कम्युनिष्ट सरकार! अर्को नवराज हत्या गर्ने छुट छैन

कहरमा अन्तरजातीय विवाह-४

 कहरमा अन्तरजातीय विवाह-४  

दलित समुदायको लागि ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ बन्न नसकेको नेपाली समाजमा विभेदको हतियारले नवराज विकको ज्यानै लिएको छ। जातीय विभेदले गजडिएको नेपाली समाज विज्ञान र प्रविधिको युगमा प्रवेश गरिसक्दा पनि नश्लवादी प्रवृति र तानाशाही नरसंघार मनोविज्ञानबाट अघि बढिरहेको छ। तर जातीय विभेद मुक्त हुन सकेको छैन। घरमा बसीबसी विश्व परिवेसलाई नियाल्ने आधुनिक समाजले आफू भित्रको कुसंस्कारलाई  नियाल्न सकिरहेको छैन।

नेपाली समाजमा कथित उपल्लो जात भनेर विभेदको अपराध बोक्ने मानसिकताले आफूलाई भगवानको अवतार ठानेको छ। निच मनस्थितिका मानिसले दलितहरुलाई मानव स्वीकारेका छैनन्। नेपाली समाजले धर्मको नाममा विभेदकारी अपराधलाई पहिलो प्रथमिकता दिइरहेको छ। जसका कारण दलित समुदाय ब्राह्मणवादको नश्लीय चिन्तनबाट सामाजिक धरातलमा आफ्नो अधिकारको प्रत्याभूत गर्न पाइरहेका छैनन्। धर्मको नाममा पापलाई आत्मसात गर्ने मानव जातिले आजसम्म पनि दलित समुदायलाई सदियौंदेखि थिचोमिचो गर्दै पीडित बनाएका छन्। मानव निर्मित जातीय विभेदको प्रकोपले दलित समुदायलाई शारीरिक र मानसिक यातना दिँदै मानवमाथि विभिन्न बाहनामा विभत्स हत्या गरेको छ। सामाजिक दण्ड दिएको छ।

उत्पीडित वर्गको अपनत्व गराउने जनताको शासनको निम्ति जनयुद्व भयो। हजारौं निर्दोष गरिबका छोराछोरीलाई बली चढाइयो। दश वर्षीय जनयुद्वको उद्गम विन्दु रूकुम आज आएर दलित मार्ने र मराउने ब्राह्मणवादको ऐतिहासिक युद्वको अर्को रूप भएको छ। आखिर किन? खैत त परिवर्तन व्यवहारमा उतारिएको? कहिले महसुस गर्ने? के कानुनमा लेखेर मात्र पुग्छ? कार्यान्वयनमा बढी भन्दा बढी चलखेल किन? यसको उत्तर सिधा र स्पष्ट रूपमा लिन चाहन्छौं। अबको पुस्ता यो उत्पीडन सहेर सरकारको लाचारीपन हेरर बस्न सक्दैन।

---

राणा र राजाको शासनले ओझेलमा पारेको दलित अधिकार लोकतान्त्रिक शासनकालमा पनि उदाउन मुस्किलै छ। मिति २०७७ जेठ १० गते रूकुमको चौरजहारी –८ मा जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको अन्तरजातीय प्रेम सम्बन्धका कारण कथित उपल्लो जातका मानिसबाट उनको विभत्स हत्या गरिएको छ। यो घटनाको जति निन्दा गरे पनि कमै हुन्छ। नवराज विक र मल्ल थरकी युवतीबीच तीन वर्ष देखिको प्रेम सम्बन्धलाई समाजका अपराधीले मानव संवेदनशीलतासँगै भेरी नदिमा बगाइदिएका छन्।

एक मानवले अर्को मानवलाई निच देख्ने यो संस्कारले मानव सभ्यताको पाठ सिक्ने र सिकाउने दिन कहिले आउला? के मल्ल युवतीलाई नवराजले प्रेम गर्नु कुनै अपराध गरेका थिए र आज मृत्यु सजाय पाए? नवराजलाई एउटा व्यक्तिले होइन, ब्राह्मणवादी चिन्तन बोक्ने समाजले योजनावद्ध तरिकाले मारेको हो। यस्तो अझै कति दिन मान्छे दलित भएकै नाममा मारिनुपर्ने? यो समाजमा दलितका लागि मृत्युको सजाय कहिलेसम्म हो? कति दिन जातीय विभेदको कलंक भिराएर हत्या गर्ने? नवराज विकले उपल्लो जातकी युवतीलाई प्रेम गरेकै कारण जात नमिल्ने भनेर ज्यानै लिने यो समाजको अपराध कहिले अन्त्य हुन्छ? अन्यायका विरुद्ध लड्ने व्यक्तिकै संलग्नतामा नवराजको हत्या भएको छ। तत्कालीन माओवादी दस वर्षीय जनयुद्वको उद्गमस्थलमा जातकै आधारमा दलित मारिन्छ भने अब यो देशले समृद्धको अस्त्र फेर्न सक्छ त?

विभेदको घटनामा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी प्रावधानहरू फिक्काः

संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको विश्वव्यापी घोषणा पत्र १९४८ मा सबै मानव जाति स्वतन्त्र रूपले जन्मन्छ र मानव प्रतिष्ठा एवम् अधिकारमा समान छन् भन्ने भावनालाई समेटेको छ। प्रत्येक व्यक्ति जाति वर्ण वा उत्पीडिनको भेदभाव बिना सम्पूर्ण अधिकार तथा स्वातन्त्रताको हक हुनेछ भनेर उल्लेख छ। यस घोषणा पत्रको धारा २ ले जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचारधारा राष्ट्रिय वा सामाजिक उत्पति सन्तति जन्म वा अन्य कुनै हैसियत कुनै पनि किसिमको भेदभाव नगरिने सिद्धान्त स्वीकार गरेको छ।

घोषणा पत्रको धारा ६ मा कानुनको दृष्टिमा प्रत्येक व्यक्तिले सर्वत्र व्यक्तिको रुपमा मान्यता पाउने अधिकार हुने उल्लेख छ। पक्ष राष्ट्र भएकाले कयौं व्यवस्थाहरुले नेपाललाई मानव अधिकारका विभिन्न विषयमा उत्तरदायित्व तोकेको छ।

सबै किसिमका जातीय भेदभव उन्मूलन गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९६५ को धारा ४ ले पक्ष राज्यहरुलाई विभेदकारी कार्यलाई कसुर घोषणा गर्ने दायित्व पनि तोकेको छ। कुनै पनि व्यक्तिलाई निजको उत्पति, जातजाति, समुदाय, पेसा व्यवसाय वा शारीरिक अवस्थाको आधारमा निजी तथा सार्वजनिक स्थानमा गरीने कुनै पनि प्रकारको छुवाछुत वा भेदभाव जन्य कार्य वा जातीय भेदभाव वा छुवाछुत सम्बन्धि कसुर हो। यस्ता कार्य गम्भीर सामाजिक अपराध हुने गरी कानुनद्वारा दण्डनीय हुने संवैधानिक व्यवस्था गरिएको छ। यो संविधान जारी हुनु पूर्व २०६२/६३ को ऐतिहासिक जनआन्दोलन पछि जारि भएको नेपालको अन्तरिम संविधान २०६३ ले छुवाछुत र भेदभाव विरूद्धको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। सोही संवैधानिक व्यवस्था अनुसार जातीय भेदभाव तथा छुवाछुत, (कसुर र सजाय) ऐन २०६८ निर्माण भई सोही जेठ १० गतेबाट लागू भएको छ। नेपालको संविधानको धारा २४ र ४० मा दलितका अधिकारलाई मौलिक हक भनेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा जे जति अधिकारका कुरा लेखिएको भए पनि नेपाली समाजमामा ब्राह्मणवादका अगाडि सबै प्रावधान फिक्क छन्।

आजका दिन सम्म पनि अजित मिजारको लाशले टिचिङ हस्पिटलमा न्याय कुरिरहेको छ। अपराधी उम्किसके। यस्तै अपराधीलाई कानुनले छुन नसक्दा अपराधीले प्रोत्साहन पाएर नै नवराजको हत्या हुन पुगेको छ। राजनीतिक पावर र पहुँचले कानुन कार्यान्वयन हुनबाट बर्जित गरेको छ। राजनीतिक प्रभाव ज्यादा छ। उनीहरूले भनेबमोजिम कानुन चलेको छ। नवराजहरू दलित भएकै कारण मारिन बाध्य पारिएको छ। अपराधी कानुनी सजाय भोग्नै नपरी उम्किनु र पीडितले न्याय नपाउनु यो सबै राजनितिक चलखेलको उदाङ्गो चरित्र हो

न्यायिक अनुसन्धान भन्दा अगाडि राजनितिक अनुमानः

घट्नु अगाडि घटना हुन नदिन दायित्वबोध नगर्ने उच्च पदस्थ व्यक्ति घटनाको अनुसन्धान प्रहरीले गर्न नपाउँदै पुर्वानुमान गर्न भ्याउँछन्। घटना यसरी घटेको भन्दै ठोकुवा गर्दछन्। पीडितलाई न्याय दिने सान्त्वना त कहाँ हो कहाँ उल्टै निरुत्साहित गराएर पीडकलाई प्रोत्साहन गर्दछन्। मनगणन्त्य कुतर्क गरेर न्यायको विपक्षमा उभिन्छन्। अनि कसरी हुन्छ जातीय विभेद मुक्त समाज? कसरी हुन्छ घटनाको निष्पक्ष अनुसन्धान र पीडितले न्याय पाउँछन्?

आज फेरि पनि केहि कथित राजनितिज्ञबाट नवराज विकको घटना तोडमोड गराउने संकेत छ। नवराजसँगै गएका साथिहरुको भनाई छ, ‘रुकुम सोती गाउँका वार्ड अध्यक्ष लगायत गाउँलेहरुले लखेटी लखेटी हसिया, दाउरा, मुडाले हानेर मारे। भेरीमा फाले। त्यहाँका पूर्व गृहमन्त्री जनार्दन शर्माले १३ गते सदनमा रिपोर्टिङ गर्दै नवराज लगाएतका व्यक्ति भेरीमा हाम फालेर मरे भने। यो कस्तो रिपोर्टिङ हो? वेपत्ताहरुको अवस्था सार्वजनिक हुन बाँकी छ। मृतकको लाश पोस्टमार्टम भएकै छैन। यस्तो नालायिक कुतर्क गर्नाले पीडितले न्याय पाउने विश्वासमा शंका उब्जिएको छ। तत्कालीन माओवादीको जनयुद्ध उद्गमस्थल रुकुममा दलितलाई हत्या गर्नु दश वर्षीय जनयुद्व र हजारौं सहिदहरुको अपमान गर्नु हो।

नवराज विक र युवतीबीचको प्रेम सम्बन्धमा समाज तगारो बन्नु त्यहाँ जातिय  विभेद बाहेक अरु हुन सक्दैन। समाजले उनीहरुको प्रेम सम्बन्धलाई स्वीकार्न नसकेर आज नवराजको हत्या गर्न गराउन पुगेका छन्। यस्तो दुःखद् घटनालाई अतिरञ्जित गरेर राजनीतिक आडमा नश्ल संस्कारको संरक्षण गर्न खोज्नु यसको दोष जनयुद्वका नाइकेमा जान्छ। यसै आधारमा दलितको न्याय नेताहरुले छायाँमा पार्छन्। पहुँचमा भएकाले मान्छे मारे पनि उम्किएका छन्। अजित मिजार र लक्ष्मी परीयारको घट्नामा संलग्न अपराधिहरु खुल्याम रुपमा हिँडिरहेका छन्। देशको कानुनले अपराधीलाई नछोएको देख्दा लाग्छ आज पनि दलितको लागि कानुन पनि अछुत नै छ।

अन्ततः

नेपाल संयुक्त राष्ट्र संघको पक्ष राष्ट्र भएकै हो। यसकारण अन्तर्राष्ट्रिय कानुनी प्रावधानहरू र दस्तावेजहरूलाई समेत आत्मसात गरेर समाजमा कलंकको रुपमा रहेको जातीय विभेदलाई निमिट्यान्न पार्न लाग्नुपर्छ। त्यसका लागि राष्ट्रिय कानुनलाई कार्यान्वयन गर्न नेपाल सरकार स्वयम् उत्तरदायी भई देशको कानुनी संयन्त्रलाई चुस्त, दुरुस्त बनाउनुपर्छ। घटनालाई अतिरञ्जित गर्ने, राजनीतिक रगं दिने संस्कारको अन्त्य गरिनुपर्छ।

घटनाको निष्पक्ष छानवीन र अनुसन्धान होस्। विभेद जस्तो अमानवीय र सामाजिक कुरिती विरुद्ध घटना घट्ने र घटाउने अपराधीलाई आजिवन कैद गरी समतामुलक समाजको निर्माण गरिनु पर्दछ। मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था सहितको सुरक्षाको व्यवस्था गर्नुपर्दछ। वेपत्ताहरुलाई जति सक्दो चाँडो खोजी यथार्त विवरण दिनुपर्छ। आशा छ कम्युनिष्ट सरकारले रुकुमको घटना पश्चात अर्को नवराज मार्ने छुट यो समाजलाई दिने छैन।

  कहरमा अन्तरजातीय विवाह   
१. जातीय विभेदः कानुन र सामाजिक चेत- सचिन तिमल्सेना
२. अन्तरजातीय प्रेमले दिएको पीडा र छोडेको सन्देश - भोला आचार्य
३. दलितको हत्या कहिलेसम्म?- मिमबहादुर परियार
४. शासक फेर्नलाई जनयुद्व, सोच फेर्न कुन युद्व?- रबि नेपाली
५. नवराजको अमर प्रेम कथाले दलित मुक्तिको कथा लेखियोस्-प्रवीणसिंह विक
प्रकाशित मिति: : 2020-05-29 12:46:00

प्रतिकृया दिनुहोस्