युएईमा नेपाली कामदारमाथि कोरोना भ्याक्सिनको परीक्षण (भिडियाेसहित)

संयुक्त अरब ईमिरेट्स (युएई)को दुबईमा विगत ६ वर्षदेखि कार्यरत एक नेपाली यमबहादुर पुरकोटीमाथि कोरोना भ्याक्सिनको परीक्षण गरिएको छ। 

युएईमा कार्यरत विदेशी कामदारमाथि भइरहेको तेस्रो चरणको परीक्षणअन्तर्गत उनी नेपाली कामदारको रूपमा सहभागी भएका हुन्।

युएई सरकारसँग मिलेर हाल चीनको चाइना नेशनल फर्मास्युटिकल ग्रुप कर्प (सिनोफार्म) ले मानवमाथि भ्याक्सिन परीक्षण गर्दैछ। अहिले विश्वभरि ३६ किसिमको भ्याक्सिन मानव जातिमाथि परीक्षण भइरहेको छ। यो अन्तिम चरणको परीक्षण हो। परीक्षण सफल भएमा कोरोना संक्रमणलाई तुरुन्त नियन्त्रणमा राख्न सफल हुनेछ।

युएईमा मानवमाथि भइरहेको भ्याक्सिन परीक्षणमा ३१ हजार स्वयम सेवक सहभागी छन्। स्थानीय खालिज टाइम्स पत्रिकाका अनुसार ६ साताको समय लगाएर यी सबै स्वयम सेवकलाई भ्याक्सिन लगाइसकिएको छ। 

यही परीक्षणमा सहभागी यमबहादुरले बिएल नेपाली सेवासँग भने,‘हामीलाई तीन महिना देश छोडेर बाहिर कत्तै नजान कागजमा हस्ताक्षर गरिएको छ।’ 

उनले भ्याक्सिन ट्रायल गर्नुअघि पहिले आफ्नो शरीरको पूर्ण परीक्षण गरेको जानकारी दिए। ‘पहिले कुनै रोग लागेको छ कि छैन। वा अन्य शारीरिक समस्याको विषयमा ल्याबमा लगेर परीक्षण गरेपछि मात्र यसमा सहभागी बनाइने रहेछ,’ उनले भने,‘ हरेक दिन यहाँका चिकित्सकले हाम्रो रिपोर्ट लिइरहेका हुन्छन्।’ 

भ्याक्सिन दिँदा आफूलाई ३० मिनेट एउटा कोठामा विशेष निगरानीमा राखेको जानकारी दिए। ‘ खोप लगाएको ३० मिनेटमा टाउको दुख्ने वा ज्वरो आउने जस्ता अन्य समस्या देखिएमा तुरुन्त उपचार गर्न राखिएको रहेछ’, उनले बिएल नेपाली सेवालाई जानकारी दिँदै भने,‘हामीलाई एउटा रिपोर्ट र ज्वरो नाप्ने गन दिइएको थियो। एक सातासम्म हामीले आफ्नो शरीरको तापक्रम नापेर डाक्टरहरूलाई जानकारी दिनुपर्यो।’ 

उनले आफूलाई एउटा छुट्टै ल्याण्डलाइन नम्बर पनि उपलब्ध गराएको बताए। ज्वरो बढेमा वा स्वास्थ्य समस्या देखिएमा तुरुन्त फोन गर्न त्यो नम्बर उपलब्ध गराइएको जानकारी उनले दिए। यसका लागि उनीहरूले छुट्टै एम्बुलेन्सको व्यवस्था पनि गरेको उनले बताए।

‘मलाई त्यस्तो कुनै समस्या भएन। मलाई डाक्टरहरूले नियमित फोन गुर्नहुन्थ्यो। म उहाँहरूले सोधेको सबै जानकारी दिन्थे,’ उनले भने। 

उनले पहिलो फेजको भ्याक्सिन लगाएको १८ दिन बितेको जानकारी दिए। ‘२२ दिनमा दोस्रो खोप लगाउनु पर्ने रहेछ। यसको तयारीमा म छु,’ उनले भने।

उनले हालसम्म आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको र सम्पूर्ण मानवजातिको अस्तित्व विनास गर्ने यो महामारीविरूद्ध बनिरहेको खोपको परीक्षणमा आफूलाई पनि सहभागी गराइएकोमा युएई सरकारलाई धन्यवाद दिए।

प्रकाशित मिति: : 2020-09-04 07:18:46

प्रतिकृया दिनुहोस्