मेरो लागि पैसाभन्दा ठूलो देश हो: मण्डेकाजी श्रेष्ठ (भिडियो)

भक्तपुर,काठमाडौं र ललितपुरका नेवारहरु व्यापारमा रमाउने कुरा सबैलाई थाहा भएकै विषय हो। हाम्रो परिवार पनि त्यस्तै थियो। बुबाले ठिमीमा सानो पसल खोल्नु भएको थियो। सानैदेखि उहाँको छत्रछायाँमा परेर होला, ममा पनि व्यापारी बन्ने सोच सानैदेखि पलाएको थियो। स्थानीयस्तरमा कुरा गर्नुपर्दा व्यापारमा हामी अरुभन्दा अब्बल नै थियौं। परिवारमा लाउनखान खासै समस्या थिएन्।

तर रोचक कुरा, हाम्रो पसल पछाडि एउटा करातेको डोजो थियो। जसको नाम थियो, ठिमी कराते डोजो। त्यो अहिले पनि चारदोबाटोमा छ।

मैले त्यही डोजोको खेल मैदानमा आफ्नो बालापन बिताएको छुँ। त्यही मैदानमा गुच्चा खेल्न जाँदैगर्दा करातेप्रति रुचि जागेर आयो। तर हिम्मत नहुँदा घरमा बताउन सकिन्।

हरेक दिन डोजोबाट आउने ‘हाsss हुsss’ को आवाजले मलाई तानिरहेको हुन्थ्यो। एक दिन डोजोको ढोकाको सानो प्वाँलबाट च्याएर दाईदिदीहरुले खेलेको हेरिरहेको थिए, बुबाले देख्नु भएछ। उहाँले सोध्नुभयो,‘तिमीलाई नि कराते खेल्न मन छ?’

बुबाले यति सोध्दा मनै फुरुङ भयो। यद्धपि मेरो बोली फुटेन।

हुन त बुबा पनि खेलकूदप्रति निकै रुचि राख्नुहुँदो रहेछ। त्यसैले त मलाई खेलाउने बिचार गर्नुभयो!

परिवारप्रति बुबाको जिम्मेवारी ठूलो थियो। त्यसैले खेलकुदभन्दा उहाँले व्यापार– व्यवसायमै बढी ध्यान दिनुपर्यो।

बुबाको मनमा मैले राष्ट्रको लागि खेलोस् भन्ने सोच रहेछ। यो मैलेपछि थाहा पाए। करातेप्रति मेरो लगावदेखेर उहाँ काका र भाईलाई लिएर भोलिपल्टै डोजो पुग्नु भएछ।  मेरो लागि सबैभन्दा खुशीको दिन सायद त्यही थियो।

***

डोजोमा करिव ३०/४० को हाराहारीमा खेलाडी हुन्थे। मलाई लाग्छ, मेरो ब्याचमा म  अरुभन्दा अलि अब्बल थिएँ। मलाई फाइटभन्दा कातामा बढी लगाव थियो। हरेक ‘बेल्ट टेस्ट’ मा उत्कृष्ट हुँदै गएँ। मैले जिल्लास्तरीय प्रतियोगितामा डोजोका लागि पहिलो स्वर्ण पदक जितेर ल्याए।

मेरो पढाइ पनि राम्रो थियो। खेलमा लागेर धेरैले पढाइ बिगार्‍यो भन्ने परिवारको गुनासो मैले नसुनेको होइन। तर, मेरो हकमा अलि फरक थियो।

मैले खेलको साथै पढाइमा पनि उतिकै मिहिनेत गरे। यसैकारण परिवारबाट पनि साथ र सहयोग मिल्यो। ‘दुई डुङ्गामा खुट्टा हालेर हिन्यो भने लडिन्छ’ भन्ने लागेर म पढाइलाई भन्दा अलि बढी प्राथमिकता खेललाई नै दिन्थे।

अरु साथी जस्तो पोसाक, पन्चिङ ब्याग, जुत्ता जस्ता खेल सामाग्रीको अभाव मेरो परिवारले मलाई कहिल्यै हुन दिएन। परिवारको आर्थिकस्थिति कमजोर भएकै कारणले राम्रो खेल्ने साथीहरुले खेलक्षेत्र छाडेको मैले देखेको छु।

स्कुले जीवनमा धेरै प्रतियोगिता खेले। काठमाडौं उपत्यकामा हुने हरेक प्रतियोगितामा आफूलाई अब्बल नै सावित गरे। यसैकारण होला, कक्षा ८/९ मा पढ्दापढ्दै अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाएँ। सायद त्यो वि.सं २०५६/५७ साल थियो– मैले पहिलो पटक भारतको देहारदुनमा आयोजना भएको ‘जुनियर इन्टरनेशनल’ प्रतियोगिता खेल्दा। त्यहाँ हामीभन्दा अब्बल र निकै अनुभवि खेलाडी थिए। तर हामी दक्षिण एसियामा ‘पावर हाउस’ नै मानिन्छौं। त्यही कारण मलाई पनि हरेक खेल जित्छु भन्ने हिम्मत थियो।

हुन त मैले कहिले हार मानेको छुइन्। बुबा हरेक प्रतियोगिताअघि भन्नुहुन्थ्यो,‘तिमीलाई न खानको चिन्ता छ, न लाउन कै कमि छ। केही चिन्ता नलिनु, मात्रै खेलिरहनु।’

बुबाको यो भनाइले मलाई सधैं उर्जा दियो। बुबाको अर्ति र हरेक यात्रामा देश सम्झने कारणले देहरादुनमा ‘गोल मेडल’ जिते । त्यसपछि खेल जीवनबाट मैले कहिल्यै पछाडि फर्किएर हेर्न परेन।

मैले जर्मन, हंगेरी, स्टोनिया, फ्रान्स, अस्ट्रेलिया, अस्ट्रिया, कोरिया, भुटान, सिंङ्गापुर र हङ्कङ लगायत देशमा खेल्ने मौका पाएको छु। त्यसमा विभिन्न पदक पनि जितेको छु। देशको लागि पदक जित्दा मन प्रफुल्ल हुन्छ नै।

हुन त खेलका कारण कलेजको केही समयको पढाइ प्रभावित नभएको होइन। तर मैले पढाइभन्दा खेललाई नै महत्व दिँए। पढाइमा ‘ब्रेक’ लागेपनि मेरो खेल यात्रा अगाडि बढ्दै गयो।

करिव ६ वर्षपछि विभागिय टोली नेपाल पुलिस क्लबमा आवद्द हुने मौका पाएँ। त्यो समय थियो २०६३ साल। खेलक्षेत्रबाट नेपाल प्रहरीमा प्रवेश गर्नु निकै कठिन मानिन्छ। तर मैले यो यात्रा पनि खेल सरह सहजै पार गरे।

मलाई प्रहरी क्लबबाटै प्रवेश गर्नको लागि अफर आएको थियो। मभन्दा अग्रजहरुले पुलिस क्लबबाटै कहिल्यै नमेटिने इतिहास बनाएको कारण म पनि लोभिएको हुँ।  मलाई सबैभन्दा ठूलो कुरा देशको नाम चिनाउनु थियो।

***

मैले करिब १६ वर्ष अगाडि नै विभागिय टिमबाट साउथ एसियन च्यान्पियनशिपमा पदक भित्राएको थिएँ। यसपछि हङकङमा आयोजना भएको १३ औँ एसियन प्यासफिक गेममा पनि सफल भएँ। त्यो करिव २०६९ तिरको समय हो–मैले यतिबेला दुई वटा पदक जितेको थिए, रजत र एक कास्य।

सन् २०१० मा बंगलादेशमा आयोजना भएको ११औं साग प्रतियोगितमा पहिलो पल्ट राष्ट्रिय टोलीमा छनोट भएपनि त्यो निकै दुर्भाग्यपूर्ण रह्ये। मैले त्यसबेला २३ महिना नेपालमै ‘क्लोज क्याम्प’मा बसेर कडा तालिम गरेको थिएँ। यसपछि थाइल्याण्डको बैंकक पुगेर सागको तयारी पनि गरेका थियौं। तर अन्तिम समयमा ११ औं सागमा १० खेलाडीले मात्र भाग लिन पाउने र मेरो क्याटेगोरी हटाएको हुँदा म निरास हुँदै देश फर्किन बाध्य भए।

एसियन गेममा पनि यस्तै भयो। यतिबेला पनि खेलकुद मन्त्रीदेखि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसमेतले साग गेममा भोगेको नमिठो अनुभव नदोहरिने आश्वासन दिए। तर त्यहाँ पनि हामीलाई पठाइएन। यसपछि मलाई स्वर्णको भोग झन् बढेर आयो।

यसबीचमा धेरै गेम भयो। मिहिनेत पनि धेरै गरेँ। १२औं सागमा पुनः छनोटमा परेँ।  भारतको गुवाहाटी र सिलोङमा सन् २०१६ साग हुने निश्चित भयो। तर, अन्तिम अवस्थामा कराते खेललाई प्रतियोगितामै समावेश गरिएन।

१६ वर्षअघि काठमाडौंमा भएको आठौं सागमा पहिलोपल्ट प्रवेश पाएको कराते र तेक्वान्दो (विशेषगरी महिला) ले नेपाललाई सर्वाधिक स्वर्ण दिलाउँदै आएको थियो। यस्तो अवस्थामा करातेलाई निकाल्नु ठूलो दुर्भाग्य थियो। र, कराते खेल माथि नै घात पनि।

यसबीचमा मलाई तीन पटक शान्ति मिसनमा जाने अवसर नआएको होइन। तर मैले देशको लागि खेलबाट केही गर्छु भनेर अस्वीकार गरे। किनभने मलाई पैसाभन्दा ठूलो देश लाग्छ। मसँगै खेल्ने साथीहरु आर्थिक कारणले गर्दा वैदेशिक रोजगारका लागि बाहिर जाने गरेपनि म सवल भएको कारण यो स्थिति थिएन।

**

१३ औं संस्करणको साग नेपालमा हुने भयो। सन् १९८४ मा काठमाडौंबाट सुरु भएको साग दोस्रोपल्ट १९९९ मा आयोजना भएको थियो। तर तेस्रो पल्ट नेपालमा सागको मिति तय भएपनि दुईपटक सारियो। हाम्रो तयारी बालुवामा पानी खनाए सरह भयो। भूकम्प, राजनीति, केके कारणले गर्दा हामीले सागको आशा मारिसकेका थियौँ। भूकम्पमा हामी विभिन्न स्थानमा राहत बाड्न खट्यौँ।

त्यसको केही महिनापछि फेरि ट्रेनिङ सुरु भयो। अन्तिम समयसम्म पनि आयोजक पूर्वाधार निर्माणमा नै केन्द्रित हुँदा प्रतियोगिता नहुने होकी भन्ने डर थियो।

तीन वर्ष १० महिना नै आयोजनाको जिम्मा लिएको नेपालले भौतिक पूर्वाधार निर्माण निकै ढिलो थालेको थियो।

जसले गर्दा उद्घाटनको अघिल्लो दिनसम्म पनि रङ्गशालामा निर्माणको काम चलिरहेको थियो।

कतिपय खेलस्थलमा निर्माण कार्य जारी नै थियो। खेलाडीहरूको अभ्यासमा त्यसले असर परेको थियो। तर मैले आफ्नो खेलमा केही असर पर्न दिइन। दुई स्वर्ण हात पारे। पुरुष एकल कातामा मैले फाइनलमा पाकिस्तानी खेलाडी नियमातुल्लाहलाई पराजित गरे अनि टिम कातामा पनि स्वर्ण पदक जितेँ।

मेरो ठूलो सपना पूरा भयो। ११ र १२ औँमा खेल्न नपाएपनि १३औँमा एकैपटक दुई स्वर्ण जित्न पाउँदा धेरै खुशी लाग्यो।

यो मेरो पहिल्यैदेखिको लक्ष्य थियो। लामो समयदेखि म यसको प्रतीक्षामा थिएँ। स्वर्ण जितेपछि यसको जस मैले बाबुलाई दिएँ। किनभने बाबुको प्रेरणले नै म यहाँ पुगेको हुँ।मैले बाबुको यही अपेक्षा र परिवारको भरपुर समर्थन पाएर नै दुई मेडल जितेको हुँ।

म अहिले ३५ वर्षको भएँ करियर सकिन्छ कि भन्ने चिन्ता छैन। म खेलाडी जीवनबाट सन्यास लिए पनि व्यापार व्यवसायमा फर्किनेछु। हुन त म अहिले पनि २– ४ वटा स्कुलका बालबालिकालाई कराते सिकाउने गर्छु। ताकी भोलि मैले जस्तै उनीहरुले पनि देशको लागि स्वर्ण ल्याउन सकोस्।हामी खेलाडीको खेल पछिको यात्रा सहज हुँदैन। हामीलाई खेलुनजेल विभिन्न ग्रेट छुट्टाएर खेलकुद परिषद्ले पनि रकम दिने गर्छ। तर यो प्रयाप्त छैन? खेल क्षेत्र पनि बद्लिनु पर्छ। कुनै खेलाडीले सन्यास लिएपछि के गर्ने भनेर सोच्ने दिन नआवोस्।

खेलक्षेत्रमै जीवन देखेका घाइते खेलाडीलाई सरकारले हेरोस् भन्ने मेरो चहाना हो। भर्खरै भलिबल टिमका प्रतिमा मालीले घुँडाको समस्या भोगेकी छिन्। हामीले पनि सहयोग गर्यौ। यसअघि भलिबल कै सिपोरा गुरुङले घुँडाकै चोटको कारण खेल जीवनबाट सन्यास लिइन्। यस्तो दिन देख्न नपरोस् भन्छु।

हामीले जस्तै सरकारले पनि राष्ट्रलाई योगदान दिने खेलाडीलाई सहयोग गरोस् भनेर म भन्न चहान्छु। हामीले ज्यूज्यान लगाएर गरेको मिहिनेत हाम्रो लागि होइन देशको लागि हो,देशलाई चिनाउन हो। मेरो माग भनेको देशको लागि पदक ल्याउनेलाई सरकारले पनि रोजगारी दियोस् भन्ने हो।

त्यसपछि म भत्ताको पनि माग गर्दछु। अहिले स्वर्णपदक ल्याउनेलाई भत्ता त दिएको छ। तर कलरको हिसावले कुनै खेलाडीलाई विभेद गर्नहुनन् भने लाग्छ। सबै पदक एकै हो। मैले ल्याएको गोल्ड र अरुले ल्याएको पदकको कलर मात्रै फरक हो तर उत्तिकै योगदान छ। ठूलो कलर होइन् उपाधि हो। मिहिनेत कहिल्यै सानो हुँदैन।

तसर्थ खेल जीवन सकिएपछि विदेश पलायन हुने क्रमलाई सरकारले रोकोस् भन्न चाहान्छु।

अब म प्रशिक्षकको रुपमा देखिने छु। गेम खेलेर नै जीवन निर्वाह हुँदैन त्यही भएर व्यापार व्यवसायमै फर्किने छु। जीवन यतिकै चल्दैन् केही त गर्नैपर्छ नै।

करातेका पीडित मण्डेकाजीलाई सागमा ऐतिहासिक दोहोरो स्वर्ण भिडियो

प्रकाशित मिति: Aug 04, 2020 09:03:00

प्रतिक्रिया दिनुहोस

सबै