नेकपा स्थायी कमिटीको समापान शत्रमा नेताका आसन रोचक ढंगले फेरिएको छ । ७९ दिनअघि असार १० गतेको उद्घाटन शत्रमा बैठक सुरु नहुँदै वरिष्ठ नेता माधवकुमार नेपालले आसनका बारेमा असन्तुष्टि राखेका थिए । त्यसपछि भएका विवाद ‘कुर्सी’ मै केन्द्रित थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै कुर्सी छाड्नुपर्ने, दुई मध्ये एक छाड्नुपर्ने वा दुवै नछाड्ने भन्ने विवादमा नेकपा स्थायी कमिटी बन्दी बनेको थियो ।
नेपालको आपत्तिकै कारण हो वा अरु कुनै कारण, उद्घाटनपछि बैठकै पिच्छे सीट व्यवस्थापन फरक–फरक देखिँदै आएको थियो । तर समापनशत्रमा उपाध्यक्ष वामदेव गौतमका लागि पनि अध्यक्ष र वरिष्ठ नेताकै लहरमा आसनको व्यवस्था गरिएपछि भावी नेतृत्वको ‘इम्प्रसन’ दिएझै देखिन्थ्यो ।
अब अग्रभागमा बस्ने शीर्षनेताको आसनमा पाँच जना नेता भए । उद्घाटनका बेला अध्यक्षद्वय र वरिष्ठ नेताद्वयको आसन पनि फरक रहेकोमा समापनमा पुग्दा उपाध्यक्ष गौतम पनि पहिलो लहरमा थपिएका छन् । नेपाल, भारतजस्तो आसनले अर्थ राख्ने ‘हाइरार्की’ मा विश्वास राख्ने समाजमा यसको पनि बेग्लै सन्देश हुने गर्दछ ।

समापनशत्रमा उपाध्यक्ष वामदेव गौतम पनि अध्यक्ष र वरिष्ठ नेताकै लहरमा।
नेकपा स्थायी कमिटी बैठकको उद्घाटनशत्रमा असार १० गते अगाडिपट्टि ड्यासको पहिलो लहरमा चार जनाका लागि आसन राखिएका थिए, जो दुई जना अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि थिए । त्यसभन्दा पछाडि पाँच वटा कुर्सी थिए, जसमा उपाध्यक्ष वामदेव गौतमसहित सचिवालयका बाँकी सदस्य बसेका थिए ।
अध्यक्षद्वय ओली र प्रचण्डले सम्बोधन नगर्दै असार १० गतेको उद्घाटनशत्रमै आसनको विषयमा वरिष्ठ नेता नेपालले आपत्ति जनाएका थिए । त्यसबेला अगाडिका चार आसनमा पनि अध्यक्षद्वय र वरिष्ठ नेताद्वयका लागि अलग दर्जा देखिने सीट व्यवस्था गरिएको थियो ।
चारै आसनका अगाडि उस्तै टेबल थिए तर बीचमा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्ने आसन अलि अगाडि थियो । त्यहाँ दुई वटा ‘लचकदार कौच’ (सोफा) राखिएका थिए । अध्यक्षद्वयको आसनको लहरभन्दा दायाँबायाँ अलि पछाडि राखिएका दुई टेबलसँग मिलाएर दुई वटा कुर्सी राखिएका थिए, सोफा थिएनन् । ती आसन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका लागि थिए ।
त्यसभन्दा पछाडिको लहरमा पाँच वटा कुर्सी लहरै राखिएका थिए । जसमा सचिवालय सदस्यहरु उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल बसेका थिए । स्थायी कमिटी सदस्यहरुका लागि सचिवालय सदस्यहरुपट्टि फर्किएर बस्ने कक्षाकोठामा विद्यार्थी बसेजस्तै गरी बस्न भौतिक दूरी कायम गरी टेबलसँग मिलाएर कुर्सी राखिएका थिए ।

उद्घाटनशत्रको आशनमा अध्यक्ष, वरिष्ठ नेता र सचिवालय सदस्यहरु ।
उद्घाटन नहुँदै ‘ड्यास’ मा बस्न आएका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई अध्यक्षभन्दा अलि पछाडिको लहर देखिने गरी फरक कुर्सी राखिएकोमा आपत्ति गरे । अध्यक्षको समान हुने गरी अघि आफ्नो कुर्सी सार्न लगाए । अनि बसे । अनि आपत्ति जनाए– फरक आसनको व्यवस्था गरेकोमा ।
भोलिपल्टै आसन फेरियो । अध्यक्षद्वय र वरिष्ठ नेताद्वयको लहरमा उस्तै आसन राखियो । उपाध्यक्ष वामदेव गौतम भने सचिवालयका अरु सदस्यकै हारमा बस्थे । ७९ दिनपछि एक जुट भएर अघि बढ्ने निर्णय गरिरहँदा गजबको फेरबदल भएको हो ।
अब भने उच्च पाँच जना नेताहरु बस्ने अग्र–आसनमा आमूल परिवर्तन भएको छ । दुई अध्यक्ष, दुई वरिष्ठ नेताकै हारमा उस्तै टेबल–कुर्सीसहितको सीटमा उपाध्यक्ष गौतम पनि थपिए । भदौ २५ गतेको समापन बैठकमा फेरिएको कुर्सीले नेकपाभित्रको नयाँ शक्ति–सन्तुलनलाई संकेत गरेको छ । पाँच शीर्षनेतामध्ये उमेरका आधारमा सबैभन्दा जेठा हुन् । गौतम राजनीतिमा पनि बाँकी चारभन्दा कम होइनन् । एमालेको नवौँ महाधिवेशनले राखेको उमेर हदका आधारमा त उनी ‘रिटायर्ड’ भएको चार वर्ष भइसक्थ्यो । उनी अरु नेताभन्दा कम स्वस्थ र सक्रिय छैनन् । खनालभन्दा दुई वर्ष, ओलीभन्दा चार वर्ष, नेपालभन्दा पाँच वर्ष र प्रचण्डभन्दा सात वर्ष जेठा छन् गौतम तर उनी अझै पार्टी प्रमुख र प्रधानमन्त्री दुबैबाट बञ्चित छन्।
एमाले विभाजित गरी ०५४ फागुन २१ गते नेकपा (माले) गठन गरेको फल पनि हुनसक्छ, जुन उनको जीवनको धोको बनेर देखिएको छ । यही धोकोले दुई अध्यक्षले हाँकेको नेकपाको सन्तुलन बिगारेर बेला–बेलामा कम्पन पैदा गरिदिएको छ । पछिल्लो समय सन्तुलन नै खल्बल्याइदिने गरेको छ ।
नेकपा कानुनी फूट हुनबाट मात्र बाँकी थियो, यसपटकको विवादमा । भौतिक र भावनात्मक रूपमा अलग भइसकेको थियो । यो गम्भीर अवस्थामा नेकपालाई विभाजनबाट फर्काउने एकताका सूत्राधार भएका थिए– गौतम ।
ओली र प्रचण्ड दुवैसँग समदूरीमा रहेका गौतमले साउन १३ गतेको सचिवालय बैठकमा पार्टी एकताका लागि छ बुँदे सूत्र प्रस्तुत गरेपछि विवादले फरक मोड लिएको थियो ।
ओलीलाई सकेसम्म दुवै पद, नभए पनि अध्यक्ष वा प्रधानमन्त्रीमध्य एक पदबाट हटाएरै छाड्ने अडानमा रहेका प्रचण्ड–नेपाल समीकरण सचिवालयभित्र अल्पमतमा परेको थियो । त्यसपछि दबाबमा परेका प्रचण्डले ओलीसँग सहमति जनाए । दुवै अध्यक्षले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा तीनै पक्षका दुई–दुई जना– भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पंफा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेपछि विवादले समाधानको मार्ग पहिल्याएको थियो ।
अध्यक्षद्वयले गठन गरेको कार्यदललाई त्यसैलाई आधारमा सुझाव प्रतिवेदन तयार गर्न ‘म्याण्डेट’ दिए । अनि कार्यदलले विवाद समाधानको प्रतिवेदन तयार पारेका थिए । जसलाई पारित गर्दै शुक्रबार स्थायी कमिटी बैठक सकिएको छ । विवादको निकास निकालेको छ ।
कुनै तयारीबिना अध्यक्षका तर्फबाट प्रतिवेदनसमेत नलेखी सुरु गरिएको थियो स्थायी कमिटी बैठक । यो अत्यन्त नकारात्मक ‘मुड’ मा सुरु भएको थियो । उद्घाटन मन्तव्यमा प्रधानमन्त्री ओलीले थकान र निराशा व्यक्त गरेका थिए– पार्टीभित्रको लगातारको विरोधका कारण । उनले सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए ।
प्रचण्डले आफूले प्रधानमन्त्रीको दाबी त्याग्ने भनी केन्द्रीय सचिवालयको मंसीर ४ गतेको निर्णय गरेकोमा पश्चात्ताप व्यक्त गरेका थिए भने वरिष्ठ नेता माधवकुमार नेपालले सुरुमै आसनमै आक्रोश पोखे । प्रधानमन्त्रीले बोलिरहँदा बीचैमा सरकारको सफलताका कथा सुन्दा कान टट्टाएको टिप्पणी गरेका थिए ।
प्रचण्ड–नेपाल समूहले ओलीविरुद्ध ‘समीकरण’ बनाएर प्रधानमन्त्री र अध्यक्षमध्ये कम्तिमा पनि एक पदबाट हटाइसक्ने गुटको निर्णय अनुमोदन गर्ने थलोका रुपमा स्थायी कमिटी बैठकलाई उपयोग गर्न खोजेका थिए । शायद् वामदेव गौतमको भूमिका र साविक माओवादी स्थायी कमिटीका सदस्यहरुले ओली–प्रचण्ड मिल्न दिएको दबाबका कारण यो ‘मिशन’ सफल हुन सकेनन् ।
आफ्नो कार्यकाल दुई वर्ष पुगेलगत्तै चैतदेखि नै लगातार ‘घेराबन्दी’ मा पर्दै आएका थिए– प्रधानमन्त्री ओली । त्यसैले उनले बैठक चाहेका थिएनन् । उनलाई पूर्व जानकारी थियो– यो बैठक योजनाबद्ध रुपमा आफूविरुद्ध आयोजना गरिँदैछ । वैशाखमा दलत्याग र संवैधानिक अंगका पदाधिकारी नियुक्तिलाई सजिलो पार्ने अध्यादेश जारी गरेपछि त्यसको विरोध गर्दै २० जना स्थायी कमिटी सदस्यले बैठकका लागि निवेदन नै दिएका थिए ।
एक वर्षअघिदेखि ‘नोट अफ डिसेण्ट’ नै लेखेर ओलीविरुद्ध संघर्षरत थिए– वरिष्ठ नेता नेपाल । त्यहाँसम्म आइपुग्नुमा पनि लामो पृष्ठभूमि थियो नेपालको । ओलीविरुद्ध प्रचण्ड र नेपाल एकताबद्ध भएका थिए । ओलीले आफूलाई राष्ट्रपति दिने भनी गरेको सहमति कार्यान्वयन नगरेकोमा अर्का वरिष्ठ नेता खनाल पनि खनिए ।
पछिल्लो समय प्रधानमन्त्री बन्ने एकमात्र सपना साँचेका वामदेव गौतमले पनि प्रचण्डलाई साथ दिने अवस्था देखियो । ‘सरकारलाई सघाउन’ भनी राष्ट्रियसभा सदस्य बनेका नारायणकाजी श्रेष्ठले संवैधानिक रुपमा मन्त्री बन्न नमिल्ने भन्ने तर्कमा प्रधानमन्त्रीको विश्वास बुझे । अनि पार्टीका दुई गुट मिलेपछि बहुमत ओलीको विपक्षमा हुने देखेपछि सबैभन्दा उग्र विरोधी भएर प्रस्तुत भएका थिए । सबैभन्दा धेरै गुटका भेला गर्ने कार्यमा र सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनेमा श्रेष्ठ नै देखिएका थिए ।
ओलीले सिकेको पाठ
पार्टी फुट्नेसम्म तहको विवाद भएको बेलामा पनि प्रधानमन्त्री ओलीले अडान छाडेनन्– ‘महाधिवेशन नभई अध्यक्ष र फेरि चुनावमा नगई प्रधानमन्त्री छाड्दिनँ ।’ ओलीका निकटतम सहयोगीहरुले समेत नेकपाको पार्टी एकता जोगाउन अध्यक्षबाट राजीनामा दिन दिएका थिए ।
ओलीलाई कोरोना भाइरसको जोखिमका कारण स्थायी कमिटीको समापन बैठक नराख्न चौतर्फी दबाब थियो तर उनैको जोडमा बैठक राखिएको थियो । प्रधानमन्त्री ओलीले सुरुमा छोटो बोले । पार्टी भित्रको विवाद समाधान गर्न बैठक सफल हुने धारणा राखेका थिए । उनले पार्टीलाई कमजोर बनाउने र तोडफोड गर्ने देशीविदेशी तथा प्रतिकृयावादी शक्तिहरुको चाहनालाई असफल बनाउन बैठक सफल हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । ‘डाक्टरले मलाई यस्तो भीडभाडमा नबस्न भन्नुभएको छ, त्यसैले यो बैठक प्रचण्डजीले चलाउनुहुनेछ’ भनेर ओली बाहिरिएका थिए । अनि कार्यकारी भूमिकाको अभ्यास गर्दै प्रचण्डले बैठक सञ्चालन गरेका थिए ।
ओलीले अडानका साथ पद जोगाउन त सफल भए तर सरकारका काम बारे पार्टीमा छलफल गर्न सहमति जनाए । ठूला राजनीतिक नियुक्तिमा अर्का अध्यक्षसँग पनि छलफल गर्नुपर्ने स्वीकार गरे । सरकारलाई प्रभावकारी बनाउन संघ र प्रदेश सरकारलाई ‘गुट–समावेशी’ बनाउन पुनर्गठनलाई स्वीकार गरे ।
पार्टीका अरु नेताहरुलाई विल्कुलै बेवास्ता गर्ने, नकारात्मक टिप्पणी गर्ने कामले आफू बेकारमा दबाबमा परेको महसुस पनि प्रधानमन्त्री ओलीले गरेको देखिन्छ । आगामी दिनमा विधि, प्रक्रिया र पद्धतिसम्मत ढंगले अघि बढ्न उनले सहमति जनाएका छन् । ओलीले आगामी दिनमा कार्यशैली अवश्य फेर्ने छन् । गौतमलाई आफ्नो कित्तामा अटाउने प्रयास गर्ने छन् ।
अहिलेजस्तो आफू कमजोर भएको परिस्थितिमा समेत जोखिम नहुने गरी आफू सुरक्षित रहेर सामना गरे । त्यसले आगामी दिन उनी विगतजस्तो एक्लै हिँड्न त सक्ने छैनन् तर अहिले भोगाइबाट शिक्षा लिएर अघि बढेमा फेरि यत्तिको दबाब पनि व्यहोर्नुपर्ने छैन भन्ने अनुमान गर्न सकिन्छ ।
प्रचण्डले लिएको शिक्षा
यसपटकको गुटबन्दीले प्रचण्डलाई ‘कार्यकारी अध्यक्ष’ को भूमिका पूर्ण रुपमा प्राप्त भएको छ । बैठकको अध्यक्षता प्रचण्डले गर्ने छन् । उनले अर्का अध्यक्ष ओलीसँगको सहमतिमा महाधिवेशनसम्म पार्टी चलाउने छन् ।
बैठकको अन्तिममा बोल्दै प्रचण्डले यसपटकको विवादबाट आफूले शिक्षा लिएको बताउँदै भनेका थिए, ‘स्थायी कमिटी बैठक दुई दिनजति चलेपछि हामी लर्बरायौँ । अन्यत्र मोडियाँै । हामी जति माथि छौँ, त्यहाँबाट खस्दा अंगभंग हुने स्थिति थियो । अन्ततः ठीक ठाउँमा आइपुगेका छौँ ।’
प्रचण्डले बिनातयारी लिखित प्रस्ताव बेगर स्थायी कमिटीको बैठक डाकेको स्वीकार्दै भनेका थिए, ‘व्यवस्थित योजना नगरी स्थायी कमिटी बैठकमा जानु हुँदैनथ्यो । भैहाल्छ नि भनेर बैठकमा जाँदा ‘बुमर्याङ’ गर्यो ।’
उनले पार्टीको विभाजन गर्न चाहनेहरुलाई आफूहरुले असफल बनाइदिएको त बताए तर त्यस्तो चाहने देशी–विदेशी विभाजनकारी को थिए भन्ने चाहिँ बताएनन् । उनले केही दिनमा पार्टी एकताको उद्देश्य पूरा गर्ने गरी बहस, छलफल अघि बढाउँदै महाधिवेशनमा जाने पनि बताए ।
प्रचण्ड कार्यकारी भूमिका त प्राप्त गरेका छन् । यसबाट उनले पनि केही लाभ लिएको पनि महसुस गरेका होलान् । तर, साविक एमालेभित्रको समूहमा भने उनको साख गिरेको छ । कुनै गतिलो ‘एजेन्डा’ बिना नै चर्काएको अहिलेको अन्तर्विरोधले उपलब्धिभन्दा हानी बढी भएको छ ।
वरिष्ठ नेताहरु खनाल र नेपाललाई समेत उपयोग गरी यसपटक प्रचण्डले कार्यकारी अध्यक्षको केही शक्ति ओलीसँग छिन्न सफल भएका छन् । नेपालले प्रचण्डलाई महाधिवेशनसम्मै समर्थन गर्ने संकेत देखाएका छन् । त्यसको बलमा भोलिका दिनमा ओली सरकारमाथि पार्टीको तर्फबाट दबाब दिने वा प्रधानमन्त्रीको कार्यकारी अधिकार कुण्ठित हुने गरी नियुक्तिमा समेत निर्देशन दिने किसिमको कार्य गर्न थाले भने अर्को दुर्घटना निम्त्याउने छ । यस पटकको विवादबाट साविक एमाले कित्तामा आफ्नो साख गिरेको महसुस गरेर व्यवहार गरे भने शिक्षा लिएको देखिने छ ।
नेपालको बाध्यात्मक समर्थन !
विवादबाट वरिष्ठ नेता नेपाल पक्षलाई केही पनि लाभ भएन । न पार्टीभित्र ‘स्टेक’ बढ्यो, न ‘एक व्यक्ति एक पद’ को आफ्नो मूल एजेन्डाको सम्बोधन नै भयो । बैठकमा बोल्दै नेपालले अध्यक्षद्वयलाई धन्यवाद दिए । उनले अघिल्लो दिन प्रचण्डनिवासमा पुग्दा कार्यदलको सुझाव प्रतिवेदनमा भएको सुधार गरेर राम्रो गरेको जानकारी प्राप्त भएको बताए ।
नेपाल पक्ष यो विवादपछि भएको सहमतिबाट त्यति खुशी छैन । पार्टीमा ठूलो अप्रेशन हुने अनुमान गरिएको भए पनि सहमतिमा टुंगिएकोमा सो समूह सन्तुष्ट त छैन तर समर्थन गर्न विवश देखिएको छ । नेपालपछि बोल्ने युवराज ज्ञवालीले पनि धन्यवाद प्रदान गरेका थिए ।
बैठकमा नेपाल पक्षका नेता भनेर चिनिएका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बोलेनन् भने अमृत बोहोराले भने, ‘मिलिहाल्नु रहेछ त किन झगडा गरेको ?’ विवादलाई सबैभन्दा उछालेको प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि यो एकताबाट खुशी हुन सकेनन् । लीलामणि पोखरेलले समापनशत्रमा भने, ‘एमसीसीलाई संशोधन गरेर पनि परित गर्नु हुँदैन । यसमा मेरो नोट अफ डिसेन्ट छ ।’ समापनशत्रमा नेपाल पक्षधर र साविक माओवादीका गरी १२ जनाले बोलेका थिए जो सहमतिलाई बाध्यताबश स्वीकार गरेको देखिन्थ्यो ।
जे होस्, पाँच पटक पनि बैठक नबसी ७९ दिनसम्म सरकार र पार्टीलाई बन्धक बनायो– अहिलेको विवादले । चैत अन्तिम साता महाधिवेशन गर्ने, त्यसको घोषणा गर्न कात्तिक १५–१६ गते केन्द्रीय कमिटीको बैठक गर्ने निर्ण पनि स्थायी कमिटीले त गरेको छ तर कोरोना महामारी फैलिएको अहिलेको अवस्थामा यी दुवै संभव देखिँदैन ।
बैठक सकियाे । अब भने निर्णय कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । कात्तिक १५ अगावै संघीय र प्रदेश मन्त्रिपरिषद् हेरफेर गरिसक्नुपर्ने देखिन्छ ।
अविश्वास अझै बाँकी
जे होस्, नेकपाभित्रको गुटबन्दी हेर्दा तीन गुटका मुख्य नेताहरु ओली, प्रचण्ड र नेपालबीचको आपसी अविश्वास र आशंका बैठकले घटाएको छैन, उल्टै बढाएको छ । नेपाल गुट प्रचण्ड गुटसँग निकटता कायमै राख्न चाहेको देखिन्छ भने प्रचण्ड चाहिँ नेपाल पक्षसँगको सम्बन्ध कायमै राखी ओलीसँग सहमति गरेको छ । प्रचण्डको निर्णयबाट नेपाल असन्तुष्ट त बनेका छन् तर उनी यसलाई समर्थन गर्न विवश देखिएका छन् ।
समापन समारोहमा उपाध्यक्ष गौतमको आसन परिवर्तनले उनी भोलिका पनि नेता हुन् भन्ने ‘इम्प्रेसन’ दिन खोजेको देखिन्छ । यदि यो आसन परिवर्तनभित्र राजनीतिक आशय पनि लुकेको छ भने गौतमले महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने गरी राष्ट्रियसभा सदस्य पदको मोह पनि यसैबीच त्याग्न सक्छन् ।
ओली खेमाबाट आगामी महाधिवेशनमा अध्यक्षको दाबेदारसमेत गौतम हुने संभावना बढेकाे देखिन्छ । अहिलेका स–साना लोभ त्यागेर साढे दुई वर्षपछि हुने चुनाव जित्ने र त्यसपछि प्रधानमन्त्री बन्ने मार्गमा लाग्छु भनेर फेरि यू–टर्न भए भने आश्चर्य हुने छैन । किनिक, उनीसमक्ष यस्तो सुझाव पुगिसकेको छ ।
जे होस्, उपाध्यक्ष वामदेव गौतमको आसन फेरिएपछिको दृश्य राम्रो देखिएको छ । यसको सन्देश पनि सकारात्मक नै गएको छ । सबै शीर्षनेताका लागि उस्तै आसनको व्यवस्था गर्नु ओलीको ‘रियलाइजेसन’ हो भने यो दीर्घकालीन समाधानतिर लाग्ने छ । वामदेवको आसन परिवर्तन प्रधानमन्त्री ओलीको ‘रियलाइजेसन’ हो जस्तो देखिन्छ । यसले अर्को पक्षलाई सन्देश पनि दिएको छ ।
त्यस्तै माधवकुमार नेपालले मनभरि असन्तुष्टिका बाबजुद परिस्थिति हेरेर तत्कालका लागि विरोध गर्ने ‘मूड’ आकस्मिक रुपमा स्थगित गरे । यो ‘मूड’ लामो समय यसै गरी स्थिर हुने छैन ।
अध्यक्षद्वय ओली र प्रचण्डले पनि एकअर्कालाई ‘क्रस’ गरेर जान खोज्दा पार्टी नै जोखिममा पर्नसक्ने देखेपछि व्यवहार बदलेर सहमति गरेका हुन् । लाभ र एजेण्डाका हिसाबले ओलीले जितेका छन् । यो सबै विवाद महाविधेशनमा लैजाने गरी गरिएको अस्थायी युद्धविराम हो । आपसी आशंका र अविश्वासबीच बाध्यताले गरिएको स्थायी कमिटीको निर्णय दीर्घजीवी होला वा नहोला, त्यो कुरा कार्यान्वयनका क्रममा देखिने विश्वास वा अविश्वासमा भर पर्ने छ ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया