सोमबार, ०८ सेप्टेम्बर २०२५

विदेशी लगानीकर्ता भित्र्याउन सरकारका सुविधैसुविधा

रातोपाटी

रातोपाटी

काठमाडाैं
News Image
• • •

सरकारले वैदेशिक लगानी प्रोत्साहन गर्न सुविधैसुविधा दिने गरी नियमावली ल्याएको छ । मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नियमावली २०७७ ले विदेशी लगानीकर्तालाई अब लगानी रकमका आधारमा परिचयपत्र र भिसा दिने नीति लिएको छ ।  १० करोडभन्दा बढी लगानी गर्ने विदेशी लगानीकर्ताले स्वीकृत रकमको २५ प्रतिशत भित्र्याइसकेको अवस्थामा त्यस्तो विदेशी लगानीकर्ता र उसका आधिकारिक व्यक्ति २ जना र उसको परिवारका सदस्यलाई व्यावसायिक भिसा दिइनेछ । 

यस्तै एकै पटकमा १० लाख अमेरिकी डलरभन्दा बढी रकम वा सो बराबरको परिवत्र्य मुद्रामा लगानी गर्ने लगानीकर्ताले आवासीय भिसा पाउँनेछन् । यस्तो लगानीकर्ताको परिवारको सदस्यलाई पनि आवासीय भिसा दिइनेछ । सो भिसा उसको ५० प्रतिशत लगानी रहेसम्मका लागि पाइनेछ । 

यस्तो भिसा पाउन उद्योग विभागमा विदेशी लगानी स्वीकृत भएको पत्रको प्रतिलिपि, भिसा माग गर्ने व्यक्तिको राहदानी प्रतिलिपि, विदेशी लगानीकर्ताको आधिकारिक प्रतिनिधि भए प्रतिनिधि प्रमाणित हुने कागजात, गैरपर्यटकको हकमा श्रम स्वीकृतिको प्रतिलिपि पेस गर्नुपर्नेछ । 

यस्तै विदेशी लगानीकर्ताले लगानी रकमका आधारमा परिचय पत्र पाउनेछन् । ५ करोड रुपैयाँ देखि २५ करोड रुपैयाँसम्मको लगानी गर्ने लगानीकर्ताले साधारण परिचयपत्र पाउनेछन् । यस्तै २५ करोडभन्दा बढी १ अर्ब रुपैयाँसम्म लगानी गर्ने विदेशी लगानीकर्ताले विशिष्ट श्रेणीको परिचयपत्र पाउनेछन् । यस्तै १ अर्बभन्दा बढी लगानी गर्ने विदेशी लगानीकर्ताले अतिविशिष्ट लगानीकर्ताको परिचयपत्र पाउनेछन् । परिचयपत्र विदेशी लगानीकर्ता र उसको प्रतिनिधिले पाउनेछ । विदेशी लगानीकर्ता फिर्ता लगेपछि र लगानी रद्द भएपछि परिचयपत्र स्वतः रद्द हुने व्यवस्था नियमावलीले गरेको छ । 

सोमबार, पौष २७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)