 
                                            
                                        
                                     
                                माधव ढुङ्गेल
कम्युनिष्ट पार्टीको एउटा विशेषता हुन्छ– कोही पनि नेतालाई आफू सहमत रहुञ्जेल देवत्वकरण गरिन्छ। उसलाई देवता समान प्रशंशा गरिन्छ तर असहमत हुनेबित्तिकै उसैलाई ढुंगोतुल्य पनि मानिँदैन। अत्यन्त अवमूल्यन गरिन्छ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई पनि कम्युनिष्ट पार्टीले त्यसै गरे। उनी जीवित छउञ्जेल आलोचित भए तर जब उनी यो संसारमा भौतिक रुपमा रहेनन् अनि उनको लोकप्रियता बढ्यो। २०३५ साल साउन ७ गते पुष्पलालको निधन भयो। उनले अघि सारेको नीतिअनुसार, ०४६ सालमा नेपाली काँग्रेस र वाममोर्चाको संयुक्त जनआन्दोलनबाट पञ्चायती व्यवस्थाको अन्त्य भयो।
पुष्पलालले कांग्रेस र वामपन्थी मिलेर पञ्चायतविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्ने कुरालाई उनी जीवित रहुञ्जेल काँग्रेसले स्वीकार गरेन। बीपी कोइरालाको ०३९ साल साउन ६ गते निधन भयो। त्यसको करिब सात वर्षपछि नेपाली कांग्रेस पञ्चायत ढाल्न वामपन्थीसँग सहकार्य गर्न तयार भयो। जनआन्दोलनको सफलतापछि पुष्पलाल नेपाली राजनीतिमा अत्यन्त लोकप्रिय भए।
पुष्पलाल श्रेष्ठ अत्यन्त सरल, अध्ययनशील र आफ्नो दृष्टिकोणप्रति दृढ निश्चयी नेता हुन्। उनी जतिसुकै दुःख पाए पनि कहिल्यै अविचलित नेता हुन्। दुई छाक खान नपाउँदा, हुग्ली नदीको नुनिलो पानी अँजुलीले खाएर पनि उनी पुस्तकालय धाइरहे। उनले भौतिक सुख–सुविधाभन्दा निष्ठासहितको जीवन रोजे। कम्युनिष्टहरु नै उनको आलोचनामा उत्रँदा उनी पनि एक्लै भए पनि आफ्नो विचारमा दृढतापूर्वक अडिए। त्यसैबापत २०२६ सालमा ‘गद्दार पुष्पलाल’ शीर्षकको पुस्तक नै लेखियो।
उक्त पुस्तकका लेखक थिए– मोहनविक्रम सिंह। वयोवृद्ध नेता सिंह ८५ वर्षको उमेरमा पनि नेकपा (मसाल) का महामन्त्री छन्। नेकपाको पहिलो महाधिवेशनबाट २०१० सालमा कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भएका थिए– सिंह पनि। अहिले पनि नेपाली कम्युनिष्ट आन्दोलनमा सिंहको आलोचकहरुले बारम्बार उठाउने गर्छन्– त्यही ‘गद्दार पुष्पलाल’ पुस्तकको प्रसंग। पुष्पलाल कांग्रेसलाई मित्रशक्ति मान्थे तर मोहनविक्रम सिंहलगायत अरु कम्युनिष्ट घटकको विश्लेषण थियो– नेपाली कांग्रेस पनि राजाजस्तै दलाल नोकरशाही पूँजीपति वर्गको पार्टी हो। त्यसै विश्लेषणका कारण २०२६ सालमा सिंहले लेखेको पुस्तकको नाउँ नै ‘गद्दार पुष्पलाल’ राखिएको थियो, जुन नेपाली कम्युनिष्ट आन्दोलनको एउटा चर्चित विषय थियो।
भूमिगत नेकपा (मसाल) का अद्र्धभूमिगत महामन्त्री मोहनविक्रम सिंहसँग गत महिना अन्तर्वार्ताका क्रममा ‘गद्दार पुष्पलाल’ लेखेको प्रसंगमा जिज्ञासा राखेको थिएँ ‘तपाईंले नै पुष्पलाललाई ‘गद्दार पुष्पलाल’ भनेर पुस्तकै लेख्नुभो ? पछि फेरि पुष्पलाल गद्दार होइनन् भनेर आत्मालोचना गर्नुभयो ? यस्तो किन भएको ?’
सिंहको जवाफ यस्तो थियो, ‘२०२६ सालमा भद्रगोल जेलमाहामीले निर्णय गर्यौँ– नेपाली कांग्रेस भनेको राजाजस्तै दलाल नोकरशाही पूँजीपति वर्गको पार्टी हो। त्यस कारण त्यो दुष्मन शक्ति भयो भनेर। करिब–करिब सबै वामपन्थीहरुले स्वीकार गरेका छन् तर पुष्पलाल पक्षबाट आएकाहरुले स्वीकार गरेका छैनन् त्यसलाई। माओवादीहरु, माले सबैले त्यसबेलाको त्यो विश्लेषण स्वीकार गरे। त्यसपछि हामीहरुको निष्कर्ष भयो– दुष्मन शक्तिलाई मित्रशक्ति भन्ने गद्दार हुन्छ। हामीले विश्लेषण गर्यौँ। त्यसकारण हामीले गद्दार भन्यौँ।’
‘गद्दार पुष्पलाल’ भनिए पनि पुष्पलालले कांग्रेसबारे विष्लेषण फेरेनन्। बरु पाँच वर्षपछि उनलाई गद्दार घोषणा गर्ने सिंह लगायतले आफ्नो विश्लेषण फेरे। नेकपा मसालका महामन्त्री सिंहले भने, ‘यो विश्लेषण बदल्न हामीलाई चार–पाँच वर्ष लाग्यो।’
पुष्पलालले अघि सारेको धारणाअनुसार नै ०४६ सालको वामपन्थी र कांग्रेस मिलेर जनआन्दोलन भयो। त्यसै अनुसार नेकपा (मसाल) पनि ‘राष्ट्रिय जनमोर्चा’ नामको चुनावी मोर्चा बनाएर संसदीय राजनीतिमा सामेल भयो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपप्रधानमन्त्री समेत भए। अझै पनि पुष्पलालको कांग्रेसलाई हेर्ने दृष्टिकोणलाई सही मान्दैनन् सिंह।
मसालका महामन्त्री सिंहले पुष्पलालप्रतिको आफ्नो आलोचनात्मक दृष्टिकोण सुनाए, ‘पुष्पलालको कांग्रेसलाई मित्रशक्ति सम्झने कांग्रेसपरस्त सोचाइ गलत भयो तैपनि नेपालमा निरंकुश राजतन्त्रका विरुद्ध, पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्ने काममा उनको लगातार भूमिका रह्यो– बाँचुञ्जेल। त्यस्तो अवस्थामा उनलाई हामीले आदर गर्नुपर्छ। त्यस्ता उनलाई गद्दार भन्नु हुँदैन भनेर हामीले त्यो निर्णयलाई बदल्यौँ।’
पुष्पलाललाई साविक एमाले हुँदै वर्तमान नेकपाले आफ्नो नेता मान्छ। पुष्पलालको विरासत पनि दाबी गर्छ। तर, त्यसबेला आफूहरुले पुस्तकको शीर्षक मात्र राखेको तर पुस्तकभित्र त्यस्तो केही उल्लेख नभएको पनि सिंहले बताए। तर, तत्कालीन नेकपा (माले) ले आफूभन्दा धेरै सयकडौँपटक ‘गद्दार’ भनेर गाली गरेको तर त्यसलाई उनीहरुले कहिल्यै औपचारिक रुपमा नबलेको, आत्मालोचना नगरेको उनले बताए। ‘हामीले त्यो निर्णयलाई बदलिसकेका छौँ तर यो विषयलाई बारम्बार उठाइन्छन’, उनले भने, ‘जबकि त्यसबेलाको मालेले सयकडौँ पल्ट उनीहरुले ‘गद्दार’ भनेर जो गाली गरेका छन्, त्यसको कहीँ पनि कुरा उठ्दैन।’
‘गद्दार पुष्पलाल’ बारे नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले व्यक्त गरेको धारणाको पूर्ण पाठ :
हामीले त्यसबेला गद्दार भन्यौँ। एउटा पुस्तकमा हामीले शीर्षकमा ‘गद्दार पुष्पलाल’ भनेर लेखेका हौँ। त्यत्ति मात्र हो। त्योबाहेक सम्पूर्ण पुस्तकमा हेर्यो भने केही पनि छैन।
योभन्दा सयौँ गुणा बढी उनलाई गद्दार भन्ने काम त त्यस बेलाको मालेले गरेको हो नि ! त्यस बेलाका वर्गसंघर्षका अंकहरु हेर्नुस् त ! मनमोहन, पुष्पलाल, म (मोहनविक्रम) सबैलाई गद्दार भनेका हुन्। हामीले चाहिँ एउटा पुस्तकमा एक ठाउँमा ‘गद्दार पुष्पलाल’ भनेर लेख्यौँ– शीर्षक। उनीहरुले त सयकडौं ठाउँमा त्यो लेखेका छन्। धाराप्रवाह त्यसमा लेखेका छन्।
गद्दार भनेर पुष्पलाल, मनमोहन, मलाई सबैलाई उनीहरुले लेखेका छन्। त्यसको कहीँ पनि चर्चा हुँदैन। कहीँ आत्मालोचना गरेका छैनन्। हामीले उसबेला एउटा विशेष परिस्थितिमा उनलाई गद्दार भन्यौँ, त्यसको पछाडि एउटा पृष्ठभूमि छ।
त्यो पृष्ठभूमि के हो भने– हामी २०२६ सालमा जेलमा थियौँ। म, कमल कोइराला, निर्मल लामा यस्तै धेरै १५–१६ जना साथीहरु भद्रगोल जेलमा थियौँ। त्यसबेला नेताको विश्लेषण के हो भन्ने त्यहाँ छलफल चल्यो।
हामीले एउटा दस्तावेज तयार पार्यौँ– नेकपालाई राष्ट्रिय पूँजीपतिको पार्टी, मित्र शक्ति, क्रान्तिको जनताको शक्ति भनेको थियो। त्यो विश्लेषण हामीले बदलेका होइनाँै।
नेपाली कांग्रेस भनेको राजाजस्तै दलाल नोकरशाही पूँजीपति वर्गको पार्टी हो। त्यस कारण त्यो दुष्मन शक्ति भयो भनेर हामीले निर्णय गर्यौँ। वास्तवमा त्यो हाम्रो त्यसबेलाको विश्लेषण हो, जो २०२६ सालमा भद्रगोल जेलमा हामीले विश्लेषण गर्यौँ। करिब–करिब सबै वामपन्थीहरुले स्वीकार गरेका छन्।
पुष्पलाल पक्षबाट आएकाहरुले स्वीकार गरेका छैनन् त्यसलाई। जबकि, मालेका पक्षबाट आएकाले स्वीकार गरेका छन्। माओवादीहरु, माले सबैले त्यसबेलाको विश्लेषण स्वीकार गरेका छन्। त्यसपछि हामीहरुको निष्कर्ष भयो– दुष्मन शक्तिलाई मित्रशक्ति भन्ने गद्दार हुन्छ। हामीले विश्लेषण गर्यौँ। त्यस कारण हामीले गद्दार भन्यौँ।
कैयौँ वर्षपछि फेरि हामीले विश्लेषण गर्यौँ– पुष्पलालको कांग्रेसप्रतिको दृष्टिकोण गलत भयो। अन्तर्राष्ट्रिय सैद्धान्तिक विवादमा उनको मध्य–वामपन्थी दृष्टिकोण रह्यो। त्यो पनि गलत भयो। उनको कांग्रेसलाई मित्रशक्ति सम्झने कांग्रेसपरस्त सोचाइ गलत भयो तैपनि नेपालमा निरंकुश राजतन्त्रका विरुद्ध, पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्ने काममा उनको लगातार भूमिका रह्यो– बाँचुञ्जेल। त्यस्तो अवस्थामा उनलाई हामीले आदर गर्नुपर्छ। त्यस्ता उनलाई गद्दार भन्नु हुँदैन भनेर हामीले त्यो निर्णयलाई बदल्यौँ।यो विश्लेषण बदल्न हामीलाई चार–पाँच वर्ष लाग्यो।
यो विषयलाई बारम्बार उठाउँछन् जबकि हामीले त्यो निर्णयलाई बदलिसकेका छौँ तर त्यसबेलाको मालेले सयकडौँ पल्ट उनीहरुले ‘गद्दार’ भनेर जो गाली गरेका छन्, त्यसको कहीँ पनि कुरा उठ्दैन।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया