माफ गर्नुहोला, ट्रम्पकन मेरा साथी हुन सक्दैनन् !

ट्रम्प, एक प्रतिकात्मक आकृति : वासिङ्टन एक्जामिनर
ट्रम्प, एक प्रतिकात्मक आकृति : वासिङ्टन एक्जामिनर

नेपालीमा एउटा बहुचर्चित भनाइ छ, रगतको नाता काट्न पनि मिल्दैन, साट्न पनि मिल्दैन। हो, मन मिलेन भने टाढा बस्न सकिएला, हाम्रो सम्बन्ध राम्रो छैन पनि भन्न सकिएला तर नाता नै हैन भन्न सकिन्न।यो एक किसिमको म्यान्डेटरी नाता हो। जो प्रत्यक्ष/परोक्ष रूपमा आमाबाबुबाट विरासतमा पाइन्छ।  

आमसञ्चारमा एउटा सिद्धान्त छ, प्रोक्सिमिटी म्याटर्स। अर्थात, नजिकपनाले महत्व राख्छ। यही सिद्धान्त यहाँ पनि लागु हुन्छ। अर्थात् रगतको नाता एउटा यस्तो नजिकपना हो, जसलाई दरकिनार गर्नै सकिन्न।

नाता रगतभित्र मात्र हुदैन, बाहिर पनि हुन्छ। यस्ता नाता पनि दुई पृष्ठभूमिका हुन्छन्। पहिलो हो, उमेर। यसको आधारमा पनि हामी साइनो लगाएर बोल्छौ। मान्छे एक सामाजिक प्राणी हुनुको नाता यो पनि एक किसिमको म्यान्डेटरी नाता नै हो।  दोस्रो हो, साथी। यो चाँहि एउटा नितान्त फरक खालको ऐच्छिक नाता हो जो मान्छे आफ्नो ईच्छामा छान्छ। यो नाता संसारमै सबैभन्दा नजिक हुन्छ  किनकि यसमा चाहँदा मन पनि साट्न सकिन्छ, तन पनि। तर, अरू नातामा मन साटे पनि तन साट्न सकिदैन। अपवादमा अरू साइनो लगाएरै तन साट्ने पनि हुन्छन्, त्यो बेग्लै कुरा हो। कुनै समय तन साट्ने कुरा विपरित लिंगीमा सिमीत थियो तर आजको सन्दर्भ फरक छ। हिजोआज लिंगभन्दा पनि 'सेक्सुअल ओरियन्टेसनको कुरा छ, को के बन्ने, त्यो व्यक्तिको नितान्त रूचिको विषय भएको छ। साथी आफैं पनि उभयलिंगी शव्द हो।

साथीका बारेमा अंग्रेजीमा एउटा बहुचर्चित भनाइ छ, 'अ फ्रेन्ड निड इज अ फ्रेन्ड इन्डिड'। यसको भावार्थ हो, साथी त्यो हो, जो चाहिएको बेला हुन्छ। नेपालीमा पनि यस्तै अर्थ बोक्ने भनाइ छ, 'दु:खमा होस् या सुखमा, जो साथ हुन्छ त्यही साथी हो।' साथीका लागि लगभग यही अर्थ बोक्ने अनेक भनाइ पाइन्छन्। साथीलाई अनेक किसिमले बर्गीकरण गरिएको पनि पाइन्छ। तर, ती सबै बर्गीकरण कुनै खास सन्दर्भमा गरिने भएकाले तिनीहरूको विश्वजनीन मापदण्ड भने हुदैन।

साथी ऐेच्छिक भएकाले कसलाई साथी बनाउने, को साथी हुने- यो व्यक्तिको नितान्त निजी विषय हो। तर, यसका लागि अपवाद बाहेक केही निश्चित आधार हुन्छन् जस्तो कि विचार, सोच, चरित्र, वर्ग, वर्ण, आस्था, विश्वास आदि इत्यादि।यी मध्ये जति धेरै कुरा मिल्छन्, साथी बन्नका लागि सहायक हुन्छन्। जब यी कुनै पनि कुरा मिल्दैन, साथी बन्ने कुरै आउँदैन। फिजिकल होस् या भर्चुअल। 

साथी फेरि स्थायी साइनो पनि हैन। यो आवश्यकताको सिद्धान्तअनुसार समय र स्थानअनुसार बदलिरहन्छ। आमा बाबुबाट विरासतमा पाइएका साइनोजस्तो घिचिघिची यो साइनो बोकिरहनु पर्दैन। यही नै यसको सुन्दरता पनि हो।

म अहिले अमेरिकामा छु। हो, समय र स्थानका कारण कतिपय मेरा पुराना साथी छोडिएका होलान्, तिनीहरूको ठाउँमा नयाँ साथी जोडिएका पनि छन्। मानिस सामाजिक मात्र हैन, पराश्रित चरित्रको प्राणी पनि हो। यसैले जीवन चलाउन उसले समय र स्थानअनुसार साथी फेर्दै जान्छ, जानु पनि पर्छ। यो स्वभाविक हो।

भावनाको सबैभन्दा सुन्दर नाता हो साथी। यो नाता जोड्ने कुरामा म प्रष्ट छु, भेडा भेडासँग, बाख्रा बाख्रासँग। यस्तो नाता जोड्न केही त समानता हुनुपर्यो। सँगै बसेर केही क्षण कुरा गर्ने केही समान विषय त हुनु पर्यो। जब कुनै समान विषय हुदैन, कुनै प्रोक्सिमिटी नै हुदैन, त्यो त कुनै साथी नामको नाता नै हैन। न त्यस्तो अस्वभाविक कुनै नाता हुन्छ नै पनि।

अंग्रेजीमा एउटा बहुचर्चित भनाइ छ, तिमी रोममा छौ भने रोमन जस्तै गर। यसको अर्थ हो, तिमी जहाँ छौ, त्यहीको रहनसहन, आनीबानी, चालढालअनुसार चल। वैज्ञानिक चार्ल्स डार्विनले यसलाई विज्ञानको भाषामा सर्भाइभल अफ द फिटेस्ट भनेका छन्। समाजशाश्त्रीहरूले त्यसैलाई एकल्चराइजेसन भन्ने गरेका छन्।

भावनाको सबैभन्दा सुन्दर नाता हो साथी। यो नाता जोड्ने कुरामा म प्रष्ट छु, भेडा भेडासँग, बाख्रा बाख्रासँग। यस्तो नाता जोड्न केही त समानता हुनुपर्यो। सँगै बसेर केही क्षण कुरा गर्ने केही समान विषय त हुनु पर्यो। जब कुनै समान विषय हुदैन, कुनै प्रोक्सिमिटी नै हुदैन, त्यो त कुनै साथी नामको नाता नै हैन। न त्यस्तो अस्वभाविक कुनै नाता हुन्छ नै पनि।

अमेरिका आए पनि म भावनाले मात्र हैन, नागरिकताले पनि नेपाली हुँ। मैले अमेरिका आएर अमेरिकी जस्तै हुन खोजे पनि मेरो मूल नेपाली चरित्र कायमै छ। म सकेसम्म राम्रा नेपाली चरित्र बोक्नुपर्छ र आफ्ना मानक चरित्रमार्फत नेपाल र नेपाली राम्रा हुन् भन्ने छाप अमेरिकामा मात्र हैन, विश्वका सबै नेपाली डायस्पोरामा छोड्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले विदेशमा रहेका हरेक नेपाली नेपालका सद्भावना राजदूत हुन सकुन् भन्ने प्रिय कामना सधैँ मसँग हुने गर्छ।

अमेरिकामा साथी नाता कोसँग गाँस्ने भन्ने कुरामा म प्रष्ट छु। जोसँग मेरो विचार मिल्छ, मेरो पहिलो साथी ऊ नै हुने हो। यसलाई अर्को भाषामा वेभ लेन्थ भनिन्छ, वेभ लेन्थ नमिल्दा भावना अर्थात् रगत बाहिरको कुनै नाता गाढा बन्दैन। हो, बर्ग, वर्ण, धर्म, नश्ल, आस्था,चरित्र, रूप, पारिवारिक पृष्ठभूमि, कामको प्रकृति, लवाइ-खुवाइ, रूचिजस्ता कुराको पनि अर्थ हुन्छ। तर, ती सबै कुरा विचारको अगाडि गौढ हुन्।

म विचारले वामपन्थी हुँ। म सगौरव यसो भन्छु। किनकि, वामपन्थी हुनु भनेको यथास्थितिको विरोधी हुनु हो, आलोचनात्मक चेतको आलोकमा उभिनु हो। अर्को भाषामा प्रगतिशील हुनु हो जसले गतिका तीनवटै नियमलाई आफू पनि गतिशील प्राणी हुनुको नाता स्विकार्छ, मान्छ।

यथार्थ यो भए पनि स्टेरियोटाइपमा बाँचेका केही मानिसका लागि वामपन्थी हुनु भनेको कम्युनिष्ट हुनु हो। यो यथार्थ हैन, त्यस्तो सोच्नेहरूको मनोदशा मात्र हो, कसैको हिन मनोदशा कुनै शव्दको परिभाषा हुन सक्दैन। 

सामान्य अर्थमा लिदा दक्षिणपन्थीको विपरित कित्तामा उभिने मानिस वामपन्थी हो। ऊ सोचले, चिन्तनले यथास्थितिमा जकडिएर रहदैन।ऊ पछाडिलाई सन्दर्भमा राखेर अगाडि हेर्ने गतिशील प्राणी हो। 

अमेरिकाको सन्दर्भमा रिपब्लिकन दक्षिणपन्थी शक्ति हो भने डेमोक्रेट्स वामपन्थी। तर, यहाँ खासगरी दक्षिणपन्थीहरूले वामपन्थी शव्दलाई कम्युनिष्टको पर्याय शव्द बनाएकाले यहाँ वामपन्थी भन्ने बित्तिकै होचोहेलो गरिन्छ। त्यसैले यहाँ वामपन्थीलाई अलि नरम बनाएर समाजवादी, प्रगतिशील आदि भन्ने गरिन्छ। तर, यसपटक ट्रम्पले भित्तामै पुर्याएर कम्युनिष्ट भनिदिए। त्यसको प्रभाव कतिपय दक्षिण अमेरिकी कम्युनिष्ट मुलुकबाट आएका आप्रवासीमा पर्यो। टेक्सास र फ्लोरिडाको रिपब्लिकन जीतलाई यो कोणबाट हेर्यो भने तथ्यको धेरै नजिक पुगिन्छ।

म अमेरिकाको सन्दर्भमा डेमोक्रेट्स हुँ। त्यसैले मेरा साथी कोही हुन्छन् भने मूलत: विचारले डेमोक्रेट्स नै हुन्छन्। म रिपब्लिकनहरूलाई सम्मान गर्छु तर उनीहरू र मेरो विचमा वैचारिक भिन्नता हुने भएकाले साथी बन्नका लागि चाहिने आधारभूत समानता हामीसँग हुदैन। यस्तो देख्दादेख्दै पनि हामी साथी हुन्छौं भन्ने ठान्छौं भने त्यो अर्को किसिमको जबर्जस्ती मात्र हुन्छ, त्यसले साथी साइनोमाथि न्याय गर्दैन। 

सन् २०१६ को सेप्टेम्बरमा म अमेरिका आइपुगेको थिएँ तर दुर्भाग्य म आएकै समयमा भएको चुनावपछि अमेरिका ट्रम्पेरिका भयो। अमेरिका आएको म, नचाहेर पनि ट्रम्पेरिका पुगें। 

केही मानिस भन्छन्, जुन पार्टीले जिते पनि हामीलाई के फरक पर्छ र ? जसले जिते पनि के हुने हो र ? काम नगरी सुखै छैन। हो, उनीहरूको भनाइ पनि ठीकै हो। तर, यो दालभात जिन्दगी र त्यसलाई प्रतिविम्वित गर्ने सोच मात्र हो। 

म ठान्छु, मान्छेको जिन्दगी यो सोचभन्दा माथि हो र हुनु पनि पर्छ। त्यो नभएको भए अमेरिकातिर पाइला बढाउनु नै थिएन। किनकि, त्यसले एउटा संकथन त दिएकै थियो, आखिर जहाँ बसे पनि के फरक पर्छ र ? आखिर काम गर्नै पर्छ र एक दिन मर्नैपर्छ। एक किसिमले सोच्दा, यो पनि ठीकै हो।

तर, मेरो लागि जिन्दगी त्योभन्दा माथि हो। त्यसैले म गाउँबाट काठमाडोैं आएँ, काठमाडोैंबाट अमेरिका आएँ। यसरी आउनुको एउटा श्रृंखलावद्ध कारण छ। त्यसैले मेरो दैनन्दिनिमा अमेरिका हुनु र ट्रम्पेरिका हुनुमा आधारभूत रूपमै फरक छ।

म ट्रम्पमेनियामा फस्ने कोटिमा पर्दिन। अर्थात् , मेरो भाषामा म ट्रम्पकन हैन। किन ? कुरा प्रष्ट छ, उनीसँग मेरो कुनै म्यान्डेटरी नाता छैन। स्वेच्छिक नाता बनाउन केही त मिल्नुपर्यो, त्यो केही पनि मिल्दैन । त्यसैले माफ गर्नुहोला, ट्रम्पकन मेरा साथी हुन सक्दैनन् !

अमेरिका आप्रवासीको देश हो र म त्यही श्रृङ्खलाको एक क्रम हुँ। तर, ट्रम्पेरिका श्वेत नश्लवादी सोचको फरक खाले भूगोल हो जहाँ अरू वर्णका मानिसलाई सारमा अमेरिकी नै मानिदैन। त्यो भूगोलका राष्ट्रपति ट्रम्प म जस्ता आप्रवासीलाई घृणा गर्छन्, म जस्ताको देशलाई 'शिट होल' भन्छन्, कतिपय म जस्तै पृष्ठभूिम भएकालाई रेपिष्ट पनि भनी सके। जब यस्तो सोच र कोण भएका राष्ट्रपतिको मुलुकमा होइन्छ, मनोवैज्ञानिक रूपमा ठूलो असुरक्षा र तनावमा हुनु स्वभाविकै हो। मान्छे अन्तत: टाउकोेले चल्ने भएकाले त्यस्तो तनाव बोकेर सामान्य जीवन बिताउन सक्ने कुरै हुदैन। 

त्यसैले म ट्रम्पमेनियामा फस्ने कोटिमा पर्दिन। अर्थात् , मेरो भाषामा म ट्रम्पकन हैन। किन ? कुरा प्रष्ट छ, उनीसँग मेरो कुनै म्यान्डेटरी नाता छैन। स्वेच्छिक नाता बनाउनलाई केही त मिल्नुपर्यो, त्यो केही पनि मिल्दैन जस्तो कि 
उनी दिन दडाहै ढाँट्छन्, म त्यसो गर्न सक्दिन 
उनी पोलिगामी हुन् र त्यसका लागि हस मनी पनि तिर्छन्, म त्यसो गर्न सक्दिन 
उनी रङ र वर्णका आधारमा मानिसलाई घृणा गर्ने श्वेत सर्वाेच्चतावादी हुन्, म त्यस्तो हुन सक्दिन 
उनी क्रुक हिलारी, स्लिपी बाइडन, मोन्स्टर कमलासम्म भन्ने एक नामुद बुल्ली हुन्, म त्यस्तो भन्न क्दिन
उनी धनी मात्र मानिस हो भन्छन्, यो उनको वर्गीय चिन्तन हो, म त्यस्तो सोच्न सक्दिन 
उनी मेरो देशलाई नेपाल हैन, निपोल भन्छन्, म त्यो सहन सक्दिन
उनी मिडियालाई  फेक मिडिया भन्दै घृणा गर्छन्, म त्यही विषय पढेको र अभ्यास गर्ने भएकाले मिडियाको पूजा गर्छु 

यो सूची लम्ब्याएर लामो बनाउन सकिन्छ। बस्तुगत रूपमै यिनै कारणले म ट्रम्पकन हुन सक्दिन। 

अब रह्यो, ट्रम्पकन हुनेसँगको कुरा। जो मानिस ट्रम्पलाई आदर्श बनाएर ट्रम्पकन बन्छन्, उनीहरू तत् तत् चरित्रलाई पनि मन पराएर, स्वीकार गरेर ट्रम्पकन हुने हुन्। त्यसैले कोही ट्रम्पकन मेरा साथी हुन सक्दैनन्। खासगरी नेपाली ट्रम्पकनहरू मेरा साथी हुन सक्दैनन् । ट्रम्प मेरा लागि लिटमस पेपर हुन् जसले मेरा लागि नेपाली मूलका को मानिस  साथी हुन सक्छन् र को हुन सक्दैनन् भन्ने छुट्याउने अवसर जुटाइ दिए। त्यसका लागि धन्यवाद।

अब म बिस्तारै ट्रम्पेरिकाको मानसिक तनावबाट बाहिर निस्कदैछु। सन् २०२१ को जनवरी २० पछि म फेरि अमेरिकामा हुनेछु। यो खुशीको बेला यति भन्न सक्छु, माफ गर्नुहोला ट्रम्पकन मेरा साथी हुन सक्दैनन्। 

प्रकाशित मिति: : 2020-11-28 00:10:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ