महामारीमा खटिएका स्वास्थ्यकर्मी, जो भत्ताका लागि आन्दोलन गर्दैछन्

अनलाइनखबर

काठमाडाै‌

३० कात्तिक, काठमाडौं । ‘बोल बोल कर्मचारी बोल !’ माइकमा सुनिएको एकल आवाजलाई साथ दिँदै सामूहिक आवाज निस्किन्छ, ‘स्वास्थ्यमन्त्री आँखा खोल !’

फेरि एकल आवाज सुनिन्छ, ‘स्वास्थ्य मन्त्रालय कहाँ छ ?’ सामूहिक रुपमा आवाज आउँछ ‘तेरो कर्मचारी यहाँ छ ?’ 

टाउकोमा कालो पट्टी, हातमा ‘नालायक पधाधिकारी चाहिँदैन, कर्मचारीको सेवा सुविधा खोस्न पाइँदैन’ नारा लेखेका पम्प्लेटहरु । कोही सेतो एप्रोनमा त कोही अस्पताल पोशाकमा छन् ।

वीर अस्पतालका करिब ५०/६० जना कर्मचारी यसरी नै झण्डै एक महिनादेखि आन्दोलन गरिरहेका छन् । आन्दोलनमा सफाइ कर्मचारीहरुदेखि लिएर डाक्टरसमेत सहभागी छन् र आफूहरुले अस्पतालका १५०० कर्मचारीको प्रतिनिधित्व गर्ने बताउँछन् ।

उनीहरुको गुनासो छ, सेवा सुविधा कटौती गरेको र कोभिड जोखिम भत्ता उपलब्ध नगराएको । त्यही आन्दोलनमा भेटिए वीर अस्पतालका पूर्व निर्देशक डा. भुपेन्द्र बस्नेत । उनले भने, ‘जोखिम मोलेर काम गर्ने कर्मचारीलाई दिनुपर्ने भत्ता र सेवा सुविधा कटौती गरेकाले यो आन्दोलन भएको हो ।’ 

उनकाअनुसार कोभिड महामारीअघिसम्म वीर अस्पतालमा कार्यरत कर्मचारीले हरेक वर्ष औषधि खरिद भत्ता र सेवा विस्तार भत्ता पाउथे । यो पटक त्यो भत्ता दिइएको छैन । ‘मुख्य समस्या यही हो’ डाक्टर बस्नेतले भने ।

सरकारको विरोध गर्ने या अरु कुनै गलत नियत नभएकाले आन्दोलन सुरु गरेको २९ दिन वित्दा पनि अस्पतालको कुनै पनि सेवा अवरुद्ध नगरेको उनी बताउँछन् । सेवाग्राही मारमा नपरुन् भनेर ड्युटी हुनेहरु एक्वेवद्ता जनाएपनि आन्दोलनमा आउँदैनन् । आन्दोलनमा उपस्थित हुनेहरु नाइट ड्युटी सकाएका (बिहान ५ बजे) र डे ड्युटी गर्नेहरु (दिउँसो १ बजेदेखि सुरु) छन् ।

त्यही आन्दोलनमा भेटिइन्, कोभिड आईसीयूमा कार्यरत सफाइ कर्मचारी सीता खतिवडा । १२ वर्षदेखि वीर अस्पतालमा कार्यरत उनी स्थायी कर्मचारी हुन् ।

‘कोभिड जोखिम भत्ता त परै जाओस्, अहिले हामीले खाईपाई आएको सेवा सुविधा पनि काटिएको छ’ खतिवडाले भनिन्, ‘हाम्रोमा अतिरिक्त सेवा गरे बापत ५० प्रतिशत सेवा विस्तार भत्ता थियो । अहिले हामी सेवा त गर्छौं, तर भत्ता आउन्न ।’

प्रकाशित मिति: : 2020-11-15 14:59:00

प्रतिकृया दिनुहोस्