संसदबाट प्रधानमन्त्री ओलीको भारतलाई प्रश्नः सत्यमेव जयते कि सिंहमय जयते?

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीमा नेपालको सीमाको विषयमा भारत सरकारसमक्ष सत्यको पक्षमा उभिने कि ‘हिंसा र बलियो’ को प्रतिकको रुपमा रहेको सिंहको जस्तै व्यवहार प्रदर्शन गर्ने भनेर आफूले सोध्ने बताएका छन्। 

सरकारको ‘नीति तथा कार्यक्रम’ माथि उठेको प्रश्नको मंगलबार प्रतिनिधि सभामा जवाफ दिँदै उनले भने,‘भारत भनेर चिनिने एउटा प्रतिकात्मक चिन्ह छ, सिंह। जो (राजा) अशोकाले स्थापना गरेका थिए। जुन चार मुख फर्किएर बसेको छ। त्यसको मुनि सत्यमेव जयते भनेर लेखिएको हुन्छ। त्यसको विश्वास चै म गर्छु।’ 

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा गाभेर नेपालमा भएको भूभागमार्फत लिपुलेक पुग्ने बाटोको उद्घाटन गरेपछि सरकारले कडा आपत्ति जनाउदै आएको छ। 

नेपाल सरकारले तुरुन्त वार्तामा बस्न गरेको अनुरोधलाई वेवास्था गर्दै कोरोना भाइरस संक्रमण साम्य भएपछि मात्र वार्तामा बस्ने भनेर भारतीय सरकार आलटाल गर्दै आइरहेको छ। 

भारत सरकार तत्कालै वार्तामा बस्न अनिच्छुक देखिएपछि सरकारले सोमबार कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो। प्रधानमन्त्री ओलीले संसदबाटै भारत सरकारसँग प्रश्न गरे, ‘म भारतसँग सोध्छु–सत्यमेव जयते कि सिंहमय जयते?’

उनले भारत सरकारलाई आफू तथा नेपाली जनता भारतको त्यो ‘सत्यमेव जयते’को भनाईमा विश्वास गर्ने पनि बताए। उनले कालापानीको विषयमा लिएर जसरी प्रतिक्रिया आएका छन्, त्यसले अवस्था त्यति सहज नहुनेप्रति संकेत पनि गरे। तर, सत्यको सधै जित हुने बताउँदै उनले नेपालको भूमि रक्षाका लागि सरकारले एक इन्ची पनि सम्झौता नगर्ने बताए।

प्रकाशित मिति: : 2020-05-19 13:54:08

प्रतिकृया दिनुहोस्