नवराजको अमर प्रेम कथाले दलित मुक्तिको कथा लेखियोस्

जाजरकोटाका नवराज विक र रूकुम पश्चिमकी मल्ल थरकी युवती विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूको प्रेम बारेमा लगभग गाउँ समाजसँगै छरछिमेक सबै नै जानकार थिए।

नवराजकी प्रेमिका बेला बेलामा घरमै आउने बस्ने गर्थिन्। जानकारी अनुसार एकपटक हप्ता दिनसम्म नवराजकै घरमासमेत बसेकी थिइन्।

युवतीका बुवा–आमासमेत यो विषयमा पूर्ण रूपमा जानकार थिए। उनीहरूबीचमा विवाह गर्ने योजना भएको पहिलो पटकको प्रयास होइन। यसअघि गत चैतमा पनि विवाह गर्ने योजना अनुसार नवराज प्रेमिका लिन आफ्ना दुई साथीसहित पुगेका थिए। तर, त्यो बेला परिवारले चाल पाएपछि नवराज समातिए र त्यहाँका वडाध्यक्षले प्रहरीलाई बुझाएका थिए।

प्रहरीका अनुसार नवराजलाई एक रात प्रहरी हिरासतमा समेत राखिएको थियो। यद्यपी कारण केही खुलाइएको थिएन। बिना कारण पक्राउ परेका उनलाई वडाध्यक्षले छोड्ने आदेश दिए लगत्तै भोलिपल्ट छुटेका थिए।

एकपटकको विवाह योजना असफल भएपछि युवती र  नवराजको प्रेम सम्बन्ध फोनमा सिमित भएको थिए। नवराजलाई उनकी प्रेमीकाले पटक–पटक भगाएर लैजान आग्रहसमेत गरेकी थिईन्। 

पछिल्लो घटना अनुसार-२० जनाको हुल बाँधेर किन गए त प्रेमिका लिन नवराज? यो प्रश्न निकै गम्भीर छ। उनले गलत नै गरेका थिए कि भन्ने पनि लाग्यो। तर घटनामा घाइते भएका र यो घटनालाई नजिकबाट नियालेका ब्यक्तिबाट यो कुरा प्रष्ट भएको छ। उनीहरुले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने प्रण गरेका थिए। यसको लागि केटीको परिवार बाधा बनेको थियो।

यसअघिको विवाह प्रयास असफल भएपछि दोस्रो पटक युवतीलाई नै परिवारले डर, त्रास र धम्की दिएर बोलाउन भनेको र योजनाबद्ध तरिकाले घटना भएको हुनसक्छ।

अहिले युवतीसँग कुरा गर्ने स्थिति नभए पनि उनलाई डर धम्की देखाई केटालाई बोलाउन भनिएकोमा उनले आफ्ना घरका परिवारको भित्री योजना थाहा पाएपछि प्रेमीलाई मार्ने डरले अरू साथीलाई पनि साथै लिएर आउन भनेको शंका गर्न सकिन्छ।

अर्को कुरा यो घटना केटीको घर नपुग्दै बाटोमा भएको देखिन्छ। यो घटनामा वेहुली लिन हिँडेका केटाहरु दिउँसो १२ बजे घरबाट निस्किएका थिए। घरबाट निस्किएको सूचना पनि उता प्राप्त भैसकेको थियो र लगभग साँझको ५ बजे देखि ५:३० बजेभित्रमा घटना घटाईएको थियो।

प्रहरीको प्रारम्भीक अनुसन्धाननमा पनि गाउलेले लखेटेर आक्रमण गरेपछि ज्यान बचाउन उनीहरू खोलामा छिरेको देखिन्छ। पौडी खेल्न जान्नेहरू पनि घाइते भएकाले खोलाबाट निस्कन नसकेको अनुसन्धानले देखाएको छ।

बेहुली लिन गएका मध्य १ जनालाई मात्रै राम्रोसँग पौडी खेल्न नआउने खुल्न आएको छ। तर खोलामा पसेका कोही पनि पौडी खेलेर बाहिर जान नसकोस भनेर खोला नै घेरेर आक्रमण गरिएको थियो।

निर्मला पन्त हत्या काण्ड होस् या शालिकराम पुडासैनी आत्महत्या काण्डमा न्यायको लागि दलितहरूले पनि सँगै आन्दोलन गरेकै हुन्। तर, रूकुममा मारिएको दलितमाथि मिडियाको खबरदारी पश्चात मात्र केही क्षेत्री/बाहुन जातिले आक्कल झुक्कल विज्ञप्ति निकाले। हामीले यस्तो नगरौं। हिजो अजित मिझार आज नबराज भोलिपल्ट तपाईँ हाम्रो छोरा नाति हुनसक्छन्।

रूकुम पश्चिममा घटेको घटना सन्दर्भमा सरकारले जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई किन स्पष्टिकरण नसोध्ने? यस विषयमा दलित अभियन्ताको अगुवाइमा एक उच्चस्तरीय छानबिन समिति गठित गर्नुपर्छ।

घटना प्रकृतिको जाँच केन्द्रीय ब्यूरोबाट अधिकारी नियुक्ति गरेर गर्नुपर्छ। हेक्का राखे हुन्छ- नवराज विकको जातीय हिंसाले निर्मम हत्या गरेको एउटा नौंलो दलित क्रान्तिको इतिहास लेख्छ।

स्याहीले दलित मुक्तिको इतिहास लेख्ने भनेको हो। तर रगतले लेख्न निम्त्याउन खोज्दैछन्। कोरोनाले सबैलाई अछुतो बनाएको हामी अझै किन बुझ्न सक्दैनौं? जबसम्म सत्तामा रहनेहरूले दलितप्रतिको हेराईमा परिवर्तन गर्न सक्दैनन् तबसम्म दलित मुक्ति हुनु र स्वच्छ राजनीति हुन गाह्रो छ।

नेपालको सामाजिक ढाँचा परिवर्तन गर्न र राजतन्त्र फाल्न गरेको महान जनयुद्धको उद्गमस्थल रोल्पा, रूकुममा आज जातीय हिंसामा मारिएका नवराजलगायत ६ जनाको नरसंहारले महान जनयुद्व नभई ‘जनैयुद्व’ भएको रहेछ भन्ने प्रमाणित हुन्छ।

यो जनैयुद्वका नायके प्रचण्ड/ओलीको ठूलो असफतला पनि हो। पिएडी प्राप्त अनपढ डाक्टर बाबुराम भट्टराई किन मौन छन्? यी शीर्ष नेता मिलेर जतिसुकै दलितको रगत सामाजिक, धार्मिक, राजनैतिक समानता दिलाउने भनेर जनैयुद्वमा भेरीमा भगाए र आज त्यसै भेरीमा ६ जना निर्दोष  नवयुवकलाई बाँच्नको लागि हामफाल्न बाध्य बनाए।

जनैयुद्वका शीर्ष चारै नेताहरु प्रचण्ड, भट्टराई, रामबहादुर थापा उर्फ बादल र जनार्दन शर्मा रूकुम नरसंहारका प्रमुख जिम्मेवार व्यक्ती हुन्। जून ठाउँबाट नौलो नेपालको इतिहास लेख्न खोजियो त्यही ठाउँमा यस्तो घटना हुनु भनेको जनयुद्वको असफलता प्रमाणित हो।

नेपालमा कम्युनिष्ट रहिरहन्छ। तर कमाउनिष्ट नेता सेलाउँछन्। दिवंगत नवराजको अमर प्रेम कथाले दलित एकता होस् अनि दलित क्रान्ति बलियो बनाउँदै नयाँ  इतिहास लेखियोस्।

जय प्रेम।

प्रकाशित मिति: : 2020-05-28 23:54:50

प्रतिकृया दिनुहोस्