नजरबन्दमा परेकी मिना भन्छिन्, ‘मैले चाहेको प्रेम त पाएँ,अब समाजसँग लड्नुछ’

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरकी मिना खत्रीले गाउँकै विरेन्द्र विकसँग भागी विवाह गरिन्। 

चार वर्ष लामो अन्तरजातीय प्रेम सम्बन्धलाई उनीहरुले यहीँ भदौ २२ गते  विवाहमा परिणत गरेका हुन्। विवाह अगाडिसमेत गाउँ, समाज र परिवारको अवरोध खेपेका उनीहरू विवाह पछि पनि उस्तै समस्या भोगिरहेका छन्। 

बाल्यकालदेखिका साथी उनीहरू सानैदेखिका मिल्ने साथी हुन्। २०७२  सालदेखि औपचारिक प्रेम सम्बन्धमा रहेका उनीहरूको सम्बन्ध  सामाजिक सञ्जाल फेसबुकमार्फत झन झांगिएको थियो। अहिले उनीहरु घर परिवार तथा समाजबाटै लुकिछिपि  बस्नुपरेको छ। 

आफ्नो छोरीले दलित केटासँग विवाह गरेको थाहा पाएपछि मिनाका परिवारले विरेन्द्रका परिवारलाई निरन्तर छोरीलाई अपरहणको आरोप लगाइरहेका छन्। बालापुरस्थित विरेन्द्रको घरमै गएर उनीहरुले गालीगलौज गर्ने, धम्की दिनेदेखि कुटपिटसमेत गरेका छन्। 

आफूहरु दुवै जनाले एक अर्कालाई चोखो माया गरेको भन्दौ कुनै अपराध नगरेको उनीहरू बताउँछन्। मिना भन्छिन्, ‘मैले चाहेको प्रेम पाएँ, अब समाजसँग लड्ने हो।’  

सानै उमेरदेखि दलित युवासँग प्रेममा परेकी मिनाले वीरेन्द्रसँग प्रेम सम्बन्धमा रहँदा, परिवारले थाहा पाउँदा भोग्नु परेका पीडा, परिवारले दिएको दुःख र विवाह प्रश्चात पनि पाएको तिरस्कार र घरदेखि लुकिछिपी बस्नु पर्दाको बाध्यता बिएल नेपाली सेवालाई यसरी सुनाइन्ः

कक्षा चारमा पढ्दाको बेला हो, मैले वीरेन्द्रलाई राम्रोसँग चिनेको। पहिला सामान्य चिनजान थियो। उसको र मेरो घर करिब १५ मिनेटको फरकमा छ। विद्यालयमा मात्रै भेट हुन्थ्यो।  एउटै कक्षामा पढ्ने भएकोले पछि चिनजान बढ्दै गयो । हामी जति बढ्दै र पढ्दै गयौं। साथीका रूपमा अगाडि बढयौं। माथिल्लो कक्षामा गयौ। कक्षामा साह्रै अनुशासित, मिलनसार, मेहेनती पनि थियौं। मलाई विरेन्द्रको बानीहरू मन पर्दै गयो। साह्रै राम्रो पनि लाग्थ्यो। 

एलएसलीपछि पढाईको शिलशिलामा भने  म कोहलपुर बस्न थालेँ। उहाँ (वीरेन्द्र) नेपालगञ्जमा बस्नुहुन्थ्यो। हामी साथी भएकोले फेसबुकमा जोडियौं। मैले भर्खर फेसबुक चलाउन शुरु गरेको थिएँ।  उहाँलाई मैले फेसबुकमा साथी बन्न अनुरोध पठाएँ। उहाँले मेरो अनुरोध स्वीकार गर्नुभयो। हाम्रो फेसबुकमा कुराकानी हुन थाल्यो। नियमित जस्तो कुराकानी हुन्थ्यो। कुराकानी हुँदाहुँदै हामी धेरै नै नजिकियौं। पछि मैले नै  ‘प्रेम प्रस्ताव’ राखेँ फेसबुकमा। पहिला मान्नुभएन, भन्न थाल्नुभयो,‘म तल्लो जातको केटा, तिमी  माथिल्लो जातकी केटी। हाम्रो जात मिल्दैन। समाजले पनि हाम्रो प्रेम स्वीकार गर्दैन। यो त इम्पोसिबल कुरा हो।’ 

मैले उहाँलाई भने, ‘आजकलको जमानामा पनि जातपातको कुरा गरेर हुन्छ? हामी जस्तो शिक्षित मान्छेले यस्तो कुरा गरे अरूले के गर्लान्। मैले धेरै सम्झाएँ। उहाँले जति सम्झाउँदा पनि मान्नुभएन। खाली जात कै मात्र कुरा गर्ने।’ 

बास्तवमा म उहाँलाई असाध्यै माया गर्थेँ। निरन्तर फकाईरहेँ। अन्ततः मेरो मायाले उहाँको जिद्दीलाई जित्यो। उहाँले  मेरो ‘प्रेम प्रस्ताव’ स्वीकार गर्नुभयो।  

उहाँले मेरो प्रेम स्वीकार गरेको २०७२ सालमा हो। पछि फेसबुक, फोन र प्रत्यक्ष भेटघाटसमेत बाक्लियो।

एक वर्ष भएको थियो, हाम्रो सम्बन्ध शुरू भएको। उहाँ नेपालगञ्जमै पढिरहनु भएको थियो। घरमा आमा बिरामी पर्नुभएपछि म घर आएँ। अलि लामै समय बसाइँ भयो घरमा। म भाउजूसँगै सुत्थेँ। भाउजूलाई मैले हाम्रो सम्बन्धको विषयमा सबै कुरा सेयर गरेको थिएँ। उहाँले  मेरो ठूलो बाको छोरालाई मैले भनेका सबै कुरा भन्नुभएछ। ठूलो बाको छोराले पनि  मेरो आफ्नै दादालाई भनिदिनुभएछ। केही समयपछि दादा घर आउनुभयो। एक्कासी मेरो मोबाइल माग्नुभयो। उहाँ एकदमै रिसाउनुभएको थियो। 

त्यसरी दादा रिसाएको मैले कहिल्यै देखेको थिइनँ। मलाई पनि साह्रै डर लाग्यो। मैले फेरि घरमा आएको बेला फेसबुकमा म्यासेज गरेको थिएँ। उहाँले पनि म्यासेजको रिप्लाई दिने र त्यहीँ दिन दादाले मेरो मोबाइल जफत गर्ने सँगै भएछ। 

उहाँले ‘म काममा थिएँ। के छ बुढी सञ्चै छौं, आई मिस यु सो मज्।’ लेख्नु भएको थियो।  हामी दुवै जना  म्यासेन्जरमा कुरा गर्दा एक अर्कालाई  ‘के छ बुढा’, के छ बुढी’ नै भनेर सम्बोधन गर्‍थ्यौं। हामी दुई बिचको समर्पण थियो त्यो। त्यस्तो देख्न वित्तिकै दादाले मेरो मोबाइल फुटाईदिनुभयो, कामै नलाग्ने गरि। मैले साथी हो भने, दादाले साथीलाई पनि बुढो भन्छन्, भनेर हकार्नुभयो, पिट्नुसमेत भयो। 

पछि सबै कुरा घरमा ममीबुवालाई भनिदिनु भयो। बुवा र ममीले पनि पिट्नुभयो। ती कुरा सम्झिदाँ अहिले पनि  मेरो मन आत्तिन्छ। मलाई कुटेका घाउ अझै पनि छन्, शरीरमा। म कति रोएँ, मलाई मात्रै थाहा छ। पछि मैले भने, ‘विरेन्द्र मैले मनपराएको मान्छे हो। बाँचे ऊ सँगै बाँच्छु। मरे पनि उ सँगै मर्छु।’ तर अह! कसैले मान्नुभएन, अझ कुट्नुभयो। 

त्यो दिनदेखि मलाई कोठाबाटसमेत बाहिर आउन दिनुभएन। घरबाट त बाहिर निस्कन नदिएर एक प्रकारको नजरबन्दमा राखियो। मलाई घरमा कसैले मोबाइल छुनसमेत नदिने। सधै घरमा उसकै कुरा गर्ने, त्यस्ता ‘तल्लो जाति’ का डुमसँग विवाह नगर, हाम्रो त जातै फाल्ने भई। तथानाम गाली गर्ने। मलाई कमिनीसम्मको गाली दिनुहुन्थ्यो। साह्रौ चित्त दुख्थ्यो। तलाई के चाहिन्छ भन्, सुन हालिदिउँला, यति जग्गा तेरो नाममा गरिदिउँदा भन्नुहुन्थ्यो। हाम्रो माया छुटाउन मलाई अनेक प्रलोभन देखाउनुभयो। म केही पनि भन्दिनँ थिएँ। रोई मात्रै रहन्थेँ। मलाई मेरो माया छुटाउन करिब साढे एक वर्ष जति नजरबन्दमै राखियो। दुवै जना पूर्ण रूपमा सम्पर्क विहिन भयौं, फोन, म्यासेज, भेटघाट केही पनि भएन। 

झण्डै दुई वर्षपछि भने हाम्रो कहिलेकाँही सम्पर्क हुन थाल्यो। महिनामा बढीमा दुई पटक कुरा हुन्थ्यो।  त्यो पनि लुकीलुकी। पछि घरमा केही सहज वातावरण भयो। मैले फेरि मलाई मोबाइल चाहियो भनेँ। घरमा मैले मोबाइल चलाउन सर्त राखियो। मोबाइलमा सिम नहाल्ने। म फेसबुक चलाउन थालेँ। घरपरिवारलाई थाहा नदिएर मैले सिम ल्याएको थिएँ। मैले मोबाइल ल्याएको करिब ६ महिनापछि  हाम्रो फेरि कुराकानी हुन थाल्यो। परिवारको निषेधले झन मलाई उहाँप्रति आकर्षण बढायो। हाम्रो कुरा भइरह्यो।

यो वर्ष कृष्णजन्माष्टमीको दिनको कुरा हो, मेरो अंकलको छोराले र उहाँ ‘विरेन्द्र’ को ठूलो बुबाको छोरीलाई भगाएर विवाह गरे। उनीहरु अहिले सल्यानमा आफन्तकोमा छन्। घर आउन दिइएको छैन। दुवै जना समाजको बहिष्कारमा परेका छन्। 

उहाँको सम्बन्ध बारेमा केही पनि थाहा थिएन। तर घरमा मलाई उनीहरूको विवाहको विषयमा दबाब दिन थाले। त पनि यसरी त जाने होलिस् भनेर घरमा फेरि गाली शुरू गरे, सबै आफन्तले। 

अब भाइले ‘तल्लो जात’ को केटीसँग विवाह गर्‍यो। हाम्रो कुलको इज्जत माटोमा मिसायो। मलाई पनि अर्को केटो खोजि दिन थाले। मलाई डर लाग्यो, ऊ बिना बाँच्नै नसक्ने म अर्को विवाहको कल्पनासम्म गर्दिनँ थिएँ। मैले उहाँलाई फोन गरेर भने, ‘घरमा मेरो लागि अर्को केटा खोजिदिन लागेका छन्।’ 

उहाँले मान्नुनै भएको थिएन। सधै रूकुम पश्चिम घटनाको  कुरा गर्ने। तिम्रो घरले हामीलाई बाँकी राख्दैनन् भन्ने। पछि मैले नै कन्भिन्स गरेँ। उहाँले केही समय पर्खौं भन्नुभयो। उहाँलाई मैले भने, ‘अब हामीले आँट गर्नैपर्छ। नत्र भोलि समय ढिलो भइसक्छ। घरमा मेरो विवाह गर्ने कुरा भएको छ।

तपाईँबाहेक अरू कोहीसँग पनि विवाह गर्दिनँ। तपाईले मान्नुभएन भने। मेरो लास दुख्नुहुन्छ भोलि।’

लास्टमा कन्भिन्स हुनुभयो।

अन्नतः यहीँ भदौ २२ गते हामीले भागेर विवाह गर्‍यौं। मन्दिरमा गएर कहिल्यै नछुट्टिने कसम खायौं।

हामी भागेको केही दिनमा घरमा पनि थाहा भयो। हाम्रो घरकाले उहाँको घरकालाई घरमै गएर घेराउ गर्ने, धम्की दिने गर्नुभएछ। उहाँको आमा र दिदीलाई चाँही मेरो आमाले हातै हाल्नुभएछ। तथानाम गालीगलौज गर्दै। उहाँहरुले हामीलाई एकदिन फोन गरेर सबै कुरा बताउनुभयो। 

त्यति कुरा सुनिसकेपछि मैले मेरी आमालाई फोन गरेँ। ‘आमा म काहीँ पनि गएकी छैन। मैले वीरेन्द्रसँग विवाह गरिसकेँ। उहाँको परिवारलाई जे पायो त्यहीँ नभन्नू। गाली पनि नगर्नू। तपाईँले मलाई सुन चोरेको आरोप पनि लगाउनुभएछ। तपाईँलाई आफ्नो छोरीको माया छैन भने मलाई पनि तपाईँको आधा तोला सुनको माया छैन।’

त्यसबेला उहाँले मलाई यति नीज गाली गर्नुभयो।  त्यो भनेर साध्ने छैन। 

मैले एक जना मानिसलाई चोखो माया गरेको हो। मैले कुनै पनि अपराध  गरेकी छैन। आफूले चाहेको माया पाउँदा अहिले हामीलाई लुकेर बस्नुपरेको छ। यसको प्रमुख कारण हाम्रो समाजमा रहेको जातीय विभेद नै हो। त्यसैले म भन्न चाहन्छु। अब म लुकेर बस्दिनँ। समाजसँग जुधेर बस्छु।

लामो समयको त्याग र तपस्यापछि पाएको मेरो प्रेम सबैलाई देखाउन चाहन्छु। अबको मेरो लडाईँ मेरो समाजसँग हुनेछ। सारा दुनियाँले मैले दलित केटासँग विवाह गरेको कुरा थाहा भइसक्यो। म किन लुक्ने? अब लुक्न चाहन्नँ। समाजमा शीर ठाडो गरेर हिँड्न चाहन्छु।  

(भदौं २२ गते दलित केटासँग विवाह गरेकी मिना खत्रीसँग अछुत कोपिलाले गरेको कुराकानीमा आधारित)   

प्रकाशित मिति: : 2020-09-17 13:01:14

प्रतिक्रिया दिनुहोस