शासक फेर्नलाई जनयुद्व, सोच फेर्न कुन युद्व?

 कहरमा अन्तरजातीय विवाह-३ 

१३ जेठ २०७७ को नयाँ पत्रिकाले पहिलो पृष्टमै भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो भन्ने शीर्षकको समाचार छाप्यो। जाजरकोटको भेरी नगरपालिका–४, राना गाउँ निवासी २१ वर्षीय नवराज विक प्रेमिकासँग बिहे गर्न १९ जना साथीसहित शनिबार बेलुका करिब ५ बजे रुकुमको चौरजहारी पुगेका थिए। स्थानीयले संगठित आक्रमण गरेपछि भाग्दाभाग्दै उनीहरू नदीमा हाम्फालेका ४ जनाको सव भेटिएको र २ जना अझै बेपत्ता छन्। यसरी संगठित रूपमा आक्रमण हुनुको कारण नवराज दलित र उनकी प्रेमिका गैरदलित हुनु हो। अर्थात दलित र गैरदलित बीचको प्रेम नै नवराज र उनका साथीहरुको हत्याको कारण बन्यो।

मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ । मुलुकी ऐन बनेको ४३ वर्षपछि कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि छुवाछूत गरिने छैन भनि पुनर्थापित संसद्ले २०६३ जेठ २१ गते नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो। कानुन बनेको ५७ वर्षसम्म दलितले प्रेम गरेकै कारणले मारिनुपर्ने? प्रत्येक व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउने हक संविद्यानको मौलिक हक अन्तर्गत धारा १६ र समानताको हक धारा १८ व्यवस्था गरिएको छ। तर, अन्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रूकुम आएका युवा र उनको लास मात्र होइन, मानवीय संवेदना पनि भेरी नदीमा बग्यो। तत् पश्चात जनताको सेवामा समर्पित भनिएका तथाकथित राजनीतिक नेतृत्वप्रतिको सदासयता पनि  भेरीमा पखालिएको छ।

रूकुम पश्चिम छुवाछुत मुक्त घोषणा भएको जिल्ला हो। रूकुम पश्चिमको परिभाषा यतिले मात्र पुरा हुँदैन। जनयुद्वको आधरभूमी पनि हो। जनयुद्धको आधारभूमी मै अन्तरजातीय विवाह गर्न खोज्दा विभत्स हत्या हुन्छ भने जनयुद्व केका लागि? गम्भीर प्रश्न खडा भएको छ। जनयुद्वका प्रथम सहिद दिल बहादुर रम्तेल पनि दलित नै थिए। जनयुद्वमा दलितको योगदान अतुलनीय छ। त्यही जनयुद्व र जनआन्दोनले ल्याएको गणतन्त्रले आज दलितलाई अन्तरजातीय विवाह गरेवापत मृत्यु उपहार दिएको छ। जनयुद्ध र जनआन्दोलनले २३८ वर्ष लामो राजतन्त्रलाई फालेर गणतन्त्र ल्याएको हो।

आज हामी गणतन्त्रको १३ औं वर्षगाँठ मनाउँदैछौं।  गणतन्त्र दिवसकै अवसरमा राज्यले ३ सयभन्दा बढी कैदीलाई कैद मिनाह गर्दैछ। तर दलित समुदायले भने अझै पनि न्यायको भिख मागिरहनुपरेको छ।

रूकुम पश्चिमको घटनाले सामाजिक सञ्जाल तातेको छ। संसदमा बहस भइरहँदा नवराज विकका गृह जिल्लाका सांसद शक्ति बस्नेत मौन छन्। चार जनाको विभत्स हत्या र २ जना बेपत्ता भइ पुरै जाजरकोट स्तब्ध हुँदासमेत पूर्वगृहमन्त्री शक्ति बस्नेतलाई कुन शक्तिले मौन बनायो? कर्णाली प्रदेशको प्रदेश सभामा सांसद दानसिंह परियारले यस घटनाको बारेमा जवाफ माग्दा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीको जवाफ आएको छैन। पीडित परिवारले न्याय मागिरहेका छन्। तर प्रदेश सरकार राहत दिने घोषणा गर्छ। नवराज विकका परिवारले राहत मागेका होइनन्। न्याय मागेका हुन्। न्याय दिए पुग्छ राहत होइन। राहत त मजदुरलाई चाहिएको छ। जसको रोजीरोटी लकडाउनले खोसेको छ। जसलाई राहत चाहिएको छ उसलाई दिने हो, पीडितलाई न्याय चाहिएको छ।

हिजो दरबारमा राजालाई ‘महाराज देशमा भोकमरी भो, जनताहरू भोकै मर्ने भए’ भनेर सुनाउँदा ‘दुध र भात खाऊ भन’ भनेर जवाफ आउँथ्यो। आज न्याय माग्दा मुख्यमन्त्रीबाट राहत दिने घोषणा हुन्छ। यसबाट पनि प्रष्ट हुन्छ शासक हिजोका हुन् या आजका, उनीहरूले जनतालाई हेर्ने नजर एउटै छ। हामीले शासन फेर्‍यौं तर सोच फेरेनौं। हिजो शासन फेर्नलाई जनुयुद्व भयो। सत्तासँग प्रश्न गर्न मन छ, शासन फेर्न जनयुद्ध भयो, शासकको सोच फेर्न कुन युद्ध गर्नुपर्ने हो? जनयुद्ध सञ्चालन गर्ने जनसेनाका सर्वोच्च कमान्डर २ पटक देशको प्रधानमन्त्री भए। जनयुद्धका डेपुटी कमान्डर जनार्दन शर्मालाई नवराज विकको हत्या भन्दा पनि लकडाउन उल्घंन बढी अपराध लागेको छ। संसदमा उनको प्रस्तुति त्यस्तै देखियो।

जनार्दन शर्माको ????‘लकडाउनको बेला गाउँमा अपरिचति युवाहरुको प्रवेशले गाउँ आतंकित भयो’ भन्ने बोलीको आडमा आज केही मान्छेहरुले लकडाउन उल्????ङघन गरेकोले घटना घटेको भनेर गलत तर्क प्रस्तुत गरिरहेका छन्। {भिडियो तल हेर्नुहोस्} मान्छेको मृत्युका अघि त्यसबेला हुने अरू सबथोक फिक्का हुन्छ। कोरोनाले साढे २ महिनामा देशभरि ५ जनाको मात्र मृत्यु भएको छ। रूकुम पश्चिमको घटनाले ४ जनाको हत्या भएको छ भने २ जना बेपत्ता पारिएका छन्। त्यसैले कोरोना भन्दा पनि खतरा त जातीय भाइरस रहेछ।

एकथरी मान्छेहरूले घटनालाई तोडमोड गर्न केही कुतर्क पेस गरिरहेका छन्। पहिलो, लकडाउनको बेला किन निहुँ खोज्दै हुल बाँधेर केटीको घरमा जानुपर्‍यो? दोस्रो, केटाहरूले आक्रमण गर्ने डरले गाउँलेले प्रतिरक्षा गरे, केटाहरू भाग्दै जाँदा भेरीमा आफैं हाम्फाले, तेस्रो, केटी १७ वर्षकी मात्र छिन् कानुनले पनि यो उमेरमा बिहे गर्न बर्जित गरेको छ, त्यसैले त्यसरी बिहे गर्न खोज्नु नै अपराध हो।

यसको जवाफ रुपन्देहीको देवदहको घटनाले दिन्छ। लकडाउनको समयमा १३ वर्षीया बालिकाको बलत्कार भयो। गाउँलेहरू जम्मा भएर बालिकालाई बलत्कारीको जिम्मा लगाए। सोहि दिन बालिकाको हत्या गरियो।

हिजो संकटकालको बेला खाना खुवाएकै आरोपमा राज्यबाट सर्वसाधारणले यातना भोग्नुपर्ने अवस्था हुँदा आफ्नो घरमा आएकालाई आफू भोको रहेर पनि पेटभरी खाना दिएर पठाएका छन्, दलितहरूले। आज जनयुद्व सुरु भएकै ठाउँमा घरमा आए भनेर लखेटी लखेटी मारिनुपर्ने? मारेर भेरीमा बगाउन सक्नेले छोपेर प्रहरीलाई किन बुझाउन सकेनन्? घर फर्किसकेका केटाहरूलाई गाउँले जम्मा भएर लखेटेकाले यो योजनाबद्ध र सुनियोजित अपराध हो । त्यति ठूलो समूह केटाहरूमाथि जाइलाग्न र हत्या गर्न कुन मनोविज्ञानले एकजुट भए होलान्? त्यो पनि सामाजिक रुपान्तरण र समानताका लागि माओवादी युद्वको दौरानमा रगत बगाएको ठाँउमा?

छोरीको बिहे गर्ने उमेर भएको छैन भनेर नवराजहरुको हत्या गरिएको होइन। हुँदै होइन। नवराज दलित हुँदैनथे भने मात्र पनि त्यस्तो बर्बर आक्रमणको सामना गर्नुपर्ने थिएन । कथित उपल्लो जातिको अंहकारको परिणाम हो यो । ‘दलित भएर हाम्री छोरी भगाउन खोज्ने?’ भन्ने दम्भबाट प्रेरित आतंक हो यो। ‘यीनलाई देखाउनुपर्छ, नत्र हामीलाई हेप्छन्’ भन्ने प्रतिशोधपूर्ण भावनाको सार हो यो । कथित ठूला जातिको ‘इगो–हर्ट’ भएको नजिता हो यो ।

अर्का थरी मान्छेहरु सामाजिक सञ्जालमा फेक आइडीबाट घटना घटाएकोमा गर्व गरिरहेका छन्। घटनाको पक्ष लिनेलाई चेतावनी दिइरहेका छन्। सामाजिक सञ्जालका भित्तामा विभिन्न आवरणमा घटनालाई वैधता दिने प्रयास भइरहेको छ । यसरी कुतर्क पेस र्गेहरुले राम्रोसँग ख्याल गरौं साइकल र मोटरसाइकल एकआपसमा ठोक्किदा गल्ती जस्को भए पनि क्षतिपूर्ति मोटरसाइकलवालाले तिर्नुपर्छ। मोटरसाइकल र बस एकआपसमा ठोकिदा गल्ती जस्को भए पनि क्षतिपूर्ति बसवालालले नै तिर्नुपर्छ। मृत्युका अगाडि सब कुरा फिका हुन्छन्। 

सरकारको विरोध गर्नेलाई साइवर क्राइमको मुद्दा लगाएर पक्रने सरकारले खुलेआम रुपमा सामाजिक सञ्जालमा घटना घटाएकोमा गर्व गर्नेलाई किन पक्रन सकेको छैन?

उत्पीडित समुदायको लागि जनयुद्व गर्ने तत्कालिन माओवादी पार्टीका कर्णाली प्रदेशका नेता आज मौन छन् । उनीहरुको मौनताले पनि प्रष्ट हुन्छ हिजो जनयुद्ध उत्पीडित वर्गको लागि गरिएको थिएन । सत्ताको लागि मात्र रहेछ। त्यतिबेला उत्पीडित वर्ग त तिनीहरुको सत्तामा पुग्ने भर्‍याङ मात्र भएका रहेछन्।

  कहरमा अन्तरजातीय विवाह   
१. जातीय विभेदः कानुन र सामाजिक चेत- सचिन तिमल्सेना
२. अन्तरजातीय प्रेमले दिएको पीडा र छोडेको सन्देश - भोला आचार्य
३. दलितको हत्या कहिलेसम्म?- मिमबहादुर परियार
प्रकाशित मिति: : 2020-05-28 15:15:36

प्रतिकृया दिनुहोस्