नेकपा सचिवालय बैठक बस्ने दुई अध्यक्षको सल्लाहपछि किन डाकियो ‘पाँच जनाको बैठक’

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार अपरान्ह खुमलटारबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न । बालुवाटार जानुअघि आफ्नो निवासबाटै चार जना सचिवालय सदस्यलाई चार बजेका लागि नेकपा मुख्यालय, धुम्बाराहीमा डाकिसकेका थिए । 

प्रचण्ड बालुवाटार गएर आफूभन्दा माथिल्लो वरियताका अध्यक्ष ओलीसँग भेटे । बैठक डाक्नेबारेमा सरसल्लाह गरे । बैठकका एजेन्डा तय गरेर महासचिव विष्णु पौडेलले सचिवालय बैठक डाक्ने सल्लाह भयो तर त्यहाँबाट निस्केर प्रचण्ड पार्टी केन्द्रीय कार्यालय पुगे । 

प्रचण्डले डाकेबमोजिम नेकपा सचिवालयका सदस्यहरु वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ४ बजे धुम्बाराही पुगिसकेका थिए । प्रचण्ड बालुवाटारबाट सीधै धुम्बाराही पुगे । अनि केही बेर ‘सचिवालयको अनौपचारिक बैठक’ बस्यो । त्यसपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयका पाँच जना सदस्यले अध्यक्ष ओलीलाई भेटेर लिखित रुपमै बैठक बोलाउन आग्रह गर्नुका साथै सहमति जनाउन अनुरोध गरेका थियौँ । अझै पनि बैठक बस्ने कुरामा सहमति जनाउनुभएको छैन । आज प्रचण्डले फेरि यसबारे ओलीसँग गम्भीरतापूर्वक छलफल गर्नुभएको छ । बैठक बस्नुको विकल्प छैन ।’ प्रधानमन्त्रीको बुधबार काठमाडौंबाहिर जाने कार्यक्रम रहेको बताएको र २७ गते बैठक बस्न पनि सहमति नजनाएको श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठले दिएको जानकारीले बताउँछ– प्रधानमन्त्री ओली बैठक राख्न चाहँदैनन्, सचिवालय बैठक बसिहाल्यो भने पनि प्रचण्ड र आफूसहितका सचिवालयका पाँच सदस्यले गर्दा बसेको हो भन्ने प्रमाणित गर्न चाहन्छन् । यही प्रमाणित गर्ने ‘मिशन’ मा प्रचण्ड बालुवाटार गएर ओलीसँग छलफल गरेको र त्यसपछि पक्षका आफूपक्षका सचिवालय सदस्यको ‘अनौपचारिक बैठक’ राखेको प्रष्ट देखिएको छ । 

उपाध्यक्ष वामदेव गौतम फेरि प्रधानमन्त्री ओलीविरोधी ‘क्याम्प’मा लागेपछि ओलीले नेकपा सचिवालयमा अल्पमतमा परेका छन् । आफू अल्पमतमा परेपछि उनी सकेसम्म बैठक टार्न चाहन्छन् । प्रचण्डले त्यसलाई ओलीविरुद्ध घेराबन्दी गर्ने अवसरका रुपमा प्रयोग गरेका छन् । 

दुई महिनाअघि भदौ २६ गते सम्पन्न पार्टी स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले अघि सारेका ‘छबुँदे सहमतिको प्रस्ताव’ लाई प्रधानमन्त्री  ओलीले समर्थन गरेपछि प्रचण्डले बहुमत गुमाएका थिए । अनि खुम्चिएर कार्यदलमार्फत् सहमति गरी टुंगिएको थियो– स्थायी कमिटी । फेरि गौतमले क्याम्प फेरेपछि पुनः विवाद बल्झिएर बैशाखकै अवस्थामा पुगेको हो ।

कार्यकारी अध्यक्ष प्रचण्डले पहिलो नम्बरमा हस्ताक्षर गरी उनीसहित पाँच जना सचिवालय सदस्यहरुले शनिबार प्रधानमन्त्री ओलीलाई ‘सचिवालय बैठक बोलाई पाऊँ’ भनी दुई पृष्ठको पत्र नै बुझाएका थिए । पाँच जनाले हस्ताक्षर गरेको र हालसम्म सार्वजनिक नगरिएको उक्त पत्रमा उल्लेख गरिएको छ– प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यहरुलाई सडकछाप भनेको, स्थायी कमिटी सदस्यलाई हुल्लडवाज भनेको’ जस्ता आरोपहरु लगाइएको स्रोतले जानकारी दिएको छ । उनीहरुले लगाएको आरोपबारे प्रधानमन्त्री ओलीले लिखित रुपमै जवाफ दिने तयारी गरेका छन्, जुन संभवतः बुधबार दिने छन् । 

कार्यकारी अध्यक्ष प्रचण्डसहितपाँच जना सचिवालय सदस्यले ‘बैठक राखिपाऊँ’ भनी निवेदन दिएको भोलिपल्टै अध्यक्ष ओलीले महासचिव पौडेललाई पत्रको शीरमा तोक लगाएर जिम्मा लगाएका छन् । ‘कमरेड महासचिव, विधान र परम्पराबमोजिम एजेण्डा तयार गरी बैठक बोलाउने’ भनी तोक लगाइएको स्रोतको दाबी छ । त्यसको एक दिनपछि सोमबार महासचिव पौडेल प्रचण्ड निवास, खुमलटार गएर छलफल गरेका छन् भने मंगलबार प्रचण्ड बालुवाटार गएका हुन् । प्रचण्डले मंगलबार बिहान मात्र ओलीनिकट मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार बोलाएर पार्टीभित्रको संकटबारे छलफल गरेका थिए । 

नेकपाको विधान र यसअघिको अभ्यास पनि दुवै अध्यक्षसँग छलफल गरी एजेण्डा बनाउने र बैठक डाक्ने जिम्मा महासचिवको हो तर नेकपा स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने सिल्सिलामा एक सातामा गर्ने भनेको पार्टी एकताका बाँकी काम टुंगो लगाउने तयारीसमेत कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले गर्न बाँकी रहेको छ । दुई अध्यक्षबीच कुरा नमिलेको र एजेन्डामा पूर्व तयारीबिना नै बैठक डाक्दा उल्टै विवादमा फसेको यसअघिको स्थायी कमिटी बैठकको अनुभव प्रचण्ड स्वयम्ले समापन बैठकमा सुनाएको ओली पक्षको तर्क छ । 

सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओली यसपटक भने निकै गम्भीर देखिएका छन् । उपप्रधानमन्त्रीसहित अर्थमन्त्री नपाएपछि ओलीसँग चिढिएका उपाध्यक्ष गौतमले साथ दिएपछि सचिवालयमा बहुमत पुगेको प्रचण्ड चाहिँ प्रधानमन्त्री ओलीलाई हटाउने पुरानै ‘मिशन’ मा लागेका छन् । ओलीबाट पटक–पटक धोखा पाएको महसुस गरेका वरिष्ठ नेता नेपालले चाहिँ प्रचण्डले उनलाई छाड्दा पनि नछाड्ने गरी साथ दिएका छन् ।

प्रधानमन्त्री ओलीले डाकेपछि वरिष्ठ नेता नेपाल आइतबार दिउँसो आफू पक्षधर तीन जना स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसहित बालुवाटार पुगेर करिब तीन घण्टा छलफल गरे । छलफलमा प्रधानमन्त्री ओलीले नेपाललाई सोधे, ‘मैले भनेँ भनेर प्रचण्डले सुनाएका भरमा भेरिफाइ नगरी तपाईंले त्यो पत्रमा किन सही गर्नुभो ?’ प्रचण्डले ‘आपराधिक योजनाअनुसार आफूविरुद्ध जथाभावी भड्काउन खोजेको’ ओलीले नेपालसहितका नेताहरुलाई बताएका थिए ।

पत्र बुझाएपछिको दुई दिने ‘अल्टिमेटम’ दिएको बताएका सचिवालयका पाँच जना सदस्यले मंगलबार फेरि धुम्बाराहीमै बैठक गरी बैठक डाक्न आग्रह गरेको बताएका छन् । अर्थात्, ‘यसपछि के ?’ भन्ने प्रश्नको जवाफ दिन सकेका छैनन् । प्रचण्डले साविक माओवादीका नेताको बैठकबाट समेत ‘एकताको विकल्प नरहेको’ र उनले बनाएको ‘समीकरण’ सही नभएको जवाफ पाएपछि उनी पुनः ओलीसँग छलफल गर्न बालुवाटार गएको अनुमान नेकपावृत्तमा गरिँदै छ ।  
 

प्रकाशित मिति: : 2020-11-11 06:28:00

प्रतिकृया दिनुहोस्