सावधानी अपनाउन नसक्दा कोरोनासँगको युद्व हारेकी सावित्री

सावधानी अपनाउन नसक्दा कोरोनासँगको युद्व हारेकी सावित्री

१० दिनअघि टिचिङ अस्पतालमा एउटा शिशुलाई सामान्य रूपमा जन्म दिएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला सावित्री चालिसेको निधनले नेपाल सरकारले विश्वव्यापी महामारी बनेको कोभिड–१९ अर्थात कोरोना भाइरस सक्रमणका लागि गरेको तयारीको पोल खोलेको छ। यद्यपी यसमा केही पारिवारीक असावधानी पनि पक्कै देखिएकाे छ।

परिवारका कुनै सदस्य विदेशबाट फर्किएका थिएनन्। घरमा पनि सामान्य जीवनयापन गर्दै आइरहेका थिए। उनीमा काेराेना भाइरसकाे संक्रमण कसरी भयाे? याे अहिले पनि खाेजकाे विषय बनेकाे छ। 

वैशाख २५ गते महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट डिस्चार्ज हुँदा कोरोनाबाट ज्यान गुमाएकी सावित्री र उनको बच्चाको स्वास्थ्य अवस्था सामान्य भएको सर्टिफिकेट अस्पताल प्रशासनले थमाएको थियो। तर, यसको साता नबित्दै उनले काेराेनाका कारण मृत्युवरण गरिन्।

सुरुमा उनको निधनको कारण प्रस्ट पारिएको थिएन। तर पछि खबरहरू एकाएक बाहिरिएपछि सरकारले आफ्नो आधिकारीक धारणा बाहिर ल्यायो। सावित्री कोरोनाका कारण देशभित्र ज्यान गुमाउने पहिलो नेपाली हुन्। उनको निधनले सारा नेपाली स्तब्ध छन्। शनिबार राति पशुपतिको शब गृहमा ‘इलेक्ट्रिक’ शब मेसिनबाट उनको अन्त्येष्टि गरियो। कोरोना लागेका व्यक्तिको सतगद् कसरी गर्ने भन्ने ठाेस निर्देशिका हालसम्म बनेकाे छैन। त्यसैले शनिबार उनकाे मृत शरीर नेपाल आर्मीलाई बुझाउने खबर एकाएक बाहिरिए पनि त्यसो हुन सकेन।

अस्पतालबाटै उनको मृत्य शरीरलाई प्लास्टिकमा राम्रोसँग प्याक गरेर पीपीई लगाएका अस्पताल प्रशासनका कर्मचारीले पशुपतिसम्म पुर्याएका थिए। यही उनको अन्त्येष्टि गरियो। 

सावित्री काठमाडौंको टोखा नगपालिका–९ स्थित बालाजुको गोंगबु क्षेत्रमा तरकारीको व्यापार गर्थिन्। उनका श्रीमान् बिमल चालिसे पूर्वनेपाली सैनिक हुन्। उनले द्धन्द्धकाल भन्दा अगाडि जागिर छाडेका थिए। उनीहरूको परिवारमा एक आमा छिन। आमा गाउँमै बसोबास गर्दै आइरहेकी थिइन्। उनी श्रीमान् र १० वर्षीया छोरासँगै २ वर्पदेखि बालाजुमा बस्दै आइरहेकी थिइन्। १२ वर्ष अगाडि दाम्पत्य जीवनमा बाँधिएकी सावित्रीको श्रीमान होटेलमा गार्डको काम गर्थे।

प्रारम्भिक अनुसन्धानअनुसार सावित्री गर्भधारणयता लामो समयदेखि व्यापारबाट टाढा थिइन्। बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिन सुत्केरीभन्दा २/३ महिनाअघि सावित्री घरमा बस्न थालेकाे बताउँछिन्। ‘उनी नियमित चेकजाँचका लागि त्रिवि शिक्षण अस्पताल जान्थिन्। रोगको समस्या थिएन’, पाख्रिनले बताइन्। 

चिकित्सकले उनको बच्चा पाउने समय जेष्ठ २१–२२ ताेकेकाे थिए। तर एक महिना अगाडि नै सुत्केरी व्यथाले च्यापेपछि उनी वैशाख २३ गते दिउँसो अस्पताल भर्ना भएकी थिइन। यही दिन राति सामान्य डेलिभरी भएको थियो। २५ गते उनमा कुनै समस्या नदेखिएपछि दिउँसो १ डिस्चार्ज गरिएको थियो।

डिस्चार्जपछि उनीसहित केही आफन्त ट्याक्सी प्रयाेग गरेर बालाजुस्थित पुरानाे डेरा फर्किएका थिए।

‘लकडाउन’ को अवस्थामा काठमाडौंको डेरामा बच्चा हुर्काउन गाह्रो पर्ने निष्कर्षसहित बुढी आमाले शवैलाई गाउँ बोलाएकी थिइन। ‘के गर्ने मान्छे पनि कोही थिएन। छोरा मान्छेले थाङ्नादेखि सुत्केरीसम्म स्याहारसुसार गर्नुपर्ने भएको कारण उहाँलाई गाउँमा नै बोलाउनु भएको थियो। उहाँहरुले सुरुमा आउन आनकानी गर्नुभयो तर पछि आउने जानकारी दिनुभयो,’ पारिवारिक स्रोतले भन्यो।

गाउँ फर्किने निर्णय गरे पनि ‘लकडाउन’ का कारण एम्बुलेन्स नपाएपछि उनीहरु २ दिन काठमाडौंमै थन्किए। त्यो बेला सुत्केरीको स्वास्थ्यमा केही समस्या देखिन थालेकाे थियो। सावित्रीलाई ज्वरो र खोकी लाग्न थाल्याे। दुई दिनपछि ज्वरो र खोकी साम्य भए जस्ताे भयाे। 

उनीहरुले यसवीच बाह्रबिसे नगरपालिका–९ राम्चेमा रहेको ठोटनेरीस्थित चालिसे गाउँमा रहेकाे घर फर्किन अलिबढी पैसा तिरेर एम्बुलेन्स रिजर्भ गरे। तर, ‘लकडाउन’ को समय एम्बुलेन्सले उनीहरुलाई बाह्रबिसे बजारमै छोडिदियो। 

२८ गते दिउँसो बाह्रबिसे पुग्दा सिमसिम पानी परिरहेको थियो। एक त सुत्केरी, त्यसमा पनि नवजात शिशु, उनीहरु छेउकै पुलिस चौकी नजिक ओत लागेर बसे। त्यहाँबाट रिजर्भ गरेर आएको एउटा बोलेरो जीप चढेर घरतर्फ लाग्नुअघि उनीहरुको शरीर भिजेको थियो। सावित्री दुई बच्चा र श्रीमानसँगै गाडीको अघिल्लो सिटमा बसिन्। पछाडि भने ९–१० जना अन्य यात्रु थिए।

घर पुग्दासमेत आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य थियो। तर भोलि पल्टदेखि सावित्रीको स्वास्थ्य अवस्थामा समस्या देखिन थाल्यो। उनको दिसामा रगत देखियो। आफन्त राजकुमार लामिछानेका अनुसार सुरुमा उनका परिवारले त्यसलाई आउँ भनेर वेवास्था गरे। ‘आउँ भनेर घरेलु उपचार गरियो। उहाँलाई जचाँउन लगैनौ। चिसो लागेको होला भनेर मासु खुवायौं तर निको भएन,’ उनले बिएल नेपाली सेवासँग भने। 

मासुको रसमा चुर्लुम डुबाएको खाना खुवाउँदा अर्को रोग निम्तेला भन्ने हेक्का सुत्केरी परिवारलाई भएन। ३० गते उनको माइतीबाट आमा घर पुगेकी थिइन्। त्यति मात्रै होइन, बच्चाको मुख हेर्न तीन गाउँका मानिस जम्मा भइसकेका थिए। तर सुत्कोरीमा केही समस्या देखिन थालेकाे खबर फैलिएपछि गाउँलेहरु त्रसित भए। लामिछाने भन्छन्,‘एक त कोरोना संक्रमणको डर, त्यसमा पनि सुत्केरी बिरामी पर्न थालेपछि गाउँ नै चिन्तित भयोे। मैले तुरुन्तै उनलाई अस्पताल लैजान सल्लाह दिएकाे थिए।’

उनका अनुसार त्यति बेलासम्म सुत्केरीको स्वास्थ्य अवस्था ठिकै थियो। अर्थात उनको दिशामा रगत मात्रै देखिएको थियो। हलुका ज्वरो र खोकी भने कायमै थियो। ३१ गते दिउँसोदेखि उनलाई केही असहज भयो। स्वासप्रस्वासमा समस्या देखियो।

स्वास फेर्न समस्या भएपछि जेठ १ गते दिउँसो करिब २ बजेतिर उनलाई बाह्रबिसे लैजाने सल्लाह भयो। ‘हामीले एक स्थानीयलाई फाेन गरेर बोलेरो झिकायौं। तीनचार जना भएर बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍यायाैं।’

सावित्रीलाई पहिले निमोनिया भइसकेकाे थियाे। त्यसैले शवैकाे ध्यान बढी त्यतातिर गयाे। उनको छातीको एक्सरे गरियो र दुई खोप शरीरमा दिइयो। ‘केही इन्जेक्सन लगाइदिनु भयो। बिरामी टलमल भए जस्ताे लाग्याे। हामीले ठिक हुने आश गर्यौँ,’ उनले भने। परिवारले बिरामीको अवस्था बुझ्न मेडिकल अधिकृत निशान्ता शर्मालाई भेटेका थिए। 

‘उहाँले हामीलाई दुई दिनदेखि ज्वरो आएको, श्वासप्रश्वासमा समस्या भएको र खोकी लागेको बताएपछि मैले काेराेनाकाे संक्रमणकाे लक्षणसँग मिल्ने कारण र्‍यापिड टेस्ट गर्न सुझाव दिएकाे थिए,’ शर्माले भनिन्, ‘हामीले सुरुमा उहाँको छातीको एक्सरे गयौँ। औषधि दिएपछि स्वास्थ्यमा केही सुधार भएको थियो।’ यति बेला रिपाेर्ट नेगेटिभ आएकाे थियाे।

‘एन्टिबडी शरीरमा विकास हुन पनि ७ देखि १० दिन लाग्छ। उहाँ स्वास्थ्य केन्द्र आउँदा ९ दिनको सत्केरी हुनुहुन्थ्यो,’ शर्माले भनिन्, ‘त्यसैले पनि हुनसक्छ एन्टिबडी नेगेटिभ देखायो।’

शर्माले बाह्रबिसेमा मेडिकल उपकरण राम्राे नभएको कारण अन्य हस्पिटल लैजान पनि सुझाव दिएकी थिइन। एक त कोरोना भाइरस टेस्टमा नेगेटिभ आएको रिपाेर्ट र अर्कोतर्फ भर्खरै जन्मेको शिशुका कारण परिवारका अन्य सदस्य सावित्रीलाई अन्यत्र उपचारका लागि लैजानेभन्दा पनि बेलुका घर फर्किएका थिए। ९ दिनको सुत्केरी ११ दिन भएपछि बच्चाको न्वारन गरेर अन्यत्र हस्पिटल लैजाने सल्लाह भयाे।

बाह्रबिसेबाट फर्किएपछि पनि उनकाे स्वास्थ्यमा खासै सुधार देखिएन। सोही दिन त्रिवि शिक्षण अस्पतालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको समाचार बाहिरियो। समाचार सुनेपछि परिवार केही अतालिए।

सावित्री बच्चालाई जन्म दिन टिचिङ अस्पतालमा भर्ना हुँदा ६ वर्षीया एक बालिकालाई पनि कपिलवस्तुबाट ल्याइएकाे थियाे।यही बालिकामा कोरोना भाइरस संक्रमण देखिएको थियो ।

काठमाडौंबाट जिल्ला छिर्दा ११ दिन क्वारेन्टाइनमा राख्ने नगरपालिकाले नियम बनाएको थियो तर उनीहरु क्वारेन्टाइनमा नबसी सरासर घर फर्किएका थिए। त्रिविमा कोरोना संक्रमित भेटिएको खबर सुन्नासाथ राम्चेबाट वडा अध्यक्ष सानु तामाङसहितका स्थानीय प्रतिनिधि प्रहरी प्रशासन लिएर ठोटेनेरी पुग्ने तयारीमा थिए। त्यति बेला स्थानीहरुको पनि बाक्लो भीड लागिसकेकाे थियो। 

कोरोना संंक्रमणको हल्ला फैलिएपछि आफूहरु बुझ्न गएको बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेका सचिव दुर्गा भण्डारी बताउँछन्। ‘एक त म सुत्केरी महिलासँग सँगै सवारी चढेको, अर्को कोरोनाबाट अन्यलाई जोखिम हुने भएपछि बुझ्न उहाँहरुको घर पुग्दा बिहान करिब ११ बजेको थियो। उनीहरु बिरामीलाई क्वारेन्टाइनमा राख्ने कि अस्पताल लैजाने भन्ने दुबिधामा थिए। पछि अस्पताल लैजाने सल्लाह भएपछि हामी फर्कियौं,‘उनले भने।

सल्लाह गर्दा गर्दै करिब दिउँसोको दुई बजेको थियो। स्थानीय चालकलाई बिरामी बजारसम्म झार्दिन आग्रह गर्दा कोरोना भाइरसको संक्रमण हुने डरले कसैले मानेनन्। स्थानीय चालकले नमानेपछि परिवारको विकल्प थियो एम्बुलेन्स। स्थानीय जनप्रतिनिधिले लै एम्बुलेन्स बोलाइदिए।

तर एम्बुलेन्स पनि समयमा नपाएपछि करिब ७ बजे बेलुकातिर उनीहरु पुनः बाह्रबिसे फर्किएका थिए। सावित्रीलाई यति बेला पनि बाह्रबिसे स्वास्थ्य केन्द्रमा लगिएकाे थियाे। स्वासप्रश्वासमा समस्या देखिएपछि मेडिकल अधिकृत निशान्ता शर्माले पुन: मेडिकल सामग्री नभएको कारण देखाउँदै धुलिखेल लान आग्रह गरिन्। उनले पैसा नभए रेडक्रसले निःशुल्क एम्बुलेन्समा पठाउने बताइन्। तर परिवारका सदस्यले मानेनन्।  ‘आर्थिक समस्या भएको भए रेडक्रसले निःशुल्क एम्बुलेन्समा पठाउने जानकारी हामीले गराएका थियौँ तर उहाँहरुले मान्नु भएन,’ उनले भनिन्।  

केश शंकास्पद भएपछि शर्माको मनमा चिसो पसेको थियो। उनले बिरामी परिवारको नम्बर लिइन्। ‘केश जटिल थियो। मैले उहाँहरुको नम्बर लिए। करिब २ घण्टासम्म धुलिखेल अस्पताल नपुगेको कुरा आयो। मैले सोधपुछ अगाडी बढाए,’ शर्माले भनिन्–‘सोध्दै जाँदा बिरामी, उनको श्रीमान,आमा र छोरो पुनः घर फर्किएको जानकारी पाए।’

शर्माले साँझ प्रहरीलाई घर पठाएर एम्बुलेन्समा चढाएर धुलिखेल पठाउने व्यवस्था मिलाएकाे बताइन्। ‘स्वासप्रस्वासको समस्या गम्भीर भएपछि मृतकलाई एक सिलिण्डर अक्सिजन लगाएर श्रीमान विमल,सवित्री, आमा र बच्चासहित धुलिखेल रेफर गरिएको थियो,’ उनले भनिन्। 

बाटो मै उनलाई रोगले च्यापेपछि परिवार थप समस्यामा पर्‍याे। अस्पताल पुग्ने बितिकै रोग शंकास्पद भएका कारण आनाकानी गरेको राजकुमार लामिछानेले बताए। सावित्रीलाई स्वास फेर्न निकै कठिन भइरहेको थियो। ‘केही समयपछि उहाँलाई इमर्जेन्सी वार्डमा भर्ना लिनुभयो,’उनले भने,‘डाक्टरले १० प्रतिशत आश छ, ९० प्रतिशत माया मार्नुस भन्नुभयो।’

यसकाे केही समयपछि नै परिवारले उनको मुटुको धड्कन बन्द भएको खबर पाए। त्यति बेला रातीकाे ९ बजेकोे थियो। शव राति लैजान सम्भव नभएपछि भोलिपल्ट लैजाने सल्लाह भयो। तर आफन्तलाई कोरोना भाइरस परीक्षण गर्नुपर्ने डाक्टरले बताए। डाक्टरकै सल्लाह अनुसार उनको शव परीक्षण गरियो। परिवारलाई १२ घण्टामा रिपोर्ट आउने डाक्टरले बताए। सोही दिनको करिब १० बजे मृतक महिलाको स्वाब लिइयो। 

कोरोना संक्रमणको आशंकामा उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए। तर, त्यसअगाडी नै परिवारका सदस्यलाई मृत्युको कारण कोरोना नै भएको जानकारी गराइसकिएकाे थियाे। यता बिहानदेखि धुलिखेल अस्पताल सील गरियाे। 

आवश्यक सहयोग गर्नका लागि डा ताम्रकारले स्वास्थ्य मन्त्रालयसँग सल्लाह मागे। पछि मन्त्रालयबाट स्वाब काठमाडौंमा रहेको राष्ट्रिय प्रयोगशालामा दिन आग्रह गरियो। उनले पनि सल्लाह अनुसार नै प्रायोगशाला पठाउने निर्णय गरे। प्रायाेगशालामा पनि रिपोर्ट पोजिटिभ आएपछि सावित्रीकाे मृत्यु कोरोना भाइरस संक्रमणकै भएको तथ्य खुल्यो।

प्रकाशित मिति: May 17, 2020 20:00:37

प्रतिक्रिया दिनुहोस