बुफोनले गरे युभेन्टससँग थप एक वर्षको सम्झौता

इटालियन सिरी ए फुटबल क्लब युभेन्ट्सका गोलरक्षक जियानलुइजी बुफोनले थप एक वर्षको सम्झौता गरेका छन्।

इटालीको राष्ट्रिय टिमका पूर्वसदस्य रहेका बुफोनको हालको सम्झौता उनी ४३ वर्षको हुँदा समाप्त हुन्छ। एक सिजन पेरिस सेन्ट–जर्मेन (पिएसजी) मा बिताएर उनी सन् २०१९ मा पुनः युभेन्ट्स फर्किएका थिए।

युभेन्ट्सले बुफोनसँगको नयाँ सम्झौताबारे जानकारी दिँदै जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सुपर जिजीले उमेर मात्र एक अंक मात्रै हो भन्ने प्रमाणित गरेका छन्।’

बुफोनले युभेन्ट्सबाट लिगमा ५०० भन्दा बढी खेल खेलेका छन्। बुफोनले १७ वर्षको हुँदा सन् १९९५ मा सिरी ए मा डेब्यु गरेका थिए। पार्माबाट सिरी मा बुफोनको डेब्यु खेल सन् १९९५ को नोभेम्बर १९ मा मिलानसँग थियो। त्यो खेल गोल रहित बराबरीमा सकिएको थियो।

बुफोनले क्लबलाई सन् १९९९ मा युइएफए कप र कोप्पा इटालियाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले।

बुफोन सन् २००१ म २३.३ मिलियन पाउण्डमा युभेन्ट्स आएका थिए। पहिलो दुई सिजन लगातार लिगको उपाधि जिते। यस्तै सन् २००५ र २००६ मा पनि लिगको उपाधि जिते।  

सन् २०१२ मा एलेसान्ड्रो डेल पिएरो बाहिरिएपछि बुफोन युभेन्टसको कप्तान बने। त्यसपछि लगातार सात सिजन लिगको उपाधि क्लबलाई दिलाए।

तर च्याम्पियन्स लिगको उपाधि भने उनले जित्न सकेनन्। सन् २००३ को फाइनलमा एसी मिलानसँग पराजित भयो। यस्तै २०१४ मा बार्सिलोना तथा २०१७ मा रियल मड्रिडसँग हारेर युभेन्टस च्याम्पियन हुनबाट वञ्चित भयो।

बुफोनले खेल जीवनमा अहिलेसम्म १०५० खेल खेलेका छन्। यो अवधिमा ९ पटक सिरी ए को उपाधि जितेका छन्।

कोप्पा इटालियाको उपाधि पाँच तथा युइएफए कप र विश्वकपको उपाधि एक एक पटक जितेका छन्।

बुफोनलाई गोलकिपरका म्याराडोना पनि भन्ने गरिएको छ।

युभेन्ट्सका कप्तान जर्जियो चिलिनीले पनि क्लबसँग थप एक वर्षको सम्झौता गरेका छन्।

लिगका १० खेल बाँकी हुँदा दोस्रो स्थानको लाजिओ भन्दा युभेन्ट्स चार अंकले अघि रहेको छ।

प्रकाशित मिति: : 2020-06-30 06:23:18

प्रतिकृया दिनुहोस्