ्नो सत्ता जोगाउन भारत सामू लम्पसार पर्ने यो सरकारको प्रवितृको घोर भर्सना गर्छौं,  ज्ञापन पत्रमा भनिएको छ,‘सरकारको यही प्रवृतीका कारण भारतले सजिलै हाम्रो भूमि अतिक्रमण गरेको हाम्रो ठहर छ।’

यस्तै नेविसंघले राष्ट्रियताको लागि सडकमा आएकालाई राज्यले निर्मम दमन गरि भारत सरकालाई रिझाउनतर्फ लागेको पनि आरोप लगाएको छ।

यस्तै ज्ञापन पत्रमा लिपुलेक हाम्रो नेपालकाे भएकाे कारण भारत तुरुन्त त्यहाँबाट फिर्ता हुनुपर्ने उल्लेख गरिएकाे छ।

‘लिपुलेक हाम्रो हो।भारत तुरुन्त त्यहाँबाट फिर्ता हुनु पर्दछ। सरकारले उच्च स्तरीय कुटनीतिक पहल गर्ने तथा सवै खाले दवाव सृजना गरी तुरुन्त भारतलाइ गल्ती सच्याउन वाध्य वनाओस्,’  ज्ञापन पत्रमा भनिएको छ।

यस्तै नेपाली भूमि हडप्ने गरी सन २०१५ मा वेजिङ्गमा भारत र चीनले गरेको सहमति पनि आपत्तिजनक रहेकोले उक्त सहमति तुरुन्त खारेज गर्न माग गरिएको छ। 

राष्ट्रियता संकटमा परेको यस घडीमा सरकारले अत्यन्त गम्भीरता एवं तदारुकताका साथ भूमिका निभाउन समेत नेविसंगले आग्रह गरेको छ।  अन्यथा, भारतीय अतिक्रमणकाविरुद्ध साथ साथै सरकारको प्रवृत्तिविरुद्ध समेत आन्दोलनको आँधीबेहरी सृजना गर्न वाध्य हुने नेविसंघले चेतावनी दिएको छ।

ज्ञापन पत्र बुझाउन नेबिसंघ न.आ. केन्द्रिय सदस्य  लोकेश प्रसाद आचार्यको सयोजनमा, मध्यपश्चिम विश्वविद्यालयका स्ववियु सहसचिव एवं दैलखका नेता हरि थापा ,सुशील देउजा ,मौसम थापा , कृश्न आचार्य,राजेश शाही लयायतका नेता कार्यकर्ता उपस्थित भएका थिए।

प्रकाशित मिति: : 2020-05-12 19:57:27

प्रतिकृया दिनुहोस्