सिला खोजेर फुर्माइसी

बाह्रखरी

काठमाडौँ
तस्बिर : बाह्रखरी

दसैंको सम्झना भनेकै अधिकांशतः बाल्यकालकै स्मृतिमा हुन्छ । उमेर पुगिसकेपछि त्यो सामान्य भइदिन्छ ।

मेरो बाल्यकाल सर्लाहीको हरिवनमा बित्यो । बाल्यकाल र किशोरकालको रमाइलो पनि त्यही समयमा भोगियो पनि । त्यसबेलाका कतिपय कुरा अहिले पनि स्मृतिमा छन् ।

गाउँमा हाम्रो दसैंको तयारी दुई महिना अगाडिदेखि नै हुन्थ्यो ! कसरी भने, साउनको अन्तिम वा भदौको पहिलो सातातिर खेतबारीका मकै भाँचिन्थ्यो । अनि मकै भाँचिसकेपछि सिला खोज्‍ने काम हुन्थ्यो । छुटेका मकैहरू खोज्‍नलाई हामी तन्मयताका साथ लाग्थ्यौँ । 

सिला किनभने, दसैंमा बा-आमाले दिने लुगाफाटो त आफ्नो ठाउँमा छँदै छ । त्यसबाहेक आफ्नो फुर्माइस गर्न चाहिने केही पैसाको जोहो हामी त्यही सिला खोजेर त्यहाँ भेटिएका मकैबाट गर्थ्यौं । आफूले खोजेको सिला-मकैमा अलिअलि त घरकै पनि मिसाइन्थ्यो ।

र, त्यो बेचेर दसैंका समयमा आफ्नो मनलाग्दी गरिन्थ्यो । मनलाग्दी के त भने, मिठाई खाने, गुच्चा किन्‍ने, गुच्चा खेल्दा सानोतिनो बाजी राख्‍ने । यी-यस्ता काममा त्यो पैसा खर्च गरिन्थ्यो ।

अर्को कुरो, नयाँ लुगा र जुत्ता नलगाई दसैं त हामीलाई आउँदै आउँदैनथ्यो । त्यसैले भदौदेखि नै आफूलाई चाहिएको लुगाका लागि घरमा फुर्माइस गरिन्थ्यो ।

हाम्रो बसाइचाहिँ काठमाडौं र सर्लाहीमा बराबरजसो हुन्थ्यो । मेरो आमा सर्लाहीमै बस्नुहुन्थ्यो । त्यसैले पनि म सर्लाही बसेँ । दाजु काठमाडौं बस्नुहुन्थ्यो । बुबा पनि कहिले काठमाडौं कहिले सर्लाही बस्नुहुन्थ्यो । त्यो बेलामा चाहिँ आफ्नो फर्माइस पठाइन्थ्यो, चिठी लेखेर । किनभने त्यसबेला मानिस त्यति काठमाडौं जाँदैनथे । टेलिफोनको सम्भावना थिएन । त्यसैले हुलाकबाट दाजु र बुबालाई चिठी लेखेर पठाइन्थ्यो, ‘मलाई यसपालिको दसैंमा यो-यो लुगाहरू ल्याइदिनुस्’ भनेर ।

प्रकाशित मिति: : 2020-10-26 09:58:00
# दसैं

ट्रेन्डिङ