प्रधानमन्त्रीले संवैधानिक ‘कू’ गरेका हुन्, हामी चुप बस्दैनाैं: नेता सिंह

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्माले संविधानमाथि प्रहार गर्दा आफ्नो पार्टी चुप बस्न नसक्ने बताएका छन्।  

सोमबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक ‘कू’ गरेको भन्दै उनले सबै मिलेर संविधानलाई ट्र्याकमा ल्याउनुपर्ने बताए।

सिंहले भने, हामी जिम्मेवारी संविधानमाथि प्रहार गर्दा वक्तव्य दिएर चुप लाग्ने वाला छैन। सबै सडकमा उत्रिएर विरोध गर्न आवश्यक छ। ’

प्रधानमन्त्री ओलीले जनताले पाँच वर्षका लागि दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको उनको आरोप समेत लगाए।

‘पार्टीभित्र फेस गर्न नसक्ने? अनि ठूला कुरा गरेर हुन्छ?’ उनले भने, ‘जनताको मतको अपमान भएको छ।’

यस्तै उनले पार्टीको आन्तरिक कलह मिलाउन नसकेको रिसले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरे बताए। 

‘नेकपा भित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद भंग गरेर रिस पोखे। उनी संसदबाट विश्वासको मत लिनसमेत डराए। तर, झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको सरकार भन्दै हिँडेका छन्,’ सिंहले भने।

ओली सरकारले भ्रष्टाचार रोक्न नसकेको उनको भनाइ छ।  ‘ललितानिवास जग्गा प्रकरण, ओम्नी काण्ड, वाइडबडी जहाज खरिद प्रकरण, सुन तस्करी काण्डमा यो सरकारले भ्रष्टाचारमा रेकर्ड राखेको छ’, नेता सिंहले भने।

ओलीले न्यायपालिका, व्यवस्थापिकलाई आफ्नो अधिनमा राख्न खोजेको उनको भनाइ थियो।

‘व्यवस्थापिका र न्यायपालिका आफ्नो अधिनमा राख्न ओली सरकार उद्धत छ,’ उनले भने, ‘प्रधानमन्त्री ओली शक्तिशाली देखिन खोजेर सरकार निकाय आफ्नो मातहतमा ल्याएका छन्।’

 

प्रकाशित मिति: : 2020-12-28 14:32:00

प्रतिकृया दिनुहोस्