‘बलात्कारीलाई कारवाही गर्न वडाध्यक्षको सिफारिस चाहिँदैन’ (भिडियो)

बारा जिल्लाको सुवर्ण गाउँपालिकाको औरैया ५ मा तीन साताअघि भएको १२ वर्षीया बालिका बलात्कारको घटना अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरेको छ । 

उक्त अपराधलाई जनप्रतिनिधिसहित गाउँका अगुवाहरुको मिलोमतोमा घटना ढाकछोप गर्ने प्रयासका कारण दुई दिनपछि असोज ३ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो । अभियुक्त गाउँघरकै काका पर्ने शिवपुजन यादव फरार भएका छन् । 

बाराका प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनीले ढिला उजुरीका कारण अभियुक्त फरार भएको तर उसलाई पक्राउ गर्न प्रहरीले विशेष टोली खटाएको बताए । 

उनले भने,‘पीडित बालिकाका आमाबुवाले बलात्कारजस्तो अपराधमा पनि प्रहरीकहाँ आउन वडा अध्यक्ष रामएकवाल साहसँग सिफारिस मागेकाले दुई दिन ढिलो गरी जिल्ला प्रहरीमा उजुरी दर्ता भयो । यस्तो अवस्थामा अपराधिलाई गाउँबाट भाग्नमा सहज भयो ।’

एसपी पंगेनीले बलात्कार घटनामा प्रहरीसमक्ष आउन वडा कार्यालय अथवा कसैको सिफरिस नचाहिने भए पनि समाजमा सचेतनाको अभावले पीडित पक्ष अलमलमा पर्ने गरेको उनले बताए। 

भारतसँगको खुल्ला सिमानाकाका कारण अपराधीहरु सहजै सीमापार हुने, गाउँघरमा पञ्चायतीको माध्यमबाट घटनाको ढाकछोप गर्न खोजिएकाले सहि समयमा प्रहरीसमक्ष पीडित नपुग्ने भएकाले अपराधी भाग्न सफल हुने गरेका छन् । औरैयाको घटनामा यस्तै भएको हो। 

‘अभियुक्त घटनालगत्तै भारततर्फ गएको सूचना आयो । हामीले सीमानाकामा रहेका भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलास गरिराखेका छौं,’  एसपि पगेनीले भने, ‘बलात्कारीलाई पक्राउ गरेरै छाड्छौँ।’ 

प्रहरीका अनुसार, पीडित बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिएपछि गाउँलेहरुबाट उनीहरुमाथि धम्की आउन थाल्यो । परिवारको सुरक्षाका लागि प्रहरीले गाउँमा विशेष सुरक्षा टोली पनि खटाएको छ । एसपी पंगेनीले भने, ‘पीडित परिवारलाई कुनै प्रकारको धम्की हुन नपाउने व्यवस्था मिलाएको छु ।’

बारामा बलात्कारको यो पहिलो घटना होइन । यसअघि पनि बलात्कारका थुप्रै घटना भइसकेका छन् । केही घटनाका अभियुक्त पक्राउ परे पनि केहि अझै फरार छन् । 

‘बलात्कार जस्तो अपराध पनि सचेतनाको अभावमा समाजमा लुकाएर राख्न खोजिन्छ,’ उनले भने, ‘तर प्रहरीसमक्ष आएका यस्ता घटनामा तत्काल मुद्दा दर्ता गरी कानुनी प्रकृयामा अगाडि बढाउने गरेका छौँ ।’

देशभरि भइरहेको बलात्कारको कतिपय घटनामा पीडितलाई न्याय दिलाउनमा प्रहरीले समेत अलटाल गरिरहेको आवाज पनि यदाकदा सुनिने गरेको छ। बाराका प्रहरी उपरिक्षक पंगेनीले भने, ‘यो जघन्य अपराध हो । यस्ता घटनामा प्रहरीले कहिल्यै मिलापत्र गराउनु हुँदैन । प्राप्त प्रमाणका आधारमा कानुनी प्रकृयामा जानुपर्छ ।’

औरैयाकी १२ वर्षीया बालिका बलात्कारको मेडिकल रिपोर्टबारे  जिज्ञासा राख्दा उनी घटनाको अनुसन्धान भइरहेकोले यसबारेमा भन्न नमिल्ने बताए। ‘घटनाका मुख्य अभियुक्त शिवपुजन यादव नै हुन् तर घटना दबाउन पीडित पक्षलाई धम्काउने र मिलाउने कसरी चलखेल गरे भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

बारा जिल्लाको सुवर्ण गाउँपालिकाको औरैयाको बलात्कारको घटनामा जनप्रतिनिधिले समेत पैसाको लोभ देखाएर अपराध दबाउन खोजेको पीडित परिवारको आरोप छ । 

एसपी पंगेनीले भने, ‘पीडितलाई मेलमिलापका लागि दबाब दिन मिल्दैन । यदि कसैले यस्तो गर्छ भने ती सबै व्यक्ति कानुनी दायरामा आउँछन् ।’

समाजमै पञ्चायती गरेर बलात्कार लुकाउने प्रयास बाराको मात्र नयाँ होइन । देशभरि छन् । यसलाई रोक्न सामाजिक सचेतना तथा कानुनी ज्ञान जरुरी छ । यसको समाधान जनचेतना भएकाले प्रहरीका साथसाथै स्थानीय सरकार, सञ्चारमाध्यम, नागरिक अगुवा तथा सामाजिक अभियन्ताहरुको भूमिका प्रमुख एसपी पंगेनीले बताए ।

प्रकाशित मिति: : 2020-10-05 12:01:16

प्रतिकृया दिनुहोस्