लकडाउनमै काठमाडौं- गोसाइकुण्ड पदमार्गको सम्भाव्यता अध्ययन

विश्वव्यापी महामारीको रूप लिइरहेको कोभिड–१९ का कारण विश्वकै अर्थतन्त्र गम्भीर संकटमा पुगेको छ। यसैबिच कोभिड-१९ कै कारण नेपाली पर्यटन क्षेत्रले सबैभन्दा बढी क्षति व्यहोर्नुपर्‍यो। विज्ञका अनुसार अबका केही वर्ष विश्वभर पर्यटकीय गतिविधि र चहलपहलमा गम्भीर संकट अनुमानहरू भइरहेका छन्। यही सन्दर्भमा नेपालको पर्यटनलाई सकारात्मक सन्देश दिन भन्दै रसुवा नुवाकोट पर्यटन समाजले काठमाडौं-  गोसाइँकुण्ड पदमार्गको सम्भाव्यता अध्ययन गरेको छ। काठमाडौंदेखि नुवाकोटका विभिन्न गाउँ वस्ती हुँदै रसुवाको गोसाईकुण्डसम्म पुग्ने नयाँ पदमार्गको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको हो।

 

कोरोना महामारीका कारण पछिल्लो ७ महीनादेखि विश्व आक्रान्त छ। भाइरस नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ। अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध छ, एक जिल्लाबाट अर्को जिल्लामा जान पूर्णतः निषेध छ। यो सँगै पर्यटन वर्ष २०२० मनाउने तरखरमा रहेको नेपालमा पछिल्लो चार महीनायता पर्यटकीय गतिविध ठप्प छ। महामारीकै कारण भ्रमण वर्षसमेत स्थगित भएको छ।

पछिल्लो केही सातायता सरकारले लकडाउन खुकुलो पारेसँगै मानिसहरूको चहलपहल बढेको छ। यही बिचमा रसुवा नुवाकोट पर्यटन समाजले असार १२ देखि १९ सम्म काठमाडौंको शिवपुरी भएर नुवाकोटहुँदै पवित्र तिर्थस्थल गोसाइकुण्डसम्मको पदयात्रा मार्गको सम्भाव्यता अध्ययन भ्रमण गरेको छ।  

यो पदमार्गले काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जहुँदै नुवाकोटका विभिन्न गाउँ वस्ती भएर रसुवाको लाङ्टाङ् राष्ट्रिय निकुञ्ज भित्र पर्ने पहाडी र हिमाली भू-भागलाई समेट्छ।

काठमाडौंको बुढानिलकण्ठबाट प्रस्थान गरेको ६ सदस्यीय टोलीले ८ दिनको भ्रमण पुरा गरी पदमार्गको अवस्था, भुगोल, मानव बसोवास र जीवनशैलीसहित विविध आकर्षणको विवरणहरू संकलन गरेर फर्किएको छ।

टोलीलाई शिवपुरी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाले सहयोग गरे।  समाजसेवी तथा स्थानीय जानकार छिरिङ शेर्पाले पथप्रर्दशकको रूपमा सहयोग पुर्‍याएका थिए।

जीत बहादुर तामाङ र फुर्वा शेर्पाले सहयोगीको भूमिका निभाए। साथै पुरूषोत्तम सिटौलाले स्थानीय भुगोलको बारेमा जानकारी गराए।

काठमाडौंबाट छुटेको टोलीलाई रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र नुवाकोटका युवा नेता रमेशकुमार महतले यात्राको सफलताको शुभकामना दिएर विदाइ गरेका थिए। यस्तै नुवाकोट समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले भंगेरीमा न्यानो आतित्थ्यता र सहयोगले अध्ययन टोलीलाई थप हौसला प्रदान गरेको थियो।

काठमाडौंबाट पदयात्रामा निस्केको टोली शिवपुरीहुँदै  सिक्रे, लिखु, नेपाने, मानेभञ्ज्याङ, समुन्द्रटार, भंगेरी, बाघमारा, राउचुली, खुकुरी धार, छ्यार्कुङ चुली, एक्ले कुण्ड, राजारानी कुण्ड, सरस्वती कुण्ड, भैरव कुण्ड,  गोसाइ कुण्ड, लौरीबिना, सिङगोम्पा, भार्खु, धुञ्चेहुँदै एक सातापछि काठमाडौं फर्किएको थियो।

पदमार्गका मुख्य आकर्षणहरु

पदयात्रामा पर्ने गाउँले परिवेश, संस्कृति र जीवनशैली अत्यन्तै लोभलाग्दा छन्। शिवपुरी राष्ट्रिय निकुञ्ज, लाङ्टाङ् राष्ट्रिय निकुञ्जमा विविध प्रकृतिक सम्पदा , वन्य जीवजन्तु, हरियाली वन जंगल, हिमाली फूल, दर्जनौं पवित्र कुण्ड पार गर्दै पदयात्रामा भरपुर रमाउन सकिन्छ।

बागमाराबाट देखिने नुवाकोटका विशाल फाट, शिवपुरी डाँडा, गुर्जे भञ्ज्याङ, हेलम्बु क्षेत्रको कुटुमसाङ लगाएतका भू-दृश्यले मनै लोभ्याउँछ।

रउचुली (३७८५ मिटर) भ्युपोईन्टबाट सूर्यास्तको मनोरम दृश्यसँगै पूर्व र पश्चिममा हिमालको लामो लर्कन देखिन्छ। 

त्यस्तै पदयात्राको सबैभन्दा अग्लो स्थान छ्यार्कुङ चुली (४५८७ मिटर) हो। नुवाकोटकै अग्लो पिकलाई झ्याकुम चुलीसमेत भनिन्छ। यो चुलीबाट पश्चिमदेखि पूर्वसम्मको माछापुछ्रे, लमजुङ, गोर्खा, मनास्लु, गणेश, सानजेन, पालडोर पिक, लाङ्ताङ्, नयाकाङ, दोरजे लाक्पा, जुगलदेखि विश्वको अग्लो सगरमाथा हिमाल (८८४८मिटर) सम्म ३६० डिग्रीको प्यानोरोमिक भ्यू देखिन्छ।

साथै टिब्बतमा पर्ने सिसापाङ्मा (८०१३ मिटर) अग्लो देखि दर्जनौं अन्य हिमाल तथा तिब्बतका बजारसमेत देखिन्छ।

दक्षिणमा काठमाडौं उपत्यकालगायत नुवाकोट र रसुवाका अधिकांश भुभाग प्रस्टसँग अवलोकन गर्न सकिन्छ।  

पदयात्राको अर्को आकर्षण भनेको ४ हजार मिटर माथि रहेको एक्ले कुण्ड, राजारानी कुण्ड, नौकुण्ड, लामो कुण्ड, कामी कमिनि कुण्ड, सरस्वती कुण्ड, भैरव कुण्ड र गोसाइकुण्ड जस्ता दर्जनौ कुण्डहरू हुन्।

पदमार्गको मर्मत र पूर्वाधार विकासको खाँचो

बुढानिलकण्ठको पानी मुहानहुँदै शिवपुरी हाइटसम्मको पैदलमार्ग राम्रो छ। ठाउँ ठाउँमा झुक्किने गोरेटो बाटो भएकोले सांकेतिक चिन्हको आवश्यकता छ। हाइटदेखि ओरालो आल्छेसम्मको पैदलमार्गमा सरसफाइ जरूरि छ,  ठाउँ ठाउँमा गएको पहिरोले पदमार्ग अवरूद्ध छ, मर्मतको खाँचो छ।

शिक्रेदेखि तल लिखु खोलासम्म केही मर्मत गर्नुपर्ने देखिन्छ। मानेभञ्ज्याङदेखि समुन्द्रटारको ढुंगे सिढीमा लेउ लागेको र झ्याङ पलाएकोले सर सफाई गर्नुपर्छ।

समुन्द्रटारदेखि ठाडो उकालो भंगेरीको पैदलमार्ग पुनर्निमाण गर्ने अवस्थामा छ। त्यस्तै बागमारादेखि माला भञ्ज्याङ, राष्ट्रिय निकुञ्ज चेकपोस्ट, मानेथाङ, सागर कुण्ड, रउचुलीसम्मको पैदलमार्ग गज्जब छ, ठाउँ ठाउँमा सांकेतिक चिन्ह राखे पुग्छ।

स्याउरे भीरबाट दुई वटा बाटो छुटिन्छ, तल्लो बाटो लामो छ, ठाडै ओरालो त्यसपछि उकालो करीव २ घण्टाको फरक पर्छ। होरहोरे भीरमा पहिरोले बाटो बिगारेको छ, मर्मत गर्नुपर्छ। माथिल्लो बाटो खुकुरी धार, जोगिमारा देउराली, छ्यार्कुङ पासहुँदै पिक जाने पैदलमार्ग पुरै निर्माण गर्नुपर्ने देखिन्छ। यो पदमार्गको सबैभन्दा आकर्षक र सुन्दर दृश्य देखिने पनि यही रूट हो। यो भीरमा चाँडो भन्दा चाँडो सरकारले बजेट व्यवस्था गरेर पैदलमार्ग निर्माण गर्नुपर्ने ५३ वर्षिय स्थानीय समाजसेवी छिरिङ शेर्पाले आग्रह गरे।

विगत २ दशकदेखि यो रुटको पदमार्ग विकास र निर्माणका लागि रात दिन खटेका तत्कालिन गाविस अध्यक्ष शेर्पाले २७ किमी पैदलमार्ग निर्माणमा आफैं लागेका थिए।

यसको साथ साथै विभिन्न ठाउँहरू जस्तै रउचुली, छेडडा, भञ्ज्याङमा धर्मशाला, विश्रामस्थल र सांकेतिक चिन्ह राख्न आवश्यक रहेको प्रारम्भिक अध्ययनले देखाउँछ।

कोभिड–१९ कै कारण यतिबेला विश्वभर पर्यटन क्षेत्र थला परेको छ। आर्थिक गितिविधि ठप्प छन्। विज्ञका अनुसार अबका केही वर्ष विश्वभर पर्यटकीय गतिविधि हुन सक्ने अवस्था छैन। यही सन्दर्भमा नेपालको पर्यटनलाई सकारात्मक सन्देश दिन भन्दै काठमाडौं- गोसाइकुण्ड पदमार्गको अध्ययन तथा अवलोकन भ्रमण राखिएको आयोजकले जानकारी दियो।

लामो समयदेखि ठप्प नेपालको पर्यटकीय गतिविधि लकडाउन खुल्ने बित्तिकै आन्तरिक पर्यटकको चापले भरिभराउ हुने निश्चित छ। यसले समग्र नेपालकै पर्यटन क्षेत्रलाई केही राहत दिने रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्षसमेत रहेका वरिष्ट पर्यटन व्यवसायी बलराम न्यौपानेले बताए।

‘पछिल्लो समय सडक सञ्जालले देशभरीका पदमार्गहरु मासिँदै र छोटिदै गइरहेका छन्। अब यस्ता किसिमका नयाँ पदमार्ग खोजी र प्रवर्धन गर्न सके पर्यटकलाई नयाँ गन्तब्यको स्वाद चखाउन र उनीहरुको बसाई लम्ब्याउन सकिने छ,' बिएल नेपाली सेवासँग कुरा गर्दै समाजका अध्यक्ष न्यौपानेले भने,‘नेपाल पर्यटन बोर्डसँग संयुक्त रुपमा आयोजित कार्यक्रमले कोरोना महामारीले थला पारेको पर्यटन क्षेत्रलाई सकारात्मक सन्देश दिनेछ।’

काठमाडौंदेखि गोसाइकुण्डको पदमार्ग करीव १८ वर्षअघि ‘एडभेन्चर थर्ड पोल’ले टानसँगको सहकार्यमा एक्स्पलोर गरेको थियो।

पदमार्गका बिभिन्न भागमा ढुंगाको सिढीसमेत निर्माण गरेको युवा नेता रमेश कुमार महतले जानकारी गराए।

पदमार्ग अध्ययनमा सहभागि समाजका सचिव तथा युवा पर्यटनकर्मी दिनेश तामाङले कोरोनाले शिथिल नेपालको पर्यटन क्षेत्र अझै जिवित रहेको भन्ने सन्देश दिन यो कार्यक्रम एउटा कोशेढुंगा सावित रहेको बताए।

‘माहामारी बिच पनि हाम्रो जोश जाँगर उत्तिकै जिवित छ, यो अध्ययन भ्रमणले नेपालको पर्यटन क्षेत्रमा नयाँ आसा र ऊर्जा जगाउने काम गर्नेछ र छिट्टै सुधारोन्मुख प्रगति निश्चय पनि हुनेछ,’ सचिव तामाङले भने।

तामाङका अनुसार साहासिक पदयात्रा रूचाउनेको लागि यो पदमार्ग उपयुक्त गन्तब्य हो। पदयात्रामा पहाडी गाउँ वस्ती, घना, वन जंगल र उजाड पहाड हुँदै प्रकृतिको आनन्द लिन सकिन्छ। यहाँ तामाङ, शेर्पा तथा ब्राह्ममण-क्षेत्री जातिको संस्कृति र जीवनशैलीकोसमेत अवलोकन गर्न पाइन्छ।

धेरै वर्षअघि एक्स्पलोर भए पनि उचित प्रचार प्रसारको अभावले यो पदमार्ग ओझेलमा परेको टोलीमा सहभागी युवा पर्यटनकर्मी गगनराज न्यौपानेले बताए। 'अब हामी यसलाई ब्यापक रुपमा प्रवर्धन गर्ने कार्यमा जुट्नेछौ,' उनले हौसिँदै थपे।

यात्रामा सहभागी पर्यटन व्यवसायी ऊर्जा तामाङ निकै रोमाञ्चित हुँदै पदमार्गले आन्तरिक र बाह्य पर्यटकको मन जित्नेमा ढुक्क रहेकाले यति राम्रो गन्तब्य छायाँमा पर्नु दुःखद भएको बताए। उनले यो गन्तब्यको प्याकेजिङ गरेर पर्यटक माझ प्रवर्धन गर्नसके पाहुनाको अभाव नहुने तर्क गरे।

भ्रमण टोलिका टिम लिडर तथा समाजका उपाध्यक्ष शिव लामिछानेले पदमार्गका केही ठाउँमा मर्मत सम्भार गर्नुका साथै सांकेतिक चिन्ह स्थापना गर्नुपर्ने औल्याए। उनले निकट भविस्यमा छिट्टै परिचयात्मक भ्रमणको आयोजनासमेत गरिने उनले बताए।

नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य तथा वरिष्ट पर्यटन व्यवसायी दीपक महतले सरकारले लकडाउन खकुलो पारेसँगै कोरोना महामारीको बिचमा गरिएको अध्ययन भ्रमण न्यूनतम समाजिक दुरी राख्दै र आवश्यक कोभिड-१९ को निर्देशिका पालना गरेर सम्पन्न भएकोदाबी गरे।

उनले स्थानिय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर पदमार्गलाई आवश्यक मर्मत सम्भार, सांकेतिक चिन्ह र प्रवर्धन गर्न हातेमालो गरिने स्पष्ट पारे।

यात्राका क्रममा शिवपुरी गाउँपालिका-३ का अध्यक्ष झमक राज गुरूङले आल्छे वरिपरिका सुन्दर झरना, ट्राउट फार्म, चिया बगान र गाउँ वरिपरिका मन्दिर, गुम्बा र पर्यटकीय ठाउँको अवलोकन गराएका थिए।

त्यसैगरी मानेभञ्ज्याङमा दुप्चेश्वर गाउँपालिका-५ का अध्यक्ष सञ्च बहादुर तामाङले २१०० मि उचाईमा अवस्थित ङार भ्यूपोईन्टको अवलोकन गराएका थिए। मानेभञ्ज्याङबाट करीब आधा घण्टाको हिँडाईमा पुगिने डाँडाबाट नुवाकोटका सुन्दर बस्तीसहित शिवपुरी डाँडा र उत्तरमा हिमालका लर्कन देखिन्छ। यो ठाउँ काठमाडौंदेखि गुर्जे भञ्ज्याङहुँदै मात्र ३२ किमी दूरीमा पर्छ।

मध्य पहाडी क्षेत्रको समुन्द्रटारमा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष  योविन्द्र सिंह तामाङ र उपाध्यक्ष अन्जु अचार्यले भेटघाटका क्रममा यहाँ रेडपाण्डाको प्रमुख स्थल रहेको जानकारी गराए।

आन्तरिक तथा वाह्य पर्यटकको लागि आकर्षणको केन्द्र हुने रेडपाण्डाको अध्ययन र संरक्षणमा पालिकाले जोड दिएको र पर्यटन विकास तथा प्रवर्धनमा स्थानीय सरकारले सकेको भूमिका खेल्ने अवगत गराए । 

नेपाल पर्यटन बोर्डको सहयोग रहेको कार्यक्रम रसुवा नुवाकोट पर्यटन समाजले आयोजना गरेको थियो।

हेर्नुहोस् यात्राका केही तस्बिरहरू

प्रकाशित मिति: : 2020-07-07 14:14:06

प्रतिकृया दिनुहोस्